कथा : उसको एक टक हेराइ

~रजित ओझा~Rajit Ojha

मैले उसको शरिर देखेको छु मिलेको छ,उचाइ औसत छ , गोरि छे , एक दुइवटा खतहरु छन् नाकको डाँडिको छेवैमा ,नाकको नथ्थि ले तर त्यो छोपिदिन्छ।ठुला आँखामा गाजल पनि सुहाएकै हुन्छ । आवश्यकता भन्दा धेरै लिपिस्टिक पोत्छे नत्र त राम्रि नै छे ।उसका बाहुला नभएको कुर्ता माथी सम्म काटिनाले कम्मरको सेतो छाला प्रष्ट देखीन्छ शायद यो उ आफ्नो आकर्षण बढाउनलाइ गर्छे । त्यो बाध्यता वा रहर मैले आहिले सम्म खूट्याउन सकेको छैन । कुरा गर्नमा स्पष्ठ छे । शायद तिरस्कार अङ्गाल्नु अब दिनचर्या बनिसकेको छ उसको त्यसैले त उ हरेक कुरालाइ हलुका लिन्छे र त उ स्पष्ठ छे । जति मान्छेको गहिराइ बड्दै गयो त्यति बढि उ कालो र बुझीनसक्नु को हुन्छ ।उसँग कुरा गर्न रमाइलो लाग्छ । कुरै कुराको सिलसिला मा एक दिन मैले उसलाइ प्रश्न गरेँ ।

“तिमीले कहिल्यै आत्माको आवाज सुनेकी छ्यौ?”

“अहँ”

“त्यसो भए तिमीले आत्मा पनि बेची सकिछौ।”

“म मात्र शरिर बेच्छु ,को सुत्न चाहन्छ र आत्मासँग? “सँधै जस्तै उस्ले पनि यो कुरा ठाडै गरी ,उसको र मेरो सम्बन्ध अनौठो थियो । थाहा छैन किन म उसमा र उ म मा अल्झिरहेका थियौँ किन कि हामी एक अर्का का लागि अनावश्यक थियौँ मेरो बिचारमाँ । साथीहरुले दुई तिन दिन छिराइदिएका जबर्जस्ति , त्यति खेर म गफ मात्रै गरेर बाहिर निस्केको पछि पछि म जान थाले प्रितीकोमाँ ,हुन त म यतिखेर पनि गफ मात्र गर्थेँ उ सँग र उ गफ गरेको मात्रको पैसा लिन्नथी ,उसको पेशाको बेइज्जत हुन्छ रे गफ गरेको पैसा लिँदा ,केहि कुरा बेचेपछि मात्र पैसा लिनुपर्छ अरे ,जब ग्राहक आउँथे म बाहिर निस्किदिन्थेँ उ बाहिर निस्केपछि प्रिती दश मिनट जति सुस्ताउँथी अनि फेरि गफ गर्न मलाई भित्र बोलाउँथी ।धेरै जसो उ ओछ्यान मै पल्टीरहन्थी सुकिली भएर म पुग्दा, हिँड्ने बेलासम्म पनि कहिले सुकिली नै हुन्थी तर त्यो दिन उसको पेटको हिसाब ले नराम्रो दिन हुन्थ्यो । कहिले भने उसको सरसफाई हराएको हुन्थ्यो उसको कोठाको कुनै कुनामाँ ,उसको डस्टबिन सँधै ति गनाउने खोलहरुले भरिएका हुन्थे तर भोलि पल्टको म पुग्दा को डस्टबिनको रिक्तता देखेर म सन्तुष्ट हुन्थेँ अनि सोच्दथेँ उसले फोहोर मेटाउन जानेकि छ ।

उ सँधै भन्थी”देखीने चिजमै हो सबैको आँखा जाने ,तपाईँ जस्तो नदेखिने चिजका कुरा गर्ने मान्छे हुँदैनन आजकल ।”

म खीस्स हाँसिदिन्थे ।दुईवटा कोठा लिएकी थिई त्यो घरमाँ ,एउटामाँ किचन थियो ,म उसको काम हुँदा प्राय त्यहिँ बस्थेँ काम नहुँदा मात्र उसको कोठामाँ छिर्थेँ । उसले खास मेरै लागि भनेर किचनमाँ एउटा कुर्सि र पत्रिकाहरु राखिदिएकी थिई ।उसका ग्राहक हरु प्राय एकै थिए ,अरु भन्थे उ सस्ति छे अरु हेरी तर उसको बिग्यापन कम छ नत्र त प्याक हुनु पर्ने रे !उ भन्थी म धान्न सक्दिन यो भन्दा , मेरो पनि त शरिर नै हो नि ।

“म तँपाइ लाइ के भनौ कुवा को छेउमा आएर कुवा लाइ ऐना ठानेर अनुहार हेरेर त्रिप्त हुने मुर्ख ?” एक दिन उसले मलाइ प्रश्न गरी ।

“होइन कुवा त पानी पिउन कै लागि हो तर तिमीले आफुलाइ चिनेकी छैनौ ।”

“कुरा त्यस्तो होइन कुरा मात्र आवश्यकता को हो ,कसैको आवश्यकता पुरा गर्नु मेरो अर्को आवश्यकता हो म मात्र आवश्यकता साट्छु ।”

“म त तिम्रो आवश्यकता होइन नि ! के को लागि त हाम्रो सम्बन्ध !”

“कुनै कुनै प्रश्नहरु अनुत्तरित नै राम्रा हुन्छन्” उसले कुरा लाई त्यो दिन त्यति भनेरै बिट मारी ।

अर्को दिन उ ब्यस्त थिइन तर उसको भनाइ मा उसले हिजो ओभर टाइम गरी अरे । उ अस्तब्यस्त पल्टिएकि थिइ ।म पुग्दा पनि उस्ले उठ्ने जाँगर देखाइन ।

“आज रेस्ट लिएको ।” उसले आङ्ग तान्दै भनी ।

मैले उत्तर फर्काउनु जरुरि ठानिन ।

“तँपाइ को घरमाँ को को छन् ?”एक छिन पछि उसैले शुरुवात गरी । हुन त यो धेरै अघि नै सोधिनु पर्ने प्रश्न हो । मैले त पहिलो भेटमाँ नै उसलाई सोध्न खोजेको थिएँ तर उ नराम्ररि झर्किइ मलाई सहानुभूति मन पर्दैन भनेर ,मैले खूट्याउन सकिन “तिम्रो घर कहाँ हो ?”भनेर सोध्नु कुन अर्थमा सहानुभूति दर्शाएको हो भनेर ।

“स्रिमति छ ,छोरि छे तर घरमाँ यहाँ त एक्लै छु म ।”

“छोरि पनि छे ?”

“छे त किन ?”

“तँपाई मान्छे हेर्दा सन्यासि जस्तो लाग्छ त्यसैले !एउटा कुरा सोधौँ ?”

“सोध न !”

“यहाँ किन आउनुहुन्छ ?”

“तिम्रो उत्तर को खण्डन गर्न ,सबै कुरा आवश्यकता होइन भनेर देखाउन ।”

“मलाइ तँपाइ कहिले काहिँ मुर्ख ,कहिले काहिँ सनकि ,साँचो भन्दा असन्तुलित लाग्नुहुन्छ ।”

“यति धेरै तारिफ नगर मेरो ।” म हाँसे ,उसले आफ्नो अर्धनग्न शरिर म तिर फर्काइ अनि एक टक मलाइ हेरिरहि ।

“म तँपाइ सँग गफ गरिरहन सक्दिन, थाहा छ तँपाइ लाइ हिजो मैले दुइ जना ग्राहकलाइ फर्काएँ ।”एक दिन उसले म सँग झर्किँदै भनी ।

“किन हिजो त म आएकै थिइन नि ?”

“त्यहि भएर त दुइजना लाइ नै फर्काएँ मैले ,किन किन आलस्य जागे झैँ भयो ।”

“म नआउँनाले?”

“हो तँपाइ नआउनाले ,मलाइ तपाइको लत लागिसकेको छ ,मलाइ थाहा छ यो घातक हो मेरो लागि तर कसरि छुटाउँ म ?”

“म जस्तो मुर्ख ,असन्तुलित र सनकि को पनि के लत लागेको त !”

“लत त लत हो लगाएर लाग्ने त रुची हो लत त अन्जान मा लाग्छ ।” उसको एक टक हेराइ मलाइ मन पर्छ थाहा छैन उ के खोज्छे म भित्र मा थाहा हुने भए सघाउँथे होला त्यो खोजमाँ ।

पानीले ल्याफ्फ भएर भिजेर पुगे म त्यो दिन ।

“किन यस्तो मरिहत्ते नि ?”उसले टावल दिँदै मलाइ प्रश्न गरी

“हाम्रो कुराकानि को आजको भाग बाँकि छ ।”

“एउटा कुरा सोधौँ?”

“सोध न ।”

“तँपाइ कहिल्यै मेरा सपना देख्नुहुन्छ ?”

“म सपनाहरुमा विश्वास गर्दिन ।”

“कहिल्यै एउटै ओछ्यान मा सुतेको कल्पना गर्नुभएको छ ?”

“मैले तिमी लाइ त्यो नजरले हेरेको छैन ।” म अलि असन्तुलित भएँ ।

“केहि कमि देख्नुहुन्छ म मा?”

“तिमी किन त्यस्तो भन्छौ ?”

“अहिले सम्म जसजस्ले मलाइ भोगे मैले औँलो ठड्याउने मौका दिइन ,तँपाइ लाइ के मन पर्छ मैले बुझ्न सकिन ।म हारे तँपाइको अघि ।मलाइ लाग्छ त्यो छोरि पनि तँपाइकि होइन कति पत्निव्रता पुरुष र छोराछोरिका बाउ मैले नाड्गिएको देखेको छु तर म हारेँ तँपाइको अघि ।” उ विवश देखीइ ।म चुपचाप मुर्तिवत भएर उसको विवशता हेरिरहेँ ।

“तँपाइ आज देखी नआउनुहोस यहाँ । म तँपाइको अस्तित्वमा अरु खोट देखाउन सक्दिन ,एउटा दाग ले अरु दाग देखाएको सुहाउँदैन । तँपाइ आज देखी नआउनुहोस यहाँ ।” म बिस्तारै पछाडि फर्किएँ अनि ढोका ढप्क्याइदिएँ । ढोका ढप्क्याउनु अघि उ मलाइ एक टक हेरी रहेकी थिई ।

समाप्त !!!!!!!!!!!!!

04-23-08 5:34 AM

(स्रोत : साझा डट कम)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *