कविता : नरहे देश नै सग्लो, के काम गणतन्त्र यो ?

~निर्मोही व्यास~Nirmohi Vyas


यता हेर्यो — लथालिङ्ङ, भताभुङ्ङ उतातिर
हरे ! सन्तोषको सास फेर्न जाऔँ कतातिर !
मारेर जनतालाई कसरी लोकतन्त्र भो ?
नरहे देश नै ‘सग्लो’, के काम गणतन्त्र यो ?

न छ राष्ट्रियताको ‘र’ न कहीं लाजको ‘ल’ नै
छ भष्मासुर साम्राज्य, ‘त्राहिमाम् !’ जनजीवनै
शान्तिको देशमा आज शान्तिकै आर्तनाद छ
मुट्ठीमा बाज-ब्वाँसाको आज नेपाल कैद छ

बखेडा जातको गर्दै धर्मको नगरा पिटी
कालो, गोरो र चुच्चेको, बुच्चेको लफडा झिकी
कैले भूगोल वा कैले भाषा–भेष र संस्कृति–
लाई ढाल बनाएर वैर्याईकन विकृति

जुधाई जनतालाई देश सग्लो हराभरा
असत्ती पार्न खोज्दै छन् टुक्राटुक्रा, चिराचिरा
चौटाचौटा गरी लुछ्ने–घिच्ने षड्यन्त्र तीव्र छ
दुर्दशा नसकी खप्नै मन हाम्रो भरङ्ग छ

‘बाज–नीति’ छ सप्रेको, देशलाई लुछे, चुँडे !
झम्टे, लुटे, मिले, खाए, यतै चाटे, उतै चुटे
जता ढल्के उतै मल्के, सोझ्याए टपरी दुनु
लक्ष्य हो यिनको यौटै— ‘मौकाको फाइदा लिनु’

छैन मानवता कत्ति, छैन संवेदना रती
जिउडाल छ मान्छेको, भित्र दानवको मति
हाकाहाकी सदा ध्वंस यी मच्चाउन व्यस्त छन्
यो सिङ्गो देशका निम्ति यी घोर अभिशाप हुन्

निर्लज्ज, धूर्त, पाखण्डी नटका यी जमात हुन्
लीला अनेक देखाई दिउँसै रात पार्दछन्
नाना निहुँ गरी बोक्रे अहोरात्र निरन्तर
देश यो निल्न खोज्दै छन् हन्तकाली अजिङ्गर

छल–छद्म गरी लुछ्नै पल्केका ढँटुवाहरू
स्वार्थी, नकच्चरा, पापी, नखरे नटुवाहरू
‘नयाँ नेपाल’ चाहिन्न नौटङ्की गर बन्द यो
र फिर्ता गर लौ हाम्रो पुरानै देश रम्य त्यो

शान्त, सुन्दर, सन्तुष्ट, सौम्य, स्निग्ध, हराभरा
प्रेम–सौहार्दसम्पन्न न्यायको, धर्मको धरा
पालेको वीर पुर्खाले सम्हाली यत्नपूर्वक
हाम्रो नेपाल यो प्यारो महान् गौरव–वैभव
१०
मायाँ हुन्छ त्यसैलाई स्याहार जसले गर्यो
के मायाँ बगरेलाई खुँडाले मार हान्छ जो
बियाँलो नगरी कत्ति कसेर अब कम्मर
उद्धारकहरू ! आओ, कष्ट यो देशकोे हर !
०००

(स्रोत : ‘नव प्रज्ञापन’, पूर्णाङ्क ७०, २०७२ कात्तिक—पुस)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *