लघुकथा : अनौठो सजाय

~विश्वराज अधिकारी~Bishwa Raj Adhikari

अंकितले भने “मैडम, म एक किसिमले पागल जस्तो भएको छु। न त ठीकसँग बाँच्न सकि रहेको छु, न त मर्न सकेको छु, आत्म हत्या गरेर। तपाँईले मलाई केही पनि नगरेकोले त झनै विचलित तुल्याएको छ मलाई। मैले त बिचार गरेको थिएँ तपाँईले अवश्य पनि प्रहरीलाई खबर गर्नु हुनेछ। अनि मैले जेल मै बसेर भए पनि आफ्नो पापको प्रायश्चित गर्न पाउनु छु, तर तपाँईले त्यस्तो केही पनि गर्नु भएन। मप्रति अति नै असाधारण किसिमको गाँधीवादी दृष्टिकोण राख्नु भयो।”

दिलाशा मैडमले अंकित कुरा सुन्नु भयो तर उसलाई केही पनि भन्नु भएन।

अंकितले भने “साथीहरुको लहैलहैमा लागेर तपाँई आमा जस्तो मान्छेलाई मैले त्यस्तो गरे। नर्कमा पनि ठाउँ नहुने किसिमको महा अपराध, अति नै घृणित कार्य भयो मबाट। त्यसैले मेरो त्यो अपराधको लागि मलाई अवश्य पनि सजाय दिनुस, दिलाशा मैडम। अहिले नै प्रहरीलाई बोलाएर मलाई गिरफ्तार गर्न लगाउनुस। प्रहरीलाई सबै कुरा भन्नुस, हामीले एक महिना पहिले, शनिवारको रात तपाँईसँग कस्तो व्यवहार गरेका थियौ। आफ्नो कलेजको शिक्षकसँग पनि कसैले त्यस्तो व्यवहार गर्छ? तर हामीले त्यस्तो घृणित कार्य गरेऔ। कालो इतिहास बनायौं। त्यो घटनामा सँलग्न साथीहरुले आफूलाई महाअपराधी नठाने पनि म भने आफूलाई त्यस्तो ठान्दछु। त्यस कारण मैले कुनै गंभिर सजाय पाउने किसिमबाट मुद्दा अगाडि बढानुस। तपाँईले त्यस्तो गर्नु भयो भने मेरो आत्माले शान्ति पाउने छ, म मरे भने पनि। यो अवस्थामा त मैले आत्म हत्या गरे पनि मेरो मनले शान्ति पाउन देखि रहेको छैन। त्यसैले म आज तपाँई नजिक आएको हो, कुनै किसिमको गंभिर सजाय तँपाईबाट पाउने अभिप्रायले।”

लामो मौनता पछि दिलाशा मैडमले भन्नु भयो “तिमीले मप्रति गरेको त्यो घृणित कार्यको सजाए स्वरुप एउटा सजाए म दिन चाहन्छु, तिमीलाई।”

अंकितले भन्यो “मैडम, जस्तो सुकै सजाय दिनु भए पनि म तयार छु त्यो भोग्न। मलाई आत्म हत्या गरेर मर भन्नु भए भने पनि म मर्न तयार छु। तपाँईले भनेर मैले मर्न पाएँ भने चाहिँ मेरो त्यो पापको प्रायश्चित भएको ठान्ने थियो, मेरो अन्तर आत्माले।”

दिलाशा मैडमले भन्नु भयो “तिम्रो लागि सजाय यो छ, मैले पढाउने स्कुलमा तिमीले पढाउनु पर्नेछ।”

“यो त सजाय नै भएन, मैडम। यो त झन मलाई पुरष्कृत गरेको जस्तो भयो” अंकितले तुरुन्तै उत्तर दियो।

“सजाय यो नै हो। तिमीलाई इच्छा लाग्छ गर, लाग्दैन नगर” मैडमले प्रष्ट पार्नु भयो।

अंकितले स्वीकृति जनायो। मैडमले काम गर्ने स्कूलमा पढाउन शुरु गर्यो पनि।

स्कूलमा पढाएको एक महिना पछि मैडम समक्ष उपस्थित भयो अंकित। उसले भन्यो “मैडम, अरु नै कुनै सजाय दिनु होस मलाई तर यो सजाए न दिनु होस। बरु सक्नु हुन्छ भने म रिभल्भर दिन्छु, मलाई गोली ठोक्नुस। त्यसो गर्नु भयो भने केवल एकचोटी मर्नु पर्छ मैले। तर सँधै स्कूलमा आउँदा, तपाँईलाई देख्दा, मैले तपाँईलाई बलत्कार गरेको दृश्य नाच्न थाल्छ मेरो आँखामा। मेरो अन्तर आत्माले धिक्कार्न थाल्छ- आमा तुल्यसँग किन त्यस्तो व्यवहार गरिस् भन्दै, मलाई। म मरे तुल्य हुन्छु। यसरी हेरक दिन स्कूल आउँदा, हरेक दिन तपाँईलाई देख्दा म मर्छु। म प्रत्येक दिन मर्छु। मलाई यो स्थितिबाट मुक्ति दिनु होस।”

“तिम्रो लागि उत्तम सजाय यो नै हो। एउटै अपराधका लागि प्रत्येक दिन अपराध बोध गर्नु पर्ने भन्दा ठूलो अर्को कुनै सजाय हुन सक्तैन।” दिलाशा मौडमको मनतव्य आयो।

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *