कथा : अफ्टर शक्

~कल्पना बान्तवा~Kalpana Bantawa

आज ठ्याक्कै एक वर्षपछि ती भयावह दिनहरु सम्झिरहेकी छु, अझै पनि आङ जुरुङ्ङ भैरहेको छ डरले, र कुनै हरर् फिल्म हेरिरहेझैँ मनमुटु कामिरहेको छ ।

पुराना केही भुइँचालोले मन–मस्तिष्कमा पारेका तत्कालीन भय र अत्यास अहिले नामेट भेसकेझैँ सायद पोहोरको महाभूकम्पको डरमर्दो अनुभवको असर पनि सायद बेअसर भैसक्थ्यो ।

तर पल्केको झिल्केजस्तै वर्ष दिनसम्म थर्काएर पनि धीत नमरेको पराकम्प नाउँको प्रकोपको कोपभाजन बनिरहनु परेकाले होला अझै मन ठेगानमा छैन । जुन बेला पनि मातेको मानिसझैं आफु हल्लिइरहेको भान हुन्छ र भुइँचालो–आतङ्कले तनमनलाई अँठ्याईरहन्छ ।

उफ ! ती दिनहरु स्मृति पटलमा सिनेमाका भयङ्कर दृश्यहरुझैँ चलमलाउन थाल्छन् ………………….

हाम्रा टोले देवजीले स्कूटर रोके, र धड्फडाउँदै हामीनजिक आएर भन्न थाले, “बाफ रे ! बालबाल बाँचियो आज, पुर्पुरो बलियो रैछ मेरो । धरहराबाट ओर्लें, अनि साइडमा राखेको स्कूटरमा बसेर दुई पाइला अगाडि के बढेको थिएँ आँखैअघिल्तिर अघि म चढेको धरहरा त गल्र्याम्गुर्लुम् ! अहिलेसम्म जिउ कामिरहेको छ ।”

“हो र ? धन्य भगवान् !” सडकछेउ तर्सेर उभिरहेका हाम्रो मुखबाट आश्चर्यमिश्रित स्वर निस्क्यो ।

“ओह ! धरहरा ढलेछ हगी, देव जी ? अनि, अरु कताकता केके भयो होला, केही थाहा भो ?” भट्ट सरले सोध्नुभो ।

“बसन्तपुर दरबार स्क्वायर्, पाटन दरबार स्क्वायर, काष्ठमण्डप सब खत्तम् ! धरहरा चढेका झण्डै पचास जना त्यहिं पुरिए रे ! भक्तपुर र सिन्धुपाल्चोक ध्वस्त भन्छन् । म त बेतोड यता कुदिहालें, घरमा के भो होला भनेर ।”

“हे इश्वर ! के हुन लागेको यस्तो ? धन्य देव जी ! तपाईं चैं भाग्यले जोगिनु भएछ !” समूहको कसैले भन्यो ।

“हो नि ! अझै बाँच्नुरैछ, त्यसैले केही सेकेण्डअघि ओर्लेछु । ल हेर्नुस् ! धरहरा चढ्न तिरेको शुल्कको रसिद पनि मसँगै छ ।” देवजीले प्यान्टको गोजीबाट झिकेर टिकट देखाए ।

माथिको कुराकानी २०७२ बैसाख १२ गते दिउँसो १ बजेतिरको थियो ।

भुइँचालोले ११.५६ मा कोक्रोको नानीलाई जसरी काठमाडौं चाबेलको घरमा हामीलाई हल्लाउनु हल्लाएर छाडिदिएको थियो । लरबराएका खुट्टा र होसहवास हराएको तालमा जसोतसो माथिल्लो तलाबाट झरेर हाम्रो परिवार घर अगाडि सडकछेउको खाली ठाउँमा उभिन पुगेको थियो ।

छर–छिमेक पनि त्यहाँ भेला भैसकेका थिए । मुवाँ उभिरहन नसक्ने, बेतको आरामकुर्सी ल्याएर बसाएका थियौं उहाँलाई । म मुवाँ बस्नुभएको कुर्सी समाएर लगलग कामिरहेकी थिएँ । जीवनमा कहिल्यै नभोगेको डर र त्राससँग साक्षात्कार भएको असाधारण बेलामा जीवन भन्दा ठूलो लागेको थियो पचास सेकेण्डको त्यो ज्यानमारा हलचल !

पहिले जानिफकारहरु भन्थे, “बिर्सिएको बेला अचानक आउँछ भुइँचालो”। नभन्दै, त्यो शनिबारको बिहान आरामले साहित्यविशेष पत्रिकाहरु पढिरहँदा मैले भुइँचालोलाई भुसुक्कै बिर्सेकी थिएँ । अरु बेला त कहिलेकाँहि झसङ्ग हुँदै सम्झन्थें, ‘अहिले भुइँचालो आयो भने ?’

१२ बज्न लागेको थियो । खाना खान थालबटुका ठिक पार्दै थियौं, भुइँचालो आई त गो ! घच्याक् घच्याक् गर्दै घर हल्लिएको आवाज भयानक सुनियो । एक्लै भए तुरन्तै तल ओर्लिसक्थें ।

तर हिँड्न त के आफैँ उभिन पनि नसक्ने मुवाँ बैठक कोठाको काउचमा बसेर बाती कातिरहनु भएको थियो, असक्त र बृद्धा आमालाई छाडेर आफु एक्लै भाग्न कसरी सक्थें र म ! बस्, मुवाँलाई समाएर मातेको मान्छे जस्तै यता र उता झुल्दै उभिरहें र कति घडी पला बितिसक्दा पनि मच्चिन नछाडेको घरको चाला देखेर कल्पें – जिन्दगी भन्नु यत्ति नै रैछ !

उत्निखेरै, माथ्लो तलाबाट भाइ र भान्छाबाट बिनिता लड्दै–पड्दै हामीछेउ आइपुगे । घर अझैँ चुँइकँदै थियो, भाइले मुवाँलाई पिठ्युँमा बोक्यो । हामी आत्तिँदै आँगनमा झ¥यौं । जमिनको कम्पन रोकिनुको साटो लगातार आइरहेको देखेपछि घर पस्ने आँट आएन, र बाहिरियौं ।

अभिन्न मित्रहरुले उतिबेलै मोबाइल मेसेज पठाए, ‘आसा छ, तिमी परिवारसहित सुरक्षित हौली !’

उनीहरुको स्नेह र चिन्ताले द्रवित बने पनि तत्काल जवाफ फर्काइहाल्ने मानसिक अवस्थामा थिइनँ, मृत्युनजिकै पुगेजस्तो लागिरहेको थियो । थोरै सम्हालिएपछि साथीहरुलाई कम से कम आफु सुरक्षित रहेको जानकारी त दिनै पर्छ भन्ठानेर टेक्स्ट गरें, तर मरिगए मेसेज गएन । फोन पनि फिटिक्कै लागेन । पछि थाहा भो, नेपाल टेलिकमको टावर ठाउँठाउँमा ढलेकाले फोन र इन्टरनेट चेट् भएछन् !

पचास सेकेण्डसम्म थर्काएर पनि भुइँचालोले सन्तोक मानेको थिएन, घरबाहिर खुला ठाउँमा बसिरहँदा पनि तारन्तार शक्तिशाली झट्काहरु आईरहेकै थिए ।

सडकछेउ उभिएका सबैको हंसले ठाउँ छाडेको थियो, म त हरेक पराकम्पसँगै मुवाँलाई समाएर चिच्याउँथें । सबैतिर त्राहिमाम् ! छिन छिनमा हामी लगायत टोलभरिका मानिस कराएको समेत कोलाहल सुनिन्थ्यो –

“ऊ ! फेरि आयो !”

“हो । आयो, आयो !”

“ऊ ! पर्खालमाथिको काँढेतार हल्लिँदैछ !”

त्यो दिनभरिजसो “ऊ ! आयो, आयो !” को ध्वनीले तर्साईरह्यो । थाहा नपाई एक पटक भुक्लुक्क मर्नु त्यति पीडादायी हुँदैन सायद, तर हिँडडुल गर्न असक्त बृद्ध बाबुआमा, साना केटाकेटी र परिवारसहित बारम्बार मृत्युको मुखमा पुगेको पीडा कल्पनातीत हुँदोरैछ ।

१२ गते दिनभरि जसो नै घरिघरि आइरहने डरलाग्दा पराकम्प झेल्दै, भयभीत बन्दै सडकछेउ घाममा सेकिएर बसिरह्यौं । रात प¥यो । भाइले साथीको बाट त्रिपाल ल्यायो ।

पाँच परिवार अटेसमटेसिँदै त्यहि सडकछेउको पालमुनि बस्यौं । बिर्सेको भोकतिर्खा झमक्क साँझ पर्दा उख्खुम भएर आयो, बिहानको खाना खाइएको थिएन ।

भोक सबैलाई लागेको, तर नजिकैको घरमा छिरेर खाना बनाउने वा बिहानको खाना तताएर खाने आँट कसैमा थिएन । टोलकै दोकानबाट किनेर ल्याइएका च्युरा, वाइवाइ र दालमोठ–भुजिया प्लास्टिकका झोला ओछ्याएर मिसायौं, र म¥याङ म¥याङ चबायौंं । भोक मिठो कि भोजन ? त्यो बेला राम्ररी थाहा भो ।

विभिन्न एफ एम स्टेसनबाट प्रसारित मानवीय र भौतिक क्षतीको जानकारी सुनिरहँदा मन थाम्न सकिएन । दिवंगत मानिस र घरबारबिहिन बनेकालाई सम्झेर आहत भयौं ।

फेरि उतिबेलै कुन चाहीँ एफ एमबाट हो एक ज्योतिषीले भविष्यवाणी गरे, “राती ११.५६ देखि १२.१० भित्र कुनै पनि बेला फेरि दोस्रो  भुइँचालो जान सक्छ, हुन त मैले त्यस्तो नहोस् भनेर पूजा गर्दिसकेको छु ।”

हाम्रो जमात फेरि तस्र्यो । उसै त छिनको छिनमा गैरहेको पराकम्पले सातो उडाइरहेको थियो, त्यसमाथि त्यो आतङ्ककारी घोषणा ! मेरो भाइ र छिमेकका तन्नेरीहरु ज्योतिषीसँग मुर्मुरिए – त्यो त्यतिसारो जान्ने हुँदो हो त हिजोअस्ती नै आजको ठूलो भुइँचालोको भविष्यवाणी किन गरेन ?

उनीहरुका कुरामा ‘हो ! हो !’ भन्दै सही थापे पनि, सम्भावित ठूलो भुइँचालोको भयले टोलीका पाका मानिस र हामी आइमाइ केटाकेटी भित्रभित्र सबै कामिरहेका थियौं क्यार !

पालमुनि सबैलाई गोडा पसारेर सुत्न पुग्ने ठाउँ थिएन, त्यसमाथि दर्किन थालेको पानीले उठेर बस्न कर लाग्यो । निद्रा त यसै पनि थिएन आँखामा, किनकी मनमा त्राससहितको प्रतिक्षा थियो ज्योतिषीले भनेका ११.५६ देखि १२.१० समयावधिको ।

छातीमा धड्किरहेको डरसरीको मुटुलाई थुम्थुम्याउने प्रयत्न गर्दै चौध मिनेट मरेर काट्यौं । धन्य ! त्यो अवधि सामान्य बित्यो । बाँचियो कि क्या हो जस्तो लागेर लामो सास फे¥र्यौं । केटाहरु दाह्रा किट्न थाले, “देख्यौ त हाम्ले भनेको ? सन्चार माध्यमबाट नागरिकलाई त्रसित बनाउने आधारहीन सूचना सम्प्रेषण गर्ने त्यस्तालाई त …..”

भरदिन बडो तनावमा गुज्रिएको आफ्नो ज्यान पनि सारै गतिलो त छैन भन्ठानेर यसो कुचुक्क परेरै निदाउने कोशिस गरें । तर जबजब म भुइँमा पल्टन्थें, ठ्याक्क त्यही बेला टोले र हाम्रो टोलीको चर्को आवाज गुन्जन्थ्यो, “ऊ ! आयो, आयो !”
धत्तेरी ! मैले त पल्टनै भएन ! सबैले आँखैमा काट्यौं त्यो रात ।

भोलिपल्ट आइतबार बिहान पौने पाँच बजे, खुट्टा सोझ्याउन प¥यो भनेर म पालनजिकैको बाटोमा टहलिन थालें । हाम्रो समूहका दुई चार जना पनि यताउती घुम्दै थिए । त्यही बखत फेरि डरलाग्दो झट्कासहित पृथ्बी हल्लियो । म ‘मुवाँ !’ भन्दै मुवाँ बस्नु भएको ठाउँतर्फ कुदें, तर बाटोमै भ्यात्त पछारिएँ । पछि थाहा भो, ५.५ रिक्टर स्केलको रैछ त्यो धक्का !

दिउँसोको एक बज्न लागेको थियो, फेरि आयो अर्को भयङ्कर भूकम्प ! बाफ रे ! अघिल्लो दिनको भन्दा शक्तिशाली लागेको त्यो भूकम्पले त मलाई अधमरो नै बनायो । शनिबार घरभित्र भएकाले होला, आफु र घर हल्लिएकोमा मात्र ध्यान केन्द्रित थियो ।

आइतबार दिउँसो चाहीँ, खुला ठाउँमा थियौं । आफु फनफनी घुमिरहेको पानीघट्टमाथि बसेजस्तो भएर रिङ्गटा लागिरहेको थियो भने वरिपरिका घरहरु भुराहरुका खेलौना घर यता र उता झुलिरहेका प्रष्ट देखिन्थे ।

त्यतिखेर लाग्यो, आज प्रलय आएरै छाड्नेरैछ ! सानोमा पढेको अङ्ग्रेजी कथा ‘द लास्ट डे अफ विम्पी !’ झलझली आँखामा आयो । तिनै विम्पीवासीको झैँ हविगत हुने भो भन्ने डरले थरथरी कमायो ।

अन्तरमनमा आतङ्कको भारी बोकेर पालमुनी के के गफ गरिबसेका थियौं । तीन बजेतिर कताबाट उड्दैउड्दै हाम्रा कानमा पनि अलच्छिन खबर पस्यो – नासाले भनेको, अहिले चार बजे नौ रिक्टर स्केल भन्दा ठूलो भुइँचालो फेरि जाँदैछ रे ! सबै जना सुरक्षित स्थानमा बस्नू रे !

हरे ! त्यसपछिको अत्याहट नै दस रिक्टर स्केलजत्तिको थियो सायद । सब थर्कमान् ! हाम्रो घर भन्दा चार घर पर तीन रोपनीजति कसैको खाली जग्गा थियो, धेरैजसो टोलबासीले अघिल्लो रात त्यहीँ लहरै त्रिपाल टाँगेर बिताएका थिए । उनीहरु पनि यो नौलो र मुटु कमाउने खबर सुनेपछि के गर्ने र कसो गर्ने भन्दै कुदाकुद गर्न थाले ।

हामीलाई पनि लाग्यो, चारैतिर घर, पर्खाल र बिजुलीका पोलबीचको हामी बसिरहेको सानो ठाउँले अझ ठूलो भुइँचालो थेग्न सक्दैन । तर समूहका धेरैले नपत्याएर भने, “यो हावा कुरा हो, कोही पनि नआत्तिनू । नासाले यस्तो ठोकुवा गर्न सक्ने भए हिजोअस्ती नै गरिहाल्थ्यो नि !”

हाम्रा टोलीका युवा आ–आफ्ना साथीभाइ र आधिकारीक स्रोतलाई नासाको वेबसाइट हेरेर सत्यतथ्य पत्ता लगाइमाग्न टेक्स्ट र फोन गर्न थाले । तुरन्तै पत्ता लाग्यो, सब बतासे कुरा रैछन् !

हावा कुरा नै भए पनि नराम्ररी तर्सिसकेका आइमाइ केटाकेटी त्यसपछि त्यही ठाउँमा बसिरहन सक्दै नसक्ने भयौं । एक घर पर्तिर तत्कालिन् शानेवानीका भुपू महाप्रबन्धक रामाज्ञा चतुर्वेदीजीको घर छ हाम्रो टोलमा । कम्पाउण्ड निकै फराकिलो र चौडा आधारशिलामा खडा भएको दुइतले घर छ उनको । मलाई लाग्यो – टोलभरिमा सुरक्षित लाग्ने त उनकै बारीको पाटा छ, किन त्यहीँ नबस्ने ? समूहमा त्यो कुरा राखेपछि चार परिवारका नाइके चतुर्वेदीजीसँग अनुरोध गर्न गए । उनले एकै वचनमा हुन्छ भनेछन् ।

एक छिनलाई सब पीरब्यथा भुलेर डेराडण्डा उठाएर हामी खुसीखुसी चतुर्वेदीजीको बारीमा स¥यौं र समूहका बलियाबाङ्गा सदस्यहरुले बाँस गाडेर पाल टाँगे । पालमुनि गुन्द्री, दरी, प्लास्टिक र लम्पटहरु ओछ्यायौं । जारको पानी किनेर ल्याायौं र फेरि उही च्युरा, भुजिया र वाइवाइको डिनर ग¥यौं ।

दर्के पानी र अचम्मको जाडोसँग त्यो दोस्रो रात हामीले त्यहीं बितायौं । चतुर्वेदीजीले जहानसहित दुई पटक आएर हाम्रो समूहलाई थप सुविधा दिन नसकेकोमा खेद प्रकट गरे । हामीले ‘यतिका मानिसलाई आश्रय दिनु नै हाम्रा निम्ती लाख हो, धन्यवाद !’ भन्दा ‘कृपया धन्यवाद नभन्नुहोस्, यस्तो विपदका बखत नागरिकले एकअर्कालाई सहयोग नगरे कसले गर्छ ?’ भने ।

छिमेकी भु.पु.डिआइजिपी काकासँग ‘यस्ता ठूला मानिससँग हामी भारेभुरेको के तुलना’ भन्ठानेर पहिले बोल्न धक लाग्थ्यो । महाभूकम्पपछि हरदमको संगतमा अत्यन्त सरल र मिजासिला पाएँ उहाँलाई ।

भर्खरै खनेको बारीको डल्लाडल्ली र ड्याङ बनाइएको डाँडाखाल्डामाथि सुत्दा पाको उमेरका उहाँलाई सारै अप्ठ्यारो भएको थियो, तर कुनै गुनासो नगरी सुत्नुभो बिचरा ! म पनि थोरै ढुक्क भएँ – जति ठूलो भुइँचालो आए पनि वरिपरि कुनै घर नभएको यस्तो खुला ठाउँमा के होला र ? केही भए पनि देखा जाएगा भन्ने निश्चिन्तता जागेर होला चिसो दोलाईं ओढेर म त भुस् भएछु !

बिहान ब्युझिदा ममाथिको त्रिपालको आकास थिएन, जवानहरुले फेरि पुरानै कित्तामा घर सारिसकेछन् । चतुर्वेदीजीलाई फेरि एक पटक धन्यवाद भन्दै म पनि फर्किआएँ त्यही घरछेउ सडककिनारको पालमुन्तिर ।

नेपालीको जातलाई भात नखाई पेटै नउक्सिने ! तीन दिन भैसकेको थियो भात नखाएको । डराउँदै, तर्संदै घरमा गएर धेरै पकाइरहन नपर्ने गुन्द्रुकको झोल भुलुक्क उमाल्यौं र पालमुनि ल्याएर हतार्हतार् भात खायौं ।

त्यस पछिका दुई रात भुइँचालोका सानाठूला धक्का सहँदै त्यहीँ बितायौं । पालमुनिको अन्तिम साँझ, महाभुकम्पमा परी ज्यान गुमाएका सम्पूर्णलाई सम्झेर श्रद्धान्जलीस्वरुप केही मैनबत्ती अस्थाई घरवरिपरि बाल्यौं ।

त्यही रात, ‘अब कति दुखी भैरहने ? पुनः पाएको यो अतुल्य मानव जीवनको उप्रान्त सदुपयोग गरौं बरु !’ भन्दै हामीले सानो सुख्खा उत्सव मनायौं – चिसो पेय पदार्थ र उही च्युरा, दालमोठ खाएर ।

अर्कातिरका छिमेकी सोल्टीको मादलको ताल र सोही घरको भुइँतलामा बस्नुहुने भट्ट सरको बाँसुरी वादनको जुगलबन्दीमा केही भजन र लोकगीत गाएर मन हलुका बनायौं ।

पाँचौं रात हाम्रो समूह छुट्टियो । टोलीका सारा परिवार त्रसित मनसहित घर पसेर क्रमशः सिकुवामा, भाग्न सहज हुने ठाउँहरुमा, बैठकमा र सुत्ने कोठामा सुत्न थाल्यौ ।

बैसाख १२ पछिको बहत्तर घण्टा, अनि फेरि बैसाख १३ पछिको बहत्तर घण्टा, जम्माजम्मी चार रात र पाँच दिन पालमुनिको बास भो । मेरी अस्सी वर्षकी मुवाँ दुई वर्षदेखि दुवै घुँडा जाम भएर हिँड्डुल गर्न असमर्थ, त्यसमाथि दमको रोगी हुनुहुन्छ । पालमुनिका ती दिनरात मुवाँका लागि थप शारिरीक यातनाजत्तिकै बने । फेरि मौसम पनि बैरी बनेको थियो तिनताका ।

दिनभर लाग्ने तन्दुरजस्तो घाम – सग्लो मान्छेलाई सुकाई दिनासाथ रोष्ट बनाईदिन बेर नलाग्ला कि झैँ ! साँझ प¥यो कि त धमर्धुस्स आकास गर्जिन थाल्थ्यो – सातो उडाउने गरी चट्याङ पाथ्र्यो ।

काठमाडौं सिनित्तै पारेर लैजाला कि जस्तो,  समुद्री तुफानजस्तो आँधीबेहरी आउँथ्यो । पानी–झरीले दनक दिने उस्तै । लाग्थ्यो – आकास, धर्ती र अन्तरिक्षको ऊ जुनीमा ऋण खाएका रैछन् नेपालीले, त्यसैको बदला लिन ब्रह्माण्ड हाम्रा विरुद्ध षडयन्त्र गर्दै थियो ।

पाउलो कोहेलोको लोकप्रिय भनाई ‘यदि तिमी दिलोज्यानले केही चाहन्छौ भने सारा ब्रह्माण्ड मिलेर तिम्रो चाहनापूर्ति गर्न लागि पर्छन्’ पनि हाम्रो दयनीय अवस्थामा उल्टो मिलेको थियो । धत्तेरी !

अँ त, ती कष्टकर दिनरातका धपेडीले होला महाभूकम्पयता दम बढेर मुवाँको दैनिकी थप गारो बन्दै गएको थियो । वर्षौं अघिदेखि लिँदै आउनु भएको मुखले तान्ने दबाईहरु बेकामे हुँदै थिए । मुवाँलाई असल फिजिसियनलाई नदेखाई नहुने छाँट देखियो ।

नर्भिक अस्पतालका डा. रमेस चोखानी दमरोगका लागि बिख्यात छन् भन्ने सुनेर उनैसँग मुवाँलाई जँचाउन नर्भिक अस्पतालमा फोन गरें । रिसेप्सनिष्टले भनिन्, “अहिले नाउँ लेखाउनुभो भने दुई–तीन महिनापछि पालो आउँछ, गारै छ भने इमर्जेन्सीमा ल्याउनूस् !”

उफ ! दुई–तीन महिनासम्म कसरी कुर्नु ? मुवाँलाई सजिलो श्वास–प्रश्वासको खाँचो महसुस भैरहेको थियो, तर इमर्जेन्सीमा पु¥याएर अक्सिजन नै दिहाल्नुपर्ने आपतकालीन अवस्था थिएन । अलमल्ल परें । सोंचेकै थिइनँ कि, डा. रमेस चोखानीको अपोइन्मेन्ट पाउनु यति अप्ठ्यारो होला ।

मैले फोनमै अनुनय विनय गरें, मुवाँको उमेर र असक्त शारिरीक स्थितीप्रति थोरै संवेदनशील भैदिन आग्रह गर्दै आफु पनि नर्स भएको बताएर रिसेप्सनिष्टको मन पगाल्ने प्रयास गरें ।

रिसेप्सनिष्टले शान्तिपूर्वक मेरो दुखेसो सुनिन् र भनिन्, “एकै छिन होल्डमा बस्नूस् है त !”

‘हस् !’ भनेर फोन कानमा टँसाइरहें । उनले चार पाँच ठाउँमा कताकता हो फोन गरेर छोटाछोटा कुराकानी गरिन् । र अन्तमा मसँग सम्बन्धित् हुँदै भनिन्, “केही अपोइन्मेन्टवालाहरुलाई कन्फर्मेसनका लागि फोन गरें । तपाईं लक्की हुनुहुँदो रैछ । भोली र पर्सीको एक एक पेसेन्ट नआउने हुनु भो । भन्नूस् ! मुवाँलाई भोली ल्याउनुहुन्छ की पर्सी ?”

दङ्ग पर्दै भनें, “भोली नै । धेरै धेरै धन्यवाद !”

मे १२ तारिखको डा. चोखानीको ओपिडीमा जँचाउनलाई मुवाँको नाउँ दर्ता गराएर ढुक्कको सास फेर्दै ती दयालु रिसेप्सनिष्टलाई नमस्कार भनेर फोन राखें ।

त्यतिबेलै मुवाँले भन्नुभो, “मङ्गलबार त खरो बार हो मैंया ! बरु पर्सी बुधबारलाई नाउँ लेखाको भा हुन्थ्यो कि ?”

“अहँ, हुँदैन । भोली नै जान पर्छ, यस्तो मुस्किलले मौका पाइएको छ । खरो बार सरो बार केही होइन, मङ्गलबार त मेरो मन पर्ने गणेसजीको बार । पर्सी १३ तारिख हो, १३ अङ्क चाहिँ मलाई उतिसारो मन पर्दैन मुवाँ !”

मे १२ तारिखको बिहान, खाना खाइवरी ट्याक्सीमा सपरिवार नर्भिकतर्फ लाग्यौं । ट्याक्सी चालक दाइसँग भुइँचालोको कुरा गर्दै बाटाघाटाका ढलेका घर, र सहरका बीच बीचमा स–साना चउरमा टाँगिएका पाल–घरहरु हेर्दै चाबेलदेखि थापाथलीसम्मको बाटो काट्यौं । भूकम्पपछि पहिलो चोटी घरबाहिर निस्केका थियौं, र पहिलोपटक काठमाडौं आएका दूर दराजका गाउँलेजस्तै नौलो काठमाडौं देखेर छक्क पर्दै थियौं ।

सवा एघारमा नर्भिक पुग्यौं । केही बेर कुरेपछि डा. रमेस चोखानीकी असिस्टेन्ट डाक्टरले मुवाँको रोगको लम्बेतान हिस्ट्री लिइन् । त्यसपछि बल्ल डा. चोखानीले मुवाँलाई हेरे । शिरदेखि पाउसम्म निकै समय लाएर एकसरो जाँचे ।

‘दबाई कसरी तानिरहनु भएको छ ? खाली बट्टा तानेर देखाउनूस् !’ भने । मुवाँले देखाउनुभो । ‘तपाईंको दबाई तान्ने तरिकै गलत रैछ !’ भनेर सही तरिका सिकाइदिए र आफ्नै अगाडि अभ्यास गर्न लाए । म चाहिँ, आफु नर्स भएर पनि मुवाँको दबाई तान्ने सही तरिका नआएकोमा लजाउँदै उभिरहें ।

अन्तमा, नयाँ दबाई थपिदिँदै पुरानो एउटा चाहिँ लिईरहने सल्लाहसहित लामो सास फेर्ने अभ्यास गरिरहने र सकेसम्म हिँडडूल गर्ने भनेर मुवाँको ओपिडी कार्डमा लेखिदिए । साथै पाँच थरीका इन्भेस्टिगेसन्स गर्न सुझाए, र पछि तिनका रिपोर्टसहित फलोअपमा आउन भने ।

क्यास काउण्टरमा गएर इन्भेस्टिगेसन्सका शुल्कबारे बुझे । लास्टै महँगो रैछ । तर फेरि सस्तोमा परिक्षण गर्ने ठाउँ खोजिहिँड्दा हिँड्न नसक्ने मुवाँले अतिरिक्त पीडाको बोझ बोक्नु पर्ने सत्य सम्झेर पैसाको हैन मुवाँको मुख हेर्ने निश्चयसाथ सबै परिक्षण नर्भिकमै गर्ने निर्णय गरें ।

शुरुमा बडो दुखले मुवाँलाई उभ्याएर छातीको एक्स–रे गरियो । मुवाँलाई दुवैतिर समाएर उभ्याउन सहारा दिँदा भाइ र मैले पनि रेडिएसन खायौं । भाइले त चाल पाएन, तर मलाई थाहा थियो एक्स–रे गर्नेसँगैकामा पनि रेडिएसन पर्छ । मलाई ननिको लागेन, सोंचें – हामीलाई हुर्काईबढाई गर्दा कस्ताकस्ता दुखकष्ट खप्नुभएकी मुवाँका लागि मेरो जिउमा परेको जाबो एक चोटीको रेडिएसन के हो र !

एक्स–रे गर्नलाई लुङ्गीमाथिको भेष्ट फुकालेर मुवाँलाई अस्पतालकै छोटो भोटो लाइदिएका थिए । मुवाँ सोही भोटो लाएर इसिजी गर्ने कोठाअगाडि ह्वीलचेयरमा बसेर पालो पर्खंदै हुनुहुन्थ्यो । मुवाँको आडैमा भाइ, सहयोगी साथी विनिता र म उभिएका थियौं । कोठाभित्र एक जना बाको इसिजी हुँदै थियो ।

ठ्याक्क त्यतिबेलै, मेरो गोडामुनिको जमिन हल्लियो ।

लरतरो हैन, भयङ्कर धक्कासहित हल्लाइरह्यो धरतीले । अत्यासिएर ‘मुवाँ !’ भन्दै चिच्याएँ । मानिसहरु आत्तिँदै–कराउँदै एक्जिटतर्फ दौडिरहेका थिए, मेरो आँखैअगाडि नर्भिकको भुइँतलाको भित्ता चररर चिरियो ।

त्रसित मनमा एउटै कुरा आयो त्यो बेला, “घरबाहिर कहाँ आएर सपरिवार मर्न लेखेको रैछ नि !” स्वस्फुर्त मुवाँ बस्नु भएको ह्वीलचेयर समाएर तान्न थालें । भाइ भन्दै थियो, “दिदी ! नआत्तिनू ! यो कम्पन सकिएपछि निस्कौंला ।”

तर म मानिनँ, दिमागमा जसरी भए पनि मुवाँलाई लिएर तुरन्तै यो भवनबाट बाहिरिनु पर्छ भन्ने थियो । मुवाँको ह्वीलचेयर तानीरहें । भाइ र बिनिताले पनि साथ दिए र हामी रिङ्गटा लागेकोजस्तो हुँदै छिनमै बाहिर पुग्न सक्यौं ।

जमिन हल्लिने क्रम अझै रोकिएको थिएन, नर्भिकको साँघुरो पार्किङ लटमा धेरै मानिस पुगिसकेका थिए, हामी पनि त्यहि भीडमा मिसिएर काम्न थाल्यौं । डा. चोखानीलाई ब्रिफकेस झुन्ड्याउँदै आत्तिएर पार्किङस्थलतर्फ आउँदै गरेको देखें, तर ध्यान फेरि खुट्टामुनिको जमिन हल्लिरहेकैमा केद्रित भयो ।

पार्किङ स्थलको वातावरण अत्यासलाग्दो थियो । कोलाहल, रुवाबासी र अटेसमटेस मानिसले भरिएको सानो ठाउँमा समय बडो क्रुर बनेर हाम्रो बिजोग हेरिरहेको थियो । अस्पतालको पोशाक लगाएकी महिला घरमा छाडिएका नानीहरु सम्झेर क्वाँक्वाँ रुँदै थिइन्, फोन गर्न खोज्थिन् तर फोन लागिरहेको थिएन ।

लगत्तै अस्पतालका कर्मचारीहरुले वार्डका बिरामीलाई बेडसहित त्यहि पार्किङ स्थलमा हतारोसहित ओसार्न थाले । बिचरा असक्त बिरामीहरुको हालत टिठलाग्दो थियो । सोझै परेको सूर्यको प्रचण्ड रापले त्यहाँका सबैको टाउको रन्काईरहेको थियो । डाक्टरले हेर्न माग्छन् कि भनेर मुवाँको पुरानो छातीको एक्स–रे लगेका थियौं, त्यहि कागजको खोलभित्रको एक्स–रे मुवाँको शिरमाथि राखिदियौं ।

त्यसअघिका दुईटा ठूला भूकम्पका बेला घरमै थिएँ । उतिबेला पनि ज्यादै डराएकी थिएँ म, तर मानिसहरुको तेत्रो भीड, कोकोहोलो, चिच्याहट र रुवाबासी प्रत्यक्ष देखेकी थिइनँ । सहरमा भुइँचालोले मच्चाएको बिध्वंस आँखाले देखेकी थिइनँ । त्यसपछि बैसाख २९ गतेसम्ममा जनजीवन सामान्यततर्फ उन्मुख हुँदै थियो । अब त ठूलो भुइँचालो नजाला भन्ने लागेर नै मुवाँलाई जँचाउन उति टाढा लिएर गइएका थियौं ।

त्यो दिन त्यो भयावह वातावरणमा बसिरहन सक्दै नसक्ने भएँ । घर फर्कन ट्याक्सी खोज्यौं, अँह, ट्याक्सीको कतै नाउँनिसान देखिएन । उत्निखेरै एउटा खाली प्राइभेट मोटर एक्जिटतर्फ बढ्यो ।

चाबेलतिर जाने हो भने लिफ्टका लागि अनुरोध गर्छु भनेर हात उठाएँ, मोटरचालकले मलाई सर्सर्ती हेरे र मन्टो बटारेर गाडी अघि बढाए । म दुख, अपमान र क्षोभले किचिएर ठाउँको ठाउँमै उभिरहें ।

धन्य ! भाइ कुद्दै आएर भन्यो, “एउटा ट्याक्सी बल्ल पाइयो, तर एउटी दिदी पनि छन् मूलपानी जाने । तपाईं तीन जना पछाडि बस्नू, म हिँड्दै आउँछु ।”

थोरै राहतको सास फेरेर मुवाँलाई लिएर ट्याक्सीनजिक गयौं । भाइले ट्याक्सी चालकलाई सोध्यो, “दाइ ! हामीले कति पैसा दिनु पर्ने हो ?”

“एक हज्जार ।”

“यहाँबाट चाबेल गएको एक हज्जार ? आपतको बखत पनि यस्तो कडीकडाऊ दाइ ?” मैले भनें ।

छेउको सीटमा बसेकी महिलालाई देखाउँदै चालक झोंक्किए, “हेर्नूस् ! उहाँ दिदीको बिल्डिङ भैराछ, त्यै भ’र उहाँसँगै तपाईंहरुले चानस् पाउनुभाको । नत्र भने यस्तो बेला जहानपरिवारसँग नबसेर कोल्ले ट्याक्सी निकाल्छ ? झन धर्म गर्न खोज्यो झन नहुने यो मान्छेको जातलाई ……”

आत्तिँदै भनें, “सरी दाइ ! तपाईंले भनेजति नै दिन्छौं । तर मेरो भाइ पनि सँगै जान्छ, पछाडि हामी मिलेर बस्छौं । आमा हिँड्न सक्नुहुन्न, ट्याक्सीबाट ओराल्न भाइ नै चाहिन्छ ।”

बल्ल ट्याक्सी गुड्यो । नर्भिक अस्पतालबाट भित्रभित्र हुँदै माइतीघर मण्डला निस्क्यौं । मूल सडकमा ट्राफिक जाम भैसकेको थियो । मानिसहरु सडकछेउ समूह समूहमा बसेका थिए । चालकले एफ एम ट्युन गरे, रेडियोका उदघोषकद्वयले हामी सुविधानगर पुगुन्जेल तीन पटक भने, “भर्खरै पनि हामीले पराकम्प महसुस ग¥यौं ।”

त्यतिबेलै झस्कँदै भाइले चालकलाई भन्यो, “दाइ ! नयाँ बानेश्वरबाट पुरानो बानेश्वर हुँदै तपाईंले हामीलाई चाबेल छाडिदिनुहुन्छ होला भन्ठानेको त ……………”

चालक फेरि रन्किए, “अरे यार ! कुरा बुझ्नुस् न हौ ! उहाँ दिदी बिरामी हो के ? बिल्डिङ भैराछ उहाँको । मूलपानी त्यैं त हो, पहिले उहाँलाई छाडिदिनु पर्छ क्या ? कस्तो ………”

हामी चुप् !

ती दिदीको शरिरमा कहाँबाट ब्लिडिङ भैरहेको थियो भन्ने कुरा कुनै कोणबाट बुझ्न सकिनँ मैले । चालक उनका साख्खै भाइ भए झैँ साखुल्ले पल्टेर मजाले बात मार्दै थिइन् उनी त !

कोटेश्वर पुग्दा चालकले पत्नीलाई मोबाइलबाट फोन गरे । केही बेरपछि फोन बन्द गर्दै सुनाए, “मेरो बुढीलाई लाटी भन्नु की आँटिली ! अस्ती ठूलो भुइँचालोमा पनि ऊ घरबाहिर निस्कँदैन त ! भित्र पसें, बुढी त एलसिडी टिभी समातेर हल्लि पो रा’को ! हत्त न पत्त पाखुरामा समाएर निकालें । अहिले नि ‘कत्रो भुइँचालो आयो नि ! था पायो ?’ भनेको, ‘अँ, थोरै हल्लायो !’ भन्छ । के भन्ने !”

दिदी हाँसिन्, “हा हा हा …… कस्तो हँसायो हौ यो भाइले !”

मैले पनि जबर्जस्ती ओंठलाई कानसम्म पु¥याईटोपलें ।

थापाथलीबाट गुडेपछि कोटेश्वर, पेप्सीकोला, मूलपानी हुँदै गोकर्णनजिक पुगेर जोरपाटी निस्केपछि डेढ घण्टाको पीडादायी यात्रापछि बल्ल हामी घर आइपुगेका थियौं । चालकदाजुले दिदीबाट पनि एक हज्जार प्राप्त गरे, हामीले पनि चुइँक्क नगरी पुरा पैसासहित उनलाई धन्यवाद दियौं ।

सडकछेउ बेतको कुर्सीमा बसाएपछि भाइले नियालेर हे¥यो मुवाँलाई, र दोब्रिएर हाँस्दै भन्यो, “ला ! ममीले त नर्भिककै भोटो पो अहिलेसम्म लाइर’नु भाको रैछ ।”

त्यो भयानक दिनपछि फेरि पाल–जिन्दगीमै त्वम् शरणम् ! हुने भयौं, तर त्रिपाल थिएन । पहिलेको त्रिपाल भाइका साथीले गाउँमा पठाईदिई सकेछन् । बडो दुख गरेर भट्टसरले कहाँबाट दुईसरो गरेर टाङ्नुपर्ने पाल खोजिल्याउनुभो र हाम्रो उद्धार भो ।

जेठ १२ गतेसम्म सडकछेउ पालमुनि बसियो । बैसाख २९ पछिका १४ दिनसम्म म सातो गएको बच्चाजस्तै भएँ । टिभी, रेडियो र फेसबुक खोल्नै सकिनँ । भूकम्पका अपडेटधरि सुन्न गारो भयो । घर छिरेपछि आकलझुकल टिभी हेर्दा, “अब सचेत र सकारात्मक रहँदै आ–आफ्ना काममा लागेर सामान्य जीवनमा फर्कनु पर्छ ।

विज्ञानलाई विश्वास गरौं, बतासे कुरामा नलागौं ।” भन्ने विद्वानका बोली देववाणीसरह लागेर सुनिरहें । तर पनि निकै पछिसम्म बरण्डामै सुतें । आज वर्ष दिन बितिसक्दा पनि नरोकिएका भूतजस्ता पराकम्पले तर्साएर म सामान्य हुनै सकेकी छैन ।

म तब मात्र ढुक्कसाथ सामान्य दैनिकीमा फर्कन सक्छु, जब मुलुकभरि भूकम्प प्रतिरोधक दुइतले घरका चारैतिर वा तिनतिर वा दुईतिर वा छेउमा दुईतले भन्दा अग्ला घर हुने छैनन्, जब प्रत्येक घरवरिपरि मनग्गे खाली जग्गा हुनेछ र हरेक टोलमा सार्वजनिक चौरहरु हुने छन् ।

म साधारण मान्छे, सहरमा जताततै ठडिएका भीमकाय भवन, हाउजिङ अपार्टमेन्ट र कर्पोरेट हाउसले मुलुकको सर्वाङ्गिन् विकास र अर्थतन्त्रमा दिईरहेका उच्च योगदानबारे अन्जान छु । तर मलाई यति त थाहा छ कि बडेबडे भौतिक संरचनाहरु जीवन भन्दा ठूला र मूल्यवान कहिल्यै नहुने रैछन् !

यो ज्यानले यसअघि पनि भूकम्प–अनुभव गरेको हो । भुतपूर्व भूकम्पहरु मलुवा सुर्तीजस्ता थिए, उतिसारो मात नलाग्ने खालका । एक पटक ‘घच्च् !’ ग¥यो अथवा ‘घच् ! घच् !’ गरेर निमेषभरलाई घर हल्लायो, सकियो । टोल, बजार, कार्यालय र बाटाघाटामा केही बेर हल्लीखल्ली हुन्थ्यो, मानिसहरु झुण्डझुण्डमा बाँडिएर भूकम्पसम्बन्धि परिचर्चामा सहभागी हुँदै नागरिक हुनुको कर्तब्य पुरा गर्थे ।

“भुइँचालो गएपछि फेरि फर्केर आउँछ रे” भनेर आधा घण्टाजति फर्किने भुइँचालोलाई कुर्थे, अनि लाग्थे फेरि आफ्नै कामधन्दामा । ती भुइँचालोका चर्चा हद्द भए सातादिन रहन्थ्यो र सकिन्थ्यो ।

२०६९ असोज १ गते साँझ आएको भुइँचालो पनि त्यहि मलुवा मार्काको थियो, र त्यस अघिपछिका अनगिन्ती भूकम्प पनि आजभोलीका ४–५ रिक्टरे पराकम्पजस्ता थिए, तीनलाई बाल दिइँदैन थियो ।

तर यस पाली, खरो सुर्ती झैँ कडा भुइँकम्पले महिनौसम्म रिङ्गटा लगायो । उग्र तिब्रता र लामो समयावधिका कारण मान्छेको सातो उडायो, त्यसैले यसलाई महाभूकम्प भनियो ।

एक पल्ट आएर चित्त बुझाएन फेरि यसले, पराकम्पको नाउँमा मान्छेलाई थरथरी कमाउने गरि वर्षैभरि छड्के चेकजाँच गरिरह्यो । २०४५ भदौ ५ गते झिसमिसेमा आएको भुइँचालो पनि विनाशकारी थियो र तीन चार दिन पराकम्प आएका थिए उबेला पनि । तर यो पटकको जस्तो मानिसको मानसिकता नै खल्बल्याएको थिएन त्यसले ।

बहत्तरे महाभूकम्पले नेपालीको जीवन र दैनन्दिनमा गाढा प्रभाव पा¥यो । अङ्ग्रेजहरुले भेटघाटमा मौसमको चर्चासँगै कुराकानी अघि बढाए झैँ आजभोली परिचित भेट हुँदा नेपालीहरु ‘अनि, आरामै ? भान्छा भो ?’ भन्नुको साटो ‘था पाउनुभो ? आज बिहानको ? ४.५ को गयो नि ? यो पाली त काठमाडौं नै केन्द्रबिन्दू, आफ्नै  गोडामुन्तिर । कस्तो आपद्, लौ हेर्नूस् त ?’ भनेर कुरा थाल्छन् । पराकम्प नेपाली जनजीवनको अभिन्न अङ्ग बन्यो, र अद्यापी बनिरहेको छ ।

यो महाभूकम्पका कारण झण्डै आठ हज्जार मानिसको अमूल्य ज्यान गयो, त्यो भर्पाई कसैगरि हुनेवाला छैन । तर साथसाथै यसले नेपाली चेतनाको जरै समाएर हल्लाई पनि दियो । साधारण नागरिकले पहिले कता हो कता, एकादेसको कथाजस्तो सुनेका टिबेटियन प्लेट, इण्डियन प्लेट, युरेसियन प्लेट र नेपालको हिमाली सिमाक्षेत्रजस्ता नाउँ अहिले तीनलाई कण्ठै भए ।

वैज्ञानिक र विज्ञका मुखबाट ती प्लेटहरुको निरन्तर घर्षण, ती घर्षणबाट सुस्तरी सङ्ग्रह भैरहने चाप, अति भएपछि इपिसेन्टरबाट जमिनमा बिस्फोट भएर निस्कने चाप नै भूकम्प कहलाइने कुरा सामान्य पढालेखा मानिसले पनि बुझे ।

हाइपोसेन्टर जमिनमुनि जति किलोमिटर टाढा भयो त्यसको असर सतहमा त्यही अनुपातमा कम हुने, र भूकम्पका बेला बनेको फल्टलाइन बिस्तारै जोडिने प्रकृया नै पराकम्प अर्थात् आफ्टर सक हो भन्ने तथ्य भूकम्पीय ज्ञान शून्य भएका शिक्षितलाई पनि मुखाग्रजस्तै भयो । वर्षैभरि झेलिरहेको सकसको कारक ‘आप्mटर् सक’ त झन जसको मुखमा पनि झुण्डियो ।

नासा, सिएनएन, भारतीय न्युज च्यानल, ज्योतिष, लामा र गाईको नाउँमा हल्लाको खेती पनि खुब फस्टायो यो पालीको भुइँकम्पे मौसममा । जान्नेसुन्नेहरु दूर–दर्शनका बाकसहरुमा कराईरहे भ्रमको पछि नलाग्नू भनेर, तर डर र अत्यासले सोंचविचार गर्ने दिमाग उँधोमुन्टो भएको बेला हल्लालाई सत्य ठानेर पनि पालमुनि कति रात गुजारियो, अरुलाई के भन्नु !

२३ जेठ २०७२ को अन्नपूर्ण दैनिकको फुर्सदमा डा. व्यन्जना शर्माद्वारा सन् २००० देखि सन् २०१५ सम्म विश्वमा गएका ठूला भूकम्पको इतिहास अध्ययन गरेर लेखिएको लेख छापिएको थियो, जसमा उल्लेखित पाँच महाभूकम्पले देखाएअनुसार तीन महिनादेखि नौ महिनासम्म पराकम्प गएका छन् ।

त्यो लेख पढेपछि बल्ल मेरो मनले थोरै राहत महसुस गरेको थियो, तर हाम्रोवाला पराकम्प त ज्याद्रो रैछ, एक वर्षसम्म आइरहेर पनि त्यसको धीत मरेकै छैन ।  नेपाल भूकम्पको उच्च जोखिममा सदैव रहिरहने तथ्य हाम्रासामु छर्लङ्ग छ ।

चिली र जापानले झैँ  नेपालले पनि भूकम्पलाई सामान्य रुपमा लिनुको विकल्प छैन । त्यसका लागि सहज वातावरण बनाउन राज्यले आवश्यक नीति निर्माण गरेर अबिलम्ब कार्यान्वयन गरिहाल्न पर्छजस्तो मान्छु म, नत्र त नेपालमा भूकम्पप्रतिरोधी घर निर्माणको परिकल्पना बीरबलको खिचडीमा रुपान्तर हुनेछ । अस्तु !

पिएसः आई हेट यु भुइँचालो !  यो पनि पढ्नुस जुन दिन मेरो संसार हल्लियो !

(स्रोत : Kantipath.com)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *