कथा : धृतराष्ट्र

~इस्माली~Ismali

उसलाई उनीहरुबाट तिनीहरुले अलग्याएर अर्को कोठामा लगे । कमाण्डोजस्तो देखिनेले कठोर स्वरमा सोध्यो, “ह्याँ किन ल्या तेरो बाउलाई ?”

“सापले भन्या साप ! ”भन्दै उसलाई त्यहाँ ल्याउने जवानले भुइँमा ढ्याम्म खुट्टा बजार्दै कमाण्डोलाई सलाम ठोक्यो ।

कमाण्डोको बोली र हेराइले उसलाई फेरि पनि उत्तेजित पारिसकेथ्यो । उच्च चापको शिकार त उ छँदै थियो ,बेकाइदा र बेथिति सहन नसक्ने उसको पुरानो बानीले गर्दा उ तुरुन्तै आवेशमा आइहाल्थ्यो अनि सन्तुलन गुमाएर असहज बन्थ्यो । उसले पनि कमाण्डोले उसलाई घुरेझैं गरी घु¥यो ।

“झिकी दे आँखा ।” कर्कश स्वरमा करायो कथित कमाण्डो ।

आदेश तामेल गर्न एउटा जवान लम्क्यो उतिर । त्यसको हातमा नाइलनको डोरी थियो र स्कार्फजस्तो रुमाल थियो । ‘कसरी फोडदो र‘छ आँखा ?’ भनी उ पनि आपूmलाई मनले दरो कठोर पारेर यन्त्रवत् उभिइरहयो । जवान उसको नजिकै आयो र पिठ्यूँतिरबाट हत्तपत्त उसको आँखामा पट्टि बाँध्यो । त्यसपछि उसको हात तान्यो । उसले जिऊ र हात अररो पारिरह्यो । त्यसैले जवानको पहिलो प्रयासमा उसको हात तानिएन । जवानले फेरि प्रयास ग¥यो । उसले हात झडकाल्यो ।

“साले के सुमसुम्या ? ठोक्न तेरो बाऊलाई ।”कथित कमाण्डो फेरि कड्क्यो ।

जवान पनि रिसले रन्क्यो र उसलाई काबुमा लिन पछिल्तिरबाटै बुदु्रक्क उफ्रिँदै आफ्नो घँुडाले उसको कटीमा ठोक्कायो । उ ठहरै भएजस्तो भयो । उसको हात र जिऊ खुकुलियो । यही मौका छोपेर जवानले उसको नाडी अँठ्यायो र हत्तपत्त बाँध्न थाल्यो । अब उसले प्रतिकार गरिरहनु उचित ठानेन ।अझ प्रतिकार गर्नु भनेको बढी यन्त्रणा निम्त्याउनु हो भन्ठानेर उ त्यतिकै उभिइरह्यो ।

“बल्ल लाइनमा आयो ।” कमाण्डो बर्बरायो ।

अब उ बाँधिएको थियो ,पाता फर्काइएर । उसको आँखामा पट्टी बाँधिएको थियो,त्यसैले आँखा अगाडि अन्धकारमात्र थियो । पाता फर्काइएकोले पाखुराका ठाउँठाउँमा टनटन दुख्नथालेको अनुभव गर्न थालेको थियो उ ।

“लगेर सोफामा सुता तेरो बाउलाई ।”कडकदार गर्जन गुञ्जेथ्यो कोठाभरि ।

‘उही कथित कमाण्डो होला ।’ स्वगत सम्झ्यो उसले ।

“हस् सा‘प ।”भन्दै खुट्टा बजारेर सलाम ठोक्यो र उसलाई पछाडिबाट घचेटदै अगाडि बढायो ।

०००

बिस्तारै पलक खुल्यो उसको । आँखा अगाडि अन्धकार थियो । जिऊ काँपिरहेको थियो ,जोर्नीहरु दुखिरहेको थियो । हातखुट्टा चलाउन नसक्नेगरी उ एउटै डल्लो बनेको थियो । कटिमुनि चिसो थियो उ,माथि तातो । भित्र आँतमा जरो छ कि जस्तो आभाष भयो उसलाई । कटिमुनि छाम्यो,चिसो थियो । केको चिसो होला ?पोखरीमा चोबले कि ? हात सुँघ्यो । बुढो पिशाब डुङ्ग गन्हाएजस्तो मान्यो । ‘ म कहाँ छु ?’ सम्झने प्रयास ग¥यो । दिमागमा बल लगायो डाक्टर इकृसेले । तर कञ्चट बलक्क बल्क्यो । फेरि पनि सम्झिने प्रयास गरिरह्यो । मधुरो मधुरो सम्झना छ उसलाई— लेखक विवेकराज थियो,मानवाधिकार योद्धा मनुराम पनि थियो,वकिल तर्कमान पनि थियो ,राजनीति शास्त्रको प्राध्यापक लोकमणि पनि थियो । उनीहरु एकै रातमा यहाँ ल्याइएका थिए । एकै ठाउँमा राखिएका थिए । उनीहरुको कसुर एउटै थियो —तिनले राष्ट्र ,जनता र मानवीय हितमा आफ्ना सम्मति जाहेर गरेका थिए ।सत्ताको क्रुरता र निरङ्कुशताका विरुद्ध स्वतन्त्रता र लोकतन्त्रका पक्षमा उठेको आन्दोलनमा आफ्नो ऐक्यबद्धता जाहेर गरेका थिए ।त्यसैले अहिले उनीहरु यहाँ थिए ,विगत तीन दिनदेखि । थिएटर स्टोर्ममा डा.इकृसे,स्टुडियो हुरिकेनमा लेखक विवेकराज,क्यासिनो गेममा राजनीतिक प्राध्यापक लोकमणि,भिला ह्युमनमा अधिकारवादी मनुराम र होटेल ग्र्याण्डमा वकिल तर्कमान ।

बाहिरको जगतमा खैलाबैला शुरु भएको थियो । निजी क्षेत्रका सञ्चारमाध्यमहरु—अखबार,यफयम,इन्टरनेट ,रेडियो,टिभिआदि—मा उनीहरु समाचार बनेका थिए । मुलुकमा पनि,मुलुक बाहिर पनि ।न्युज डट कममा पनि उनीहरु थिए । अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरु चिन्तित थिए । मानव अधिकारको व्यापक उल्लंघन भएको तथा अधिकार संरक्षणका मामिलामा न्यूनतम शर्तहरुसमेत पालना नगरेको भनी सरकारको आलोचना गर्दै जेनेभाबाट खेद प्रकट गरिएका इमेलहरु सरकारलाई र भगिनी संस्थाहरुलाई पठाइरहेका थिए । मुलुकका उच्च बौद्धिक वर्गको जीवनरक्षाको माग गर्दै तिनीहरुले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका थिए ।

देख्दादेख्दै उनीहरुको त्यो मुलुकमा संकटकालको घोषणा भयो । सरकारले जनप्रतिनिधिहरुको संस्था भंग ग¥यो ।जनता अन्यौलमा परे । कात्तिके र चैतेहरु बर्खाका बेंगझैं ट्वार्रट्वार्र गर्न थाले । शब्दहरुको अर्थ फेरिन थाल्यो —वाक् स्वतन्त्रता भनेको स्तुतिगान,प्रजातन्त्र भनेको केही ठालुहरुको हुकुमीराज,जनता भनेको भेडा आदि ।

०००

बन्दीप्रत्यक्षीकरणको उजुरीमा सुनुवाइ भएपछि अदालतबाट जारी गरिएको गिरफ्तारीको कारण देखाऊ आदेशमा सरकारका कुनै पनि निकायले निजहरुलाई गिरफ्तार नगरेको जानकारी गराइयो । अदालतले पूनः निजहरुलाई सशरिर अदालतमा उपस्थित गराउने आदेश दियो । फेरि पनि इकृसेहरुको पत्तो लागेन । डाक्टर इकृसेको डाक्टरी सेवाको महत्व राज्यको सर्वसत्तावादी सनकको तुलनामा फास्स न फिस्स भयो । मुलुकमा उचित डाक्टरी उपचार नपाएर निर्धन,गरिब,निम्नमध्यमवर्गीयदेखि उच्चवर्गकाहरु पनि पीडित थिए । तर सत्ता धृतराष्ट्रझैँ अन्धो बनेर आफ्नो सत्ता लम्ब्याउने एकाकी धुनमा कम्मर कसेर लागेको थियो र क्रुरताप्रेममा मग्न थियो ।

सत्ता क्रुर भए पनि जनता त्यस्तो भएनन् ।जनताले भने,‘यो झुठ हो,यो नाटक हो ।’

चिकित्सकहरुले सोधे,‘डाक्टर इकृसे खोई,सरकार ?’

बिरामीहरुले खोजे,‘हाम्रो वार्डको डाक्टरसाप खोई ? ’

जनताले प्रश्न गरे,‘ डाक्टर इकृसे खोई?विवेकराजलाई कहाँ लुकायौ ? वकिल तर्कमानलाई कता बेपत्ता पा¥यौ ?मनुराम र लोकमणिलाई कता पठायौ?’

एकजना कविले तिनका नामको पहिलो अक्षर जम्मा पारेर पाँचैजनाको एउटै नाम बनाए,संकेतात्मक नाम —इविमतलो । अनि जनताले नारा उराले—इविमतलोलाई —सार्वजनिक गर । अदालत परिसरबाट निस्कँदानिस्कँदै बुज्रुकहरुले सल्लाह गरे —इविमतलोको रिहाइका लागि एउटा मोर्चा बनाऔं ,एउटा समिति बनाऊँ ।मोर्चा बन्यो ।समिति पनि बन्यो । त्यसले सरकारलाई ज्ञापनपत्र पनि पेश ग¥यो,आन्दोलनको कार्यक्रम पनि बनायो ।राजनीतिक दलहरुले पनि वक्तव्य जारी गरे —इविमतलोको समर्थनमा ।

‘इविमतलोलाई बेपत्ता पा¥यापा¥यै ग¥यो है सरकारले त । यो त अचाक्ली भयो ।’ मान्छेहरु आक्रोशित हुनथाले ।

”डाक्टर,वकिल,मास्टर,लेखकहरुजस्ता पढालेखा विवेकी बुद्धिजीवीहरुलाई बेपत्ता पारेर के गर्न खोज्या हो यो सरकारले ?”अर्का एक जना पनि जङ्गिए ।

“ह्याँ बिरामीको बिजोक छ ,सरकारले भने डाक्टर इकृसेलाई बेपत्ता पा¥यापा¥यै छ ।”अस्पतालमा बिरामीका कुरुवाहरु जागाज्योति भए ।

“हाम्रो प्राध्यापकलाई—सार्वजनिक गर ।”विद्यार्थीहरु तुलब्यानर र प्लेकार्ड बोकेर सडकमा ओर्ले ।

“लोकतन्त्रको स्थापना,यथास्थितिको खारेजी—हाम्रो एक मात्र जपना ।”सबै राजनीतिक दलहरु एकै स्वरमा बोले ।

जनताहरुले मुख खोले । मान्छेहरुले मनको भित्री तहबाट डर झिकेर मिल्काइदिए र सडकमा ओर्ले । पुलिस र सशस्त्र दंगासँग डराउन छाडे ।बरु उल्टो तिनलाई पनि आह्वान गरे— तिमरु पनि हाम्रा भाइछोरा हौ ।जनतालाई अँध्यारोमा थुनिराख्ने सरकार के सरकार !त्यो त निशाचर हो ,त्यसैले तिमरु पनि आओ हामीसँग हातेमालो गर । सक्दैनौभने बन्दुक तल झार । हाम्रो शान्तिपूर्ण आन्दोलनलाई सहयोग गर ।

तिनीहरु हातेमालो गर्न आएनन्,बन्दुक पनि चलाएनन् ।जुलुसको बाटो पनि छेकेनन् । देख्दादेख्दै दावानल सल्क्यो र सरकारले सम्झौता ग¥यो र राजनीतिक दललाई सत्ता सुम्प्यो ।‘जित कसको —जनताको ।’खुशी भएर नारा पनि लगाए ।खुशीयालीमा अबिर जात्रा र खुशियाली सभा पनि गरे । अब लोकतन्त्र आयो,जनताको शासन हुने भयो भनी भाषण पनि गरे । भित्री सहमति भयो —मिलिजुली हिँडौं,बाँडिचँुडी खाऔं ।

तर यतिञ्जेलसम्म पनि इविमतलोको अत्तोपत्तो थिएन । आन्दोलनकारीले पनि लगभग बिर्सीसकेजस्तो लाग्थ्यो । अन्तरिम सरकारको मधुचान्द्र चल्दै थियो । पूर्णेको भोलिपल्टको बिहानीको चन्द्रमा क्षितिजमुनि लुक्न खोज्दै थियो । आकस्मिक कक्षको एक जना बिरामीको कुरुवा स्लाइन पानी किन्न जाँदा अगाडिको पेटीमा स्याहारहीन अवस्थामा लम्पसार परेको एकजना बिरामी देख्यो । उसले बिरामीका कोही छन् कि भनी यताउति हे¥यो । स्लाइन पानी किनेर फर्किँदा पनि कसैलाई नदेखेपछि नर्स कक्षमा स्लाइन जिम्मा लाउँदै उसले भन्यो,“सिस्टर,बाहिर पेटीमा एकजना बिरामी सिकिस्त अवस्थामा रैछ । उसको कुरुवासुरुवा नि छैन जस्तो लाग्छ ।”

“तपाईँ पनि काँकाँ केके देख्न पुग्नुहुन्छ ?अनि खर्च कल्ले हाल्छ नि ?” भन्दै स्वास्थ परिचारिका कृतिका मन नलागीनलागी त्यहाँ गइन् । नजिकै गएर हेरिन् ।“आम्मै नि..डार्साब ! इकृसे डार्साब !!”कहालिँदै कराइन् तिनी,“लौन नि,डार्साब कसरी आउनुभयो यहाँ ?कल्ले ल्यायो ? डार्साब… डार्साब… ।”

डार्साब टोलाएर माथि छानोतिर हेरिरहेका थिए—क्रियाप्रतिक्रियाविहीन । परिचारिका कृतिकाले आकस्मिक कक्षका डाक्टर, नर्सहरु र अरु साथीहरुलाई बोलाइन् । स्ट्रेचर ल्याए तिनीहरुले । उपचार कक्षमा लगे र जाँचजुच गर्न लागे । डाक्टर इकृसे मौन थिए र थिए प्रतिक्रियाविहीन ,बस् एकहोरो एकातिर हेरिरहन्थे ।अस्पतालका कर्मचारी र स्वास्थ कार्यकर्ताहरु विष्मित र सन्तप्त थिए ,“ यत्रो आन्दोलन भयो,सत्ता परिवर्तन भयो तर डार्साबको यस्तो गति !”

एकछिनपछि त्यही कक्षमा अर्को एकजना बिरामी ल्याए तर साथमा कोही भएजस्तो लाग्दैनथ्यो ।

”यो बिरामीको मान्छे को हो ?”कक्षमा ड्युटीका डाक्टरले सोधे ।

“उहाँको मान्छे त यहाँ छैनन्,मैले बाटोमा भेटेर हतारहतार यहाँ ल्याएँ । विवेकराज हो उहाँ ।इविमतलोको वि उहाँ नै हो । घरपरिवार कहाँ को छन् मलाई थाहा छैन ।”

“हँ ऽ ऽ,त्यसोभए यहाँ डाक्टरसाबसँगै ..! ”अचम्भ मान्दै बोले डाक्टर धन्वन्त । एकछिन गम खाएपछि उनको जिज्ञासा जाग्यो,“भनेपछि मतलोहरु ? त्यसोभए मतलोहरुलाई पनि ल्याउलान कसैले ।”

“न अरु अस्पतालमा पु¥याए कि ?”कवि विरामले अनुमानआशंका गरे ,“न विवेकराजझैं सडकपेटीमै कतै लडिराछन् कि?”

“खै ,के भन्न सकिन्छ र ?” ड्युटीका डाक्टर धन्वन्त अन्योलमा थिए ,“तर बिचरा यी दुबैजनाको उस्तै अवस्था ! आततायीहरुले निकै हिसाब मिलाएर यातना दिएजस्तो बुझिन्छ ।”

एकछिनमा प्वाँ ऽ ऽ पुँ ऽ ऽ प्वाँ ऽ ऽ पुँ ऽ ऽ गर्दै एकैसाथ तीन वटा एम्बुलेन्स आयो । एम्बुलेन्सकै स्ट्रेचरमा पालैपालो बिरामी आकस्मिक कक्षमा हुलिए ।

”मतलो त हैन रछन् ।”कवि विरामले भने ।

ड्युटीका डाक्टर,नर्सहरु विष्मित थिए—आफ्ना अग्रज डाक्टर र मुलुकका सम्पदाजस्ता बौद्धिक व्यक्तित्वहरुको यस्तो अकल्पनीय दयनीय अवस्था देखेर । तिनको स्वास्थमा पटक्कै सुधार भएको थिएन । राजनीतिक स्वतन्त्रता,जनता र राष्ट्रका हितमा तिनले आफूलाई उत्सर्ग गरेका थिए । तिनैको गिरफ्तारीको जगमा तुहिसकेको आन्दोलनले गति लिएको थियो । आन्दोलन सफल भएर अहिले आन्दोलनकारीहरुसमेतको सरकार बनेको थियो । इविको रहस्यमय नाटकीय प्रकटीकरण र बेसुद्धिको अवस्था र मतलोको अझ अज्ञात अवस्थाबारेको चर्चा एक कान दुई कान मैदान भएर शहरमा फैलियो । घर परिवारमा पनि खबर पुग्यो होला र त परिवारजनहरु हकासिँदै आइपुगेका थिए अस्पतालमा । इविमतलो रिहाइ समितिका सदस्यहरु पनि आइपुगेका थिए । भोलिपल्ट सरकारका दुई जना मन्त्री पनि आए । परिवारजनलाई भेटेर सहानुभूति पनि प्रकट गरे तिनले ।मतलोको अझ पनि अत्तोपत्तो थिएन । मानिसहरुको मनको आशंका झनझन गहिरिँदै गइरहेको थियो ।

‘ कि बेपत्ता पारे तिनलाई जेमराजहरुले ?’ कवि विरामको आशंका पोखियो ।

“अँ ,बेपत्ता पारेर युरोप पु¥याए ती त्रिमूर्तिलाई । कुन नाकमुख देखाउन आउँछन् त ती अब ?”एक जना मन्त्रीले बोलीमा घृणा भर्दै भने,“तिनले त आन्दोलनप्रति गद्दारी गरे । तिनले गद्दारी नगरेका भए यी दुईको पनि शायद यस्तो हालत नहुँदो हो । ”

“हँ ऽ ऽ ऽ ! ”सुन्नेहरु विस्फारित नेत्रले तिनलाई हेरिरहे ।

“हैन तपाईँ के भन्दै हुनुहुन्छ ?”इविमतलो रिहाइ समितिका एक सदस्यले विष्मित हुँदै सोधे ।

“मनुरामलाई विदेशी मुद्राको अवैध कारोवार र चलखेलको आरोप छँदै थियो । तर्कमानको दर्जनभन्दा बढी सरकारी कन्सल्टेन्सी थियो र लोकमणिलाई राजदूत बनाइदिने आश्वासन दिएका थिए रे । बस के थियो तिनै जना ठेगान लागिहाले र युरोप भ्रमणमा पठाइए ।”तिनै मन्त्रीले गुह्य खोले ।

त्रिमूर्ति मतलोको भण्डाफोर सुन्नेहरुले जिब्रो टोके ।

इविको अवस्थामा खासै सुधार आएन । हेर्न आउने शुभेच्छुहरुको लर्को पातलिँदै गयो । रिहाइ समितिका सदस्यहरुले सल्लाहविचार गरे र त्यही समिति उपचार समिति बन्यो र सरकारसँग पहल ग¥यो । तर सरकार त सरकार हो , सरकारको जिम्मेदारी ठूलो हुन्छ ,एकदुई जनालाई हेरेर हुन्न,सिङ्गो देशलाई हेर्नुृपर्दछ । देशको समस्याको तुलनामा इकृसे र विवेकराजको समस्या समस्या त हो तर प्रमुख समस्या होइन भन्यो सरकारले ।

“इकृसे र विवेकराजले देशकै लागि आपूmलाई आहूत गरेका होइनन् आपूmलाई ? मतलोझैं ती पनि स्वार्थी भएर धृतराष्ट्र बनेका भए के हुन्थ्यो ? आज तपाईँहरु यिनैका बलमा यो ठाउँमा पुग्नु भएको छ । खोलो तरेर लौरो बिर्सने के चाला हो तपाईँहरुको ?”उपचार समितिका सदस्य कुमार थापाले भने ।

“तपाईँको कुरो मनासिब हो तर हेर्नुस्न बजेट रैनछ । ब्युरोक्रेसीको माखेसाङ्लो बुझिनसक्नु छ । सरकार चलाउनु आन्दोलन गर्नुजस्तो सजिलो होइन रैछ । बुझ्दैछौं बिस्तारै, मेसो मिलाउँला । उहाँहरुको कुरो हाम्रो प्राथमिकतामै रहन्छ । ” मन्त्रीजीले भने ।
“हजुरहरुलाई निजी सुविधा लिन माखेसाङ्लो हुँदैन तर …” भन्न त भने तर भन्नुमात्रै भयो ।

दिन बित्दै गएपछि हेर्न आउने शुभेच्छुहरु पनि पातलिँदै गए । मानिसहरु आआफ्ना दिनचर्यामा व्यस्त हुनु स्वभाविकै हो । सरकारले दिने भनेको सहयोग पनि निकासा भएन । औषधिमुलो चलिरह्यो तर विरामीको अवस्थामा पनि कुनै सुधार आएन । त्यसैले अस्पतालले ती दुबैलाई डिस्चार्ज गरेर घर पठाइदियो । घरमा पनि लागिमेलीगर्ने मान्छेको अभावनै थियो । उपचार समितिका कुमार थापा कहिले विवेकराजकाँ पुग्थे त कहिले इकृसेकाँ । कवि विराम र डाक्टर धन्वन्त पनि यस काममा अघिसरा नै थिए । अस्पतालको कामबाट फुर्सद मिल्यो कि त्यतै पुगिहाल्थे । ती दुईको उपचारमा खटिँदाखटिँदै उनमा तीप्रति अपनत्वबोध बढदै गयो । श्रीमान्को अवस्थाबाट द्रविभूत हुँदै एक दिन त श्रीमती इकृसेले भनिन्,“डार्साब,मलाई त डार्साबको यो दुःखपीडा हेरिबस्न असाध्यै गाह्रोभो । च्वाट्ट मर्न पाए नि उहाँको यो पीडा हेरिबस्न पर्दैनथ्यो ! ” अनि डाको छोडेर रुन थालिन् । कवि विराम र कुमार थापा पनि सँगै थिए । उनीहरुले पनि मन थाम्न सकेनन् ,भक्कानो फुट्यो र आँखा रसाएर गाला भिजाउँदै आँसुका थोपाहरु लुगामा विलिन हुँदै गए । अर्कोतिर फर्कँदै उनीहरुले आफ्नो आँखा पुछे ।

“बरु धृतराष्ट्र भकी भएपनि यो दुःख त हेर्नु पर्दैनथ्यो ।” सुँक्क सुँक्क गर्दै भनिन् ।

“के भन्नुभा हजुरले ?हजुर धृतराष्ट्र बन्न सक्नुहुन्छ ?धृतराष्ट्र भन्या त आँखा नदेख्नेमात्र होईन,सत्तामोह र परिवारमोहमा वशिभूत हुने निजीस्वार्थ हो । डार्साब र कविजीले आजीवन यस प्रवृतिको विरोध गरिरहनु भयो र आज यो थितिमा पुग्नुभयो । तपाईँहरु न त धृतराष्ट्र बन्न सक्नुहुन्छ ,न त गान्धारी । कविपत्नीले के भन्नुभयो सुन्नुहुन्छ —उहाँ मुढैझैँ ढलिरहेकोभए पनि उहाँलाई देखेर ममा अधर्मसँग लडेर बाँँच्ने बल आउँछ ।” कवि विरामले सम्झाउँदै भने ,“मनलाई कमजोर बनाउनुभयो भने बाँच्न गाह्रो हुन्छ । डार्साबको इज्जतप्रतिष्ठा ठूलो त्यागबाट आर्जन भएको हो । हामीले त्यसको रक्षा गर्नुपर्दछ । यस अभियानमा केही सहयोग गर्न सकिन्छ कि भनी हामी लागिरहेका छौँ ।”

“हुन त हाम्रो समस्या नै त्यहीँ छ । हिजोको सत्ता धृतराष्ट्र थियो ।त्यसका विरुद्ध लडियो,नयाँ सत्ता स्थापना भयो ।त्यो पनि धृतराष्ट्र नै भयो ।हामी धेरैजनाभित्र धृतराष्ट्र नै जरा गाडेर बसेको छ । बसुधैव कुटुम्बकम् नसही , बहुजन हिताय बहुजन सुखायको निस्वार्थ भावनाबाट मात्र यस प्रवृत्ति उपर विजय पाउन सकिन्छ ।” कुमार थापाले भने ।

“मैले त सोझो हिसाबले भनेकी,त्यस्तो गहिरो कुरो त काँ पस्छ र यो दिमागमा ।हजुरले मेरो आँखा खोलिदिनुभयो ।”श्रीमती इकृसेले भनिन् ।

(स्रोत : “मधपर्क” बाट सभार)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *