कथा : जनैको डर

~शार्दूल भट्टराई~shardul-bhattarai

पुस महिनाको जाडो। घाम झुल्किसके पनि त्यसको तापले सुदूरपश्चिमको यस पहाडी बजारलाई छुन सकेको थिएन।

जाडो समयमा कुनै कुनै दिन काठमाडौँलाई हुस्सुले छोपेजस्तै डडेलधुरा सदरमुकामको यो बजार पनि छोपिएको थियो। त्यति साह्रो अँध्यारो भने थिएन। अलिकति वरपर स्पष्टैसँग देख्न सकिन्थ्यो। बिहानको चिसोमा अलिअलि सिरेटोको चिसो पनि थपिएको थियो। एक-दुई दिन यस्तै भइरहे हिउँ वा पानी पर्ने सम्भावनाको कुरा पनि मान्छेहरू गर्दै थिए। त्यसै त त्यति चिसो छ, त्यसमाथि हिउँ वा पानी परेपछिको चिसो कस्तो होला?

हामी कोठाभित्र थियौँ। बाहिरको तुलनामा कोठाभित्रको वातावरण अलि तातो थियो। तर, चियाको तलतलले हामीलाई कोठाभित्रको कैदबाट बाहिर निकाल्यो।

‘लौ न, कस्तो चिसो !’ मान्छे सबै यसै भन्दै आ-आफ्नो कामतिर दौडिरहेका थिए। चिसोको क्रूरता अनुभव गर्दै हामी एकैछिन कौसीमै उभियौँ।

हामी कौसीबाट सडकतिर हेररिहेका थियौँ। एक जना मान्छे छोटो कछाड मात्र लगाएर अलि परबाट आउँदै गरेको हामीले देख्यौँ। यस्तो चिसोमा नांगो मान्छे ! हामीलाई अनौठो पनि लाग्यो। हिँड्दा हिँड्दै ती मान्छे हामी बसिरहेको बैंक कार्यालयकै अगाडि आइपुगे। उनी जाडोले लुगलुग कामिरहेका थिए।

उनी बैंकको ढोकाअगाडि आएर उभिए। यताउति हेरे। ढोकैमा उभिएका सुरक्षा गार्डलाई तिनले केही सोधे। सुरक्षा गार्डले तिनलाई हामी उभिइरहेको कौसीतिर पठाइदिए।

निधारमा मेटिँदै गएको पहेँलो पहेँलो टीका छ। शरीरमा मोटो न मोटो जनै झुन्डिएको छ। कम्मरमुनि छोटो कछाड छ। त्यसभन्दा तल र माथि वस्त्रको नाममा केही छैन। जाडोले कठ्यांगि्रएका ती मान्छेलाई देखेर हामीलाई अलिकति दया पनि लाग्यो र डर पनि।

‘के भयो, कसलाई खोज्नुभयो?’ मैले ती व्यक्तिलाई सोधेँ।

‘… पण्डितलाई खोजेको।’ उनले भने।

उनको बोली बुझ्नै गाह्रो थियो। उनले बोलेको अगाडिको शब्दलाई हामीले ठम्याउनै सकेनौँ।

‘को पण्डित?’ मैले फेर िसोधेँ।

‘… पण्डित।’ जवाफ त दिए तर उनले बोलेको अगाडिको शब्द मैले फेर िपनि बुझिनँ। मैले फेरि सोधेँ, ‘को पण्डित भन्नुभएको?

केही बुझिएन।’

‘जिब्री पण्डित।’ उनले चिच्याएर जवाफ दिए।

अफिसियल काममा म र अच्युत मल्ल डडेलधुरा आइपुगेका थियौँ। हाम्रो कामसँग सम्बन्धित दुई जनाबाहेक अन्य कर्मचारीलाई हामी चिन्दैनथ्यौँ। त्यसैले हामीले जिब्री पण्डित भन्ने मान्छेबारे थाहा नभएको बतायौँ। तर, तिनले हाम्रो कुरामा विश्वास गरेनन्। उनी एक छेउमा उभिइरहे। उनी जाडोले कामिरहेकै थिए। कोठाभित्र ओढ्ने थियो। मैले तिनलाई त्यो ओढ्ने दिने विचार गरेँ र सोधेँ, ‘ओढ्ने ओढ्नुहुन्छ?’

‘नाइँ, ओढ्दिनँ।’ उनले नकारात्मक उत्तर दिए।

‘जाडो भएको छैन तपाईंलाई?’ मैले अझै दयाभावका साथ सोधेँ।

‘छैन।’ उनले रूखो पारामा जवाफ फर्काए।

‘कोठाभित्र बस्नूस् न त, जानूस् भित्र।’ मैले बल गरेर भनेँ।

‘नाइँ।’ मेरो त्यस आग्रहलाई पनि उनले ठाडै नकारे।

उनी को हुन्, नाम के हो, के कामले आएका हुन् भन्ने कुरा हामीले बुझ्न सकेनौँ। सुरक्षा गार्डलाई ती व्यक्तिका बारेमा सोध्यौँ। उनलाई पनि केही थाहा रहेनछ।

‘तपाईं कहाँबाट, के कामले आउनुभएको होला?’ मैले जिज्ञासासहित सोधेँ।

‘मेरो पहिलेको घर अछाम…। अहिले उता गाउँबाट आएको…। मेरो नाम अक्कल विष्ट…। जिब्री पण्डितलाई भेट्न आएको…।’ उनले आधा बुझिने र आधा नबुझिने लबजमा भने।

जिब्री पण्डित भन्ने नामै अनौठो लाग्यो हामीलाई। जिब्री पण्डितलाई हामीले चिनेका थिएनौँ। सुरक्षा गार्डलाई सोध्यौँ। उनले पनि चिनेका रहेनछन्। नचिने पनि जिब्री पण्डित नामका व्यक्ति बैंकमा नरहेको कुरा गार्डले बताए। तर, अक्कल विष्टले यो कुरा पत्याएनन्। उनले जिद्दी गर्दै भने, ‘जिब्री पण्डित यहीँ काम गर्नुहुन्छ।’

जिब्री पण्डित भन्ने व्यक्तिलाई खोज्दै आएका अक्कल विष्टलाई हामीले अनौठो नामको उक्त व्यक्ति बैंकमा नरहेको विश्वास दिलाउने प्रयास धेरै गर्‍यौँ। तर, उनले हाम्रो कुरामा पटक्कै विश्वास गरेनन्। उनले उल्टै हामीलाई ‘झूटा मान्छे’को आरोप लगाए। हामीलाई अक्कल विष्टको दिमाग सबै नखुस्किए पनि अलिकतिचाहिँ खुस्किएकै हो कि भन्ने लाग्यो। हामी उनीसँग थप कुरा नगरीकन चिया खान गयौँ। अक्कल विष्ट लुगलुग काम्दै कुनामा बसिरहेका थिए।

पौने एक घन्टापछि हामी फर्कियौँ। अक्कल विष्ट पूर्ववत् उही कुनामा बसिरहेका थिए। उनी यतिबिघ्न जाडोमा नांगै बसेर कथित जिब्री पण्डित भन्ने मान्छेलाई किन खोजिरहेका छन् भन्ने कुरा हामीले बुझ्न सकिरहेका थिएनौँ। उनको अवस्था देखेर हामीमा झनै चिन्ता बढेको थियो। चिन्तासँगै रसि पनि उठिरहेको थियो। हामीलाई लागेको थियो, कोठामा बस भन्दा पनि नमान्ने, ओढ्ने ओढ्न पनि नमान्ने र स्पष्ट कुरा पनि नगर्ने के खालका अडबांगे मान्छे रहेछन्, अक्कल विष्ट !

बिहानको १० बज्यो। एक जना कर्मचारी आए र कार्यालयका झ्यालढोका खोल्न थाले। हामीले तिनैसँग सोध्यौँ, ‘यहाँ जिब्री पण्डित नामको कर्मचारी कोही छ?’

ती कर्मचारीले हाँस्दै भने, ‘उनको खास नाम जिब्री पण्डित त होइन तर बाहिरतिर धेरैले उनलाई त्यसै भन्छन्। उनी बाहिरतिर जिब्री पण्डितकै नामले चिनिएका छन्। उनी यहाँ काम पनि गर्छन् अनि गाउँघरतिर लटरपटर पण्डित्याइँ पनि गर्छन्। हामीचाहिँ उनलाई पनेरु पण्डित भन्छौँ।’

नाम जे भए पनि अक्कल विष्टले खोजी गररिहेका जिब्री पण्डित बैंकमै काम गर्ने कर्मचारी हुन् भन्ने कुरा स्पष्ट भयो। अक्कल विष्ट तिनै पण्डितलाई कुररिहेको कुरा बुझ्नलाई अब गाह्रो भएन। तैपनि, एउटा कौतूहल भने रहिरह्यो, ‘अफिस खुल्ने समय हो बिहानको १० बजे। १० नबजी कर्मचारी आउँदैनन् भन्ने कुरा सबैलाई थाहै छ। तैपनि, अक्कल विष्टले दुई घन्टा अगाडिदेखि जिब्री पण्डितलाई कुर्नुको कारणचाहिँ के होला?’

हामीले नांगो शरीरमा लामो समयदेखि जिब्री पण्डितलाई कुर्नुको कारणबारे अक्कल विष्टलाई सोध्यौँ। उनले आफ्नो जनै देखाए। हामीले जनैतिर हेर्‍यौँ। तर, केही बुझ्न सकेनौँ। दुब्लो, ख्याउटे अनुहार, सुकेको शरीर र खुसीरहित आँखाबाट उनी एउटा गरबिीमा पिल्सिएका व्यक्ति हुन् भन्ने कुरा सहजै बुझ्न सकिन्थ्यो।

सवा १० बज्यो तर जिब्री पण्डित आइपुगेनन्। साढे १० बज्यो। तैपनि, उनी आइपुगेनन्। झन्डैझन्डै पौने ११ बजे झोलीतुम्बा बोकेका एक व्यक्ति केहीलाई नमस्कार गर्दै र केहीको नमस्कार खाँदै बैंक अफिसमा प्रवेश गरे। उनको निधारमा केशरी लतपतिएर पहेँलै देखिन्थ्यो। उनको लबाइ, बोलीचाली र अन्य ढाँचाकाँचा बैंकको कर्मचारीभन्दा पनि जजमानी गर्ने पण्डितको जस्तै थियो। नभन्दै तिनै रहेछन्, अक्कल विष्टका जिब्री पण्डित।

जिब्री पण्डित आफैँमा अनौठा थिए। त्यहाँ बैंकका कर्मचारीका लागि युनिर्फमको व्यवस्था गरएिको थियो। तर, उनी युनिर्फममा थिएनन्। उनी पण्डित पहिरनमै थिए। अफिस पौने घन्टा ढिला आउँदा पनि उनलाई कुनै रोकटोक रहेनछ। उनले आज अफिस आउन ढिलो हुने कुरा अघिल्लै दिन म्यानेजरलाई भनेर गएका थिए रे! आजको दिन उनका लागि भ्याइनभ्याइको दिन परेछ। एउटा गाउँमा एउटा पितृकर्म र अर्को गाउँमा अर्को पितृकर्म। भन्नलाई जिब्री पण्डितले ‘पितृ-तर्पण कर्म’ भने। त्यसलाई हामीले श्राद्धको रूपमा बुझ्यौँ। एक बिहानमा दुई-दुईवटा श्राद्ध ! दुईवटा गाउँमा दुईवटा प्रेत-कर्मकाण्डी कार्य सिध्याएर उनले अफिससमेत भ्याएका रहेछन्।

जिब्री पण्डितलाई देख्नेबित्तिकै अक्कल विष्ट दौडिँदै अगाडि पुगे। आफ्नो अगाडि नांगो अक्कल विष्टलाई देखेर जिब्री पण्डितले आश्चर्य माने। उनले सोधिहाले, ‘किन, के भयो विष्टजी? यसरी नांगै किन यहाँ आएको?’

आफ्नो शरीरको जनै देखाउँदै अक्कल विष्टले भने, ‘यी यो के गन्र्या हो?’

जिब्री पण्डितले गडेर हेर्दै भने, ‘ए, त्यस्तो पो भएछ। अब मिलाए भइहाल्छ नि ! उता फर्काउनूस् न !’

हामीले तीन घन्टाअगाडिदेखि बुझ्न नसकेको कुरा बल्ल बुझ्यौँ।

त्यस दिन अक्कल विष्टकहाँ ‘पितृ-कर्म’ रहेछ। अर्को गाउँमा अर्को एउटा ‘पितृ-कर्म’समेत भ्याउनुपर्ने भएपछि पुरोहित जिब्री पण्डित बिहान सबेरै अक्कल विष्टकहाँ पुगेछन्। हतार हतारमै श्राद्ध सकाएर त्यहाँबाट हिँडेछन्। पण्डित गएको केही बेरपछि अक्कल विष्टले आफ्नो जनैतिर आँखा लगाएछन्। आफ्नो जनै जता झुन्डिनुपर्ने हो, त्यता नभएर अर्कैतिर झुन्डिएको देखेछन्। अर्थात्, जनै बायाँ काँधबाट दायाँ कम्मरतिर झार्नुपर्नेमा त्यसको उल्टो दायाँ काँधबाट बायाँ कम्मरतिर झरेको रहेछ। श्राद्ध सकिँदा सव्य गराउनुपर्ने भएनछ। जनै अपसव्यमै रहेर श्राद्ध सकिएछ। उनलाई पण्डितले सव्य गराउनै बिर्सेछन्।

जनै उल्टो अवस्थामा देखेपछि अक्कल विष्ट निकै डराएछन्। अब ठूलै अनिष्ट हुने हो कि भन्ने उनलाई लागेछ। आफूखुसी जनैलाई बायाँ काँधमा सारेर सव्य हुँदा झनै अर्को अनिष्ट हुने डर उनमा पैदा भएछ। घरका मान्छेले पनि उनलाई पण्डितद्वारा मन्त्र पढेर मात्र जनै सार्नुपर्ने सल्लाह दिएछन्। मन्त्रद्वारा जनै सार्नकै लागि उनी जिब्री पण्डितलाई खोज्दै बैंकमा आइपुगेका रहेछन्।

जिब्री पण्डितले जनै सार्नका लागि कुनै मन्त्र पढ्न नपर्ने कुरा बताए। उनले जनै बायाँ काँधमा सारेर सव्य हुन लगाए। जनै सारेर सव्य भएपछि अक्कल विष्ट निकै खुसी भए। ठूलो संकटबाट मुक्ति प्राप्त भएझैँ गरी उनी मुसुक्क हाँसे। उनी लुगलुग काम्न पनि छाडे। उनको अनुहारको एकैछिनअघिको चिन्ताग्रस्त भाव तुरुन्तै मेटियो। अक्कल विष्ट प्रसन्नताका साथ जिब्री पण्डितलाई नमस्कार गरेर बिदा भए।

बैंकअगाडिको सडकमा उभिएका दुई जना स्थानीय नेता सामाजिक रूपान्तरण र अग्रगामी चिन्तनका बारेमा चर्को स्वरमा बहस गररिहेका थिए। अक्कल विष्ट उनीहरूकै अगाडिबाट आफ्नो बाटो लागे। स्थानीय नेताले अक्कल विष्टलाई व्यंग्य गरेका हुन् कि अक्कल विष्टले स्थानीय नेताको धज्जी उडाएका हुन्, मैले बुझ्न सकिनँ।

जिब्री पण्डितसँग केही कुरा गर्ने मन थियो। तर, मैले कुरा गर्ने आँट गरनिँ। मलाई लाग्यो, हामी आफूले आफैँलाई परविर्तन गर्न सकेका छैनौँ भने अरूलाई नैतिक उपदेश दिने हैसियत कसरी राख्न सक्छौँ ?

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक पुस २७, २०७१)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *