कथा : बोल्ड नारी

~मीरा प्रसाईं~

म, दिदी भिनाजुकोमा बसेर पढ्थे । भिनाजु जाती थिए बाहिरी दुनियासङग, सबैले वाहाको गुणगान गाउथे । आमाबा र बहिनिलाइ औधि माया गर्ने भिनाजुले मेरि दिदिलाइ खासै माया गरेको देखिन मैले । दिदिको शान्त अनुहारमा कहिँ न कहिँ गम्भीरताको बादल मडारि रहेको हुन्थ्यो । बिहानदेखी बेलुका सम्म ब्यस्त रहन्थिन दिदि । घरको काम बाहेक अन्य खासै काम नदेखिए पनि हात खाली नहुने , केहि न केही काम भइ रहन्थ्यो । सानै देखि कम बोल्ने तर अन्याय अत्याचारको खुलेर बिरोध गर्ने मेरि प्रमिला दिदि मन भित्र कुन्ठित भावनालाइ फुर्सदको समयमा नारीवादी अनि यथार्थपरक लेखहरु पढ्न रुचाउथिन ।

एकदिन भान्जालाइ पढाउने क्रममा, मैले दिदिको सिरानी मुनि एउटा कागज भेट्टाए । जस्मा लेखिएको थियो :
बिरहमा नरोउ चेली आँसु कस्को झर्दैन र
पिर पर्यो नभन चेली पिर कस्लाइ पर्दैन र !!

मैले दिदिलाइ सोधेको पनि हु ” दिदी , के यो तिमीले लेखेको हो ? ”

उनले भनिन ” हो प्रभात । हेर्छस ? ला हेर । ” भनेर थुप्रै लेख रचना भएको कपि मेरो हातमा थमाइन ।

म सधै चाहान्थे मेरी दिदि ` बोल्ड ´बनुन । महिला यौन हिंसा उत्पिडन र अत्याचार बिरुद्ध खुलेर बोलुन ।

बिहानी पख झारमा उम्रीएको शीत झै त्यो पल मेरा आखामा पनि खुसिका शीत उम्रीए । मैले हत्तपत्त दिदिलाइ गवाम्ल्वाङ्ग अङ्गालो हाले । दिदले मलाइ ट्वाल्ल परेर हेरिन ,

मैले भने ” दिदी अब सधै हजुरले लेख्नु पर्छ । म अहिल्यै यो लेख पत्रीकामा पठाइ दिन्छु । ”

” भैगो, भाइ ! भिनाजुले एस्तोउस्तो मन पराउनु हुन्न ! ”

मैले भने दिदी , ” बिस्तारै सब ठिक हुन्छ । असल हुनुहुन्छ भिनाजु । कुनै दिन बुझ्नु हुन्छ वाहाले । ”

“वाहाको अनुमती नलिइ म कुनै कदम चाल्दिन बाबू ।”

एउटा कुरा भन्नुस त दिदी ” के भिनाजुले हरेक काम गर्दा हजुरसङग अनुमती लिनु हुन्छ त ? ”
दिदी मौनतामा कतै हराउनु भयो ।

“अनुमती लिनु पर्छ मैले नलिनु भनिन लिनुस न त। ”

दिदिले अनुमती मागे पनि भिनाजुले चासो देखाउनु भएन छ !

अन्तत : दिदिलाई मनाउन हर सम्भव प्रयास गरे ।

“बाबू , घरमा कलह भित्र्याएर मलाइ बहिरी दुइयासङग परिचित हुनु छैन । म तैले भने जस्तो` बोल्ड ´ त बनौली तर घर तितर्बितर हुन्छ ।”

दिदी केही गर्दा पनि मन्नु भएन ।

दिदिको ममस्थिती देखेर सारै माया लाग्यो । कठै ! मेरि दिदिलाइ कति पिर भिनाजुले मन पराउने र मन नपराउने कुराको !

दिदिले मन्जुरी नदिए पनि मैले उक्त लेख पठाइ दिए । देशका गन्यमान्य ब्यक्तिद्वारा भएको `नारी यौन हिंसा´ लाई आधार बनाएर लेखिएको दिदिको उक्त लेखले ब्यापकता पायो । धेरै अनलाइन मिडियाले पनि त्यो लेखलाइ साभार गरि प्रकाशन गरे ।

मैले दिदिको फेसबुक अकाउन्ट खोलि दिए । दिदिले मनमा लागेका भावनाहरु लेख्न थाल्नु भयो । आखाबाट आँसु बगाउन छोडेर शब्दबाट आँसु बगाउन थाल्नु भयो । कतिलाइ दिदिका लेखले सोच्न बाध्य बनाए । कतिलाइ दिदिका लेख प्रेरणादायी बने । फेसबुकमा दिदिको लेखनको तारिफ गर्ने धेरै भए । साथिको लागि अनुरोध पठाउने तुलनात्मक रुपमा केटि भन्दा केटा नै बढी हुन्थे । त्यो स्वाभाविक पनि थियो । केटाका केटि साथी बढी हुन्छन केटिका केटा । दिदिलाइ म्यासेज रिक्वेस्ट आइरहन्थे । फेसबुकमै भएका साथीहरुले पनि हाइ / हेल्लो प्रमिलाजी । नमस्कार प्रमिलाजी भनेर बोलाइरहन्थे ।

लेखनको प्रशङ्शा गरेर आएका म्यासेजलाइ जवाफ नदिदा अनादर गरेको हुने भ्रम पर्ने कारण सुरुसुरुमा त दिदिले कसैकसैलाइ जवाफ पनि फर्काउनु भयो । साहित्यिक ब्यक्तिले साहित्य सम्बन्धी कुरा गर्न खोज्दा दिदिले सामान्य कुरा पनि गर्नु भयो ।
प्रतृकृया जेजस्ता आए पनि दिदिले सबै मलाई देखाउनु हुन्थ्यो ।

बिपरित लिङ्गीसङग कुरा गर्न चाहानु र नजिक हुन चाहानु केटा मान्छेको लागि नौलो कुरा होइन । म पनि एउटा पुरुष नै हु । केटि मान्छेले केटा मान्छेलाइ स्वभाविकै आकर्षण गर्छन तर त्यो आकर्षण यौनिक र नकारात्मक नै हुन्छ भन्दिन म । भिनाजुले त्यस्ता यावत कुराहरु मन पराउनु भएन ।

सायद , वाहाको चाहना दिदी घरायसी कामघन्दा मै सिमित हुन भन्ने थियो । तीन सन्तानकी चालिस बर्ष पार गरेकी मेरि जिम्मेवार दिदिलाई भिनाजुले अनाहकमा शंका गर्न थाल्नु भयो । आफन्त भित्रका पुरुषसङग सामान्य बोल्दा पनि भिनाजुलाई मन पर्दैन`थ्यो । मस्तिष्कमा शंकाले डेरा जमाए पछि अनेक औषधोपचार गर्दा पनि सन्चो नहुने रहेछ । ” शंकाले लङका जलाउछ ।”भन्थे हो रहेछ ।

घर झगडा हुन थालेको धेरै भएको थियो । बिना प्रसङ्ग दिदिलाइ केही न केही सुनाइ रहनु हुन्थ्यो भिनाजु । कोहि दोस्रो ब्यक्तिले दिदिलाइ म्यासेज पठाउछ , दिदिसङग कुरा गर्न खोज्छ या दिदिलाइ एकतर्फी प्रेम गर्छ , मन पराउछ भने त्यो दिदिको गल्ती होइन ।

मैले दिदिका इमेल र म्यासेजहरु हेर्दा भिनाजु नकारात्मक बन्नुको कारण केही पनि देखिन । एकदिन एउटा पुरुषको नामै तोकेर वाहाले परिवारका सदस्य सामु दिदिको बेइज्जत गर्नु भयो । मानिसहरु भन्छन ,” हावा नचली पात हल्लिन्न ।” तर, बोट वा हागा अरु कसैले हल्लाइ दियो भने पनि रुखको पात त हल्लिन्छ नै ।

अनाहकमा हल्ला चलाउदा दिदिलाइ सहि नसक्नु भएको थियो सायद । दिदिले आत्महत्या प्रयास गर्नु भएछ । समयमै `म ´नपुगेको भए मेरि दिदीले सन्सार छोडी सक्नु हुन्थ्यो !

भिनाजुको साघुरो सोचाइसङग आजित भएकि मेरि दिदी लेखनलाई अगाडि बढाउन चाहान्थिन । भिनाजु दिदिको चाहनासङग सहमत भएको मैले कहिल्यै देखिन । बिस्तारै झगडाले चरम रुप लिन थाल्यो । सम्बन्ध नै दरारमा पर्न थाल्यो ।

एकदिन मैले दिदिलाइ आत्महत्या गर्न खोज्नुको कारण बारे सोधे ! दिदिको फेसबुकमा कसैले पठाएको म्यासेज भिनाजुले हेर्नू भएको रहेछ ।
लेखिएको थियो:

डियर प्रमिला जी

आरामै हुनुहुन्छ ?

म तपाइका प्रायः जसो लेखहरु सबै पढ्छु । यथार्थपरक छन तपाइका लेखहरु । म त तपाइको फ्यान नै बने । लेख्दै गर्नु होला । लाखौ शुभकामना छ ।”

त्यही म्यासेजको आधारमा भिनाजुले दिदिलाइ शंका गरेर आरोप लगाउनु भएको रहेछ ।

मैले भने ” दिदी डियर त जस्लाइ पनि लेख्न सकिन्छ जस्तो कि , डियर सर / म्याडम , डियर फ्रेन्ड आदि ।

म भिनाजुलाइ सम्झाउन थाले । पुरानो सोचबाट बाहिर निस्किएर दुनियालाई नियाल्न अनुरोध गरे । दिदिले मोबाइलबाट म्यासेन्जर डिलिट गरिछिन । बिदेशमा रहने आफन्तहरुले “प्रमिला फेसबुकमा अन नै हुन्छिन , रिप्लाइ किन गर्दिनन” भनेर मलाइ सोधे पछि बल्ल थाहा पाए मैले ।

प्रमिला दिदिको स्वभाव बिद्रोही थियो सानोमा त । दिदी आफै भन्थिन ” झुटो बोलेर राम्रो देखिनु भन्दा त भाइ सत्य बोलेर छुच्ची / नजाती हुनु बेस हो नि , तैले चाहिँ झुटको साहारा कहिल्यै नलिनु । बुझिस ।”

त्यस्ती प्रमिला दिदि कसरी एस्ति बनिन ? के यी प्रमिला दिदी मेरै प्रमिला दिदी हुन त ? के नारीको बिवाह पश्चात् साच्चै, पुनर्जन्म हुन्छ त ? कुन चाहिँ हत्कडिले बाधिएकी छिन मेरि दिदी ?

सन्तान र लोग्नेका खातिर सबै सपनाहरु कसरी मनको चिहानघारीमा गाड्न सक्छन नारीहरु ! नारी मनको चिहानघारी उत्खनन् गर्ने हो भने सपनाका कङ्कालहरु कति भेटिन्छन होला ! त्याग र तपस्याकी प्रतिमुर्ती नारीलाई पुरुष मनोबिज्ञानले किन बुझ्न सक्दैन वा बुझ्न चाहदैन ? कस्लाइ सोधौ प्रस्न ? आखिर म पनि पुरुष नै त हु ! तर मैले त बुझेको छु । नारी `बोल्ड´ हुनु पर्छ भन्ने मेरो पनि भनाइ हो । म पनि त्यही चाहान्छु । हिंसा र उत्पीडनको निर्मुल होस ।

बाच्ने चाहनामा सन्तान र लोग्नेका खातिर ज्युदै मरिरहेका नारीहरु कति होलान यो धर्तिमा ? अचम्म लाग्छ , हाम्रो समाजको आँखामा किन मोतिबिन्दु लागेको छ ! बोलाइ र लेखाइमा नारी समानता समाबेशिकरणका मुद्दाहरु उठे पनि ब्यबहारमा किन समानता छैन ? उफ्फ …… कति साघुरो छ , नारीका प्रती नारी स्वयं अनि पुरुष मस्तिष्कको सोचाइ क्षमता !

घर अशान्त थियो , तनावग्रस्त थियो । दैनिकी चलेकै थियो तर दिदी भिनाजुको बोलचाल थिएन । जस्को प्रत्यक्ष परोक्ष असर भान्जाभान्जिमा परेको थियो । उनिहरु चिडचिडे हुन र एकान्त मन पराउन थालेका थिए !
दिदिलाइ म्यासेज पठाउनेहरुले पठाइरहे , आएका म्यासेजहरुलाइ दिदिले बेवास्ता गर्न थाल्नु भयो । लेख्न चाहिँ दिदिले फुर्सद पायो कि केहि न केही लेखिरहनु भयो ।

मेरा भिनाजु तथा मानव अधिकारवादी नरमान क्षेत्री `मानव ´लाइ `नारी दिवसका´ दिन आयोजना गरिएको कार्यक्रममा आज प्रमुख अतिथिको आसन ग्रहणका निम्ति निम्त्याइएको थियो । वाहा आफुलाइ `नारीवादी हु´भन्दै हिड्नु हुन्थ्यो । हुन पनि वाहाले नारी सम्बन्धी अनेक लेख, रचना लेख्नु हुन्थ्यो । देशका प्रमुख छापाहरुमा नारी सम्बन्धी स्तम्भ पनि लेख्नु हुन्थ्यो ।
” पुरुष हुनु त एस्तो नरमान क्षेत्री जस्तो ” सबैका मुखमा यो भनाइ मानौ थेगो झै बनेको थियो ।
आजको कार्यक्रममा वाहाले मन्तब्य दिदा भन्नू भयो :

“हेर्नुस , नारी पुरुष दुबै बराबरी । दुर्गा लक्ष्मी , सरस्वती , सत्य स्वरुपा सबै नारी जातीय भगवानलाइ हामी मान्छौ । त्यस्तै घरकी लक्ष्मी यानेकी नारीलाइ पनि मान्नु पर्छ हामिले ।
आजको यो एक्काइसौ शताब्दी सम्म आइपुग्दा पनि अन्धबिस्वास र कुसस्कारमा अन्धभक्त भएर नारी प्रती भेदभाव गरिन्छ । सडक देखि सदन सम्म जताततै नारी अधिकार समानता र समाबेशिकरणका आवाजहरु गुन्जी रहन्छन । ब्यबहारमा भने समानता त्यति लागु भएको पाइदैन ।

नारी बिना त केही सम्भव छैन । अब आफै भन्नुस न तपाइहरु, के एक हातले ताली बज्छ ? अह, बज्दैन । के एउटा पाङ्ग्राले रथ कुद्न सक्छ ? दर्शकदिर्घाबाट जवाफ आयो ” अह ,सक्दैन ।” हो त्यस्तै हो नारी पनि जस्तो कि , तालीको गड्गडाहटका लागि पनि अर्को हातको जरुरी हुन्छ अनि रथ कुद्न पनि अर्को पाङ्ग्राको जरुरी हुन्छ ।

लेखाइ र बोलाइमा मात्र नारी दिवस साच्चै ! नारी दिवस भएको छ । तर तपाइहरु धन्दा नमान्नुस महिला तथा दिदिबहिनीहरु । बिस्तारै सबै कुरा परिवर्तन हुन्छ । बस तपाइहरु एति गर्नुस , नारीले नारीकै अधिकार हनन गर्न तिर नलाग्नुस , एउटि नारी अर्कि नारीसङग मिलेर कोहि दोस्रीतेस्री नारीको कुरा काट्न नथाल्नुस । बोलेर होइन खोजेर, खोसेर पनि लिन जान्नु पर्छ नारी अधिकार । बाकी पुरुषको कुरा आफै मिल्दै जान्छ । कुरो बुझ्नु भो के ? नारी बिना सृष्टि सम्भव छैन । तसर्थ : नारीलाई इज्जत गर्न सिकौ र बराबरीको हकदार बनाउ । “

एउटा प्रमुख कुरा त भन्नै छुटेछ भन्दै बिदा मागी सकेका भिनाजुले पुन बोल्नु भयो ” `अन्तरास्ट्रिय नारी दिवस`भनेर मात्रै हुदैन । अन्तरास्ट्रिय श्रमिक नारी दिवस´ भन्नू पर्छ । किनकी , हरेक नारीले श्रम गरेकी हुन्छिन । चाहे घर भित्र होस चाहे घर बाहिर । ”
नरमान भिनाजु कार्यक्रमबाट घर फर्किए पछि घरमा तासको खाल जमेको थियो । उनी साथिहरुसङग खान, पिउन, पिलाउन ब्यस्त थिए । दिदि परिकार बनाउन ब्यस्त थिइन ।

भिनाजु खानेकुराको माग गरिरहन्थे । दिदि बनाइरहन्थिन । रक्सिको नशा चडी सकेको थियो सबैलाइ । एतिकैमा नरमान भिनाजुको नयाँ साथीले सोध्यो ” भाउजू के गर्नु हुन्छ नि ”
नरमान भिनाजुले हास्तै भन्नू भो ” ए भाउजू ! भाउजू केही गर्दिनन ! घरमै बस्छिन गृहिणी हुन ।”
भान्साकोठाबाट चिकेन चिल्ली लिएर दिदी मुस्काउदै आउनु भयो र भन्नू भयो ” रमेश बाबू , म केही गर्दिन ! सुन्नु हुन्छ ? घरमा बसेर म के काम गर्छु ? “

रमेश: “हजुर भाउजू , भन्नुस न ।”
भालेको डाकसङगै आकाशमा जुन निभ्न लाग्दा उठेर आगन बढार्छु, सिकुवा पखाल्छु , बुवाआमाका लागि चिया बनाउछु, अनि एकछिन पछि वाहा र छोराछोरीका लागि चिया दिन्छु र खानाको तयारी गर्छु , छोराछोरीलाई तयार गरेर स्कुल पठाउछु , वाहाका लुगामा आइरन गरेर राखी दिन्छु , जुत्ता पुसि दिन्छु ।

भाडा माझेर सामान्य घर सफा गर्दागर्दै बुबाआमाको चिया पिउने बेला हुन्छ । अनि दुइतिन चोटि छिमेकिहरु आइपुग्नु हुन्छ चिया पियाउनै परो । एति मै आधा दिन गै सक्छ । छोराछोरी आउछन खाजा खुवायो एकछिन उनिहरुलाइ पढाउछु, फेरि बुवाआमाका लागि चिया बनाउछु, लुगा घुने सुकाउने राख्ने अनि नदेखिने खत्रीङमित्रीङ काम भइ रहन्छन एति गर्दा झमक्क रात पर्छ ।

साझको खाना बनाउछु सबैलाइ खुवाउछु, सफा गर्छु, आमाबुवाको कोठामा पानी राख्छु ,छोराछोरी सुताउछु, एति गर्दा रातीको आठ नौ बजि सकेको हुन्छ । अझ गाउमा जस्तो गाई बाख्रा बस्तु छैनन । ती हुदा अझ ब्यस्त भइन्छ । यहि हो बाबू मेरो दिनचर्या । म केही नगरी बसिबसी खान्छु !

यदि यहि काम गरेको पैसा आउथ्यो भने म कामकाजी नारी हुन्थे तर यो त घरको काम न पर्यो । घरको काम कहाँ काम हो र ? दिदिले हास्तै एकै सासमा भन्नू भयो । ”
रमेशले भने ” नारी त हरेक घर घरम चौबीस घन्टा नै खटिएकी हुन्छिन । सल्युट गरे आज मैले सम्पुर्ण नारीहरुलाइ , नारी दिवसका दिन !” भाउजू , तपाईं नारीहरु साच्चै , त्यागकी देवि नै लाग्छ मलाइ चाहिँ ।”

दिदिले लेख्नु भएको लेखहरुलाइ संग्रह गरेर दिदिलाइ पनि थाहै नदिइ पुस्तक छपाइ दिएको थिए मैले सम्योगले आजै अर्थात ´महिला श्रमिक दिवस´कै दिन ` महिला संघ ´मा पुस्तक बिमोचनको कार्यक्रम राखिएको थियो ।
पाहुना भएको बेला सामान्य बोलचाल भए पनि वास्तबमा दिदिभिनाजुको बोलचाल थिएन ।
पाहुनाहरुकै अगाडि मैले दिदिलाइ भने ” दिदी हिड्नुस, आज महिला संघको कार्यक्रम हेर्न जाउ । ”
भिनाजुका नयाँ साथी रमेशले भने ” जानुस भाउजू जानुस ! तपाइलाइ पनि बोर भयो होला । हामी खान्छौ बस्छौ रमाइलो गर्छौ । ”
टि.भिले समाचारमा नारीका बारेमा बोल्दै गरेका नरमान भिनाजुलाइ देखायो ।

रमेशले थपे ” एक्छिन , एक्छिन नरमानजीको भासण सुनौ न ।”
भिनाजु गर्वका साथ भन्दै हुनुहुन्थ्यो “अन्तरास्ट्रिय नारी दिवस´ मात्रै भनेर हुदैन । `अन्तरास्ट्रिय श्रमिक नारी दिवस´ भन्नू पर्छ । हरेक नारीले श्रम गरेकी हुन्छिन, चाहे त्यो घर भित्रको श्रम होस या घर बाहिरको । श्रम भनेको नै परिश्रम हो र परिश्रम भनेको नै काम हो । म मेरि श्रीमतीलाई `गृहणी´ मात्रै भन्दिन । उनी चौबीस घन्टामा अठार घन्टा जसो काममै हुन्छिन । उनी ब्यस्त कामकाजी नारी हुन । “

रमेश लगायत अन्य साथीले नरमान भिनाजुलाइ पुलुक्क हेरे !
नरमान भिनाजुको अनुहार लज्जाबोधले अँध्यारो भइ सकेको थियो ।
रमेश लगायत साथीहरु `काम छ भन्दै ´ सबै बाटो लागे । भिनाजुले रक्सिको ग्लासले दिदिलाई झटारो हाने । म छुट्याउन गए , मलाइ रक्सिको बोतल नै उठाएर झम्टिन खोजे । म डराइन । अघि सरे । उनले दिदिलाइ गालामा चड्कन लगाइ सकेका थिए । के -के भन्दै थिए कुन्नी भिनाजु ! उनको ठुलो ठुलो आवाज बतासको बेग सङगै हुत्तिएर टाढा टाढा सम्म पुग्यो ।
मैले दिदिलाइ बाइकमा राखेर पुस्तक बिमोचनका लागि लिएर हिडे ।

भिनाजु कराउदै थिए ” जा.. जा.. फर्केर आउनु पर्दैन । तेरा लागि यो घरको ढोका सदाका लागि बन्द भइ सक्यो । ”
दिदिको पुस्तकका बारेमा मैले पनि बोले । कसरी दिदिले पुस्तक लेखिन, त्यो पनि खुलाए । लेखनलाइ अगाडि बढाउन नारीले घर भित्रै कसरी संघर्श गर्नु पर्छ भन्ने कुरा र शिर्ष कथा `बोल्ड नारी´ र ` लोग्ने मान्छे ´ लेख्नुको वास्तविक कारण दिदी आफैले बताउनु भयो । उपस्थित महिलाहरुका आँखा रसाए । पुरुषहरु पनि केही गम्भीर देखिए ।
निकै दिन सम्म भिनाजु हामीसङग बोल्नु भएन । सायद, भिनाजुलाइ नसोधी हामीले उठाएको यो कदम देखि वाहा दिदी र म दुबैसङग रुग्ण हुनु भएको थियो ।

बजारमा पुस्तकको माग बढ्न थाल्यो । सस्करणहरु छापिन थाले । अन्तरबार्ता दिन दिदिलाइ भ्याइनभ्याई थियो । घरको काममा सहायता गरेर मैले दिदिलाइ अन्तरबार्ता दिन समय निकालि दिए । आज, मेरि दिदी धेरैका लागि प्रेरणाको स्रोत बन्नु भएको छ । पाठ्यक्रममा दिदिका लेखहरु समाबेश गरिएका छन । आमा दिदिबहिनिहरु सबैले हिंसा बिरुद्ध घर घरबाट बुलन्द आवाज उठाउन थालेका छन । नारीले नारीको अधिकार हनन गर्नु हुन्न भन्ने बुझेका छन ।

धेरै समय पछि आज भिनाजुले दिदिलाइ पुन : पिट्न खोज्नु भो ! त्यही बेला दिदिले भिनाजुका हात अठ्याइ दिनु भो र केही दृढ अनि बिद्रोही आवाजमा भन्नू भो ” नारीलाइ कम्जोर सम्झने भुल नगर्नुस श्रीमानजी , नारी पुरुषका दासी होइनन । ”
भिनाजुका आँखा राताराता भइ सकेका थिए ।

मैले सन्तुष्टिको लामो श्वास फेरे । मेरि दिदी प्रती गर्वबोध गरेर, अनि सम्पुर्ण पुरुषको सकारात्मक सोच र नारीहरुको मनोबलका लागि पाथीभरा मातासङग प्राथना गरे ।

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *