कविता : देश बोकेर आएँ म

~मणिराज सिंह~Maniraj Singh

गल्ली र चोकमा
अलमलिएका उदास स्वर
देउरालीको चौबाटो हिँड्दै
बादलका नागवेली उकालीमा
आँधी आउनुअघि
लोलाएका आँखाहरूको नि:शब्दता ओढेर
मनमा गुम्सिएका
चञ्चल लहरका जीवन तरङ्ग पन्छाएर
भिक्षुहरू ध्यानमग्न भएको बेला
बलिदानीमा लेखिएका साँध सिमाना टेकेर
फूलको लजालु सुगन्ध वरिपरि
मझेरी शोकमग्न छ।

नजरबन्दमा परेका छन्
आँसुले लपक्क भिजेका
सुनाखरीका सोचाइहरू
अन्योलमा घस्रिरहेका छन्
डाँफे, मयूरका उमङ्गहरू।

वनपाखामा सोरठी गाउने
लालीगुराँसका थुँगाहरू
आफ्नै इच्छाविपरीत
अँध्यारोमा हराउनुको दृष्टिभ्रम बोकेर
बिछोडका अलाप लेख्दै छन्
झिलिमिली आकाश त्यागेर
बालन नाच्ने सुरले
हजारौँ माइल टाढाबाट
कर्‍याङकुरुङका बथानमा मिसिएर
यादहरूको न्यानो आँसुमा
पर्खाइको हरियो पहाड छिचोलेर
च्यापेर मादल
टोपी ढल्काउँदै निधारमा
चन्द्र-सूर्य लेखेर मनभरि
दुई पाइला परसम्म
देश बोकेर आएँ म।

तिम्रो ममताको शिखर वरिपरि
चोखो पिरतीको
हिसाब गर्दिनँ म
छातीमा दुःखेको साँघुरिँदो साँझमा
देश नै कुल्चेर
टुक्रा-टुक्रा लेख्दिनँ म
फोगटा र सुर्कीहरूमा
नयाँनयाँ उमङ्ग छर्कदै
टिष्टादेखि सतलजसम्म
एउटै माला गाँस्नेलाई
मुटुभरिको सलाम!
निद्रा बिथोलेर
मनको अँध्यारो ठुङ्दै
अस्तित्व हराएको सतही मन कुल्चेर
ब्युँझाएर अधुरा सपना
आँखाको मनबाटै
भ्रमको पर्दा च्यातचुत्त पारेर
आफैँ रमिते भएर भीडमा
कुल्चिनुको मजा गुन्दै
विचारको माखेसाङ्लोबाट फुत्केर
काँस फुलेझैँ मनमा फुलेका
सेताम्य रहरहरू उनेर
पिलपिल टुकी बल्ने आँगनमा
आफ्नै छाया वरिपरि
हाँसेका वर-पीपल जस्तै
रित्ता पातहरूबाट
शीतल बतास सापट लिएर
जोखिममा परेको घामसितै
च्यापेर मादल
टोपी ढल्काउँदै निधारमा
चन्द्र- सूर्य लेखेर मनभरि
दुई पाइला परसम्म
देश बोकेर आएँ म।

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *