व्यङ्ग्य कविता : म्यादीमाइला

~डा. ऋषि बस्ताकोटी~

मधुमाइला
हिजै जस्तो लाग्छ-
जोत्दजोत्दैको हलगोरू फुकाएर,
चराउँदा चराउँदैका गाइबाख्रा गोठमा छाडेर
तिमी म्यादी पुलिस भएको।

हिजैजस्तो लाग्छ–
देशको मुहार फेर्ने
चुनाव गराउन भनेर
तिमी रातो टोपी लगाउँदै
कटबाँसको लाठी टेकेर
सातदोबाटो भञ्ज्याङमा गएको।

मनमा अनेक रंग बोकेर,
मनमा अनेक तरंग बोकेर,
तिमी देशको कायाकल्प गर्ने
संकल्पमा सामेल भयौ,
जनमतले देश बनाउँछ भन्ने अभिमत बोकेर
लाए अह्राएबमोजिम
तिमीले दुनियाँलाई
लामबद्ध गरायौ,
आआफ्नो अभिमत ‘बकस’मा
खसाल्न खटायौ
र, चुनिएकालाई राजधानी पठायौ।

मधुमाइला
जोत्दाजोत्दैको हलगोरु फुकाएर,
चराउँदा चराउँदैका गाईबाख्रा छोडेर
देशका लागि कटबाँसको लाठी बोक्दा
तिमीलाई लागेको थियो–
तिमीले जोगाएको मतपेटिकाले
राजधानीमा सरकार फेर्नेछ,
जनताको सरकारले
अब समयको सरोकार फेर्नेछ
र, तिमीजस्ता जनतालाई बारबार हेर्नेछ।

हो, मधुमाइला समय फेरियो,
सरकार फेरियो,
तिमीले राजधानी पठाएकाहरू फेरिए,
आ–आफ्नो अभिमत जाहेर गर्न मतपत्रसाथ
तिमीले खटाएका पनि अहिले
कोही खोरिया बाँझै छाडेर
कोरिया पस्दै छन्
कोही अरबको तातो घाममा
चराझैँ खसेर खस्दैछन्
तिम्रो गाउँमा
कहिले रूपका कुरा गर्नेहरू आए,
कहिले सारका कुरा गर्नेहरू आए
तर,
व्यवहारका कुरा गर्नेहरू कहिल्यै आएनन्।

समयले दिएको पहिचान
तिमी अब
मधुमाइलाबाट ‘म्यादीमाइला’ भयौ,
अब तिम्रो नाम फेरियो मधुमाइला
म्यादीमाइला भएर तिमी
हिजोजस्तै अझै
साहुका खेतमा गोरु नार्दै छौ,
चारआनेको पाखामा गाई चराउँदै छौ
र, समयको उही उपक्रमलाई छोरानातिसम्म सराउँदै छौ
र, पनि मनमा लागेको भन्न डराउँदै छौ।

म्यादीमाइला
पृथ्वीको अर्को गोलार्द्धमा बसेर सुन्दै छु
र, तिमीलाई नै सम्झेर
दिमाग फनफनी घुमाउँदै गुन्दै छु
फेरि तिम्रो गाउँतिर
तिम्रो ठाउँतिर
समय फेरियो रे,
साल फेरियो रे
४७ अब ७४ भैसक्यो रे!
सारका कुरा गर्नेहरू,
रूपको कुरा गर्नेहरू
सबै एकसे एक
नयाँ भाखा लिएर आउँदैछन् रे
राजतन्त्र प्रजातन्त्र लोकतन्त्र गणतन्त्र
अनेकानेक तन्त्रैतन्त्र!

यसपटक पनि
जनताको अभिमत लिन
सातदोबाटोमा जनमत हुँदै छ रे
यसपटक
तिमी होइन
तिम्रो छोरो
उसैगरी
तिमीले जसैगरी
रातो टोपी लगाएर
कटबाँसको लाठी टेकेर
मतबाकस जोगाउन
म्यादी पुलिस हुँदै छ रे
हेरौँ
यसपटक
सातदोबाटोमा खसालेको मतले
कुन बाटो लान्छ,
तिम्रो अभिमत पनि सुन्छ
या फगत तिम्रो ‘म्यादीमाइला’को चिनारी
तिम्रो छोरासम्म सारेर जान्छ!

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *