कविता : धर्म-संकट

~दिनेश अधिकारी~Dinesh Adhikari

केवल-
आफूलाई अविश्वास गर्न सकिने
विश्वास मात्र बाँकी रहेको यो बेला
उफ् !
फेरि यो कस्तो धर्म-संकट आइलाग्यो –
स्कूलको वादविवाद प्रतियोगितामा
भाग लिने तयारीमा जुटेको
मेरो सानो छोरो
मसँग बारम्बार
कलम ठूलो कि बन्दूक ठूलो भनेर सोधिरहेछ

पढेको त
बन्दूकभन्दा कलम नै ठूलो हो
तर-
तर, पढेको खै ! के नै काम लागेको छ र –
कानून, कसिङ्गर भएको छ
दुत्कारिँदैछ दिनदहाडै मानवता
र, दर्शनशास्त्र
एकलास रूखमा झुण्डिएर
आत्महत्या गरेको लाशमा परिणत भएको छ
जीवन र जगत फाटेको छ
मन र मस्तिष्क फाटेको छ
विश्वास र परिवेश फाटेको छ
छोराको जीत सोच्ने हो भने
यत्तिखेर जताततै बन्दूकको बोलवाला छ
र, मैले कलमभन्दा बन्दूक नै ठूलो भन्नुपर्ने हुन्छ
हैन र आफूलाई नढाँट्ने हो भने
बन्दूकभन्दा कलम नै ठूलो हो भनेर र्
वर्तमानमाथि अविश्वास गर्नुपर्ने हुन्छ
उफ् ! यो कस्तो धर्म-सङ्कट !
म के गरूँ –
चेतनाको तहमा
मैले
कि त आफूलाई ज्यूँदै मार्नुपर्ने भएको छ
कि त झुकेर अत्याचारलाई अभिवादन गर्नुपर्ने भएको छ ।

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *