कविता : सुदूर गाउँको कथा

~हाङयुग अज्ञात~

गल्लीको
अन्तिम कुनामा पुगेपछि
यो शहरको विसर्जन हुँदो रहेछ
र शुरु हुँदो रहेछ
कुनै सुदूर गाउँको कथा !

पुतलीहरूसित खेल्दा(खेल्दै
कतिबेला आवश्यकताहरूले
उसका कोमल भावनाहरूमा
जिन्दगीका ढुंगाहरू थुपारिदिएछन्
कि रातो साम्राज्यको मानचित्र टाँगेर झ्यालमा
खबरकागजहरूले वर्जित गरेर जीवनको उज्यालो
हरेक रात फ्लस गरिरहेछ बेजिंग
कण्डममा बेरेर माउत्से तुंगको महान् छलांग !

त्यो कथा त्यो गल्लीको कुनामा
त्यसरी बिलाउँछ
कि त्यो कुनै व्यापारिक सम्भोगमा उत्पन्न
नाटकीय आवाजजस्तै स्खलित भएपछि सकिन्छ ..!
त्यो पहेंलो तोरीबारी, खोला र पहराहरू
सुटकेशमा बन्द भएर चुपचाप छन्
त्यो कथा मुखमैथुनको कृतिम उत्तेजनामा पनि सकिन्छ ..!

६ महिनाको भिसामा
त्यो सानो गाउँले पुरै हंगकंग घुम्छ
र यो शहरको भव्यतामा जिऊ खोल्छ
त्यो मेन्डरिनको कथा ’ग्रेट वाल’जस्तै लामो छ
तर त्यो एकतलामाथि सिंढी उक्लिने बित्तिकै
सकिहाल्दो रहेछ
एक खिली चुरोटजस्तै
या प्लास्टिकले घेरिएको मुस्कानजस्तै ….!

त्यो गाउँको कथा
माउत्से तुंगको डायरीबाट निस्केर
हंगकंगको गल्ली(गल्ली चोक(चोक
स्तन तन्काएर उभिएको छ
हेर त उसको स्तनबाट
रातो ताराले चिहाइरहेको छ पिल्(पिल्
हेर त उसको स्तनमा
झुन्डिरहेको छ अभावको भकारी ..!

गल्लीको
अन्तिम कुनामा पुगेपछि
यो शहरको विसर्जन हुँदो रहेछ
र शुरु हुँदो रहेछ
कुनै सुदूर गाउँको कथा !

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *