कविता : अन्तर

~ बिना थिङ तामाङ ‘सुनगाभा’~

मन त लागेकै हो
कालो गाउन
र दोहोरो त्रिकोणिय घेराको स्काफ
कहिल्यै नलम्बिएको यो घाँटीमा
सर्लक्क भिरेर
बडेमानको तस्वीर खिचाउँ
त्रि.बि.को दिक्षान्त समारोहमा
रंगशालाको प्राङ्गणमा

इच्छाहरुको पहाड छैन म संग
तर पनि लाग्थ्यो
कि दिउँ
मेरी आमालाई उपहार
परीक्षाको उत्कृष्ट नतिजा
र गोल्डेन मेडल

बिडम्बना
न मैले टेक्नै पाएं
त्रि. बि. को आँगन
न कहिल्यै
सम्बोधित भएँ
कुनै लेक्चररको
प्रिय बिध्यार्थी भनी

मेरो गुनासो,
पढ्नु थियो पुस्तकका ठेली
भर्नु थियो सोधपत्र
बटुल्नु थियो सर्टिफिकेट
गर्नु थियो थुप्रै प्रगती
तर
पर पर भागिरह्यो निर्दयी समय
म वर बसेर हेरिरहें
र दुखिरहें यतैकतै

अचानक आज
आयो एउटा प्रेमिल हृदय जोडिन
र भनिरहेछ
प्रिय,
पढ्नकै लागी पढ्न त
कति कति पटक पढिसके पण्डितहरुले
पुराण
कति कति पटक पल्टाईसके लामाहरुले
छ्योई
अनि कति कति पटक घोकिसके पादरीहरुले
बाईबल

यत्ती बुझ्नु
अक्षरका चांङ पढ्नु र
जीन्दगी बुझ्नुमा
बेपत्ता अन्तर छ

अरे !
तिमी त खुसी हुनुपर्छ
कम्तीमा पनि
हामी जीवन पढ्ने मान्छे हौं
हाम्रो जस्तै हृदय लेख्ने मान्छे हौं

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.