कविता : ए जुन

~सुबेश घिमिरे~subesh-ghimire

ए जुन ! ए जुन !
तेरो जुँनेलीमा
कदम डग्‌मगाई
म आफ्नै शहरमा
म आफ्नै डगरमा
पराई भएछु

ए जुन ! ए जुन !
हिजो मस्की मस्की
उनी साथ हुन्थिन्‌
तेरै जुँनेलीमा
कैयौं स्वप्न बुन्थिन्‌
तर आज एक्लो
म भएँ सफरमा

ए जुन ! ए जुन !
थिए चाह थुप्रै
रहरका खजाना
सँगै ज्युँने मर्ने
कसमका मूहान
तर निर्मोहीले
सबै बिर्सिन् आज

ए जुन ! ए जुन !
हिजोका ती प्यारा
मृदु पल ती सारा
जति बिर्सुं भन्छु
सवै याद आँउछन्‌
निन्द्रा वा जागा
हर पल सताँउछन्

ए जुन ! ए जुन !
हिजो यो जुँनेली
कति प्यारो लाग्थ्यो
हिजो यै जीवनमा
कति आस जाग्थ्यो
तर आज कालो
जगतै अँध्यारो
तेरै जुनेलीले
पनि पोल्न थाल्यो ।

ए जुन ! ए जुन !
तेरो जुँनेलीमा
कदम डग्‌मगाई
म आफ्नै शहरमा
म आफ्नै डगरमा
पराई भएछु
ए जुन ! ए जुन !

२००८।०९।०१
साप्पोरो, जापान !

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *