बाल कथा : सहयोगी मैना

~ललिता ‘दोषी’~lalita-doshi

झिसमिसे बिहानीमा कस्तुरी सधैँझैँ आहाराको खोजीमा आˆनो बासस्थान छोडेर केही परको जङ्गलमा पुग्यो । कस्तुरीको आँखा लहलह परेर पलाइरहेको राम्रो घाँसमा पर्‍यो । घाँस उमि्रएको ठाउँमा केही खाल्डो भएकोले कस्तुरी उफ्रिएर तल झर्‍यो । झर्दा पेटमा नीलकाँडा बिझ्यो । पीडाले आत्तिँदै कस्तुरी खाल्डोबाट बाहिर निस्कियो । कस्तुरीले आफ्नो पेटमा बिझेको काँडा झिक्न सकिन्छ कि भनी निक्कै कोसिस गर्‍यो तर सकेन । असहृय पीडाले रन्थनिँदै आफ्नो बासस्थानतिर र्फकदै गर्दा कस्तुरीले रूखमा बसेको सुगालाई देख्यो र विनम्र स्वरमा भन्यो, ‘सुगा हेर न, मेरो पेटमा निलकाँडा बिझ्यो । झिकिदेऊ है ।’

कस्तुरीको कुरा सुनेर सुगाले च्व ! च्व ! गर्दै भन्यो- ‘हेर मेरो चुच्चाले तिम्रो काँडा झिक्न मिल्दैन । काँडा झिक्न मिल्ने भए म अवश्य झिकिदिन्थेँ । भागेरा अर्को रूखमा छ उसलाई गएर भन न ।’

कस्तुरी आत्तिँदै अर्को रूख छेउ पुगी भागेरा बसेको हाँगातिर हेर्दै भन्यो- ‘बिन्ती भागेरा ! मेरो पेटमा बिझेको काँडा झिकिदेऊ न ।’

‘भोका बचेराहरू गुँडमा आहारा पर्खेर बसिरहेका छन् । मलाई काँडा झिक्न फुर्सद छैन’ भन्दै भागेरा उड्यो ।

कस्तुरी निराश भएर फकिँर्दै थियो उसले बाँसको झ्याङमा बसिरहेको सारौँलाई देख्यो र भन्यो- ‘सारौा मेरो पेटमा बिझेको काँडा झिकिदेऊ म तिम्रो गुण कहिल्यै बिर्सने छैन ।’

सारौँले रिसाउँदै जवाफ फर्कायो- ‘अरू कुनै पक्षीहरू देखेनौ र मलाई काम अह्राएको ? म सक्तिन, अन्तै जाऊ ।’

पेटमा बिझेको काँडाले रन्थनिँदै र्फकंदा कस्तुरीले रूखको हाँगामा मज्जाले बसिरहेको लाटोकोसेरोलाई देख्यो र भन्यो- ‘साथी लाटोकोसेरो, मेरो पेटमा बिझेको काँडा झिकिदेऊ न है ।’

लाटोकोसेरोले यताउता चल्मलाउँदै भन्यो- ‘तिमी को ? मैले त तिमीलाई चिनिन नि ! दिउँसो त म आँखा देख्दिन । फेरि मेरो चुच्चोले पनि काँडा झिक्न मिल्दैन ।’ कस्तुरीले आफू कस्तुरी हुँ भन्ने कुरा बताउँदै त्यहाँबाट पनि हिँड्यो ।

कस्तुरीलाई दुःखी देखेपछि कागले उसको सामु बस्दै भन्यो- ‘के भयो कस्तुरी ? किन झोक्राएको ?’

कस्तुरीले आˆनो पीडा कागलाई बतायो । मौका यही हो भन्ने सोचेर कागले ‘म काँडा झिकिदिन्छु’ भन्यो । कागको कुरा सुनेर दङ्ग पर्दै काँडा बिझेको ठाउँ कस्तुरीले देखाई दियो । कागले काँडा झिक्ने निहुँ गर्दै कस्तुरीको पेटको नरम मासु खान खोज्यो । उसलाई कागको मनसाय बुझ्न बेरै लागेन र रिसाउँदै भन्यो- ‘भैगो छोड काग । मैले तिम्रो उद्देश्य बुझेँ । तिमीले मेरो काँडा झिक्न पर्दैन’ भनी सधैँ बस्ने गरेको काफलको बोटमुनि आएर बसिरहृयो ।

कस्तुरीलाई छट्पटाउँदै रूखमुनि बसिरहेको देखेपछि मैनाले सोध्यो- ‘तिमीलाई के भयो ? धेरै समय अगाडिदेखि छट्पटाइरहेका छौ । तिमीलाई भोक पनि लाग्दैन कि क्या हो ?’

कस्तुरीले मैनाको कुरा नसुनेझैं गरी बस्यो ।

मैनाले फेरि भन्यो- ‘कस्तुरी, मलाई थाहा छ, तिमीलाई केही न केही पीर त पक्कै परेकै छ । आˆनो पीर अरूलाई बाँड्दा मन हलुङ्गो हुन्छ भन्छन् । भन तिमीलाई के समस्या पर्‍यो ?’

कस्तुरी नचाही नचाही बोल्यो- ‘खोई के भनौँ के नभनौँ, सोधी हाल्यौ, भन्नै पर्‍यो । हेर न, चिप्ले भीर नजिकै राम्रो घाँस देखेर खान झ्वाम्मै हाम्फालेँ त्यहाँ निलकाँडा रहेछ पेटमा जाक्किएर मर्नु न बाँच्नु भएको छु ।’

मैनाले नम्र स्वरमा भन्यो- ‘त्यति सानो कुरा मलाई पहिल्यै भनेको भए भई हाल्थ्यो नि ! म एकैछिनमा काँडा झिकिदिन्थेँ । तिमीले पीडा नै सहनु पर्थेन ।’

‘मलाई माफ गर साथी तिमी दयालु छौ । मेरो मद्दत गर्छौ भन्ने कुरा मलाई पत्तै थिएन । भागेरा, सारौँ, कागसाग मद्दत मागेकै थिएँ । कसैले मद्दत गरेनन् । कागले त काँडा झिक्छु भन्दै पेटको मासु नै ठुँगेर खान खोज्यो । “अगुल्टाले हानेको कुकुर बिजुली चम्कादा तर्सन्छ” भनेझैं अरूले तर्साएकोले चुपचाप बसेको हुँ ।”

मैना कस्तुरी नजिकै बस्दै भन्यो- ‘सबै पक्षीहरूलाई एउटै आँखाले हेर्नु राम्रो होइन । ल भन मित्र, काँडा कहाँ बिझेको छ ?’

काँडा बिझेको ठाउँ देखाएपछि मैनाले आˆनो चुच्चोले बडो होसियार साथ कस्तुरीको काँडा निकालिदियो ।

मैनाले आफूलाई पीडाबाट मुक्त गरिदिएकोमा कस्तुरीले धेरै-धेरै धन्यवाद दियो । कस्तुरीलाई खुसी देखेर मैना पनि खुसी भयो ।

कस्तुरीले मैनातिर हेर्दै भन्यो- ‘हेर मित्र, एकलाई समस्या पर्दा अर्कोले मद्दत गर्नु नै धर्म हो । तिम्रो सहयोगले गर्दा नै आज म घोर पीडाबाट मुक्त हुन सको । कहिलेकाहीँ दुःख पर्दा एउटा असल मित्र चाहिने रहेछ भन्ने कुरा आज मैले राम्ररी बुझेँ । के तिमी मसाग मित्रता गाँस्न तयार छौ ?’

मैनाले हाँस्दै जवाफ दियो- तिमीले ठीक भन्यौ । कहिलेकाही दुःख पर्दा एक असल मित्र नै चाहिन्छ भन्ने कुरा मैले पनि अनुभव गरेको छु । हुन्छ हामी साथी बनौं ।

यसरी कस्तुरी र मैना पछिसम्म सुख दुःखका साथी बनिरहे ।

(स्रोत : मुना २०६६ बैशाख)

This entry was posted in बाल कथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *