लघुकथा : सम्बन्ध बिच्छेद

~ज्ञानेन्द्र कुरुम्भङ ‘पखेरे कान्छा’~

करिब डेढ दशक अगाडि विवेक र प्रभा बिच प्रेम बिबाह भएको थियो। माया,ममता र स्नेह का साथ अगाडि बढी रहेको ऊनीहरुको सम्बन्धमा अचानक तुषारापात पर्न थाल्यो । ज्वई, पोई बिच शंका र उपशंका हावी हुँदै गयो। बिश्वास र भरोसा का सबै बाटाहरु टुट्दै गए।एकअर्का प्रतीको दोषारोपणले परिवारमा कलह र अशान्ति फैलियो । भगवान जस्ता बा-आमा भित्र एकाएक राक्षसिपन देखेर भर्खरै किशोरी अवस्थामा टेकेकी छोरी पनि आजित थिइनँ । बुढा-बुढीको झगडा परालको आगो हो भन्दै छर छिमेकीले सम्झाउने प्रयास नगरेको पनि होईन तर ती प्रयास सबै विफल हुँदै गए।

ऊनीहरुको आन्तरिक कलह उत्सर्ग मा पुगिसकेको थियो। यत्तिसम्म कि ऊनीहरु एउटै छानो मुनि अट्न नसक्ने भए। अन्त्यमा दुबै ज्वई,पोई सम्बन्ध बिच्छेद गरि स्वतन्त्र जीवन जिउने निर्णयमा पुगे। तत्काल एक वकिलको सहयोगमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराए । छोटो समयको अन्तराल पछि नै मुद्दाको फैसला हुने दिन आयो। जिल्ला अदालतले दम्पतीको साथमा सन्तानलाई पनि अदालतमा पेश हुने औपचारिक सूचना जारी गर्‍यो। दुबै जना खुशी मुद्रामा अदालत मा उपस्थित भए। तर छोरी भने निक्कै उदास देखिन्थी । उनको मुहार हेर्दा लाग्थ्यो ! उनले केही हराउदै छिन, केही गुमाउँदै छिन। मानौं केही छिन पछि नै महाप्रलय हुदैछ।

अदालतको कामकारबाही शुरु भयो। न्यायाधीशले दुबै जनालाई संयुक्त प्रश्न सोधे -” तपाईंहरुको सन्तानको रूपमा एक छोरी रहेछिन, उनलाई कसको साथमा राख्न चाहनुहुन्छ ?

हत्तपत्त विवेक बोल्यो- “श्रीमान, म मेरि छोरीलाई मेरै साथमा राख्न चाहन्छु, म उसकै अनुहार हेरेर मेरो बाकी जिन्दगी कटाउन चाहन्छु, उसको आमा सँगै बसिन भने मेरि छोरी बिजोग हुन सक्छे। अचेलका आइमाईको कुनै भर हुँदैन”

प्रभाको बोल्ने पालो आयो- “श्रीमान मेरि छोरी लाई मैले ९ महिना कोख मा राखेर जन्माएकी हुँ। त्यसैले मैले मेरै साथमा राख्न पाउनु पर्छ। म उसको बाबा भन्दा धेरै माया दिनसक्छु । उसको भबिस्य सुनिश्चित गर्नसक्छु।

छोरी कसलाई सुम्पिने भनेर न्यायाधीस ज्यु बडो दुबिधामा परे र फैसला सुनाउनु भन्दा अगाडि न्यायाधीसले ती दम्पतीको छोरीलाई सोधे-“नानी भन त ! तिमी बाबाको साथमा बस्न चाहन्छौ कि आमाको साथमा ?

छोरीले आफ्ना बा-आमाको अनुहार पल्याक पुल्लुक हेरिन र गहभरी आँसु पार्दै भनी-“यदि मेरा बा-आमा एकअर्का बिना बाँच्न सक्नुहुन्छ भने म पनि उहाँहरु बिना एक्लै बाँच्न सक्छु, श्रीमान! बरु मलाई अनाथ आश्रम पुर्‍याउने व्यवस्था मिलाइ दिनुहोस्”

छोरीको यस्तो अभिव्यक्तिले न्यायाधीस साहेब मौन रहे, अदालत परिसर पुरै सान्नटा छायो….

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *