कथा : सन्ताप

~शुषमा मानन्धर~Shushma Manandhar

भद्रकालीबाट सिँहदरबार आउने मोडमा उभिएको थियो ऊ। उसले घडीमा आँखा दौडायो,रातको आठ बजिसक्यो। माइक्रोबसको पर्खाइमा ऊ दश मिनेटदेखि त्यहीँ थियो। कुन्नि किन आज त्यति धेरै माइक्रोहरु चलेको देखिएको थिएन।

चिसो हावा सँगसँगै चम्किरहेका बिजुलीका लहरहरुले घनघोर पानी पर्नसक्ने सम्भावना डोर्‍याइरहेका थिए। ‘माइक्रो कुरेर साध्य नहोला जस्तो छ’,उसले आफ्नो खल्ती छाम्यो। टयाक्सीमा बस्ने बित्तिकै केही नभए पनि सय रुपिँया झवाम् हुन्छ,उसलाई थाहा थियो। एक त आफूसँग छाता नभएको अर्को कुरा महिना दिनअघि मात्र आफू बिमारीबाट तँग्रिएको हुनाले पैसाकै लोभमा माइक्रो कुरेर बस्नुभन्दा,उसले टयाक्सीबाट जाने निधो गर्‍यो। पुतलीसडकबाट आइरहेको टयाक्सीलाई उसले रोक्यो, “टयाक्सी!”

“लगनखेल जाउँ” टयाक्सीमा बसेर उसले ढोका लगायो। शायद त्यतैतिर जानुपर्ने भएर होला,ड्राइभरले कुनै प्रतिवाद वा प्रश्न गरेन। उसले झ्यालको सिसा लगायो। बोकेको ब्याग सीटमा राख्यो अनि थकित मुद्रामा आँखा बन्द गरेर सीटमाथि हात फैलाएर बस्यो। आफ्नो दाहिने हातनिर केही महशुश गर्‍यो उसले। उसले त्यसलाई औँलाले छाम्ने प्रयास गर्‍यो। ती कुनै चुच्चा परेका वस्तु महशुश हुन्थे। उसले मोबाइलको बटन थिच्यो र त्यसको उज्यालोमा त्यो वस्तुलाई हेर्‍यो। त्यो गाँठो पारिएको रुमाल थियो। स्वाभाविक उत्सुकतावश उसले रुमाल काखमा राख्यो र गाँठो फुकाल्यो। उसले अँध्यारैमा त्यसलाई चिन्ने जमर्को गर्‍यो। उसले फेरि मोबाइलको प्रकाशमा नियाल्यो,धक्क फुल्यो उसको छाती। मुटु बेतोडले धड्किन थाल्यो। टयाक्सी पुल्चोक पुगिसकेको थियो। उसले रुमाल पूर्ववत् गाँठो पार्‍यो अनि आफ्नो खल्तीमा राख्यो।

खास गरेर राती,यतातिर ठाउँठाउँमा पुलिस चेकिङ्गमा बसेका हुन्थे,आज कोही नभैदिए हुन्थ्यो,उसले कामना गर्‍यो तर उसको कामना व्यर्थ गयो,जावलाखेल नपुग्दै बाटोमा दुइ पुलिस देखिए। एउटा पुलिस बाइकवालालाई चेक गर्दै थियो,अर्कोले सिटी फुक्यो, “ए पख्। खै कागज निकाल्।” पुलिसले ड्राइभरसँग कागज मागेर हेरुन्जेल,ऊ झ्यालबाट अन्तै हेरिरह्यो।

“साले…।” गाडी अगाडि बढाउँदै ड्राइभरले मुखबाट गाली निकाल्यो। कारण थाहा नभए पनि ड्राइभरले देखाएको असन्तुष्टिप्रति उसले मनमनै आफ्नो नैतिक समर्थन जनायो,’यी पुलिसहरु यस्तै हुन्छन्,दुई चार सय उठाउन गल्लीगल्लीका मुखतिर त झनै लुकेर बसेका हुन्छन्।’

लगनखेलको चोकमा पुगेर ड्राइभरले सोध्यो, “कता?” “यहीँ हो। कति भयो?” उसले मिटरतिर हेर्‍यो। “पचासी रुपियाँ।” ड्राइभरले टयाक्सीको बत्ती बाल्यो। उसले ड्राइभरको हातमा सयको नोट थमायो र अघि बढ्यो। ड्राइभरहरुले बाँकी पैसा फिर्ता दिन जानेकै हुँदैनन्। आज त ऊ आफैले पनि पैसा फिर्ता लिने चासो राखेकै थिएन।

टयाक्सी बिस्तारै मंगलबजारतिर मोडियो। धमिला सडकबत्तीका प्रकाश रित्तो सडकमा पोखिएका थिए। ‘पानी पनि छिट्याउन थाल्यो’, उसले अनुहारमा परेका दुई चार थोपा पानी हत्केलाले पुछ्यो र हतार हतार कोठातिर अगाडि बढ्यो। कोठाको ढोकामा पुग्दा नपुग्दै मेघ गर्जन सहित मुसलाधार पानी वर्षियो। ‘क्या टाइममै आएछु नत्र त भिज्या मुसा हुन्थेँ, ‘आफ्नो बुध्दिमानीमा ऊ आफै दङ्ग पर्‍यो।

कोठाभित्र पसेर उसले ढोका बन्द गर्‍यो। पर्दा लगायो र सिधै ओछ्यानमा बस्यो। खल्तीबाट रुमाल निकालेर फुकायो। दुइटा हिराको टप,सुनको नेकलेस,सुनका दुइ मोटा बाला र एउटा सुनको औंठी, टयुबलाइटको प्रकाशमा रुमालमाथि टललल टल्किरहेका थिए। यत्ति धेरै खजाना अनायसै उसको हात परेको थियो। खुशीले ऊ एकछिन टोलाएर बस्यो। ‘राती के सपना देखेको थिएँ र’ ,उसले सम्झिने प्रयास गर्‍यो,सम्झिन सकेन। उसले ती सवै गहना पुनः रुमालमा पोको पार्‍यो। उठेर बिस्तारै झयालको पर्दा उघारेर बाहिर हेर्‍यो। यस्तो पानी दर्केको बेला को निस्कन्थ्यो र? गल्ली अँध्यारो र सुनसान थियो।

‘यी गहनाहरु के गर्ने हो,कति जति पर्ने होलान्? बेचियो भने कति पैसा आउँदो हो, ‘ तर्कनै तर्कनामा उसले कल्पनालाई सम्झ्यो। कल्पना,उसकी कलेजकी सहपाठी। सोझो र आफू सामान्य स्तरको भएको हुँदा उनी त्यति भाउ दिँदिनन्। ऊ बोल्न र उनीसँग नजिकिन खोज्छ, कल्पना ऊप्रति कटाक्ष गर्दै क्यान्टीनमा अरुसँग चिया पिइरहेकी हुन्छे। आहत उसले सोच्यो, ‘अरु गहना बेचे पनि औठी चैँ कल्पनाको आउँदो जन्मदिनमा उसलाई दिनु पर्ला।’

दुई चार लाख त कसो नआउला,उसले रुमाललाई हातमा तौलँदै अन्दाज गर्‍यो। ‘दुईचारटा लुगा नि हाल्नुपर्ला ‘ उसले आफ्ना खुइलिसकेका लुगा नियाल्यो। ‘हैन,लुगाभन्दा पहिला कोठाभाडा तिर्नु बेस हुन्छ। महिना मर्न पाको हुँदैन,सँधै घरबेटी किचकिच गर्न आइसक्छन्। वर्षदिनको भाडा तिरिदियो,टेन्सनै साफ, ‘ ऊ मुन्टो हल्लाउँदै मुस्कायो।

ठूलो काम त झण्डै बिर्सेको उसले। ऊ उठ्यो र टेबुलमाथि तह लाइएको किताबको चाडभित्रबाट मनहरिको हातबाट प्राप्त भएको चिठी निकाल्यो,“बुढ्यौली लागेर हो कि कुन्नि आँखा पनि धमिलो देख्छु,” गाँउबाट बुवाले लेख्नु भएको थियो। ‘यसपालि आमाबुवालाई काठमाण्डुमा राम्रो चेकअप नगराई हुन्न।’ उसले अठोट गर्‍यो। चिठी पट्यायो र फेरि जस्ताको तस्तै राख्यो उसले। अगाडि राखिएको गहनाको पोको उसले सिरानी मुन्तिर राख्यो। कमिज फुकाल्यो र सुत्नको लागि खाटमा पल्ट्यो। आँखाहरु बन्द थिए,बन्द आँखाभित्र धेरै सपना। धेरै योजना र कल्पनाबीच,अबेला रातसम्म छटपटाउँदै उसलाई निँद्रा परेन। चेतन र अचेतन मनस्थितिमा पनि उसका हात गहनातिर नै गैरहेका थिए। धेरै बेरपछि परेको निँद्रामा पनि उसले त्यही सुनका गहनाहरु मात्र देखिरह्यो।

“बिकास,ए बिकास।” बाहिरबाट ढोकाको ढकढकाइसँग बोलाइएको बोलाहटले ऊ व्युँझ्यो। घडी हेर्‍यो,साँढे छ भैसकेको थियो। ‘के अचम्म,कलेज जानुपर्ने मान्छे,कति ढिलोसम्म सुतेछु ‘ उसले आँखा मिच्यो। हिजो ढिलो निदाएको परिणति थियो त्यो। उसले सिरानीमुनि हात लगायो। रुमालको पोका यथावत थियो। उसले त्यो दराजमा राख्यो र ढोका खोल्यो। “ढोका खोल्न पनि किन ढिलो? कलेज जानु छैन तँलाई?” साथीले कोठामा पस्ने बित्तिकै प्रश्न गर्‍यो। “हिजो ढिलो सुतेथेँ। अहिले पनि आँखै खोल्न सक्या छैन, ”उसले ठूलो हाइ काढ्यो। “हिजो केमा बिजी थिइस् र? कलेज जान्नस् कि कसो?” उसको हाउभाउमा साथीले गेस हान्यो। नभन्दै ऊ कलेज गएन। सिरानी च्यापेर ऊ फेरि सुत्यो। व्युँझदा बिहान दश बजिसकेथ्यो।

खाना खाएर ऊ बाहिर निस्क्यो। लगनखेल चोकमा मान्छेका भीड थियो। झुण्डझुण्ड भीड कसैको गहना हराएको समाचारबारे कुरा गर्दै थिए। नजिकैको पत्रिका पसलमा ऊ पनि घाँटी तन्काउन पुग्यो। झुण्ड्याइएको पत्रिकामा “भोजले गहना खायो” भन्ने ठूला शीर्षकमा समाचार छापिएको थियो। उसले उभीउभी पढ्न सकायो। पार्टी गएर फर्केकी महिलाको भनाइ थियो, “ पार्टीबाट फकिँदा ढिलो भएकोले घर फर्किन टयाक्सी समातेकी थिएँ। एक्लै पनि भएकीले टयाक्सी चढ्नुअघि सबै गहना फुकालेर रुमालमा पोको पारेकी थिएँ। त्यही बेलामा मोबाइलमा फोन आयो। गफको सुरमा सीटमा राखेको रुमालबारे बिर्सेर हिँडेछु। सम्झने बित्तिकै खोज्न आउँदा टयाक्सी गैसकेको थियो। खाइनखाइ गरी जोडेका गहना थिए ती। हिराको टप त झन पैँचो मागी ल्याएकी थिएँ,कुन मुखले अब कसरी फर्काउने हो,थाहा छैन। ”

“पाएकै भए पनि त्यत्रो गहना कसले फर्काउँछ?” उसकै पछाडि समाचार पढिरहने एकजना बुजुर्गले ऊतिर हेरेर टिप्पणी गरे। उसलाई के भनुँभनुँ भयो,डिच्च हाँस्यो। “भोजभतेरमा गहनै किन लाउनु पर्‍यो यी महिलाहरुलाई,त्यो पनि सापटी मागेर! फेरि त्यै बेला,गहनै बिर्साउने कस्तो फोन आएको होला?” छेउमै उभिएको अर्को व्यक्ति उदेक मान्दै थियो।

ऊ सरासर कोठा फर्कियो। सिधै गएर खाटमाथि बस्यो र एकछिन सोचिरह्यो। उसले रुमाल पाएको कसैले देखेका थिएनन् न त त्यो ड्राइभरलाई नै केही पत्तो होला। उसले त्यो गहना कसैको लुटेको थिएन,कसैको ठगेको पनि थिएन। यदि भाग्य ऊमाथि दयालु बनेर पोल्टामै खजाना लुटाउँछन् भने,त्यसमा उसको कुनै दोष थिएन। बिना उसको कुनै प्रयास,कसैले थाहा नपाई, पाइएको त्यो गहना फर्काउनै पर्छ भन्ने के जरुरी छ र? उसले आफ्नै मनसँग प्रश्न गर्‍यो। फेरि टयाक्सी चढ्ने ऊ मात्रै पनि त हैन,ड्राइभरले अर्को पेसेन्जर नपाएको होला र?

ऊ उठ्यो र कोठाभित्र यताउता गर्‍यो। ढोका बाहिर कोही भर्‍याङ्ग उक्लँदै थियो। घरबेटीकहाँ आएका रहेछन्, भर्‍याङ्ग चढेर माथि नै गए। उसले ढोका बन्द गर्‍यो अनि दराज खोल्यो। लुगाको तहभित्र लुकाइएको रुमाल हेर्‍यो तर झिकेन। ‘यहाँभित्र गहना छ नै भन्ने के छ र? मैले कुनै रुमाल देखेकै छैन, ‘ उसले दराज बन्द गर्‍यो।

ध्यान अन्तै लान उसले टेबुलमाथिको एउटा किताब टिप्यो। पानाहरु पल्टायो तर अक्षरहरुको साटो पानाभरि पत्रिकामा छापिएको महिलाको फोटो देख्यो उसले र उनको भनाइ सम्झयो। कोठाभित्र बसिरहन सकेन ऊ। कोठामा ताला लाएर साथीकोमा निस्क्यो। उसको साथी, दुइजना अर्का साथीहरुसँग गफ चुटिरहेको थियो। “ए विकास भन् त,तैँले यदि त्यो गहनाको पोको गाडीमा भेटेको भए,फिर्ता गर्थिनस् र?” उसलाई देख्ने बित्तिकै यो कुरा त्यही साथीले सोध्दै थियो,जसले दुई महिना अघि ऊसँग सय रुपिँया सापटी मागेर फर्काउने नामै लिइरहेको थिएन। “यति धेरै आदर्शवादी नबन् फणिन्द्र। मैले भए पक्कै फर्काउँदिनथेँ। पैसाको अनिकाल पर्‍या बेला,काँ हरिश्चन्द्र बन्न सक्नु?”अर्को साथीले आफ्नो हातमा आफ्नै मुठ्ठी बजार्‍यो। ऊ केही बोलेन। उनीहरु वादविवाद गरिरहे। एउटाले मोबाइलमा एफएम लायो, “ए,चुपचुप समाचार आउँदै छ।”

“हामी यो केसको अन्वेषण गर्दैछौँ। छिटोभन्दा छिटो जानकारी बटुलेर गहनाधनीलाई गहना फर्काउने कोशिश गर्दैछौँ। टयाक्सी ड्राइभरलाई पनि खोज्ने प्रयास हुँदैछ।” पुलिस इन्सपेक्टर पत्रकारलाई बताउँदै थिए। ऊ उठ्यो। साथीको चिया खाएर जाउ भन्ने अनुरोध पनि सुनेन उसले। बाटोमा पुलिसको भ्यान आएरहेको थियो,ऊ हत्तपत्त एउटा पसलमाथि चढ्यो। गाडी निकै टाढा पुगेपछि ऊ पसलबाट ओर्ल्यो र आफ्नो कोठातिर लाग्यो।

साँझ परिसकेको थियो,उसले भातको जोडजाम गरेकै थिएन। पकाउन पनि मन लागेन उसलाई। एउटा चाउचाउ पकाएर खायो र थपक्क ओछ्यानमा बसेर घटनाक्रमहरु केलाउन थाल्यो। गहना पाएको दिन,ऊ कत्ति खुशी थियो,कत्ति धेरै कल्पना गर्न भ्याएको थियो मानौँ ती सबै गहना उसैका हुन्,नितान्त उसैका। कत्तिपल्ट उसले गहना हातमा लिएर चलाएको थियो। गहनैको कारणले उसले कलेज पनि बँक गर्‍यो जबकी ज्वरो आउँदा समेत पनि ऊ कलेजमा अनुपस्थित हुन्थेन। जैलेदेखि गहना भेटेको छ उसले,मनमा अदृष्य भार र चिन्ता महशुश गरिरहेथ्यो ऊ। उसले गहना हराउने ती महिलालाई सम्झ्यो,केही चिज पाउँदा उसलाई जति खुशी लागेथ्यो शायद हराउनेलाई त्योभन्दा बढी दुःख लाग्दोहो। एकपल्ट उसको पाँचसय रुपियाँ हराएको थियो। पाँच दिनभन्दा बढी टेन्शन झेलेथ्यो उसले। तैपनि यो मामलामा सोह्रै आना महिला कै दोष देखिन्छ। उसले गहना नफर्काउँदा पनि कसले नै के पो थाहा पाउँछ र? महिलाले टयाक्सीको रङ्ग र नम्बर समेत पनि उल्लेख गर्न सकेकी थिइन।

गल्लीको मुखमा दुई चार जना कुरा गर्दै गरेको सुनियो। उसले झयाल नजिकै आएर कान थाप्यो। कोही कसैका बारेमा जानकारी लिइरहेका झैँ लाग्यो उसलाई। मान्छे देखिँदैनथे र आवाज पनि त्यति स्पष्ट सुनिएको थिएन तर एउटाले अलि प्रष्ट स्वरमा भनिएको सुनियो, “अलि मास्तिर लाग्नुस्,अगाडि कै घर हो। ” उसले बत्ती निभायो र पर्खिरह्यो कुनै अप्रत्यासित घटना। पुलिस आएर केरकार गरी बेइज्जति खेप्नुभन्दा उसले पुलिसलाई फोन गर्ने विचार गरी सय नम्बर डायल गर्‍यो। “जय नेपाल। इन्सपेक्टर… बोल्दैछु ” उताबाट कोही बोल्दै थियो। “इन्सपेक्टर साप,इन्सपेक्टर साप…” ऊ बाँकी कुरा भन्न अत्तालियो।

“हैन, तैँले मलाई कहिलेदेखि इन्सपेक्टर बनाइस् र यसरी झिँझोलि रहेछस्? ” ऊसँगै खाटमा सुतेको साथी आफ्नो घाँटीबाट उसको हात हटाउँदै करायो। “खै कुन्नि, के के देख्दो हो सपना पनि।” ऊ झसङ्ग भयो। हिजो राती त ऊ कहिँ गएकै थिएन। खाना खाएपछि ढिलो भएकोले साथी उसैकहाँ सुतेकोथ्यो। दुवैजना निकै रातसम्म पत्रिकामा छापिएको समाचारबारे गफ गर्दै थिए। खाटको छेउमा लडिरहेको पत्रिकामा ठूल्ठूलो शीर्षकमा लेखिएको थियो, “… … गाडीमा भेट्टिएको एकानब्बे लाख…..।”

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *