पुस्तक समीक्षा : हाम्रो छाती र लिलामको बहादुरे

~आन्विका गिरी~

जगदिश घिमिरेको लिलाम उपन्यास पढिसकेपछी मैले मार्च २००९ तिर यो लेख लेखेको थिए! भावना बगेर लेखे जस्तो लाग्छ, तर मेरो देशप्रतिको मेरो भावनामा हिजो, आज र भोलीमा फरक यति मात्र हुनेछ कि हिजो भन्दा आज र आज भन्दा भोली त्यो अझ गाढा हुनेछ!

उपन्यासको ´नायक´ बहादुरे हो । गरिब छ । भन्न त मर्ने बेलामा उसको बाउले ऋण छैन भनेको हो तर गाउँका ठालुहरूले ऋणको शीर्षकसहित तिर्नुपर्ने रकमको हिसाब सुनाए । पढेको थिएन, खोइ हेरौं त हिसाब किताब भन्न सकेन । ठालुहरूका मुख लाग्न पनि सकेन । अनि जायजेथा लिलामीको अवस्था आइलाग्यो । लिलामी हुने पक्का भएपछि माइली छोरीले आफैं बिहा नगरेकोमा उसलाई पीडा हुन्छ। स्वास्नी अरूसँग नसल्किएकोमा रिस उठ्छ । मर्न खोज्छ, त्यो पनि सक्दैन । लिलामीको बिहानीमा ठुलाबडालाई अटेर गर्न पनि उसलाई रक्सीको सहारा चाहिन्छ । जाँडले के सहारा देओस्, पछारिन्छ ।

कथा यत्ति हो, जगदीश घिमिरेको चर्चित उपन्यास ´लिलाम´ को! सरूभक्तको ´पागलवस्तीको जस्तो कथा हुँदै नभएको बस्तीको होइन । त्यसैले पाठक आख्यानकारको कल्पना भनेर तर्किन सक्दैन । हामीले बहादुरेलाई हाम्रो गाउँमा भेटेका छौं, सहरमा पनि भेटेका हुन्छौं । ऊ सहरमा अलि भिन्न रूपमा छ, केही न

Anbika Giri

 केही लिलाम गर्दै वा उसको केही न केही लिलाम हुँदै गरेको हुन्छ । फरक यत्ति छ, त्यतिबेला बहादुरे सामन्तवादको चपेटामा परेको थियो । अहिले बहादुरेलाई पुँजीवादले लिलामको संघारमा तानेको छ । पेटभरी खान नपाएको बहादुरेका हात आफूतिर पुँजीवादलाई तान्न सक्ने जति दह्रा छैनन्। उसकी छोरी यतिबेला काठमाडौंमा यौनकर्मी हुन्थी होली। स्वास्नी पनि आफूलाई बिकुन्जेल बेच्थी होली । बहादुरे के गर्थ्यो होला? देशमा उद्योग बिनाको दलाल पुँजीवाद छ, बहादुरेको भुमिका निःसन्देह दलालको हुन्थ्यो होला! छोरी र स्वास्नीको लागि स्वयं ग्राहक खोज्थ्यो होला ।

लिलाम पढ्ने क्रममा नै तीन बर्ष अगाडी भनेजस्तो जागिर नपाएर कतार भासिएको मेरो साथीसँग मेरो इमेल वार्ता चलिरहेको थियो । उसले दुई महिना अघि लेखेको थियो, ´म यतैबाट अमेरिका जाने प्रक्रिया मिलाउँदैछु । ग्रीन कार्ड नलिई म नेपाल आउँदिन´ अमेरिकाको आर्थिक मन्दीले नेपालीलाई केही फरक पार्दैन । भाडा माँझ्नु हो, पैसा डलरमा आउँछ । मन्दी नै भएपनि नेपालमा त्यसको दर सत्तरीभन्दा माथीको अंकले गुणन गरेर निकाल्नुपर्छ । उसको अमेरिका हान्निने कुरापछि बन्द भएको वार्ता उसले म, अर्थात पत्रकार साथीलाई लेख्यो, ´के हो समाचारमा त भारतले नेपालको सीमा मिचेको पढ्दैछु नि!´ मैले मेरो विदेसिएको साथीलाई थप सूचना नदिई लेखे, ´तिमी अमेरिका जाने सुरमा छौ, यस्ता कुराले तिमीलाई के?´ उसले नेपाली मात्र भएर नेपालीलाई जम्मा तीन शब्द लेख्यो, ´छाती दुख्छ बुझ्यौ!’

यो मेरो निजी इमेल प्रसंग हो तर यहाँ नेपाल जोडिएको छ । नेपाल मेरो निजी होइन अढाइ करोड नेपालीको साझा प्रसंग हो । हो, इमेलको इनबक्स मेरो निजी हो । मैले उसलाई जवाफ फर्काइन, लिलाम पढेपछि लेखौंला भनेर मैले लेखिन । लिलाम पढ्दा मैले बहादुरेलाई कम आफूलाई ज्यादा पढेँ । तपाई पनि पढ्नुहोस्, तपाईलाई पनि आफैँलाई पढेजस्तो लाग्छ । देशको सीमा मिचिँदैछ, लैनचौर बालुवाटारमाथि प्रभावी भएको छ, संविधान सभामा हिन्दी गुन्जायमान भइरहेको बेला बहादुरेको सम्पति लिलाम हुन लागेको प्रसंगमा तपाईले उसलाई हटाएर आफुलाई राख्नुहुनेछ, आँखामा पानी जम्मा हुनेछन् । यो भावुकताको विषयमात्र होइन तर केही गर्न नसके पनि भावुक हुनसक्ने भएकाले हामी भावुक हुनेछौ। देश लिलाम हुँदै गरेको तस्बिर बहादुरेको लिलामले देखाउँछ । अनि छाती दुख्छ बुझ्नु भो! हात एक्कासी छातीमा पुग्छ ।

सीमा मिचिएको कुराले मेरो पनि छाती दुख्छ । तपाईको, जो यो पढ्दै हुनुहुन्छ, पनि छाती दुख्छ । हिजो यही प्रसंगमा छाती दुखेको स्वाङ गर्नेहरूलाई हामीले हाम्रो दुखाइको मलम लिन पठायौं । हामीले उनीहरूलाई विश्वास गर्यौं् । लाग्यो, हाम्रो छाती एउटै कारणले दुखिरहेको छ तर होइन रहेछ । उनीहरूको छाती त´पैसा´ र ´सत्ता´को मलमले ठीक भयो । त्यो पाएपछि छाती दुख्न, मुटु पोल्न, चहर्यारउन, टाउको दुख्न, हातखुट्टा गल्न, काम ज्वरो आउन सबै ठीक भयो । हामीलाई त हाम्रो माटो चाहिएको थियो, छ पाएनौ, पाएका छैनौ । त्यसैले हामी घायल नै छौ, कहिले सम्म? प्रश्न अनुत्तरित छ, रहनेछ सधैंका लागि । हामी छाती दुखीदुखी पनि कतारबाट अमेरिका भासिने सुर गर्छौं भने! यहाँ आएर बसेर मलमको खोजीमा एकजुट हुँदैनौ भने! छाती दुख्यो भन्नलाई के छ र? छाती नदुखेको कसको पो छ र?

बहादुरे उपन्यासमा बिचरा छ । ऊ लिलाम गर्न चाहँदैन । पढेको थिएन, कहाँ ल्याप्चे लागउने, कहाँ नलगाउने थाहा थिएन । तर हाम्रा प्रवुद्ध वर्गले पढेर कागजमा महँगो कलले सही गरेका छन् । हात मिलाएका छन् । रेकर्डका लागि फोटो खिचाएका छन् । फोटोमा मुस्काउन बिर्सेका छैनन् । पार्टीहरूले भाउ बढाबढ गरेका छन् । आफ्नो भाउ झारेरै भएपनि लिलामको दौडमा पहिला हुन सबै प्रयत्नरत छन् । लैनचौरको ध्वनि सोस्ने कोठामा ´स्स्स्स्स कसैले सुन्ला´ भनेर चोर औंला मुखमा राखिराखी लिलामको मिति छिटोभन्दा छिटो तोक्न कर गरेर आएका छन् । जाँदा केही नबोकी तर र्फकदा हातमा ब्रिफकेस समाएर कसैले नदेख्ने गरी मध्यरातमा आवतजावत गरेका छन् । त्यसैले सुस्ता, कालापानी, दशगजा काठमाडौंमा दुख्दैन । त्यो त्यहीँ मात्र दुख्छ । सुस्ता काठमाडौं ल्याइन्छ आमसभाहरूमा, गोष्ठीहरूमा, प्रोजेक्टहरूमा! एकको एक साठी नहुन्जेल सुस्ता धेरै दुख्छ, छापामा तिनको घाउ पाकेर बेहाल भएको देखिन्छ । एकको एकसाठीमा भाउ मिलेपछि सुस्ता फर्काइन्छ । पुगेकै दिन, सुस्ता फेरी मिचिन्छ । अनि फेरी काठमाडौं -पाँचतारे होटल-लैनचौर-एकको एक साठी कथा पुरानै हो । सुस्ताको छाती दुखिरहन्छ । फरक छ, सुस्ताको छाती भित्रै दुख्छ, काठमाडौंका टाउकेहरूको छाती बाहिर दुख्छ, भित्र मुस्काउँछ ।

यो देशमा माओवादीले राम्रो काम गरे, काँग्रेस एमालेको छाती दुख्छ । काँग्रेस नुफुट्दा वा जुट्दा अरूको मुटु पोल्छ । ज्वरो आउँछ, अस्पतालमा भर्ना हुनेसम्म हुन्छ । सुस्ता दुखेको बेला एकहुल एमालेहरू गए । निरीक्षण गर्न गएका अरे! निरीक्षण गरेर आए, काठमाडौंको एउटा होटलमा बिस्तारै भने, ´सीमा मिचिएको हो रहेछ´ मानौं सुस्तावासी झुटो बोल्दै थिए । एक बथान वाईसीएल पनि गए । काठमाडौंबाटै बोकेर गएको झन्डा गाडे, फोटो खिचाए, झन्डा फेरि बोकेर फर्के! यहाँ छापामा तिनको झन्डा समाएको फोटो देखियो । हाम्रा मिचिएका सीमाहरू काँग्रेसलाई दुख्दैन, एमालेलाई दुख्दैन, राष्ट्रवादी भनिएकालाई दुख्दैन । उनीहरूलाई त पशुपतिको भारतीय पुजारी दुख्छ । भारतीय विस्तारवादलाई जगमा राखेर जनयुद्ध गरेको माओवादीलाई पनि दुख्न छाडेजस्तो छ । उसले पनि बालुवाटार छिरेपछि भारतीय विस्तारवाद भन्न छाड्यो । ऊ भन्छ, ´सत्तामा पुगेपछि ´जिम्मेवार´ हुनुपर्छ´ यो कस्तो जिम्मेवारी हो, देशको सीमाको रक्षा गर्न नसक्ने! जनयुद्ध गर्दा जिम्मेवार हुन नपर्ने, प्रतिपक्षमा हुदा जिम्मेवार हुन नपर्ने सत्तामा गएपछि जिम्मेवार हुनपर्ने! सायद, जसलाई खुसी पारेर उनीहरू सत्तामा गए, तिनीप्रती नै तिनीहरू उत्तरदायी हुँदैछन् ।

टनकपुरको सन्धि हुँदा एमालेको छाती दुख्यो । ऊ सत्तामा थिएन, लिलाम काँग्रेसले गरेको थियो । महाकाली सन्धिले उसले आफ्नो छाती बिसेक पार्यो । काँग्रेसको दुख्यो किनकी साउथ ब्लक रिझाउन उसले पाएन । राष्ट्रघाती कदम हुँदा पनि हाम्रो छाती ´वायस´ भएर दुख्छ । कहिले हाम्रो छाती राष्ट्रियताको विषयमा एकैपटक दुख्ने होला? माओवादीले पनि कतै सही गर्न नपाएर छाती दुखाएका थिए क्यार! सही गर्ने ठाउँमा पुगेपछि तिनको छाती आजभोलि दुख्या छैन । अहिले छाती दुख्यो कि त कुर्सी फुत्कने डर हुन्छ । बालुवाटारमा बस्न पाइन्न, महँगो पलङमा सुत्न पाइन्न, पजेरोमा चढ्न पाइन्न! फेरी काठमाडौंको सीमा मिचिएको कहाँ छ र?

त्यसो त मिच्नै पनि किन पर्योन र बालुवाटारमा मन लागेको बेलामा गाडी सिधैं छिराउन पाए! प्रधानमन्त्री सुत्ने कोठामा नै पुग्न पाए! सत्तामा नहुनेको सधैं दम बढीरहेको हुन्छ । बालुवाटार बाहिर दम छ, जो सत्ताबाट बाहिरिन्छ उसलाई च्याप्प समाइहाल्छ । अनि नेपाली नेपाली दाजुभाइ, दिदी बहिनी हुन्न । प्रतिपक्षी मात्र हुन्छ । एउटाको निर्णयमा अर्कोले विरोध गर्नैपर्ने विशुद्ध नेपाली प्रतिपक्षीय चरित्र! नेताहरू यसमा कतै चुकेका छैनन्, क्या गज्जब छ!

हाम्रा नेताहरूको मुटु छैन? यसमा पनि बहस हुनुपर्छ । भए किन दुख्दैन त? कसरी देशको सीमा मिचिँदा पनि उनीहरूको मुख चुप्प लाग्न सक्छ ? कि सिंहदरबार र बालुवाटार छिरेपछि मुटु निकालेर ढुंगा राखिन्छ? लैनचौरले यस्तो व्यवश्थाका लागि पक्कै अनुदान दिएको होला!

हामी मुकदर्शक जागिर नपाउन्जेल हाम्रो छाती दुख्छ । ग्याँस नपाउन्जेल हामीलाई ज्वरो आउँछ । गाडी भाडा बढे हामीलाई लहरे खोकी चल्छ । मोबाइलमा नेटवर्क नटिपे हाम्रो कन्परो तात्छ । जागिर पाए, ग्याँस पाए, गाडी भाडा घटे, मोबाइलमा स्वर प्रस्ट सुने हाम्रो रूघाखोकी, ज्वरो सब ठीक हुन्छ । सुस्ता, कालापानी कहाँपर्छ? हामीलाई के चासो? त्यो हामीलाई किन दुख्नुर पर्योि? किन दुख्दैन? कहिले दुख्छ? जब हातमा भारतीय रासन कार्ड थमाइन्छ? त्यो पनि शंका छ, त्यतिबेला पनि हामीलाई दुख्ने हो कि होइन? वा हामी दुखेजस्तो मात्र गरौला!

जगदीश दाइ! एउटा लिलाम फेरि लेख्नुहोला । तपाई लेख्न सक्नुहुन्छ । अहिले अलि फरक प्रसंग र फरक पात्र लिएर लेख्नुहोला! बहादुरे बिचरा थियो । नायक नभए पनि नायकको जस्तो सहानुभूति पाउँछ । अबको ´लिलाम´मा देशमाको लिलाम गर्ने सबै खलनायकको भण्डाफोर गर्नुहोला । पात्रहरूको नाक नक्सा गिरिजा, झलनाथ, उपेन्द्र, प्रचण्डसँग मिलेमा क्षमा नमाग्नुहोला । त्यो जानीजानी मिलेको संयोग भनेर लेखकको ´दुई शब्द´मा पार्नुहोला । त्यो लिलाम पढेर जनताले दाह्रा किटुन् । अनि हाम्रा महान सभापति, अध्यक्ष, महासचिव क्रान्तिकारी भन्ने भ्रमबाट ब्युतून्!

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in पुस्तक समीक्षा and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *