कविता : दिदी

~मनोज बोगटी~Manoj Bogati_1

आँखा डील कोइलाको धुलोलेे अध्यारो बनाउँछिन्
र निधारमा टाँस्छिन् एउटा घाम।

के रहर लागेको दिदीलाई
केटी हुन।

संसारको सबैभन्दा बलियो दिदी
जसले दुइ दर्जन बाख्राको खोर एक्लै खोर्सिन सक्छिन्
चार माऊ गाईलाई एक्लै सोत्तर दिन सक्छिन्
भुटेको मकै मुर्क्याउन पानी पर्दैन।

कसैसित नडराउने दिदी
नाथे एउटै ‘अ’ देखि डराउँछिन्
एउटै ‘क’ देखि डराउँछिन्।

घामै निधारमा टाँस्ने दिदीलाई
जस्तैै गर्मीले पनि जिस्काउन सक्दैन।
आगोले ठाड़ो आँखाले हेर्न सक्दैन।

डड़ेलोले खाएको वनमा निर्धक्क हिँड्ने दिदीको कुर्कुच्चासित
जस्तै बदमाश काँड़ा पनि डराउँछ।

जब रातपर्छ
कुन्नी के हुन्छ दिदीलाई
लाम्काने खसीको कानभन्दा
कता हो कता सानो ‘ए’ देखि लुगलुग काम्छिन्।
बाजेको लौरोभन्दा कता हो कता सानो ‘1’ देखि थुरथुर बन्छिन्।
रातीशिक्षाका फुपुहरूले जहिल्यै पनि जबरजस्ती तानेर लान्छिन्।

एकदिन
दिदी खुट्टा बजार्दै एक्लै रोइन् र हामी सबैलाई रुवाइन्
किन भने
दिदीले काँपेको हातले लेखेको पहिलो अक्षर
‘भा’ थियो।

पछि ‘त’ थपिन्।
किन भने दिदीलाई भोक लागेको थियो।

निक्कैपछि बीचमा ‘र’ हालिन्
यतिबेला दिदीलाई खै कुन्नी के लागेको थियोे।

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *