कविता : जीवनको सार्थकता

~आस्था के.सी.~Aastha KC

आजभोली लाग्छ जीवन
मिर्मिरे उषाको आकाश जस्तै
भरिएको मनोहर उज्यालो
लालीमाको आगमनको
पहिलो पहिलो आभास जस्तै ।
सपनाहरु साकार हुन लागेझैं
रहरहरु पुरा हुन लागेझैं ।
आशाका टुसाउन लागेका मुनाहरु
पल्लवित भईरहेको नव पालुवा जस्तो ।
ओजपूर्ण पाईलाहरु
कठिन तर फराकिलो वाटो
जुटेको साथ र भरिपूर्ण विश्वासले
होस्टेमा हैसे गर्दै मिलेका हातहरु ।
जताततै, जहि तहीं
मुक्ति या मृत्युका जोशिला वातहरु ।
साटेर पिडा र मर्मका व्याथाहरु
सामुहिकतामा पोखिएका खुशीहरु वटुल्ने
सायद अव त नियति नै वनिसक्यो ।
केहि सिकाउनु र धेरै अभाववाट सिक्ने
सायद अहिले त स्वाभाविक झैं भईसक्यो ।
केही पाउनको लागी,केही चिज गुमाउनु पर्ने
सायद प्रकृतिको नियम नै भईसक्यो ।
त्यसैले,
तिमी पनि अधुरा सपना र अपुरा रहरहरु
साकार र सार्थक वनाउन चाहन्छौ यदि भने
कल्पनालाई यथार्थमा वदल्न चाहान्छौ भने
काँपेका रुन्चे अधरहरुमा
सन्तुष्टिको मुस्कान छरेर वाँच्न चाहन्छौ भने
आऊ, एकपटक
सामुहिकतामा रमाउने यो अभियानमा
रमाऊ सिक्ने र सिकाउने यो महासमरमा ।
स्वीकार, जीवन संघर्ष हो ।
संघर्ष नै जीवनको सार्थकता हो ।

२०६९।७।५
चिसापानी जामुने,स्यांजा

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *