व्यङ्ग्य निबन्ध : थुइक्क तोरीलाहुरेहरु

~केशु बिरही~

हिजो जस्तो लाग्छ लप्टन वाजेले भनेका यी शब्दहरु । लप्टन अर्थात विध्याधर जैसी । वास्तविक नाम विध्याधर जैसी भएपनि उनी गाउँघरमा लप्टनबाजेकै नामले प्रख्यात थिए । सवैले उनलाई लप्टन वाजे नै भन्थे । लप्टनबाजे फरासीला स्वभावका नभए पनि गोक्ते स्वभावका भने पक्कै थिएनन । जमानामा ठूलै सैनिक जिम्वेदारी संहालेका बुढा गाउँघरमा पनि त्यही शासन चलाउन खोज्थे ।

वुढा खरा स्वभावका थिए । शारीरिक सुगठनमा पनि बुढा कम थिएनन । आना मानाको घिउ खाएका रे । गाँठे हुन पनि काठ जस्तै दह्रा थिए । बाह्रै घण्टा आफ्ना महातहत सैनिक जनावलाई कज्याएर राखे जस्तो उनी सवैलाई कज्याइरहन चाहन्थे । क्षणभर पनि कामगर्नेहरु उनको आँखाबाट टाढा हुनु हुँदैनथ्यो । अलिकति यताउता भए कि वुढा कड्की हाल्थे र भन्थे- ए तोरीलाहुरेहरु हो’ । काम गर्नु पर्दै न त्यसै खान पाइन्छ । त्यसै लाद्रो भरिन्छ । जङ्गिहाल्थे वुढा मान्छे । अरुलाई गाली गरे पनि वुढा केटाकेटी प्रति भने दयालु स्वभावकै थिए । कहिल कही वुढाले केटाकेटीलाई वोकेर हिड्थे र गालामा मोही पनि खान्थे । त्यसरी कहिले कही वोकिइनेमा म पनि पर्थें ।

वुढाले त्यसरी कड्किएर वोल्दा सवै कामदार मात्र नभएर हामी केटाकेटीहरु पनि डरले थुरुरु हुन्थ्यौ । झन ‘तोरीलाहुरे’ भनेर गाली गर्दा त सातो पुत्लो नै उठ्थ्यो । वुढाबाट छलिएर कामदारहरु डरसंगै डरभित्र गुटमुटिएर गलल्ल हास्थे । हामी पनि त्यसमा सहभागी हुन्थ्यौ । तर तुरुन्तै वुढाको आदेश सिरोपर गरिहाल्थे । मेरी वास्सैमा धुर्मुसेलो ‘हस’ भने झैँ गरेर । तर वुढाले पटक पटक भन्ने गरेको तोरीलाहुरे शब्दको अर्थ हामी मध्ये कसैलाई पनि थाहा थिएन । ती कामदारलाई भने थाहा थियो कि थिएन त्यो म भन्न सक्दिन । त्यसो त हामीले त्यसको अर्थ कहिल्यै खोज्ने प्रयास पनि गरेनौ । हुनत त्यस्ता शब्दको अर्थ खोज्न सक्ने उमेर नै कहाँ भएको थियो र हाम्रो तर अरु कुराको अनुमान नलगाए पनि ‘तेरीलाउरे’ भनेर वुढाले पक्कै गाली गरेको होला भन्ने चाँही थाहा थियो हामीलाई पनि ।

आज लप्टन वुढा वितेको पनि लामो समय भैसकेको छ । झण्डै २५ वर्ष भैसके हुँदो हो । अहिले म आफै पनि लप्टनबाजे झैँ हजुरबा भैसको छु । वाउ हुँदै हजुरबा हुने अवस्थामा पुगिसकेको छु । अझ नातागोतालाई केलाएर हेर्ने हो भने हजुरबा मात्र नभएर जिवा पनि भैसकेको हुँला ।

आज म लप्टनबाजे अर्थात तिनै विध्याधर जैसीले गाली गर्दा प्रयोग गर्ने गरेको त्यो ‘तोरीलाहुरे’ शब्दलाई केलाउन थाल्छु । अर्थ खोज्न थाल्छु । ‘तोरी लाहुरे’को नेपाली शब्द कोषले के अर्थ लगाएको छ त्यो मेरो खोजिको विषय रहेको छैन । र म खोज्न चाहदिन पनि । आज म नेपाली शब्दकोषको अर्थ नभएर यसको व्यबहारिक अर्थ खोजिरहेको छु । सामान्थ अर्थ मात्र नभएर त्यसको लाक्षणिक अर्थ खोजिरहेको छु । तोरीलाहुरे भन्नाले
[१] आफ्नो जिम्वेवारी नवुझ्ने
[२] वेफाँटमा अरुको लहै लहैमालागेर जताततै वराल्लिएर हिड्ने
[३] कामको महत्व नवुझ्ने
[४] अर्थात आफ्नो जिम्वेवारी वोध नभएको आदि आदि अर्थ लगाउछु ।

आफूले लगाएका यिनै अर्थलाई म अहिले मिसाएर हेर्ने गर्छु । कहिले छर छिमेकमा त कहिले आफ्नै परिवारमा । कहिले गाउँमा त कहिले जिल्ला वरपर सम्म । त्यस्ता थुप्रै तोरीलाहुरेहरु फेला पर्छन । वेफाँकमा आमाको होटेलमा खाएर वाउको लजमा सुत्न पल्किएकाहरु । वेतुकका गफ छाँटेर गरिखानेलाई पनि भट्काउने कायर तथा हुतियाराहरु । देशमा वसेर विदेशको प्रसंशामा रमउनेहरु अदि आदि । त्यस्ता थुप्रै तोरीलाहुरेहरु मैले देखेको छु । भेटेको पनि छु । तीनै तोरीलाहुरेहरु मेरो आँखामा एक पछि अर्को गर्दै आउन थाल्छन ।

म त्यस्ता तोरी लाहुरेहरुको बहुमत पाउछु । ती तोरीलाहुरेहरु गाउँ जिल्ला हुँदै केन्द्र अर्थात राजधानीमै छिरेको पाउछु । शिँहदरावारमा छिरेर आफूलाई शिँह झैँ ठान्न तोरीलाहुरेहरु पनि छन । आफू पुरुस भएर पनि महिलाले मात्र पाउने सुत्केरी भत्ता पचाउने तोरी लाहुरे पनि प्रसस्तै छन । देशै वेचेर भए पनि आफ्नो घ्याम्पो भर्ने तोरीलाहुरे पनि कम छैनन । जनताबाटै तिरस्कृत भएर जनमतका खोक्रा नारा जप्ने तोरीलाहुरे पनि भेटिन्छन ।

म आँगनको पिँडीमा वसेर ती तोरीलाहुरेहरुको लिष्ट वनाउन थाल्छु । ती तोरीलाहुरेका लिष्टमा एउटा तोरीलाहुरे आउछ । ऊ शिँहदरवार आफ्नै पेवा ठान्छ । आफ्नै वाउको अंश झैँ लाग्छ उसलाई । नलागोस पनि कसरी त्यहाँ छिर्न उस्लाई कम्ती गाह्रो परेको हैन । धेरै प्रयास पछि मात्र ऊ सफल भएको हो । पटक पटक छिर्ने प्रयास गर्दा पनि सधैं असफल मात्रै हुँदै आएको थियो । ठूलै चिठ्ठा परेर मात्र ऊ त्यहाँ पस्न सकेको थियो । वल्ल भागले पाएको । अव भोलि फेरि पाइने हो कि होइन पिर उतिकै छ । त्यसैले त्यो तोरीलाहुरे त्यहाबाट हट्नै चाहदैन । अनेक प्रपाछ रच्छ ।

हुनत त्यहा आलिशन सुखसुविधाको धङ्धङीले उस्लाई छोड्नै मन नलागेको होला । तयसैले ऊ सदा त्यही अडिने रहर पाल्छ । तर अरुलाई देखाउनैलाई भए पनि भन्छ – म कहाँ वाधक छु र पहिला तपाईहरु सुद्ध छवि भएको मान्छे त खोज्नुहोस । सवै संग कुरा मिलाएर त आउनु होस । मेरो पनि यहाँ रहिरहने कहाँ रहर हो र म वाध्य भएर मात्र यहाँ अडिरहेको हुँ । म तुरुन्तै छाडि हाल्छु नि ।

अर्को तोरी लाहुरेको याद आउछ । ऊ प्रजातन्त्रको हिमायती ढान्छ आफूलाई । युवा पुस्ताको प्रतिनिधी भएको दावा गर्न छाड्दैन उमेरले पिण्डखाने वेला भैसकेको भए पनि । सधैँ सहकार्य एकताको नारा जप्छ तर व्यवहारमा भने त्यस्तो छनक नै देखिदैन । अहिले भने पहिलो गाँसमै ढुङ्गा परे पछि उसलाई मर्नु न वाच्नु भएको छ । डाडु मै पानी तताएर मर्नु जस्तो । तर मर्न पनि सक्दैन ।

अर्को तोरीलाहुरे मेरो लिष्टमा पर्न जान्छ । उस्ले कहिल्यै पनि यो प्रजातान्त्रिक अभ्यासलाई विस्वास गरेन र गर्न चाहदैन पनि । परम्परागत संसदीय अभ्यासलाई ऊ भाष ठान्छ । यसलाई ऊ माहाभाष हो भन्छ । म यो भाषमा फस्दिन भन्छ तर ऊ नजानिदो पाराले त्यही भाषमा डुविरहेको छ । ऊ यो संसदीय अभ्यास तथा अरु सहयात्रीलाई लोप्पा खुवाउने दाउमा छ । ऊ हुँकार छाड्दैन । आन्दोलनको आँधिवेहरी ल्याइदिन्छु भन्न कहिल्यै छाड्दैन ।

अर्को तोरीलाहुरेहरुको चरित्र भने विछिट्ट खालको छ । देशलाई नै कहिलेकही विदेश वनाई दिन्छु भन्छ । आफ्नो भाषा संस्कृतिको वकालत नगरेर अर्कै देशको भाषालाई राष्ट्रिय भाषा वनाउनु पर्छ भन्छ । मेरो प्रस्ताव मान्ने भए मान नत्र खैरात छैन भन्छ ।

अर्को तोरीलाहुरेको त के कुरा गर्नु । मरिसकेको वुढो रुख फेरि हरियो वनाऊ भन्छ । त्यस्तो मरेको रुखलाई पुनः वचाउने काम पनि त्यति सजिलो छ र ऊ धमीलो पानीमा गतिलै सित माछा मार्ने र त्यही मरिसकेको रुखलाई जवजस्ती व्युँताउने दाउमा छ ।

यस्ता सयौ तोरीलाहुरेहरु मेरो लिष्टमा पर्न जान्छन । ती तोरीलाहुरेहरु कामकुरा एकातिर कुम्लो वोकी ठिमी तिर भने झैँ आफूले पाएको मुख्य जिम्वेवारीलाई छाडेर । वेतुकका गफ छाँट्दै हिड्दै गरेको देख्छु । ती सवैको चर्चा गर्न सक्दिन र त्यसो गर्न उपयुक्त ठान्दिन पनि । त्यस्तै म अहिले असमाजसमा छु । यति धेरै तोरीलाहुरेहरु छन । ती तोरीलाहुरेहरु मध्ये पहिलो तोरीलाहुरे कसलाई वनाउने भनेर म चिन्ति भएको छु । ती तोरीलाउरेको व्यवहार देखेर उही विद्ध्याधर जैसीवाजेले झैँ भन्न मनलागिरहेको छ ……’थुइक्क तोरीलाहुरेहरु हो’ ।

॥ इति ॥

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *