कथा : सेक्सटोयजको करामत

~कृष्ण कुसुम~Krishna Kusum

“नमस्कार !”

एकाएक नमस्कारको आवाजले झस्कायो र हेरें । अगाडि दुबै हात जोडेकै स्थितिमा मूर्तिवत् खडा थिई ऊ ।

बाहिरको मौसमजस्तै अँध्यारो चिर्न सोधें “बस किन आयौ एकाबिहानै ?”

भनी, “एउटा लडाईँ लड्नुपर्‍यो ।”

“कस्तो लडाइँ ?”

“स्वतन्त्रताको । अधिकारको लडाइँ ।”

ऊ पनि एउटी महिलावादी नेतृ नै हो भन्नेसम्म थाहा थियो तर कुन पार्टी कि हो थाहा थिएन मलाई ।

अनुमान लगाएँ – माओवादी रै,छ र आन्दोलनको कुरा गर्दैछे ।

“त म के गरुँ ?”

“सहयोग ।”

आजभोलि माओवादीहरु पनि यसैगरी सहयोग माग्न आइरहेका हुन्छन् राष्ट्रियताको आन्दोलन गर्न भनेर । त्यसैले आफ्नो अनुमान पुरापुर मिलेको ठानें ।

अब अलि सतर्क भएँ र जिज्ञासा राखें- “के सहयोग खोज्दैछौ मसँग ?”

“एउटा मुद्दा लडिदिनु पयो मेरो पक्षमा ।” ऊ एकै सासमा बोली, “मेरै लोग्नेको विरुद्वमा ।”

अन्यौलमा परें । मैले सोचेभन्दा बिल्कुलै फरक कुरा सुन्दा ।

एउटा वकिलको घरमा एकाबिहानै कुनै वादी प्रतिवादी आउँदा खुसी लाग्नुपर्ने हो पेशाको हिसाबले । तर खुसी हुन सकिन । घोर अचम्ममा परें । अचम्ममा पनि किन नपर्नू र ? प्रेम विवाह गरेको ३,४ बर्षको अवधिमा एउटी महिला आफ्नै श्रीमान्को विरुद्ध मुद्दा लड्ने तयारीमा छे । त्यही पनि विदेशमा रहेको मान्छेसँग ।

भनें – “मुद्दा लड्न मिल्दैन । तिम्रो श्रीमान् त विदेशमा छ कसरी लड्छौ ?”

“हैन आइसक्यो” उसले बताई “एक महिना भो र्फकेको ।”

“उसलाई भन मैले भेट्न खोजेको छु ।” म उनीहरुको सम्बन्ध सुधार्ने मनसायमा बोलें । पछि भेट्ने शर्तमा ऊ फर्किई ।

हुन त मैले आफ्नै खुट्टामा बञ्चरो हान्दै थिएँ । एउटा आफ्नो हातमा आएको मुद्धा नलडी मिलापत्र गर्न खोज्दैछ । काम नहुँदा परिवारको छाक टर्थेन तर पनि पैसा नै मात्र ठूलो हो भन्ने लागेन मलाई । मानवता भनूँ वा संवेदनशीलताले जित्यो फेरि एकपटक । १-२ पटक मैले यसैगरी मुद्दा लड्न आएकालाई मिलाएर पठाइसकेको छु यसअघि नै । त्यसैले मेरा अरु साथीहरु समय समयमा जिस्काउँथे- “तपाईं म्यारिज व्युरो खोलेर बस्नुपर्ने मान्छे, छोड्दिनोस् यो वकालत गर्ने पेशा ।”

दुई दिनपछि आयो उसको श्रीमान् मेरो घरमा । ऊ विस्तारै बिरालोको गतिमा भित्र छिर्‍यो र टुसुक्क छेउमा बस्यो । टिभी हेर्दै थिएँ त्यो बेला म । आधा घण्टाको बहस नसकिउन्जेल मैले उसलाई खास केहि रेस्पोन्स गरिन । बीचमा अलिअलि याद गर्दै थिएँ उसको गतिविधि । त्यो आधा घण्टाको समय बिताउन उसलाई यति छट्पटि भयो कि मानौं त्यो आधा महिनाको समय हो । विवशताको भारीले थिचिएर उठ्न नसकेको जस्तै थियो उसको शिर । टि.भी.मा आइरहेको बहस सकिएपछि यसरी लामो सास फेर्‍यो कि लाग्थ्यो ठूलै समस्याबाट उम्किएको होस् ऊ । टि.भी. बन्द गरेर उतिर ध्यान केन्द्रित गरें । अब भने अलि चहकिलो अनुहारले आशातीत नजर डुलायो मतिर ।

सोधें, “कैले आयौ विदेशबाट ?”

“एक महिना भो ।”

“बिहे गरेको तीन वर्ष भो । दुई वर्ष त विदेशमै बितायौ । अब आउनासाथ डिभोर्स चाहियो हैन ?” अलि कठोर ढंगले प्रस्तुत भएँ म ।

“हैन म डिभोर्स चाहन्न ।”

“तिम्री श्रीमती चाहन्छिन् डिभोर्स त । आफ्नो स्वतन्त्रताको रक्षा गर्न रे । तिमीले त अरुको स्वतन्त्रता लुट्न पाएकै छौ किन चाहन्थ्यौ त ?”

कागती निचोरेको जस्तै भयो उसको अनुहार । मलिन स्वरमा भन्यो, “मेरो केही गल्ती छैन । डिभोर्स गर्न चाहन्न । र, एक्लो बाँच्न पनि सक्दिन म ।”

म वास्तविकता जान्न उत्सुक भएँ । सोधेँ, “के कारणले विग्रह आयो तिमीहरुमा ?”

“बढी माया गर्दा र बढी बुझक्कड बन्दाको परिणाम हो यो ।” यत्ति बोल्यो र टोलायो एकछिन । जे कुरा नि ठिक्क हुनुपर्दो रहेछ ।” फेरि मुख फोर्‍यो – “मेरो माया अलि बढी नै भएछ सायद ।”

“बढी मायाले त सम्बन्ध झन् गाढा हुनुपर्ने हैन र ? के हावादारी कुरा गर्छौ ??”

“हावादारी हैन, कुरा त्यस्तै छ ।”

“स्पष्ट भन । किन जिब्रो चपाउँछौ ?”

“हो हजुर मैले प्रेमपूर्वक श्रीमतीलाई दिएको उपहारले नै मलाई यो गतिमा पुर्‍यायो ।”

“अचम्म ! के दियौ र त्यस्तो उपहार जो तिमीभन्दा पि्रय भयो तिम्री श्रीमतीलाई ?”

“सेक्सटोयज ।” उत्तरमा बोल्यो ऊ ।

“हृवाट ?”

“एस सेक्सटोयज । म अघिल्लोपटक नेपाल आउँदा ल्याइदिएको थेँ । मेरो अनुपस्थितिले नपिरोलोस् भनेर ।” अब धारावाहिक रुपमा प्रस्तुत भयो ऊ , “तीन-चार वर्षअघि देखिको प्रेमलाई बिहेमा बदल्यौं । अब खाने मुख एउटा मात्र रहेन, एउटाबाट दुइटा भइसकेको थियो । शहरको महंगीको उकालो लाग्दै गरेको ग्राफलाई थेग्न सक्ने कमाई भएन मसँग । एक-दुईर्षपछि त छोरा छोरी पनि होलान् झन् कसरी गर्जो टार्ने हो ? यस्तै सोचाईले सताइरहन्थ्यो । घरपरिवारबाट कत्ति पनि सहयोग थिएन । आखिर परिवारसँग विद्रोह गरेर गरेको विवाह न पायो हाम्रो । त्यसैले विवाह गरेको एक बर्षमै उनलाई एक्लै छोडेर विदेश भासिएँ, भविश्यको खुसीको लागि भनेर ।”

ऊ अझ भावुक बन्यो । उसको स्वर गहिरो इनारमा ढुंगा खसाले जस्तै भासिँदै गयो, “एकसाँझ दुइजना यही र यस्तै विषयमा कुरा गर्दै थियौँ । यसरी कमजोर नबन अमन । अभावसंग/समस्यासंग भाग्ने हैन । डराउने र हडबडाउने पनि हैन रत्ति पनि । जुध्नुपर्छ बुझ्यौ ? म छु नि तिम्रो साथमा किन चिन्ता लिन्छौ ? केहि समय दुःख गरौं नियति नै यस्तै रहेछ भने किन सुर्ता गर्नु ? केही न केही उपाय चलिहाल्ला नि । बरु साथीभाइहरुसंग सरसापट गरेरै भए पनि एक-दुई वर्ष विदेशतिर जाऊ । म त तयार छु तिम्रो खुसीको लागि तिमीबाट टाढिएर बस्न पनि । आखिर जिन्दगीभर खुसीले बाँच्न पाइन्छ भने केही समयको पीडालाई हाँसेर पचाउन किन आनाकानी गर्नू ?” उनको यस्तो सल्लाहले पनि उर्जा थप्यो ममा । मन मुटु यतै छोडेर शरीर मात्र लिएर गएको हुँ पराई ठाउँमा ।

“अनि ?”

“समाज र परिवारको चुनौती सहेर गरेको घरजम, नवविवाहित यौवन अवस्थाकी श्रीमतीलाई छाडेर आउँदाको विछोडको पीडा साह्रै गाह्रो भो सहन । हरक्षण, हरपल मन भने नेपालमै हुन्थ्यो मेरो । यसै कारण गएको एक वर्षमै दुई महिनाको छुट्टी लिएर नेपाल फर्कें । साथमा केही पैसा थियो र श्रीमतीका लागी विदेशी गिफ्ट पनि । विदेश रहँदा जुनुको अनुपस्थितिले खुव पिरोलेको थियो मलाई । त्यसैले उनको मर्म पनि यही हो भन्ने लाग्यो । त्यही बुझाईले उनलाई सहज होस भनेर त्यतिबेला नै ल्याईदिएको हुँ ‘सेक्सटोयज’ ।

मैले विदेशबाट ल्याएका सबै पैसा र उपहारका सामानहरु आएकै समयमा तुरुन्तै जुनुलाई सुम्पें । तर यौटा चिज चैं ‘सरप्राइज गिफ्ट’ दिन लुकाएर राखें । जाने अघिल्लो रात ‘जुनु तिम्रो लागि मैले विदेशबाट स्पेशल गिफ्ट ल्याइदिएको छु । लौ लिऊ तिम्रो उपहार’ भन्दै त्यही सेक्सटोयस दिएँ । शुरुमा एकछिन त अलमलिइन् उनी । पछि सम्झाएँ ‘आखिर चाहना मार्न सकिन्न, म बुझ्छु तिम्रो विवशता । कम से कम हामी एक अर्काप्रति इमान्दार हुनु पर्‍यो । सब ठिक हुन्छ कि कसो ?’ यसरी विदा भएको थिएँ । अघिल्लो पटक घरबाट ।”

‘ओहो कति राम्रो सोच, कस्तो असल बुझाई तैपनि समस्या के मा ?’

‘मैले अघि नै भनें नि’ फेरि प्रसंग जोड्यो उसले ।

‘त्यही सरप्राइज गिफ्ट नै बन्यो हाम्रो सम्बन्ध विगार्ने कारण ।’

विदा सकिएर गए पछि दैनिक जसो भएको फोनको कुराकानीमा खुब खुशी पाउथें म उनलाई । झन् बढेको थियो प्रेम, विस्वास र समर्पण एक अर्काप्रति ।’

म तिनछक्क परें- ‘प्रेम, विस्वास र समर्पण बढ्नुको परिणाम कसरी डिभोर्सको चाहना हुन सक्छ !’

भनें- ‘तिमीले भनेको प्रेम, विस्वास र समर्पणका कुरा झुट कि तिम्री श्रीमतीको डिभोर्स गर्न चाहना झुट ?’

‘त्यही त हजुर भन्दै छु नि’ ऊ किन सुन्थ्यो र मेरो कुरा । थप प्रस्ट्याउन थाल्यो, ‘पोहोर आउँदाको पैसाले एक टुक्रा घडेरी किनिछिन् जुनुले । यसपालि ल्याएको पैसाले सामान्य व्यापार गर्न प्रयोग गरौंला भन्ने सोची अब विदेश नजाने मनसायले आएँ । खुब उत्साहित थिएँ म । हाम्रो सपना थोरै भए पनि साकार भो भनेर । आएको चारपाच दिनमै सबै सपना धुमिल भए मेरा । सोचेको सुख कता हरायो कता ? एक्कासि आँधीवेहरीले उडाएर लगेजस्तो पो भए ती सब कुराहरु । चट्याङले लथालिङ्ग बनाए जस्तो हुन लाग्यो भविष्यका योजनाहरू….।’

‘के भो र चार पाच दिनमै त्यस्तो ?’

कसरी भनु हजुर यस्तो कुरा ? हुन त सबै कुरा यसैले नै बिग्रेपछि कि लुकाउनु ? कलह सुरु भो आएकै भोलिपल्टबाटै । दुई/चार दिनपछि उग्र रुप लियो । आएको रात व्यापार व्यवसाय, सन्तानलगायतका विषयमा भविष्यका योजना बनाइयो । एक वर्षपछि आफ्नो पि्रय मान्छेसँग भएको भेट, एक अर्काको न्यानो अंगालोमा बेरिदा आफैंलाई भुलेर हराइयो ।

भोलिपल्ट विहानै मैले एउटा नमिठो कुरा सुन्नु पर्‍यो । उनी मप्रति असन्तुष्ट थिइन् । यो कुरा मुखै खोलेर भनिन्, ‘अब त जुन प्लेजर मैले भाइव्रटरबाट पाएकी थिएँ । त्यो तिमीबाट पाउन सकिन ।’

अब मलाई पहाडले थिचेजस्तो भयो । संसार सबैतिर अध्यारोले मात्र ढाकेजस्तो भयो । भर्खर मार हानेको खसीजस्तो छटपटाइरहेको थिएँ । एकदम अशान्त थियो मन । त्यहीबीच मेरो दिमागमा झिलिक्क आइडिया फूर्‍यो र तत्कालै केन्दि्रय परिवार नियोजनको परामर्श हटलाइनमा फोन गरें । त्यसपछि समस्या समाधान होला भनेको त समस्याको शुरुवात बल्ल पो भयो त हजुर ।’

‘कसरी नि ?’

‘सेक्सटोयस विगारी दिएपछि खुब रिसाइन् । मैले उनको स्वतन्त्रता लुटें रे । इच्छा र चाहना मार्न पर्‍यो रे । भनिन्- ‘तिम्रो खुशीको लागी आफ्नो स्वतन्त्रता र खुशीको बली चढाउन सक्दिन अमन ।’

यसरी नै उठेको हो विवाद हामीबीच, जुन हजुरसम्म आइपुग्यो । तर म विलकुल तयार छैन डिभोर्स गर्न र एक्लै जीउन । म मेरो प्रेम गुमाउन चाहन्न । म चाहन्छु डिभोर्स पेपरमा मेरो होइन, मिलापत्रमा उनको हस्ताक्षर गराई सहयोग गर्नु हुनेछ ।’

‘हुन्छ । केही उपाय गरुँला । तर दुई/चार दिन समय देऊ मलाई ।’ मैले आश्वसनको भाषा बोलें । ऊ ठूलो आशा बोकेर फक्र्यो ।

केही दिनपछिको एक दिउँसो न्यूरोड खिचापोखरीतिर हिड्दै थिएँ । एक्कासि कुनै नारी स्वरले बोलायो । यताउति फर्केर हेरें । बोलाउने व्यक्ति उही थिई जुनु ।

‘कता गएर ?’

‘यहीँसम्म ।’ दि कण्डम हाउसतिर फर्केर हल्का मुस्कुराउदै बोली ‘एउटा सामान किन्नु थियो र आकी ।’

उसको हातमा झुण्डिएको सामान नियालें । थाहा पाएँ । ऊ त्यहाँबाट कृतिम यौनाङ्ग किनेर फर्किन लाग्दै थिई ।

मैले सामान नियालेर हेरेपछि केही असहज मान्दै प्रसंग बदली- ‘के भो मेरो कुरा ? म अब धेरै कुर्न सक्तिन । आजै फाइनल होस यो कुरा ।’ ऊ निर्देशन दिएझैं गरी बोली । मैले तुरुन्तै उसको श्रीमानलाई फोन गरेर मेरो घरमा बोलाएँ र उसलाई पनि संगै लिएर गएँ ।

‘के चाहन्छौ ?’ मैले दुबै जनालाई पालैपालो प्रश्न गरें ।

‘प्रेम, विश्वास र समर्पणसहितको सुदृढ सम्बन्ध’ अमन बोल्यो ।

‘तिमी नि ?’ जुनुतिर संकेत गरे ।

‘स्वतन्त्र जिन्दगी । त्यसको लागि डिभोर्स ।’

‘ऊ त डिभोर्स चाहँदैन नि । सुनेनौ अमनको कुरा ?’

‘सुनें तर मेरो पनि त कुरा सुन्नु भो होला नि ? किन सधैं पुरुषको कुरा मात्र सुनिन्छ ? र ओझेलमा पारिन्छ हामी नारीका कुरा ?’ उल्टो मलाई नै प्रतिप्रश्न गरी ।

मैले केही नबोल्दै फेरि बोल्न थाली, ‘म आफ्नो जिन्दगी स्वतन्त्रतापूर्वक जिउन चाहन्छु । हो हामीले प्रेम विवाह गरेका हौं र मैले उसका हरसुखदुःखमा साथ दिन्छु भनेको पनि हो ।

समाप्त

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *