व्यङ्ग्य लघुकथा : छोरीलाई विद्यालय भर्ना गर्दा…

~करुण ढकाल~

केही दिनयता छोरीको विद्यालयभर्नासम्बन्धी विषयले कुटुकुटु टाउको खाइरहेको थियो। एलकेजी पास छोरीलाई यूकेजीमा भर्ना गर्नु थियो। पुरानै विद्यालयमा भर्ना गरिदिने मेरो सोचाइ, श्रीमतीले नोट अफ डिसेन्ट लेखेपछि त्यसले हावा खायो । कम दाम तिरे पुग्ने पुरानो स्कुलको पढाइ कामलाग्दो नभएको उनको निष्कर्ष थियो। त्यसैले छिमेकी मित्रलाई साथ लिई म राम्रो पढाइ हुने स्कुलको खोजीमा निक्लें ।

घट्टेकुलोस्थित निवासबाट भित्री गल्ली हुँदै अनामनगरतिर लागेका हामी दस मिनेटपछि नाम चलेको एउटा विद्यालयको लेखाभवनभित्र थियौं । त्यहाँ खटिएका कर्मचारीसँग भलाकुसारी भएपछि लाग्यो चर्को दामका कारण नाम चलेको रहेछ। यूकेजीमा भर्ना गर्न विद्यार्थीका भागमा ‘इन्ट्रान्स एग्जाम’ अनि अभिभावकका भागमा पाँच सय रुपैयाँ दाम पर्दोरहेछ ।

भर्ना हुँदा नौ हजारभन्दा बढी रुपैयाँ लाग्ने सूची उनले देखाए । सूचीमा थियो पुस्तकालय शुल्क, खेलकुद शुल्क, संगीत शुल्क…। मित्रले टिप्पणी गरे, ‘यहाँ भर्ना गर्ने हो भने त छोराछोरी एकैपटक पेले, मोजार्ट, माक्र्स, डार्बिन सबै हुनेभए नि ।’ शुल्कको कुरा यत्तिमै कहाँं टुंगिएको हो र ? छोराछोरी त्यहीं भर्ना गर्ने हो भने थप्नुपर्ने भयो फाराम शुल्क, शिक्षण शुल्क, पोसाक शुल्क, पुस्तक शुल्क । मासिक केही सय थपिदिए कापीकलम पनि विद्यालयले दिने ।

बाहिरिएपछि मित्रको टिप्पणी थियो, ‘हैन, यो स्कुल हो कि डिपार्टमेन्टल स्टोर?’ लगत्तै उनको अर्को टिप्पणी थियो, ‘घरघरै बोर्डिङ किन खोल्छन् भन्ने त बल्ल पो थाहा भो। हामीले पनि एउटा बोर्डिङ खोलेको भए हुनेर’छ, बेकार अन्तै लागियो।’

त्यहाँंबाट दस मिटरको दूरीमा अर्को बोर्डिङको नामपाटी देखियो तर हामी त्यसमा पसेनौं। करिब पाँच मिनेट हिँडेपछि अर्को स्कुलको नामपाटीमा हाम्रा आँखा ठोक्किए । ‘यहाँ पसौं न त, बाहिर प्रख्यातै छ’, मित्रले भनेपछि हामी छि¥यौं। भर्नासम्बन्धी कुरो भएपछि हामी लाग्यौं चुरोतिर, चुरो थियो शुल्क । पाँच हजार रुपैयाँको आसपास लाग्ने बताइयो । पढाइबारे सोध्दा ‘एसएलसीमा सतप्रतिशत फस्ट डिभिजन’ सुन्न पाइयो। फस्ट डिभिजन ल्याउन नसक्नेलाई ‘प्राइभेट टेस्ट’ दिन लगाउँछन्÷लगाउँदैनन्, उनै जानून्।

किताब त्यहींबाट दिनेभए, त्यसका लागि लाग्नेभयो १५ सय ५७ रुपैयाँ, पुस्तकको संख्या ११। ‘शिक्षानियमावलीमा त चारवटाभन्दा बढी पुस्तक राख्न नपाइने व्यवस्था छ नि’, मभित्रको पत्रकारले मुन्टो ठड्याएपछि सहायक प्रधानाध्यापकबाट उत्तर पाइयो, ‘के गर्ने, समय अंग्रेजीको छ, विद्यार्थीले फरेन कन्ट्री ताक्छन्, अभिभावक पनि बच्चाले फररर अंग्रेजी बोलोस् भन्ने चाहन्छन्, त्यसैले पुस्तकको संख्या यति भएको।’ त्यहीं रहेका एक सफाचट अनुहार बोले, ‘कागज महँगो भएकाले पुस्तक अलिक महँगो छ।’ नसोध्दै स्पष्टीकरण दिइहाले । पोसाकको कुरो उठ्यो, काउन्टरबाट डिल्लीबजारमा रहेको एउटा टेलर्सको कार्ड थमाइयो।

टेलर्समा गएर पोसाक पनि सिलाइदियौं, यसमा खर्च भयो १५ सय पचास। यतिबेला मित्रको टिप्पणी थियो, ‘बाहिर आठ–नौ सयमा हुने काम हो यो ।’ सामान तोकेको समयमा तीन दिन ढिलो गरेर पाइयो, त्यसका लागि चारपटक धाउनुप¥यो।
बजारबाट जुत्तामोझा र विद्यालयबाट टाई र बेल्ट जुटाएपछि मेरी छोरी हिजोआज नयाँ पोसाकमा सजिएर विद्यालय जान थालेकी छ।

काठमाडौं

This entry was posted in लघुकथा, हास्य - व्यङ्ग्य and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *