व्यङ्ग्य निबन्ध : कवि, कविता र टिकट

~राजकुमार रेग्मी~

एकजनाले अर्काेलाई लखेट्दै गरेको हुन्छ । वरिपरिका मानिसले पाकेटमार ठानेर भाग्नेलाई पक्रन्छन् । त्यसपछि हातमा भएको कापी खोल्दै लखेट्ने मानिस भन्छ, ‘उहाँको कविता मैले ध्यान दिएर सुने तर मेरो सुन्नेबेला भाग्नुभयो । उहाँलाई दह्रोसँग समाउनुस्, कविता नसुनाइ म कहाँ छाड्छु ?’ यो चर्चित चुट्किलाको भाग दुई पनि छ ।

भाग दुईमा पनि पनि ‘समात, समात’ भन्दै एउटाले अर्काेलाई लेखेटिरहेको हुन्छ । तर, भाग्नेलाई कसैले समातिदिँदैन । बरु, लखेट्नेलाई नै समातेर वटुवाहरूले भन्छन्, ‘छाड्दिनुस् उसलाई, उसलाई तपाईको कविता सुन्न मन छैन भने किन जर्बजस्ती गर्नुहुन्छ ?’ लखेट्ने मानिस ट्वाँपर्छ र भन्छ, ‘केको कविता ? मेरो खल्तीको सबै पैसा चोरेर भाग्यो, त्यही भएकाले लखेटेको !’ खेद्ने र भाग्ने दुवैजनालाई वटुवाहरूले कवि पो भनिठानेछन् ! त्यतिन्जेलमा त्यो पाकेटमार गायब भइसकेको थियो ।

खोई किन हो, अचेल पाकेटमार त्यति छैनन्, मानिसले खल्तीमा पैसा नै राख्दैनन्, एटीएम बोक्छन् । तर, कवि चाहिँ जति पनि छन् । र, अचेल कविले कविता सुनाउन कसैलाई लखेट्न पनि पर्दैन । शुल्क तिरेर कविता सुन्नेहरू भएपछि कसैलाई लखेटिरहन प¥यो त ? शुल्क पनि थोरै होइन, पाँचसय रुपैयाँ । हलमा फिल्म हेरेको या रंगशालामा फुटबल हेरेको भन्दा चर्काे शुल्क होइन त यो ?

बाग्लुङमा कवि श्यामलको कविता वाचन कार्यक्रममा प्रवेश शुल्क थियो पाँचसय रुपैयाँ । हलमा खचाखच मानिस थिए । इन्टरनेट, टेलिभिजन, फिल्म र डिजिटल प्रविधिले साहित्य, खासगरी कविता ओझेल पर्छ भन्थे तर त्यसो भएन । कवि र पाठकको संख्या बढेको छ, श्रोता त झनै बढेका छन् । अर्थात्, कविताको बजार पनि छ ।

सर्वसाधारणले बुझ्दै नबुझ्ने, पढ्न सुन्नै झर्काे लाग्ने कविताको भने जमाना गयो । हो, कवितामा विम्ब र प्रतिक हुन्छ नै, साहित्यका अन्य विधाजति सरल हुँदैन कविता । तैपनि कवितामा मीठास भयो, सरल भयो भने पढिदिने र सुनिदिनेको कमी छैन । एकजना नवोदित कविले वरिष्ठ कविलाई एउटा कविता पढ्न दिएछ । पढिसकेपछि वरिष्ठ कविले नाक खुम्च्याउँदै भनेछ, ‘मैले त तिम्रो कविता केही पनि बुझिन ।’ नवोदित कविले भनेछ, ‘यो मेरो होइन तपाईकै कविता हो ।’

दुर्बोध्य कविता हराएर जान्छ, सुबोध्य कविता भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ या महाकवि लक्ष्मीप्रसाद देवकोटोको ‘मुनामदन’ जसरी बाँचिरहन्छ । र, समकालीन कविका कविता पनि शुल्क तिरेर सुन्छन् मानिसले । हुनत शुल्क तिरेर कविता सुन्ने सुनाउने चलन नयाँ नभए पनि के चाहिँ भन्न सकिन्छ भने आज कविता पनि साहित्यका अन्य विधाझैं फस्टाइरहेछ । तैपनि एउटा प्रश्न गर्नैपर्छ, शुल्क तिरेरै कविता सुन्न चाहने पुस्तालाई कविहरूले घतलाग्दो रचनाको घान पु¥याउन सकेका छन् त ?

काठमाडौं, नेपाल

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *