कविता : कथा जन्मास्त घामको

~टीका चाम्लिङ~

म मङ्गोलिया
झुल्किन्छु पहिलो प्रहर
पोखिन्छु पौरखी प्राण प्राचीन छातीभरि
दौडिन्छु बोकेर ताजा सपना आँखाभरि
उघार्छु नवीन दैलो हरेकदिन
मुस्कुराउँछु युगीन सभ्यता
र, छरिन्छु सर्वत्र आधुनिक चीन

चढ्छु चोमोलुङ्मा चेतना
देख्छु घुर्मैलो यलाखोम, निदौरो बुद्ध,
छुटेका इतिहास र बिमारी बस्तीहरु
सुनिन्छु आलाप आदिम आवाजमा
बेरिन्छु बिचित्र बर्तमान
अल्मलिन्छु आफ्नै आगत
र, हराउँछु अनुहार आफ्नै माटोमा
ओर्लिन्छु अत्तालिँदै भारतवर्ष
खोज्छु महात्मा, चर्खा र अहिंसा
सोच्छु सुदूर भविश्य र सर्पिल सपना
पड्किन्छु प्रतिशोधले पाकिस्तान
रोकिन्छु बन्दरगाहमै बङ्गलादेश
टेकिन्छु अनिँदो अफ्गानिस्तान
भेटिन्छु भीरमै भरिलो भुटान
र, चिरिन्छु चिराचिरा चिसो रसिया
जुर्मुराउँछु जब्बर जर्मनी
बौलाउँछु हिटलर र मुसोलिनी
लगाउँछु आगोमा बतास
फिजाउँछु गोप्य गोयबल्स
डुबाउँछु आँसुको आकास
बाफिन्छु प्राणघातक ग्याँसच्याम्बर
जलाउँछु मानव महासागर
च्यातिन्छु मायाको कपास
र, लेखिन्छु कत्लेआम कालो इतिहास
बज्रन्छु बेस्सरी नागासाकी
जल्छु ह्वारह्वार्ती हिरोसिमा
गुमाउँछु सम्वेदना र अणुशक्ति
पिल्सिन्छु जोगिँदै जिर्ण जापान
देखिन्छु ध्वस्त आइनो अन्धकार
र, उठ्छु अन्ततः एक्लो एसिया
तानिन्छु तातोमा अनपेक्षित अफ्रिका
टल्किन्छु कालकोठरीमा वर्षौं कालजयी कालो हीरा
जिउँछु जीवन्त शौर्य
सुम्सुम्याउँछु सीमाहीन श्वेत घाउ
बाँड्छु शाश्वत शान्ति सन्देश
झुकाउँछु लौह–शिर ब्रम्हाण्डको
थप्छु नौलो आयाम यही धर्तीमा
र, हाँस्छु मण्डेला मानवताको
गर्जन्छु गोर्खाली गौरव
समेटिन्छु सकुशल सिङ्गापुर
बाँच्छु बंशनास हुनबाट ब्रुनाइ
भिड्छु भयानक भियतनाम
मौलाउँछु मारपिटले मलेसिया
थाम्छु थाकेर थाइल्याण्ड
छाम्छु इज्जतले इण्डोनेसिया
फर्कन्छु पितृमाटोमै हङकङ
बिदा लिन्छु बिहानै बेलायत
र, बदलिन्छु युगको अनुहार
गड्गडाउँछु बिनाशक आँधी
भासिन्छु बालुवामा रेगिस्तान
कहालिन्छु केहीक्षण किस्मती कुबेत
भरिन्छु भित्रभित्रै इखालु इरान
मेटिन्छु मरुभुमिमा समय–सद्धाम
र, पुरिन्छु कालो धुवाँमा पूर्वी युरोप

पौडन्छु साहसको समुद्र
डुब्छु महँगो माल्दिप्स
टिप्छु टुक्रिएको टालो
ओढ्छु आजादी झण्डा
टाँसिन्छु टापुमै तमिल टाइगर
खुल्छु खुम्चिएको सग्लो श्रीलंका
सुम्पन्छु सुरम्य शान्तिले म्यानमार
सम्हालिन्छु अनकन्टार अष्ट्रेलिया
जमिन्छु ठिहीमै अन्टार्क्टिका
र, कोरिन्छु कोखमै सीमारेखा कोरिया
गहिरिन्छु गिरिँदो ग्रीस
रुमलिन्छु रुमानी रोम
पोखिन्छु प्रेमले पेरिस
हिड्र्र्छु हिम्मतले हल्याण्ड
सजिन्छु स्वीटजरल्याण्ड सौम्यता
नियाल्छु नर्वे्जियन निसाना
र, पोतिन्छु विश्व–रङ्गमा सम्पूर्ण युरोप
ब्युँझिन्छु बदलिँदो ब्राजिल
अल्मलिन्छु अनन्त अर्जे्न्टिना
कम्पन्छु चिरन्तन चिली
जोगिन्छु पसिनामा जैविक विविधता
र, सङ्लिन्छु सिङ्गो दक्षिण अमेरिका

छाम्छु कणकण माटो
चिन्छु नयाँ संसारको आवाज
खोल्छु विवेक र बाटो
र, चुम्छु कर्मले क्यानडा
कुदिशा देखाउने कम्पासको कारण
हिन्दुस्तान हिँडेको हुस्सु कोलम्बसजस्तै
उत्रन्छु अनायास अपरिचित अमेरिका
माग्छु आश्रय आदिबासी घरमा
बिर्सन्छु अप्ठ्यारो आफ्नै अतीत
रेटिन्छु रातो नश्ल
लुटिन्छु आवाद आदिमभूमि
भुटिन्छु निहत्था र उद्यमी
चुँडाइन्छु फूलजस्तै जवानी
बुन्छु साम्राज्य सपना
चस्याउँछु आणविक जमिन
जन्माउँछु आहतको आइन्स्टाइन
बर्षाउँछु लिटलव्वाय र फ्याटम्यान
जित्छु नरसंहार
हार्छु अहङ्कार
हुन्छु शासक संसारको
र, आफ्नै अहम्ले आक्रोशित
अस्ताउँछु अन्तिम प्रहर अत्याधुनिक अमेरिका ।

( ७ बैशाख, २०७२ काठमाडौँ )

(स्रोत : एबिसिखबर डट कम)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *