लघुकथा : घर विदा

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

सुब्बासाहेब अर्जुनप्रसादले हाकिमसाहेबको कोठाभित्र पसेर दुई हात जोडेर नमस्कार गर्दै भने “सर गाउँमा मेरो आमा साह्रै बिरामी हुनुहुन्छ मलाई एकहप्ताको छुट्टी हजुरले दिनुपर्‍यो। हाकिमसाहेबले तिमी एकहप्तासम्म अफिस आएनौ भने काममा ठूलो बाधा पर्छ नि तिमीलाई एकहप्ता छुट्टि दिन सक्दिन तीनदिन मात्रै दिन्छु।

“एकदिन मेरो घर पुग्नै लाग्छ एकदिन फर्कन लाग्छ एकदिन मात्रै म घरमा बस्न पाउने भए होइन त सर?” सुब्बासाहेब अर्जुनप्रसादले भने। तीनदिनको विदा स्विकृत गरेर ऊ आफ्नो घरमा गयो। घरमा पुगेपछि आमाको खुट्टामा ढोगेर भन्यो “आमा हजुर साह्रै विरामी हुनुहुन्छ भन्ने खबर मलाई एकजना साथीले मेरो मोबाइलमा मेसेज पठाएर म तीन दिनको छुट्टि लिएर घर आएको हुं नि हजुरले त काम गरिरहनु भएको छ नि मलाई त अचम्मै लाग्यो।”

“कसले तँलाई म साह्रै विरामी छु भनेर खबर पठायो त?” आमाले भनिन्।

“मेरो यस गाउँको स्कूल पढ्दाखेरीको मिल्ने साथी भरतले पठाएको थियो मेरो मोबाइलमा त्यस्तो मेसेज आमा” अर्जुनप्रसादले भने।

“तँ आफ्नो घर आएको ठीकै भयो त्यसो भए तलाई सुहाउदो खालकी केटी एउटा घरबाट हत्तै गरेर दिन आएका छन् तेरो विवाह गरेर तँलाई काठमाडौं पठाइदिनु पर्‍यो हुँदैन त छोरा” आमाले भनिन्। काठमाडौंमा नै एउटी केटीले मसँग विवाह गर्ने प्रस्ताव राखिसकेकी छे आमा” अर्जुनप्रसादले भने।

“प्रस्ताव राख्दैमा त्यहि केटीसँग तैँले विवाह गर्नुपर्छ म भन्दिन। आफ्नै गाउँबाट दिन आएको केटीसंग विवाह गरेर आफ्नो नयाँ दुलहीलाई लिएर काठमाडौं गए भैहाल्छ नि” आमाले भनिन्। आमाले भनेको कुरालाई उसले नकार्न नसकेर हुन्छ नि त आमा भनेर विवाह गरेर एकहप्तापछि ऊ आफ्नी दुलहीलाई लिएर काठमाडौं पुग्यो। काठमाडौं पुगेको भोलिपल्ट ऊ आफ्नो अफिसमा गयो “अर्जुन तिमीलाई त मैले तीनदिनको मात्रै विदा स्विकृत गरिदिएको थिए किन यत्रो दिनसम्म घर बसेर आएको नि?” घरमा आमा बिरामी हुनुभएको होइन रहेछ आमाले मलाई विवाह गर्न बोलाउनु भएको रहेछ त्यसैले म काठमाडौं आउन ढिला भएको सर उसले आफ्नो हाकिमसाहेबसंग दुई हात जोड्दै भन्यो।

– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *