कविता : एक सुन्दरी च्यामिनी

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
स्याबास क्या ढकमक फुली !
दिव्य अपवाद !
संगमरमरमा ढली छौ
धन्यवाद !

ख.
वीरताको चरमचुली
यो जनानी !
कुन कविले गायो फुली
यो कहानी
ए कुजात रानी !

ग.
गन्ध, मलले व्योम छुन्न,
नर कुहुन्न
देखियो यो लौ तिमीमा !
मानवकिरणले मार्ग पायो
नाघी तमको
घोर सीमा !

घ.
क्या गिज्यायौ धम्र्म, मन्दिर
अन्ध बार
यस्तो दिव्य व्यङग्य पाएँ
आज मैले,
एक बार !

ङ.
ढुङ्गा फोर्यो फूल–जराले फक्रिन
समाजको यो चट्टान टुक्रँदो पक्रिन !

च.
अछूतता धोयौ गजबसँग,
जुग पखाली !
जातिकी ए तीर्थ ! छुन्छयौ
स्वजन उचाली ।

छ.
ए पुरोहित हो ! न छोओ !
पिउ रे सुस्त !
तिम्रा पाषाण मूर्ति चिरी यी
विभूति मुस्किन्,
व्यङ्ग्य–मस्त !

ज.
मानवआत्माले लडाइँ
यस्तो जितेको देखिनँ
लङ्का औ कुरुक्षेत्र फुस्रे
कस्तो महायुद्ध ! मानवात्मा
यो नराङ्कुर उत्रिन ?

झ.
हाम्रो यो बदली गगनमा
फारी पङ्क
चाँद कमल क्या पीयूष फुल्छयौ
कृत्रिम कलङ्क !

ञ.
छोइदेऊ सारालाई
एकछत्तै !
मोहनी हे ! कीरा झल्लर
शास्त्र पारी
सब बिपत्तै

ट.
तिम्रो सुख हो विजय अद्भुत
एक झलकले कुइरो फार
सुन्दर नै जिउँदो सुधार हो,
विश्व–द्योतक एक जुहार हो,
हृदयस्पर्शी युग–पुकार !
आँखा मिचून् सब,
गन्धे झारका फूल सेखी
झार ! झार !

ठ.
मोहिनी ! लेऊ कुचो एक
सडक बढार,
“मानव जिउँछ ! नाली जित्छ !
यत्ति प्रसार ! ”

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *