कविता : मेरी कविता

~निर्मोही व्यास~Nirmohi Vyas

तिमी इन्द्रिनी हौ ? कि आकाशगङ्गा ?
तिमी देखिँदा यो मनै हुन्छ चङ्गा
नपाएर झल्को म कल्पीरहन्थेँ
सधैँ सम्झनामा डुबुल्कीरहन्थें

तपस्या फलोस्, गम्कियोस् सृष्टि आज
प्रिया ! झुल्क पैह्री तिमी प्रीति–ताज
यही मौन बिन्ती सदा गर्दथेँ म
यही रागिनी प्राणमा भर्दथेँ म

तिमी झुल्कियौ दिव्य आभा फिँजारी
म ‘सत्यम् शिवम् सुन्दरम्’ को पुजारी
००
तिमी जग्मगायौ, जुनी मग्मगायो
बिहानी नयाँ जिन्दगीको उदायो
ममा आज आनन्द उर्लीरहेछ
उसै तृप्तिको छाल छल्कीरहेछ

सदा गीत तिम्रै म गाईरहन्छु
सधैँ चिन्तनामा हराईरहन्छु
तिमीमा डुबी विश्व यो बिर्सिदिन्छु
म ब्रह्माण्ड अर्को नयाँ सिर्जिदिन्छु

म पाईरहूँ प्रीतिको यो छहारी
म ‘सत्यं शिवं सुन्दरम्’ को पुजारी
०००
(स्रोत : ‘बोधिवृक्षको छायामा’, कविता–सङ्ग्रह—२०६९ – पृष्ठ ६०)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *