पौराणिक कथा : हिरण्यक ताम्रचूड

~उमाशङ्कर द्विवेदी~

चित्रग्रीव परेवाको बन्धन हिरण्यक मुसाको जहान परिवारका सदस्यहरूले सजिलैसित काटी मुक्त गरिदिएको घटना हेरेर लघुपत्तनक काग छक्क पर्‍यो । उसले मनमनै विचार गर्‍यो–हिरण्यक मुसो आपत आइपरेको बेला धेरै उपयोगी छ । अत: जसरी भए पनि यस मुसासँग मैत्री गर्नु आवश्यक छ । यो कुरा विचार गरेर लघुपत्तनक काग चित्रग्रीवझैं मुसाको दुलोको ढोकामा गएर कराउन थाल्यो–हे मित्र हिरण्यक मुसो, तपाईं छिटो दुलोबाट बाहिर निस्कनुस्, तपाईंसित काम छ ।

कागको आवाज सुनेर हिरण्यकले दुलो भित्रबाट सोध्यो–होइन, तपाईं को हो महाशय ? मैले तपाईंलाई चिनेको छैन ।

कागले आफ्नो परिचय दिंदै भन्यो–म तपाईं र तपाईंको परिवारद्वारा चित्रग्रीव परेवाको बन्धन काटेर स्वतन्त्र पारेको कुराले प्रभावित भई तपाईंसित मित्रता गर्न तपाईंलाई बोलाएको हुँ । कृपया बाहिर आउनुस् १

कागको कुरा सुनेर हिरण्यक मुसाले भन्यो–महाशय, तपाईं काग जातिका लागि हामी भक्ष्य प्राणी हौं । अत: म कसरी तपाईंसित मित्रता गर्न सक्दछु । तपाईंसँग मित्रता असम्भव छ । तपाईं जानूस् । काग र मुसाबीच ठूलो तर्क वितर्क चल्यो । अन्त्यमा मुसा दुलोसम्म आउने र काग दुलोभित्र प्रवेश नगर्ने शर्तमा मित्रता स्वीकार भयो । मित्रता भए पछि काग र मुसा दिनहुँ एक साथ बसेर विभिन्न रमाइला गफ गरेर सुखपूर्वक समय बिताउन थाले । कागले पाकेका फलफूल तथा पक्वान्न ल्याएर मुसोलाई दिन्थ्यो तथा मुसो पनि विभिन्न अन्नका दानाहरू ल्याएर कागलाइ दिन्थ्यो किनकि शास्त्रमा भनिएको छ–

तावत्प्रीतिर्भवेल्लोके यावद् दानं प्रदीयते ।
वत्स: क्षीरक्षयं दृष्टवा परित्यजति मातरम् ।।

अर्थात् यस संसारमा कसैलाई केही दियो भने मात्र उसले प्रेम गर्छ । गाईको दूध सुकेपछि बाच्छाले पनि आमाको साथ छाडिदिन्छ । यस प्रकार ती दुईबीच मित्रता प्रगाढ हुन पुग्यो ।

एक दिन काग अश्रुपूर्ण आँखा पारेर हिरण्यकछेउ आएर उदास मुद्रामा उभियो । कागको यो अवस्था देखेर दु:खित हुदै हिरण्यकले सोध्यो–मित्र आज किन यति दु:खी तथा निराश देखिनुहुन्छ ? मलाई भन्नुस्, म केही गर्न सक्छु कि ?

कागले भन्यो–मित्र, लामो समयको खडेरी पछि यस क्षेत्रमा भीषण अनिकाल परेको हुँदा मान्छेलाई नै खाने अन्न छैन, चराहरूलाई कसैले पनि चारो दिइरहेको छैन । अन्नको अभावले चरा समात्न मान्छेले ठाउँ–ठाउँमा पासो थापेका छन् । आज म धेरै कठिन स्थितिबाट जोगिएर प्राणरक्षा गर्न सफल भएको छु । यस्तो स्थितिमा कुन बेला के हुन्छ भन्न सकिन्न । अत: यस्तो स्थितिमा म यहाँबाट अन्यत्र जाने सुरमा छु ।

कागको कुरा सुनेर मुसोले भन्यो–मित्र, यदि त्यसो हो भने म पनि तपाईंसित हिंड्न तयार छु । हामी जहाँ भए पनि साथ बस्नु बेस हुनेछ । मलाई पनि यहाँ निकै कष्ट छ ।

कागले सोध्यो–मित्र, तपाईंलाई केको कष्ट छ ?

मुसाले भन्यो–कष्टबारे तपाईंसित लामो कुरा गर्नुछ अत: पछि कुरा गर्न बेस हुनेछ ।

कागले भन्यो– म आकाशगामी जीव हुँ, तपाई स्थलगामी । अत: हामी साथै कसरी जान सक्छौ ?

मुसाले भन्यो–मित्र, तपाईं चाहनुहुन्छ भने मलाई आफ्नो पिठ्यूँमा बोकेर लैजान सक्नुहुन्छ । मुसाको कुरा कागलाई घत लाग्यो । उसले मुसालाई पिठ्यूँमा बोकेर एउटा पोखरीको डीलमा उत्रियो । मुसालाई पिठ्यूँमा बोकेर आइरहेको काग देखेर मन्थरक नाम गरेको कछुवा पानीभित्र लुक्यो । मित्र मन्थरकलाई यस प्रकार भयभीत लुकेको देखी काग कराउन थाल्यो–मित्र मन्थरक, म लघुपत्तनक काग, तपाईंको मित्र हुँ । तपाईंलाई भेट्न आएको हुँ । तपाईं न तर्सेर बाहिर आउनुस् ।

कागको बोली चिनी कछुवा पानीबाट बाहिर आई यथोचित स्वागत गरेर सोध्यो–मित्र तपाईंसित रहेका यी मुसा को हुन् ? आफ्नो भक्ष्य प्राणीलाई के कति कारणले तपाईं साथ लिएर हिड्नुभएको हो ? यसबारे जान्न मलाई सार्‍है खुल्दुली लागिरहेको छ । कृपया बताउनुस् ।

कछुवाको कुरा सुनेर कागले भन्यो–मित्र, उहाँ हिरण्यक नाम गरेका मेरा मित्र हुनुहुन्छ । हामी दुवैजना विशेष स्थितिको कारण आफ्नो स्थान परित्याग गरेर तपाईंसँगै बस्न आएका हौं । मेरा मित्रको समस्या ठूलो छ, जसबारे सोध्दा पछि बताउने भनेका छन् । अब हामी तीन मित्र साथ छौं । अत: मित्र हिरण्यक, कृपया आफ्नो समस्या बयान गर्नुस् १

कागको आग्रह सुनेर हिरण्यक मुसा आफनो वृत्तान्त सुनाउन थाल्यो– दक्षिणको कुनै राज्यमा महिलारोप्य नामक नगर थियो । त्यस नगरको छेउमा भगवान शड्ढरको मन्दिर (मठ) थियो । त्यस मठका पुजारी ताम्रचूड नामक संन्यासी थिए । उनी नगरमा भिक्षाटन गरेर जीविका चलाउँथे । भोजनबाट उब्रेको अन्न एउटा भाँडोमा राखेर भित्तामा झुन्ड्याएर राख्दथे । बिहान भाँडोबाट अन्न झिकेर मठको सफाइ, लिपपोत तथा सजावट गर्ने ज्यामीहरूलाई ज्यालाको रूपमा बाँडिदिन्थे ।

एक दिन मेरा परिवारका सदस्यहरू मसित भने–स्वामिन्, भोजनको लागि अन्न झुड्याएर राखिएको छ, हाम्रो लागि त्यो ठाउँ अगम्य छैन । हजुरको आज्ञा पाए पेटभरि खाना खान सक्नेछौं । उनीहरूको यस्तो आग्रह सुनी हामी त्यहाँ गयौं र मनग्य भोजन गरेर फक्र्यौं । यस प्रकार हामीहरू त्यहाँ दिनहुँजसो गएर भाँडोको अन्न खान थाल्यौं । अन्नलाई जोगाउन मठको संन्यासी निकै प्रयास गर्दथे तर राति उनी सुतेको मौका छोपी हामीहरू भाँडोको अन्न रित्याइदिन्थ्यौं । यो देखेर संन्यासीले हामीलाई धपाउन बाँसको एउटा लौरो लिएर आए तथा राति सुतेको अवस्थामा पनि लौरोले भाँडोलाई रातभरि ठकठकाइ रहन्थे । उनको यस प्रकारको चेष्टा देखेर हामीहरू भाँडोमाथि चढ्ने आँट गर्न सकेनौं । भोक भोकै हामीहरूले फर्किनुपर्‍यो । यस प्रकार उक्त संन्यासी र हामीबीच सङ्घर्ष गर्दागर्दै सम्पूर्ण रात बित्दथियो ।

एक दिन संन्यासीका गुरुभाइ तीर्थयात्राबाट फर्केर त्यस मठमा पाहुना बनेर आयो । गुरुभाइको मठमा आगमनको कुराले खुशी भई त्यस संन्यासीले यथोचित आदर सत्कार गरे । राति खानपानपछि दुवै गुरुभाइहरू कुशको एउटै ओछ्यानमा सुते । निद्रा आउनु पहिले उनीहरूले समसामयिक विषयमा गफ गर्न थाले । संन्यासी गुरुभाइसित कुरा गरिरहँदा पनि मुसाहरूको भयले हाथको लौरो भाँडोमा ठोकिइरहेकोले गुरुभाइको कुरामा अँ..अँ मात्र गर्न भ्याउँथे ।

आफ्नो प्रश्नको जवाफ नपाएर अर्का संन्यासी क्रोधित भए र भने– हेर ताम्रचूड, आज मैले थाहा पाएँ तिमी मेरा सच्चा मित्र होइन रहेछौ । मैले यति कुरा गर्दा पनि तिमी स्पष्ट कुरा गर्दैनौ । अत: रात्रिको समय भए पनि म तिम्रो मठ छाडेर अन्यत्र जान्छु । संन्यासीको कुरा सुनेर भयभीत हुँदै ताम्रचूडले भने–त्यसो न भन्नुस् मित्र, तपाईंजस्तो मित्र मैले कहाँ पाऊनू ? तपाईंसित वार्तालापमा मेरो अन्यमनस्कताको कारण यी दुष्ट मुसाहरू हुन् जसले जतिसुकै अग्लो ठाउँमा पनि भिक्षाबाट प्राप्त अन्न झुन्ड्याउँदा त्यसमाथि चढेर रित्याइदिन्छन् । तिनीहरूलाई तर्साउन यस लौरोले भिक्षापात्रलाई बारम्बार ठोकिरहनुपर्ने हुँदा वार्तालापमा विघ्न उत्पन्न हुन गएको हो । कृपया माफ पाऊँ ।

ताम्रचूडको कुरा सुनेर संन्यासीले सोधे–ए, तपाईंलाई यी मुसाहरू बस्ने दुलो कहाँ छ, थाहा छ ? मुसाहरू बस्ने दुलो निश्चय नै कुनै खजानामाथि हुनुपर्छ । त्यसै खजानाको धनको गर्मीले मुसा यति अग्लो ठाउँसम्म हाम फाल्न सकेका हुन् । अर्को दिन बिहानै संन्यासीले दुलो पत्ता लगाई हाम्रो बास बिगारिदिएको हुनाले अब हाम्रो कुनै निश्चित बासस्थान न भएकोले म ज्यादै दु:खी बनेको छु ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in पौराणिक कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *