युद्ध कविता : जसमान राई

~काङमाङ नरेश राई~

पेन्सनविहीन ९७ औं जन्मदिन…
सापेक्ष धर्म
निरपेक्ष अभाव
म्लेच्छसँग उठबस
किट ब्यागमा दाग होला जसमान राईको

देशका शासकहरूको हुकुम
पक्लिहवाको पानी पतिया, मोहोर र सुुकी
जातीय रीतितिथि किल्चेर
चोखाइनुको लाहुरे
पण्डितले शुद्ध पारिने बहादुरी तक्माहरू…

चोखिए कि चोखिएनन्
रसियन गनका धातुहरू
भिक्टोरिया क्रसहरू
आई.ओ.एम
सरदार बहादुर र बहादुर तक्माहरू ?
काबुल
ईस्ट टिमोर
फक्ल्याण्ड
क्रिमियन र दोस्रो महायुद्धका कथाहरू
चोखिए कि चोखिएनन् ?

जसमान राई—
गोलीको दाग सुम्सुमाउँछन्
बर्माका नदीहरू दिनहुँ बगिरहन्छन्
कावावेली, मनिपुर, लुसा हिल
सबैसबै
उही ठाउँ बसिरहन्छन्…

पेन्सनविहीन ९७ औं जन्मदिन
धरानमा चर्को घाम छ
छन् निमन्त्रणा गरिएका उनका छोरा र नाति पुस्ताहरू
सम्झन्छन् केही नम्बरीहरू—
नरध्वज राई
अक्कलबहादुर राई
र बमबहादुर राई

अहो !
खोइ मसँगै युद्धमा निस्केका साथीहरू
एकछिन शून्यबोध हुन्छ
बर्मामै छुटेका थिए उनीहरू
एकफेर सम्झना हुन्छ–
अहो ! ७० वर्ष पो भइसकेछ …

मौन अनुहार
चाउरिएको निधारमा—
बाइनेटले रोपेको दाग
बमले लागेको खुट्टा
हातमा गोलीको खत
यी त मेरा युद्धका चिनारी हुन्
त्यो महायुद्धका सम्झनाहरू पो हुन्

जब—
बज्न थाल्छ जन्मदिनको धून
मौन उभिन्छन्
उस्तै लाग्छ
पेन्सनविहीन ९८ औं जन्मदिनको सङ्गीत
र मेसिन गनको आवाज…

द्रष्टव्यः

१. जसमान राई : दोस्रो विश्व युद्धमा ४ वर्ष निरन्तर लडाइँ लड्दा तिन पटक घाइते भए । २ दिन २ रात सम्पर्कविहीन भए पनि बाँच्न सफल भए । उनी हवल्दारमा नेपाल फर्किए । उनको मेडिकल पेन्सन पनि छैन । च्यारिटी पाउँछन् । उनी ९८ वसन्तमा पाइला टेक्दै छन् ।
२. म्लेच्छः अन्य धर्मावलम्बीसँग उठबस भएको होला भनी, पानी–पतियाले लाहुरेहरूलाई नेपाल फर्केको समयमा पण्डितले पक्लिहवामा करिब एक हप्तासम्म चोखाउँथे । लाहुरेहरूले मोहोर सुकी पण्डितलाई दिएर चोखिनु पथ्र्यो ।
३. खुदादात खान ः भि.सी. पाउने पहिलो भारतीय सिपाहीँ ।
४. कुलवीर थापाः भि.सी. पाउने पहिलो नेपाली सिपाहीँ ।
५. फाक्युसाटः फ्रान्सको एक स्थान

(स्रोत : एबिसिखबर डट कम)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *