निबन्ध : ऋग्वेदमा देवीदेवता

~प्रदीप नेपाल~

म संस्कृतको ज्ञाता होइन, त्यसैले म यहाँ जे लेख्न गैरहेको छु त्यो नै अन्तिम सत्य हो भन्ने दाबी पनि म गर्न सक्दिन । संस्कृत साहित्य मेरा लागि स्तुत्य छ र आफूले हिजो संस्कृत पढ्न नपाएकोमा यतिबेला मभित्र पछुतो पलाइरहेछ । नेपालमा संस्कृत विद्यालाई जसरी हेय सम्झिइएको छ फ्रान्स र जर्मनीमा संस्कृत शिक्षाको महत्ता थाहा पाएपछि नजिकको तीर्थ हेला भन्ने उखान आफैँमा चरितार्थ भएजस्तो लाग्यो ।

संस्कृत भाषाको स्रोत वेदमा गएर ठोक्किन्छ । वेदलाई नै ज्ञान भनिदो रहेछ बोलचालको भाषामा । वेद भनेको कुनै एउटा व्यक्तिले कुर्चीमा बसेर लेखेको महाकाव्य होइन रहेछ । त्यो त सभ्यताको आदिम कालदेखि सभ्यताले सिन्धु नदी काट्दासम्मका गीतहरू समावेश गरिएका रहेछन् । यथार्थमा वेदलाई संस्कृतका ऋचा र मन्त्रहरूमा बाँध्नु भन्दा अलग अलग कालखण्डमा जनताको जीवनलाई सम्बोधन गरेर रचिएका लोकगीतहरूको सँगालो भन्दा उपयुक्त हुने रहेछ ।

हाम्रा पितापुर्खाबाट वेदलाई अस्पृष्य बनाउने काम भयो । त्यसलाई मन्त्र बनाइयो । त्यसलाई आˆनो भातपानी चलाउने मेसो बनाइयो । त्यसैले नेपाल भारत जस्ता मुलुकहरूमा वेद तिरस्कृत हुँदै गयो भने जर्मनी तथा प|mान्सका विश्वविद्यालयहरूमा संस्कृतको वास्तविक पढाइ हुनथाल्यो । यूरोपेलीहरू अघि बढ्नु र दक्षिण एसियालीहरू पछि पर्नुमा थोरथारै भए पनि संस्कृत शिक्षाको साँघुरीकरण र तिरस्कार गम्भीर रूपमै जिम्मेवार छ ।

वेदलाई अज्ञानीहरू हिन्दु धर्मसँग जोड्दछन् । यथार्थमा वेद ज्ञान हो, शिक्षा हो । तर हिन्दु भिन्न भिन्न समयमा भिन्न भिन्न संस्कृतिमा लपेटिँदै आएको फराकिलो मानव संस्कृति हो । यथार्थमा हिन्दु कुनै धर्म नै होइन । किनभने त्यसमा अरु धर्महरूमा पाइने धार्मिक कट्टरता नै छैन । सँुगुर छुन नहुने पनि हिन्दु, सुँगुर खाने पनि हिन्दु । जात मान्ने पनि हिन्दु, जात नमान्ने पनि हिन्दु । गाईलाई पवित्र मानेर पूजा गर्ने पनि हिन्दु, गाई खाएर अघाउने पनि हिन्दु । टिका लाउने पनि हिन्दु, टिका नलाउने पनि हिन्दु । यस्तो विचित्रको धर्म यो संसारमा अन्य कतै देखिएको छैन ।

तर आजको सन्दर्भ हिन्दु धर्म होइन, आजको सन्दर्भ हो देवी देवतासम्बन्धी छोटो चर्चाको ।

हिन्दु धर्ममा ब्रहृमालाई महापिता मानिन्छ । उनलाई सृष्टिकर्ता मानिन्छ । उनलाई ठूलै देवता मानिन्छ । तर अहिलेका यी अलौकिक ब्रहृमालाई वेदमा यसरी परिचय दिइएको छ हे इन्द्रदेव, स्तुति गर्ने स्तोताहरूले तिमीलाई पुज्य मानेर मन्त्रोच्चारणद्वारा आदर गर्दछन् । बाँसका चोकेमाथि चढेर चटक देखाउने नट वा नर्तक जस्ता ब्रहृमा नामका ऋत्विकले श्रेष्ठ स्तुतिगान गर्दै तिमीलाई प्रोत्साहित गर्दछन् ।”

तिलकप्रसाद लुइँटेलले नेपालीमा अनुवाद गर्नुभएको ऋग्वेदको पृष्ठ ८ मा लेखिएको यो उद्धरणले ब्रहृमालाई देवता मानेको छैन । तर यति मात्रै उद्धरण दिँदा इन्द्र चाहिँ देवतै पो हुन् कि भन्ने भ्रम फिँजिने भएको हुनाले थोरै चर्चा इन्द्रका बारेमा पनि गरिहाल्नु बाञ्छनीय होला ।

वेदमा इन्द्रका धेरै सन्दर्भ छन् । एक ठाउँमा तिनी सय यज्ञ गर्ने शतक्रेतु भएका छन् । एक ठाउँमा तिनी गोठालाहरूका मुखिया भएका छन् । एक ठाउँमा तिनी खेतीपातिका नायक भएका छन् । एक ठाउँमा तिनलाई गणनायक भनिएको छ । इतिहासको विकासक्रमको वैज्ञानिक अध्ययन गर्ने हो भने हामीले अहिलेसम्म देवताहरूका राजा मान्दै आएका इन्द्र, मातृसत्ता समाप्त भएपछिको सभ्यतामा लामो समयसम्म केन्द्रीय वृत्तमा रहेका व्यक्तिहरूको समूह हो । नेपालका पुराना शासक नायकहरूलाई राजा भनिएजस्तै हजाराँै वर्ष पहिलेका मुखिया, नायक अथवा राजाहरूलाई इन्द्र भनिन्थ्यो भनेर बुझ्नु उपयुक्त हुन्छ । किनभने इन्द्रको स्तुतीमा यस्ता गीतहरू रचिएका छन् हे बज्रधारी इन्द्र, गोठबाट छोडिएका गाईहरूझँै हाम्रो धन पनि सबैतिर फिँजाइदेऊ । … हे इन्द्रदेव, तिमीले गाई चोर्ने असुरको व्यूह नष्ट गराइदियौ । असुरहरूबाट पराजित भएका देवताहरू तिमीसँग आएर संगठित भए । … हे इन्द्रदेव युद्धका बेलामा तिम्रो ख्याति पृथ्वीदेखि द्युलोक -भनेको ब्रहृमाण्ड) सम्म फैलिन्छ । … हे इन्द्रदेव, हामीबाट गरिएका स्तुतिले सबै तिरबाट तिम्रो आयु बढाउँदै तिमीलाई यशस्वी गराउन् । … हे याजकहरू, सम्पूर्ण कार्यहरू पूरा गर्ने इन्द्रदेवको सामथ्र्य बढाइदिने यो सोमरस -भनेको रक्सी) उनैलाई अर्पित गर ।

यस्ता दर्जनौँ उदाहरणहरू ऋग्वेदमा पाइन्छन् जसले इन्द्रलाई बलशाली पुरुषको रूपमा चिनाएको छ । बल बुद्धि बाहेक इन्द्रमा कुनै अलौकिक एवं चामत्कारिक गुणहरू भेटिँदैनन् । मातृसत्ता समाप्तै भैसकेको र त्यसका ठाउँमा पितृसत्ताले आˆनो सत्ता कायम गर्न अघि सारेको एउटा वंश परम्परा नै इन्द्रका रूपमा वेदमा उपस्थित भएको देखिन्छ ।

ऋग्वेदमा देवीदेवता हुँदै नभएका चाहिँ होइनन् । पृष्ठ ११ मा उषा -अर्थात् बिहानी) लाई देवी मानी यज्ञमा आमन्त्रण गरिएको छ भने पृष्ठ २१ मा वरुण -अर्थात् पानी) लाई सम्बोधन गर्दै भनिएको छ हे वरुणदेव मन्त्ररूपी वाणीले हामी तिम्रो स्तुती गर्दछौँ । अग्निदेवको स्तुती सबैभन्दा धेरै ठाउँमा गरिएको छ । पृष्ठ २२ मा भनिएको छ अमर देवताहरूमा हामी पहिले अग्नि -अर्थात् आगो) देवको स्तुती गरौँ । त्यसैगरी ऋग्वेदले पृथ्वीलाई पनि यसरी देवीको सम्मान दिएको छ पृष्ठ १८ मा हे पृथ्वीदेवी, तिमी सुखदातृ हौ । बाधा हटाएर उत्तम आवास दिन सक्षम छौं ।

अर्थात् ऋग्वेदले देवी देवता मानेकाहरूमा उषा, पृथ्वी, सूर्य, अग्नि, वरुण सबैभन्दा माथि छन् । पुरानो सभ्यतामा उषाले उज्यालो झल्काउने, पृथ्वीले बास दिने, सूर्यले ताप दिने, अग्निले खाद्यपदार्थमा स्वाद भर्ने र पानीले जीवन दिने भएको हुनाले -जस्तो पृष्ठ २० मा भनिएको छ जलमा अमृत समान गुण छ । जलमा औषधिको गुण छ । देवताहरू हो, यस्तो जलको प्रशंसा गर्न तिमीहरू उत्साहित होओ) हाम्रा प्राचीन पुस्ताहरूले यी भौतिक वस्तुहरूलाई आˆनो साँघुरो ज्ञानचेतनाका कारण देवीदेवता माने ।

भौतिक वस्तुलाई देवदेवी मान्ने संस्कार हामीले आजभन्दा पचास वर्ष अगाडिसम्म देखिरहेकै थियौँ । नेपालमा महिलाहरू प्रत्येक पूणिर्माका दिन चन्द्रमालाई भगवान् मानी सन्ध्यापूजा गर्ने गर्थे । गाउँघरमा आजभोलि पनि ग्रहण लाग्दा पानी छोइन्छ भन्ने अन्धविश्वास बाँचिरहेकै छ ।

हिन्दुहरू ३३ करोड देवीदेउता भएको विश्वास गर्दछन् । दक्षिणएसियाली सामन्तवादको यो एउटा अनौठो अन्धविश्वासी उपहार हो । संस्कृत धेरैका लागि अलभ्य भैसकेपछि टोलटोलमा नयाँ नयाँ देवीदेउताहरू जन्मिन थाले । त्यसलाई अधिकतम् अन्धविश्वासको जालोभित्र बेर्ने प्रयत्न भयो पुरोहितहरूबाट । हजारौँ वर्षको अनुभव बोकेका वेदहरूलाई शुद्र र नारीहरूले पढ्नै नहुने पवित्र ज्ञानका रूपमा चित्रित गर्ने गलत काम भयो । वेदलाई ज्ञान होइन, स्वर्ग र नरकको ढोकाका रूपमा चिनाउने नचाहिँदो काम पनि हाम्रा पूर्वजहरूबाट भयो । पुरानो ज्ञानलाई वैज्ञानिक विश्लेषणमा पर्घेल्ने भन्दा, त्यसलाई झन्झन् रहस्यमय बनाउने नकाम पनि पुरानो समयका अगुवाहरूले गरे । राजालाई विष्णुको अवतार बनाउने षडयन्त्र सामन्तवादको ठूलो सफलता ठहरियो प्रकारान्तरले । शक्तिपीठहरूका मूल हर्ताकर्तामा राजाहरू नै उपस्थित हुने नियमले राजा र देवतालाई एकाकार गर्ने काम गरियो । जनताको चेतनामा ठप्पा लाउनुपर्ने हुनाले वेदका भौतिकवादी ऋचाहरूलाई अभौतिक बनाउने जालसाजी पनि भयो ।

यस्तो गलत कार्यशैलीले हामीलाई आˆनै इतिहासबाट विरत् बनायो । पूर्वीय दर्शन विनाकारण प्रताडनाको सिकार भयो । वास्तविक ज्ञानका ढोकाहरूलाई जस्केला बनाइयो र नक्कली ज्ञानलाई मूलदैलोको दिशा दिइयो । यसलाई अब हाम्रो पुस्ताले सच्याउनु पर्दछ ।

अन्तमा एउटा रमाइलो सन्दर्भ । केटाकेटीमा व्रतबन्ध गराउँदा गुरुले गायत्री मन्त्र सुनाउँदा रहेछन् । व्रतबन्ध नगरेकाले त्यो मन्त्र सुन्यो भने सुन्ने र सुनाउने दुवै बौलाहा हुन्छन् भन्ने ज्ञान पनि त्यो मन्त्रसँगै बाँडिदो रहेछ । मेरो व्रतबन्ध भएन । साथीहरू छेउछेउमा आएर नबुझिने भाषामा मन्त्र जपेजस्तो नाटक गर्थे र मेरो खिसी उडाउँथे । यस्तो नौटङ्की भएको पन्ध्र वर्षपछि मैले बनारसका गल्ली गल्लीमा त्यो ओम् भूर्भुवस्व तत्सवितुर्वरेण्यम् भर्गो देवस्य धी महि धीयो यो न प्रचोदयात् मन्त्र टाँसिएको देखेँ । अहिले त त्यो सुन्न सुनाउन नहुने गायत्री मन्त्र सङ्गीतमा सजिएर भूमिवन्दनाका रूपमा नेपालकै रेडियोहरूमा बज्न थालेको छ ।

ज्ञान अथाह गहिरो छ, तर पर्घेल्नै नसकिने भने भइसकेको छैन । समाजलाई अज्ञानी र अन्धविश्वासी होइन, ज्ञानी र भौतिकवादी बनाउने तागत हाम्रो पूर्वीय दर्शनमा पर्याप्त छ ।

This entry was posted in निबन्ध and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *