कविता : जयपुर जाने हो सान्नानी?

~कमल कुमार~kamal-kumar

जयपुर जाने हो सान्नानी?
मैले सान्नानीलाई सोधेँ

भनेँ
सान्नानी
लामो रेल चढौंला
हेरौंला उडेका चराहरु
र बगेका नदीहरु
लामा लामा पुलहरु
मान्छेहरु
बजारहरु
बस्तिहरु

जाउँ न सान्नानी जयपुर जाउँ
झिलिमिली शहरमा हराउँला
दौडौंला उँटका बथानहरुसँगै
मरुभूमिको नौलो र सुनौलो सूर्यास्तमा ।

जयपुर जाने हो सान्नानी?
दुई चार दिन घुमेर फर्कौंला नि ।

अनुहारमा खुशि र डर एक्कैचोटि पोख्दै
सान्नानीले मसिनो स्वरमा भनी :

जान त जान्थेँ होला नि तिमीसँगै जयपुर
२-४ दिन नि कुन ठूलो कुरा भो र!
तर,
फर्किएर आएपछि
मेरा बा
मेरी आमा
दाजु
भाउजु
सानो भाइ
दुई चार जना छिमेकी
अनि घरको भोटे कुकुर समेत
मेरो लागि ठूलो प्रश्न बनेर उभिनेछन
आँगनको डिलमा,

यति मात्र कहाँ हो र
गाउँको चौतारीले समेत बाटो छेक्नेछ मेरो ।

जयपुर मात्रै होइन
लैजाउ मलाई
भागलपुर,
हाजिपुर,
मुजफफरपुर,
वासेपुर
वा जनकपुर नै किन नहोस

तर फर्केर नआउने गरी लैजाउ
त्यहिँ भक्तपुर भए पनि जान्छु

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *