कथा : नेपलीया

~राशि पाण्डे~Rashi Pande_1

गुरुचरण यादवले पुल्चोक क्याम्पसबाट बीई गरेपछि जागिरका लागि धेरै दौडधुप गर्नु परेन । तराई मूलको मदिसे भएकोले समावेशीको नाममा एउटा अन्तर्राष्ट्रिय संस्थामा राम्रै तलप र सुविधा दिने जागिर पाइहाल्यो । पहाडी मूलका धेरै जेहेन्दार र मेवाधी बाहुन, क्षेत्री दौंतेरीहरू हेरेको हेरै भए । त्यसै पनि ‘मस्र्या, मदिसे, धोती, भैया आदि’ भनेर हेप्ने साथीहरू डाहाले झन आगो भएका थिए ।

आगो हुन वा राँको ….. जागिरमा लागेपछि कक्षामा र काठमाडौंको डेरामा बस्दा व्यहोरेका उसका हेपाइहरू धुमिल हुँदै गए । उसको लगाइ खुवाइ र जीवन स्तरमा धेरै परिवर्तनहरू आउन लाग्यो । अब कहिलेकाँहि घरबाट आउने आफन्तहरुसँग पनि घरबेटीले राम्रै व्यवहार गर्न लाग्यो । धोती लगाएको हेरेर पनि हेप्दैन्थ्यो । यस्तो परिवर्तनमा अहिलेको सामाजिक चेतना भन्दा पनि उसको शिक्षा र पदको भूमिकाले दिए जस्तो लाग्दथ्यो उसलाई । किनकि घरघरबाट खाली शिशी खरिद गर्ने तथा साइकलमा तरकारीहरु राखेर बिक्री गर्ने मदिसेहरु प्रतिको हेय दृष्टिकोण उस्तै थियो यी रैथानेहरुमा । तराई तिरका कुनै सासंद वा मन्त्रीले हिन्दीमा भाषण दिएपछि वा कुनै अपराधिक घटनामा संलग्नत भएको समाचार संचारमाध्यममा आएपछि घरबेटीको कटाक्ष पुरै तराईमूलका मदिसेमा खनिन्थ्यो । ‘धोती भैया बिहारी, आदि आदि ।’ हुन त यस्तो अपराधिक घटना पहाडे मूलका सासंद वा मन्त्रीले पनि उत्तिकै मात्रामा गरिरहेका हुन्थे । तर अपवादमा हुने मदिसेका घटनाहरुको टिका टिप्पणी अलि बढी नै हुँदा ऊ आफूलाई पहाडिया समाजमा पूर्णरूपमा ढाल्न सकेको थिएन ।

ऊ पढ्नुका साथै खेलकुद र गीतसंङ्गीतमा पनि अव्वल थियो । क्रिकेट राम्रो खेल्थ्यो अनि नेपाली हिन्दी, अंग्रेजीका साथै नेवारी गीत पनि मीठो गाउँथ्यो । साथीहरु जुनियर उदितनारायण भन्थे उसलाई । ऊ भन्थ्यो ‘कोसीको पानीमै संगित भरिएको हुन्छ ।’ पढ्दाताका उसका थुप्रै साथीहरुमा पहाडी मूलका नै बढी थिए । किन हो आफ्नै समुदायका भन्दा पहाडे समुदायमा ऊ बढी मिल्दथ्यो । बोल्दा अलि मदिसे टोन आइहाल्ने त्यसैले केही रैथाने साथीहरु ‘धोती मदिसे’ भनेर हैप्थे । उनीहरू तराईतिरका पहाडे साथीहरूको मदिसे टोनको नेपाली सुनेर पनि गिज्याउँथे । त्यसैले तराईतिरका पहाडे साथीहरूसँग उसको मिल्ती बढी हुन्थ्यो । यस्तै साथीहरुमा करेली पनि एउटी थिइन । करेलीको वास्तविक नाम कौशिकी हो – कोसी नदिको उपनाम । तर मिल्ने सबै साथीले कौशिकीलाई करेली भन्थे । नाम करेली भए पनि ऊ असल र निकै राम्री थिइन । नामको विपरित मिठी १ उनको घर इनरुवा– कोसी वारी ऊ चाँही भारदह, कोसी पारीको । एक ठाउँ र एउटै संस्कृतीमा हुर्केकाले उनीहरुको कुरा मिल्थ्यो । कलेजमा ऊ करेलीलाई क्लासका नोटहरु दिएर तथा प्राक्टिकल कक्षामा आफूले जानेका कुराहरु सिकाएर सहयोग पनि गर्दथ्यो ।

करेलीको परिवार यतै काठमाडौंमै बस्थे घर बनाएर । ऊ करेलीको घर पनि गएको थियो एक पटक शङखमूल । गाउँबाट ल्याएको मालदह आँप र कोसीको जलकपुर माछा लिएर । करेलीको बुबा पनि इन्जीनियर भएकाले उनीहरुको कुरा खुबै मिल्थ्यो पनि । तर किनकिन करेलीकी आमाले उसलाई त्यती रुचाएको जस्तो लागेको थिएन । पहाडेहरुले मदिसे प्रति गर्ने हेपाहा व्यवहार पचाइ सकेकोले उसलाई त्यति बिझेन पनि ।

दशैंको बेला अफिस छुट्टि भएपछि ऊ पनि गाउँ आयो अब छठ मनाएर मात्रै जागिरमा फर्कने उद्देश्यले । गाउँमा निकै परिवत्र्तनहरु आइसकेका रहेछन् । सबेरै बिहान–बिहानै बाटो र खेतको डिलमा घुम्टो ओढेर मैदान ९विस्टा० गर्न बस्ने मानिसहरुको घरमा पक्कि चर्पि । घरघरमा पानीको धारा । गाउँ गाउँमा मोटर बाटो, पटेर र जस्ताको छानाको साटो पिलर भएको चिट्टिक्कका पक्कि घरहरु । उद्योग व्यापार । घरघरमा मोटर साइकल, साइकल तथा ट्र्याक्टरहरु । ऊ धेरै खुसी भयो । तर गाउँघर किन किन शुन्य शुन्य, उदास उदास । दशैंको, छठको रौनक थिएन गाउँमा । घरै पिच्छे एकदुई युवाहरु खाडी मुलुक गएका । छोराको आशमा बाँचेका बूढा आमाबुबा तथा लोग्नेविहीन विवाहिताहरु । घरमा पैसा आयो तर खुसी आएन । सम्पन्नता छायो तर चिन्ता कम भएन । ऊ खिन्न भयो ।

गाउँमा बसेका बचेका दौतेरीहरु, इष्ट मित्रहरू उसलाई भेट्न आए । यति पढेर राम्रो जागिर पाएकोमा, गाउँघर, समाजको इज्जत राखेकोमा वधाई दिए, खुसी भए । अनि कति आए उसको राजनिती झुकावबारे बुझ्न । पहाडे विरुद्ध मदिसेमाथि हुने गरेको भेदभाउ र अन्यायको विरोध गर्न संगठित हुन् ।

दशैं भरि आफ्नो साथीहरूसँग कङकाली मन्दिरमा भक्तजनहरुको सेवामा ऊ स्वयम्सेवकको रूपमा खट्यो । मन्दिर वरपरको सफाई, पिउने पानी तथा शौंचालय, भक्तजनहरुको लागि विश्रामकक्ष तथा शयन गृहको व्यवस्था, देवीको दर्शन तथा पुजाआजा । बलि दिने ठाउँ, फोहरको उचित व्यवस्थापन उसको इन्जिनीयरिङ्ग विद्या खुबै काम लाग्यो । उसलाई सघाउने, स्यावासी दिने पनि थुप्रै भए अनि लौ अब यसले समाज सेवा मार्फत राजनीतिमा आएर हामीलाई खत्तम पार्ने भयो भनेर खुट्टा तान्ने पनि उत्तिकै निस्किए । जो जे सुकै भनुन वा सोंचुन भुत्रै सित उसलाई भनें आफ्नो कामबाट ठूलो खुसि मिलेको थियो । सन्तोष मिलेको थियो ।

जति सुकै सदभावको काम होस् कतै न कतै त त्रुटी भै हाल्छ । कंङकालिनीको पुजामा पनि एउटा सानो झमेला भएको थियो । धर्मशालाको एक कोठामा तीलाठीबाट पुजा गर्न आएका ठाकुर परिवार बसेका थिए । कताबाट बलिका लागि ल्याइएको एउटा बोका फुस्केर सट्ट कोठाभित्र छिरेको थियो । अनि बोकाको पछि पछि एउटा चमार पनि कोठामा पसेको थियो । हाम्रो पुजा सामग्री सबै छोएर बिटुल्याइ दिए भनेर ती ठाकुरहरुले मरुन ज्याल पिटेका थिए चमारलाई । झगडा साम्य पार्न गुरुचरणलाई धेरै गारो परेको थियो । आजको यो आधुनिक युगमा पनि यस्तो भेदभाउ ? यस्तो छुवाछुत ? उसको मन खिन्न भएको थियो ।

अनि गुरुचरणको माइजूले एक दिन सबै बसेको बेला एउटी केटीको रङिन फोटो उसको अगाडि तेर्साउँदै भनेकि थिइन ‘देखू भान्जाबाबु १ बड सुन्दर और पटना से बीए करल लडकी अ‍ैछ ।’ अनि एकक्षण रुकेर फेरि भनेकि थिइन ‘एकदम गोरी, और शुशिल ।’ यसको बुबाले दस लाख भारु नगद, बीस तोला सुन, एउटा भटभटिया’ अरू बिहा खर्च सबै उसकै, माइजूले थपेकि थिएन । जन्तीको खानपान, सम्मान, ढोगभेट सबै’ । लौ अब यो केटी हातबाट फुत्कन दिनुहुन्न ।

गुरुचरणको मामाको बिहा भारतको मोतीहारी तिरै भएको थियो । उनले आफ्नो इन्जिनीयर भान्जाको बिहा पनि आफ्नै माइतीमा गराउने मनशाय बनाएकी थिइन । माइजू सभ्य, शुशिल र व्यवहारकुशलको रूपमा आदर्णिय थिएन, समाजमा ।

अहिले बिहाको के हतार छ ? भर्खर त जागिर सुरु गरेको ? उसको मुखबाट कुरा झर्न नपाउँदै सबैले एकै स्वरमा ख्याउँख्याउँ पारेका थिए । तँलाई बिहाको हतार छैन त के ? तेरो बहिनीलाई त छ, यसको बिहा गरि दिनु पर्दैन ? तेरो बाबुले त सबै पैसा, जग्गा जमिन तेरो पढाइमा खर्च ग¥यो अब भन यो बहिनीको बिहाका लागि कहाँबाट आउँछ पैसा ?

ऊ खङरङ भएको थियो । वास्तवमा उसले त अझ सम्म आफ्नी बहिनी बारे सोचेंकै थिएन । उनी गाउँकै उच्च माविमा पढदै थिइन । यसो गहिरिएर बहिनी तिर उसले हेरेको बहिनी त हल्लक बढेकी र उमेरदार भइसकेकी रहिछन् । ऊ चुप्प लाग्यो । उसको मौन सबैले स्वीकृती ठाने ।

ऊ कोठामा आएर खाटमा पल्ट्यो । लोड सेडिङ भएकोले पंखा पनि चलेन । उसलाई औडाहा चले जस्तो भयो । झलझली उसले करेलीलाई सम्झ्यो । कति पटक उनीहरूको आँखा र भाखामा प्रेम प्रकट भएतापनि एकले अर्कालाई प्रस्ताव राख्न, मुखले भन्न सकेका थिएनन् । मोवाइलको स्क्रिन अनलक ग¥यो– करेलीको मुस्काई रहेको तस्विरले कोठा उज्यालो भयो । आ जे पर्ला–पर्ला उसले पहिले मेसेज पठायो ‘हाय, के कस्तो छ ? सन्चै ? के गर्दै’ यस्तै यस्तै । अनि उसले फेरि मेसेज ग¥यो अलि सिरियस सल्लाह गर्नु छ !

भनन्, के हो भन्ने रिप्लाईमा उसले एकै साँसमा भन्यो ‘मेरो बिहाको कुरा चलिरहेको छ । इन्डियाकी केटी हो । तिमीसँग एक पटक सल्लाह नगरी मैले निर्णय लिन सकिन ।’

उताबाट केही प्रतिक्रिया नआए पछि उसले सोच्यो । एउटी खाँटी दाहाल थरकी पहाडे बाहुनकी छोरीले यो गुआर भनेर हेप्ने मदिसेसँग बिहा गर्ली र ? तापनि उसले कलेजका दिनहरू, सँगै बिताएका क्षणहरू र मनमनै बुनेका सपनाहरु एकै पटक सम्झ्यो र एकै साँसमा भन्यो ‘करेली म तिमीलाई मन पराउँछु र तिमीसँग बिहा गर्न चाहान्छु । तिमी पनि यस्तै चाहान्छौ भनें भन म पर्खन्छु तिमीलाई ।’

उताबाट कुनै जवाफ आएन तर मोवाइल अन नै थियो । एकक्षणको मौन पछि उसले फेरि भन्यो ‘करेली तिमी सोंच र भोली, पर्सी सम्ममा जवाफ देऊ । आइ विल बि वेटिङ योर डिसिजन ?’

उसको मनमा औडाहा चलिरह्यो । मन विचलित भैरह्यो । एकातिर आफूले मन पराएकी पहाडी केटी, यता दाइजो ल्याएर पारिवारिक समस्या समाधान गरिदिने भारतीय दुलही । उसको आँखा मोबाइलको स्किनमा र कान सबै रिङ टोन तिरै केन्द्रीत रह्यो दिन भरि, रात भरि । अँह १ नत मोबाइलको घन्टी बज्यो न त कुनै मेसेज नै आयो । उसको आशा मरेन तर जब भोली पल्ट उसले करेलीलाई फोन गर्न खोज्दा नम्वरनै ब्लक गरेको पायो अनि यसको मन म¥यो । एउटी काठमाडौं बस्ने पहाडे बाहुनकी छोरीले मदिसेसँग के बिहा गर्थी ? झोंकको आवेगमा उसले बहिनीलाई बोलाए भन्यो ‘जा भनि दे दाईले त्यै फुफूले रोजेकी केटीसँग बिहा गर्ने रे’ ?

छडके आँखाँ पारेर हे¥यो उसको बहिनीको अनुहारमा सुर्योदय भएको थियो । उसले पूर्वउत्तर फर्केर कंकालिनी माईलाई ढोग गरी अनि पश्चिमदक्षिण फर्केर छिन्नमस्ता मातालाई ढोगी । तर गुरुचरण पानी न परेर ओइलाएको पटुवा बोट जस्तै मुर्झायो ।

बरयाात विहारको सुपौल जानुपथ्र्यो । नेपालको सिमानाबाट करिब साठी किलोमिटर दक्षिण, कोसीकै किनार । एउटै नदिको पानी पिएका । उएटै जाती, एउटै भाषा र संस्कृती । परंम्परा देखि नै यता र उताका परिवारसँग चेलीबेटीको नाता थियो । पहिले पहिले उताको बुहारी भित्राउने यताबाट छोरी दिने चलन उस्तै उस्तै थिया, बराबरी । तर दाइजो निहुँमा धेरै नेपाली चेलीहरुले हिंशाको शिकार हुनुपरेपछि प्रायः बुहारी भारतबाट ल्याउने तर आफ्नी छोरी यतै नेपालमै बिहा गरी दिने चलन बढिरहेथ्यो । कानुनी रूपमा दाइजो लिनु–दिनु दुबै देशमा बन्देज भएतापनि दाइजो बिना बिहा असंभव जस्तै थियो । भारलीय रुपैयाँको मुल्य नेपाली भन्दा बढी भएको र तुलनात्मक रूपमा भारतीयहरुको आर्थिक स्थिति केही बलियो भएकोले प्रायः छोराका लागि बुहारी भारतबाट ल्याउने चलन बढिरहेथ्यो । गुरुचरणको परिवार पनि दाइजोकै लोभमा परेको थियो ।

जन्ती जाने अघिल्लै दिन कोसी ब्यारेजको बाटो भारतीय गाडीको लस्करहरु आयो । गुरुचरणले पनि यताबाट चर्को भाडा तिरेर ट्र्याभल एजेन्सीको जापानिज गाडि र जन्तीहरुका लागि स्कच ह्विक्सीका पेटीहरु गडिमा राख्न लगायो । कलेजमा पढने र सँगै काम गर्ने उसका पहडिया दौंतेरीे साथीहरु पनि जन्तीमा सहभागी भएका थिए ।

बिहा धुमधामले चार दिनसम्म चलेको थियो । ट्युबलाइटको चकाचौंध, पटाखा र आतिशवाजी, आर्केस्ट्राको चर्को धुन अनि हिजडाको अश्लील नृत अनि थरिथरिका पकवान । पहाडे मुलका साथीहरु दंग परेका थिए । बिहा नगरेकाहरु ‘अहो बिहा त भारत मै गर्नु पर्ने भन्ने सोंच बनाउन लागेथे, अनि बिहा गरेकाहरु बेकारमा नेपालमा बिहा गरियो पछि पछुताई रहेका थिए।’ जे होस बिहाबाट सबै खुस, सबै सन्तुष्ट देखिन्थे ।

बिहा भयो । सुहागरात मनायो । राती बेहुलीले गर्मी भएको घरमा कुलर, एसी नभएको गुनासोसँगै माइतीलाई एउटा एसीको साथ जडान गर्न मेकानिक्स पठाइदिन फोन गरी । उसलाई चसक्क बिझ्यो । उसले सम्झाउन खोज्यो ‘एसी भएपनि लोडसेडिङले गर्दा त्यती उपयोगी हुन्न । फेरी हामी छिटै काठमाडौं जान्छौ त्यहाँ एकदम शितल छ, स्वर्ग जस्तो’ तर उसले मानिन । पर्सीपल्टै उसको घरमा एसी जडान भयो । भान्सा, ट््याइलेट, सुत्ने कोठाको बेड, बैठकको फर्निचर सबै उसको स्तरका नभएकाले फेर्न लगाई,सबै माइतीबाटै ल्याइयो । ऊ मुक भएर हेरिरह्यो । सबै कुरामा ऊ भन्थी ‘मेरा पापा के यहाँ ऐसा है, वैसा है’ । उसलाई घरमा भैंसीहरु बाधेंको पनि मन पर्दैनथ्यो । फोहर र झिगांहरु आउँछन् उसका गुनासा हुन्थे । नजिकैको पहाड हेर्दा पनि ऊ डराउँथी । जङल र रुख पनि उसलाई मन पर्थेन । ‘रात मे पहाड सरक के निचे आ जाएगा, जङल से बाघ, भालु आएगें’ ऊ तर्सन्थी । उसकै लागि उसले घरको चारैतिर आठ फिट अग्लो दुई इँटाको गारो लगायो । भैसी गोठ अन्यत्र सा¥यो । घरमा तला थप्यो र माथिल्लो तलामा उक्लियो । दाइजोका नगदिहरु बिस्तारै सबै चट भए ।

परंपरा अनुसार केही दिन पछि ऊ ससुराली जानुपर्ने भयो । इन्जीनियर जस्तो मान्छे, पहिलो पटक अर्को देशको ससुराली हिंडेको, के लोकल बसमा जाने ? उसले फेरि भाडामा जापानिज गाडीको व्यवस्था ग¥यो । आफन्तहरुका लागि चाइनिज सामानहरू किन्यो, उपहारमा दिन ।

सालोले ‘जीजाजी सब कुछ भुल जाना मगर स्कच ह्विक्सी म त भूलना, यहाँ दोस्त लोगौंको पिलाना हैं’ भनेको समझ्यो ।

ससुराली खलक सम्पन्न थिए । ठूलो घर, दुई दुई वटा गाडी, मारुती र टाटा । नोकर चाकर । ससुरालीमा खाना पिलाना, सालासालीहरूसँग हँसी मजाक, तीन दिन कसरी बित्यो थाहै भएन । अनि फर्कने एक दिन अगाडिको साँझ सालो र उसका साथीहरूले जापानिज गाडीमा सैर गरेर आउन चाहे । पहिले पनि उनीहरु गाडी भित्र बसेर, गाडीको बोनट उठाएर भन्दथे ‘क्या इन्जन है ? भेरी लक्जरियस ? क्या कम्फोर्टेवल ? ड्राइभ करने में बडा मजा आएगा’?

अनि एक क्षणपछि सालो चाँहिले ड्राइभरसँग गाडीको साँचो माग्यो ‘ए भाइ जरा चाभी देना, तुम्हारी ए खड्खडिया चलाकर देखनी’ ।

ड्राइभरले चाभी दिन मानेन, मात्तिएकाहरुको के ठेगान ? अनि एउटाले ड्राइभरको सर्टको कलर समातेर भनि हाल्यो ‘साला ड्राइभर हो के हम से मुह लगाता है ? हमें नहिँ पहचानता ? यहीँ सुट कर दें ? साच्चैमा उसले एक कटुवा पेस्तोल निकालेर तेर्साएको थियो । उसको एक साथीले ड्राइभरको खल्तीबाट चाभी निकाल्न हात हालिरहेथ्यो । स्थितिको गांम्भिरता बुझेर आफूले ल्याएको ड्राइभरको पक्ष लिदैं सालोको साथीलाई उसले रोक्न खोज्यो । जीजा होकर हमको धक्का देता है ? उनीहरु एक जुट भएर गुरुचरण माथि खनिन आए । स्थिति झन झन उग्र हुँदै गयो । यस्तो हो हल्ला सुनेर उसकी दुलही तथा सासु पनि कोठामा आई पुगिन् र सबैलाई हकारिन । केटाहरु आँखा रातो रातो पार्दै बाहिर निस्के । तर जाँदाजाँदै उनीहरुको मुखबाट निस्केका अश्लिल गाली र घृणाले भरिएको क्षुद्र शब्दहरु उसको कानमा परिरह्यो ‘साला नेपलिया, भिकमंगा, पैसा के लिए हमारी बहन से शादी की और जापानिज गाडीका सान देता है ? पहडिया साला, मार कर यहीँ गाडी सहित कोसी में दवा देगें ’?
गुरुचरणलाई गाली सुनेर रिस उठ्नु भन्दा पनि बढी आफ्नो नियतीमा हाँसो उठ्यो ‘आखिर ऊ के हो विहारी मदिसे कि पहडीया–नेपलीया ?’

(“उपलब्धि” २०७२ साउन–चैत, अङक ३/४/१, पूर्णाङक ११/१२/१३, वर्ष ३/४ संयुक्ताङक/विशेषाङक ढिक्का’ ७२ मा प्रकाशित)

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *