कविता : सपनाहरू

~शान्ति प्रियवन्दना~

कहिलेकाहीँ सपनाहरू बिद्रुप बन्ने गर्छन्
र पछ्याउने गर्छन् डोबहरू पहिल्याउँदै
उज्याला अँध्यारा पाटाहरू जीवनका
बौरिन्छन् रोदन गर्दै र अट्टहास गर्ने गर्छन् ।

सपना दोहोरिनु कुनै नियति होइन
नियति आकस्मिकता पनि त मानिँदैन
नमानिनुका कुनै कारण नबन्न पनि सक्छन्
पछ्याउँछन्
किनकि सपनाहरू
उज्याला अँध्यारा पाटाका गवाह हुन् ।

पाटाहरू रंगीन हुँदैनन् सधँैभरि
श्यामश्वेत पनि त कला हो आफैँमा
भोगाइहरू सुगम मात्र बन्दैनन्
निर्मम प्रहारहरूको सीमा पार गर्दै
नौका बहने गर्छ भेलको प्रचण्ड बेगसँगै
बेगसँग खेल्ने आँट सबैसँग जुर्दैन
म जुराउन सक्ने भएकी छु
र सायद गन्तव्य आकस्मिक बन्नेछैन अब
किनारा भेट्टाइनेछ
उषाको उज्यालो सँगसँगै ।

डोबहरू नहेरे पनि हुने फर्केर
तर पनि आगतको आभा डोबबाट नै तय हुने
जानेर वा नजान्दा नजान्दै पनि
जुर्ने अनेकौँसँग हातेमालो
हातेमालो सुगम मात्र नहुने सधँैभरि
छोडिँदै जाँदा रहेछन् संवाद र पात्रहरू
भाव र भंगिमाहरूले नयाँ मोड लिने
एक सग्लो जीवनको आयतन
र पनि त बन्दो रहेछ
बादलपछिको उज्यालो जस्तो ।

माघ १६, २०७२
हेटौडा—४, मकवानपुर ।

(स्रोत : नयाँ पत्रिका – नेपाली राष्ट्रिय दैनिक)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *