पुस्तक समीक्षा : उत्कृष्ट संस्मरणात्मक शोक गन्थ : ननिख्रिएका आँसु

~भेषराज रिजाल~

वि.सं. २००७ साल भदौ ११ गते गोरखा जिल्लाको ताकुमाझ लाकुरीबोट गाउँमा माता ललिता कुमारी गुरुङ र पिता कप्तान दीर्घसिं गुरुङको कोखबाट जन्मनुभएका दोलखबहादुर गुरुङले शिक्षा स्नातक (B.ED.) प्रशासन स्नातक (D.P.A.) र समाजशास्त्रमा स्नातकोत्तर (M.A.) शैक्षिक उपाधि हासिल गर्नुभएको छ । २०६३ सालदेखि निर्वाचन आयोगको आयुक्त हुँदै कार्यवाहक प्रमुख आयुक्त पदबाट वि.सं. २०७२ साल भदौ १० गते सेवानिवृत हुनुभएको छ । २०२३ देखि २०२६ सालसम्म परोकार आदर्श मावि, जौबारी, गोरखामा र २०३० सालदेखि २०३२ सालसम्म भानु मावि, दरबारहाइस्कुल, रानीपोखरीमा अध्यापन गरी जागिरे जीवन शुभारम्भ गर्नुभएका गरुङले २०३३ सालदेखि २०३६ सालसम्म माध्यमिक विद्यालय निरीक्षक रही मुगु र सिन्धुपाल्चोक जिल्लामा काम गर्नुभयो । त्यसैगरी उहाँले २०३७ सालदेखि २०४५ सालसम्म मुगु, मनाङ र सिन्धुपाल्चोक जिल्लामा जिल्ला शिक्षा अधिकारी, २०४५ सालदेखि २०४९ सालसम्म गुल्मी र गोरखा जिल्लामा स्थानीय विकास

 अधिकारी तथा २०४९ सालदेखि २०६१ सालसम्म सोलुखुम्बु, बागलुङ, सिन्धुपाल्चोक, सुर्खेत, पर्सा र मोरङ जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गर्नुभयो । निर्वाचन आयोगमा सहसचिव र सचिव, स्थानीय विकास मन्त्रालयमा सचिव पदमा रही राष्ट्रसेवा गरिसक्नुभएको उहाँ विभिन्न सामाजिक संघ संस्थाहरुमा आबद्ध रहँदै हाल सामाजिक कार्यमा समेत सक्रिय रहनुभएको छ ।

दुर्गम सेवा पदक, २०३५, जनमत सङ्ग्रह पदक, २०३७, सेवा पदक, २०४७, गोरखा दक्षिणबाहु चौथो, २०५२, रजतमहोत्सव पदक, २०५५, वीरेन्द्र ऐश्वर्य पदक, २०५८, दैवी प्रकोप उद्धार सेवा पदक, २०६०, सुप्रबल गोरखा दक्षिणबाहु (तेस्रो), २०६०, सुप्रसिद्ध प्रबल जनसेवाश्री (द्वितीय  श्रेणी), २०७१ आदि विभूषणबाट सम्मानित दोलखबहादुर गुरुङद्धारा लिखित कृतिहरुमा आफ्नै गुरुङ वंशावली, २०६०, खोजखाज भित्रका खेस्रा, २०६३, मुगुको सेरोफेरो, २०६३, खोजखाज भित्रका खेस्रा (दोस्रो भाग), २०६९, भोगाइ र गराइ, २०६९, ननिख्रिएका आँसु, २०७१, भोगाइ र गराइ, दोस्रो भाग, निर्वाचन विशेष (संस्मरण), २०७२ रहेका छन् । ती कृतिहरुमध्ये वि.सं. २०६९ साल माघ २१ गते ममतामयी आमा ललिताकुमारीको नब्बेवर्षको उमेरमा निधन भएपछि मर्माहत भएका लेखकले रचना गर्नुभएको संस्मरणात्मक शोक ग्रन्थ हो– ननिख्रिएका आँसु, २०७१ ।

श्रीमती टीकादेवी गुरुङद्धारा प्रकाशित ननिख्रिएका आँसु तेह्र खण्ड र एकसय पचास पेजमा समेटिएको छ । खण्ड एकमा आमासम्बन्धी केही स्मृतिहरू, खण्ड दुईमा महाप्रस्थानसम्बन्धी कुरा, खण्ड तीनमा आर्यघाट पुग्दा र फर्कँदाका कुरा, खण्ड चारमा तमु संस्कार ‘अर्घु’ सम्बन्धी कुरा, खण्ड पाँचमा आमाका आशीर्वाद, अर्ती, उपदेशहरु, खण्ड छमा आमा–छोराका सम्वादहरु, खण्ड सातमा ४९ औं पुण्यतिथिका कुरा वर्णित छन् । त्यसैगरी खण्ड आठमा आमाको केही इच्छा, चाहना र तिनको परिपालनाका कुरा, खण्ड नौमा आमाका विचार, व्यवहार, मूल्यमान्यता, साहस, धैर्यता, नैतिकता, सत्चरित्रता जस्ता पक्षहरु, खण्ड दशमा आमाको सम्झनासम्बन्धी लेखकका वेदनाहरु, खण्ड एघारमा परिवार र मित्रजनहरूको दृष्टिमा आमाको सम्झना, खण्ड बाह्रमा विभिन्न संघ संस्था तथा आफन्तजनका समवेदना तथा खण्ड तेह्रमा आमा सम्बन्धित केही तस्वीरहरु राखिएको छ । संस्थागत मूल्य रू. ४५०/– राखिएको प्रस्तुत कृति सोपान प्रेस प्रा.लि., डिल्लीबजार, काठमाडौंमा मुद्रण भएको हो भने आमा ललिता कुमारी गुरुङप्रति समर्पण गरिएको उक्त कृतिको आवरणमा पनि आमाकै तस्वीर सजिएको छ ।

प्रस्तुत पुस्तक आमा ललिता कुमारीको जिन्दगीका आरोह–अवरोह, भोगाइ–गराइ, सुख–दुःखका कथा र व्यथाको टिपोट हो भन्नुभएको छ लेखकले । आमाका योगदान र बलिदानीसम्बन्धी सङ्ग्रहबाट घर, समाज र राष्ट्रको लागि एउटा प्रेरणादायी ग्रन्थ तयार होस् भन्ने कामना राख्दै आमाको सदा स्मृति चाहनुहुन्छ लेखक । लेखक गुरुङले आफूलाई भाग्यमानी छोरा ठान्दै आमाको कार्यलाई निरन्तरता दिन विपन्न, दुःखी, निःसहाय विद्यार्थीहरूको लागि आफ्ना मातापिताको नामबाट दील सेवा कोष, २०६९ स्थापनासमेत गर्नुभएको छ । लेखकले आफ्ना पुस्तक बिक्रिबाट प्राप्त हुने रकमसमेत सोही कोषलाई समर्पण गर्नुभएको छ । आमाको स्वर्गारोहण भएपछि लेखक र परिवारका सदस्यले आमाको सम्झनामा गरेका धार्मिक, कर्मकाण्डीय तथा सामाजिक कार्यहरुको समेत पुस्तकमा वर्णन छ ।

उनन्तीसवर्षे जवानीमै एकल नारीको व्यथा सहनु परे पनि आमाले आफ्नो छोरा, परिवार र समाजका लागि गर्नुभएको योगदानको जीवन्त इतिहास हो प्रस्तुत पुस्तक । लेखकलाई शिक्षक, निजामती सेवाको उच्च पद सचिव र संवैधानिक निकाय निर्वाचन आयोगको आयुक्त/कार्यवाहक प्रमुख आयुक्त बनाउनमा आमाको महत्वपूर्ण हात छ । आफ्नो परिवारलाई आदर्श परिवार बनाउनमा पनि आमाकै अर्ती, उपदेश र आशिर्वादको भूमिका छ । यस्ती आमा सबैकी आमा हुनुहुन्छ, अब भगवान भइसक्नुभएको छ तथापि प्रातः स्मरणीय हुनुहुन्छ । आमा ललिता कुमारी गुरुङ छोरा दोलखबहादुर गुरुङकी मात्र आमा नभई नेपाल राष्ट्रकै महान आमा बन्नसक्नुभएको छ । यस्ती आमाको जीवनीसहितको संस्मरणको अध्ययनले असल संस्कार अनुसरण हुनगई समाज उत्थानमा समेत योगदान पुग्ने कुरामा विश्वस्त हुनसकिन्छ ।

सच्चरित्र, इमान्दारिता र नैतिकताको आमाकै पथ अनुसरण गरिरहेका लेखक गुरुङले पुस्तकमा व्यक्त गरेका विचार मर्मस्पर्शी छन्–

“आमा सबैको लागि प्रिय हुन्छन् । माया र स्नेहको सागर हुन् आमा । आमा हुनलाई आमामा हुनुपर्ने गुण हुनुपर्दछ । जन्म दिएर मात्र आमा भइँदैन । आमाको कर्तव्य र जिम्मेवारी पनि निर्वाह हुनुपर्दछ । स्नेह, माया, ममताको खानी हुनुपर्दछ आमा । आमाको लागि आनो छोराछोरीहरू जतिसुकै वर्षको किन नहुन् सधैँ बालक नै हुँदारहेछन् । मैले आमाको काख र पिठ्यूँमा बसेर कखरा सिकेँ । मेरो प्रथम गुरु पनि आमा नै हुनुहुन्छ ।”

(पृष्ठ ६४)

आफ्नी आमाको महानताबाट प्रभावित भएका लेखक गुरुङले समस्त आमाहरुप्रति यस्तो मान्यता राख्नुभएको छ–

“छोराछोरीले चित्तबुझ्दो काम नगरिदिए पनि, सुख सुविधा नदिए पनि, बोली वचनले दुःखी बनाए पनि, छोराछोरीको गल्तीलाई, भूललाई, दुर्वाच्यलाई, दानवी व्यवहारलाई क्षमा दिन्छन् आमाहरूले । दिइने सम्मानमा, व्यवहारमा कहिलेकाहीँ तलमाथि हुँदा दुःख लाग्न सक्छ तर आदर्श आमाले वास्ता गर्दैनन्, … केबल आमा भनेर बोलाए पुग्छ । ”

(मेरो कुरा, चौथो अनुच्छेद)

आफ्नो परिवारप्रति आमाको अगाध माया छ । आमाले गर्ने मायाका सम्बन्धमा लेखक गुरुङले यस्तो धारणा व्यक्त गर्नुभएको छ–

“ … सबैले यथासक्दो सेवा गर्दागर्दै पनि कहिलेकाहीँ सबै कुरा उहाँको इच्छाअनुसार नहुँदा भन्नुहुन्थ्यो– मेरो कुरा तिमीहरूले भनेको नमाने पनि, मागेको नदिए पनि, नखुवाए पनि, हेलाँ गरे पनि, म कहिल्यै सराप दिन्नँ, म कहिल्यै रून्नँ, म रोएँ भने मेरो आँसुले तिमीहरूलाई पिर्छ, त्यसैले आँसु झार्दिनँ’ । ‘मेरो छोरा र परिवारलाई सधँै आशीर्वाद दिइरहन्छु, … ।”

(मेरो कुरा, एघारौँ अनुच्छेद)

नब्बेवर्षको उमेरमा जन्मदिन र जन्मबारका दिन आमाको निधन हुनु अनौठो संयोग मात्र होइन, आमाको इच्छामरण पनि हो । बुद्धत्व प्राप्त हुनाले इच्छामरण सम्भव भएको हो भन्ने ठम्याइ छ पुस्तकमा । परिवारका सदस्यहरुसँगको आमाको पूर्व अभिव्यक्तिले पनि सो कुरा पुष्टि गर्दछ । आमाका अर्ती उपदेश अत्यन्त मार्मिक तथा सान्दर्भिक छन् । तिनले उहाँको परिवारका साथै समस्त नेपाली परिवारहरुलाई समेत मार्गदर्शन गरिरहन्छन् ।

विद्यालयलाई जग्गा दिनु, आफ्नै खेतबारी मासेर अझ आफ्नै पति र ससुराको चिहान हुँदै मोटर बाटो गुड्न दिनु, चौतारो, पँधेरो आदि निर्माणमा सक्रिय रहनु आमाको विकास प्रेमको उदाहरण हो । गाउँ र समाजप्रतिको अगाध मायाको उदाहरण हो । नैतिकता, इमान्दारिता घट्दै गइरहेको वर्तमान समाजमा यस्ता कार्य अति प्रसंशनीय छन्, अनुकरणीय छन् । पुस्तकमा आमाको गाउँ समाजप्रतिको अगाध मायाका अनेक उदाहरणहरु पाइन्छन् ।

दुःखकष्ट, चिन्ता बिर्सेर असल कार्य गर्दै इज्जतसाथ बाँच्नुपर्छ भन्ने आमाको मान्यतालाई परिवारले पनि एकमतले स्वीकार गरेको छ र, आमाको पथ अनुसरण गर्ने वाचासमेत गरेको छ । ‘परिवार र मित्रजनका दृष्टिमा मेरी आमा’ नामक खण्डमा लेखकले आमाप्रतिका अरुका धारणा सार्वजनिक गर्नुभएको छ । यस खण्डमा बुहारी टीकादेवी गुरुङ, नातिनी ममिता गुरुङ, नातिनी ज्वाइँ डा. केशर गुरुङ, नाति मेजर इन्द्रराज गुरुङ, नातिनी बुहारी सपना गुरुङ, नातिनी सुस्मिता गुरुङ, नाति प्रसन्न गुरुङ, नाति डा. प्रफुल गुरुङ, पनाति कृतज्ञ गुरुङ, पूर्व शिक्षा निर्देशक तथा गाउँले छोरा शम्भु लोहनी, गाउँले छोरा रेशम थापा र साहित्यकार लक्ष्मीशरण घिमिरेका विचारहरु समेटिएका छन् । परिवारको आमाप्रतिको माया, वियोगको दर्द र उहाँको असल संस्कार अनसरण गर्ने प्रतिबद्धताका साथै आफन्तजनहरुको आमाप्रतिको हार्दिक श्रद्धासुमनले पुस्तकलाई पठनीय बनाएको छ ।

पैसठ्ठीवर्षअघि विवाहमा पतिले दिनुभएको पछ्यौरा आमाले जतनसाथ राख्नु तथा आफ्नो निधनपछि चितामा सँगै जलाइदिने आमाको अन्तिम इच्छा पढ्दा हरेक पाठकका मन थामिँदैन, आँखा ओभाना रहँदैनन् । यस्ता अनेकौं अमर प्रेमपूर्ण जीवन कथाहरु उजागर गरिएको छ पुस्तकमा ।

आमाले दिनुभएका अर्ती उपदेशहरु अत्यन्त सान्दर्भिक छन् । अर्ती उपदेशहरु सामाजिक, धार्मिक, मनोवैज्ञानिक आदि विविध दृष्टिकोणबाट उपयुक्त छन् । परिवार र मित्रजनहरूको दृष्टिमा मेरी आमा नामक खण्डमा पुस्तकका प्रकाशक तथा बुहारी श्रीमती टीकादेवी गुरुङले उल्लेख गर्नुभएका आमाका मननीय अर्ती उपदेशहरुलाई यहाँ उल्लेख गर्न सान्दर्भिक ठान्दछु–

१.   बिहान ओछ्यानबाट उठ्दा दुबै नाकको साइत बन्द भएको बेलामा नउठ्नू ।

२.   घरबाट साइत गरेर बाहिर जाने बेलामा नाकको जतापट्टि साइत छ त्यतैपट्टिको गोडा चाल्नू ।

३.   बिहान पूजापाठ गर्दा भगवानसँग छोराछोरी नाति नातिनीहरूको आयू माग्दा हजार वर्ष भनेर माग्नू, हजार वर्ष माग्दा १०० वर्ष पाइन्छ । छोराछोरी, नाति नातिनीहरूलाई आर्शीवाद दिँदा पनि हजार वर्ष आयू होस् भन्नू ।

४.   अरुको अगाडि छोराछोरीहरूलाई गाली, नराम्रो वचन नगर्नू, अरुले हेप्छन्, हेलाँ गर्छन् । आमा बाबुले माया गरे अरुले पनि माया र सम्मान गर्छन् ।

५.   बिहान सधैँ सन्तानको जय होस्, शत्रु शान्ति होस् भन्नू, शत्रु नाश होस् कहिले नभन्नू ।

६.   बिहान नुहाईधुवाई गरेपछि तेत्तीसकोटी देवता, कुल कुलायन र सिमे भुमेलाई नमस्कार गरेपछि घर, मावली र ससुराली (घर, माइती र मावली) तीनपट्टिका पितृहरूलाई तर्पण दिनू । तीन कुलको उद्धार गर्नु भन्नुको अर्थ यही हो ।

७.   खाना खाँदा भगवान श्रीकृष्ण र पितृहरूलाई अर्पण गरेर मात्र खानू ।

८.   कुल धर्ममा बस्नू, कुल सधैँ चोखो राख्नू । कुल पितृ खुनासियो भने मनले चिताएको पुग्दैन । सन्तान राम्रो जन्मदैँन ।

९.   ऋण दिँदा चोके व्याज (ब्याजको ब्याज) नलिनू । सन्तानलाई खिया लाग्छ ।

१०. घरमा धूप हाल्दा कुल कुलायन, लो आमा, फो आमा फैलु, कुल कुलायन, इष्टदेवता, वायुदेवता, सिमे भुमे, गृहलक्ष्मी र पितृहरूलाई दिएपछि मात्र अग्निलाई दिनू ।

११. आफूले कमाएको सम्पत्तिको केही भाग भगवानलाई पनि चढाउनू । स्वच्छ दिलले पूजापाठ, दान धर्म गर्नू । दानीलाई हानी कहिल्यै हुँदैन । माता पिताको धर्म कर्मले नै सन्तानलाई फलिफाप हुन्छ ।

१२. छोराछोरी जन्मिएपछि बिहेदान गरी दिनु आमा बाबुको कर्तव्य हो । समयमा बिहे गरी दिएन भने छोराछोरीको भारा लाग्छ । पुत्र पुत्री दण्ड लाग्छ ।

१३. पितृहरूको नाममा धर्मकर्म गरिदिएन भने पितृ दण्ड लाग्छ ।

१४. घरमा आएको पाहुनालाई बिमुख नपठाउनु ।

(पृष्ठ ८२ र ८३)

‘बस्न पायो भनेर थ्याच्च नबस्नु, भन्न पायो भनेर प्याच्च नभन्नु, हाँस्न पायो भनेर खित्का छाडेर नहाँस्नु’ (पृष्ठ १००) भन्ने आमाका अर्ती उपदेशहरुले मान्छेको दैनिक व्यावहारिक जीवनलाई समेत सभ्य र सुसंस्कृत बनाउनतर्फ प्रेरित गर्दछन् ।

आफ्ना आमाबाबुलाई जिउँदो छँदा वास्ता नगर्ने र मरेपछि भने अनेक गरेको देखाउने ढोँगी प्रवृत्तिको विरोधी हुनुहुन्छ लेखक गुरुङ । उहाँले बाँचुञ्जेल आमाको मनोकांक्षाअनुरुपको सुखसुविधामा ध्यान दिनुभएको छ । आमालाई सुखी मात्र होइन, खुसी तुल्याउनुभएको छ– प्रेमले, आज्ञापालनले, सत्कर्मले, समाज सेवाले, राष्ट्र सेवाले । आमाको निधनपछि पनि आमाका नाममा दानधर्मलगायतका सम्पूर्ण संस्कार गर्नुभएको छ । ‘कोठा हेर्दछु अन्धकार छ यहाँ बत्ति निभेकोसरि’ भन्दै राष्ट्रकवि माधव घिमिरेका शब्द सापट लिएर आमाको रिक्ततामा लेखक बेस्सरी तड्पे पनि आमाकै कोखमा अर्कोजन्म हुनेमा विश्वस्त हुँदै चित्त बुझाउनुभएको छ । लेखकको आमाप्रतिको गरेको सच्चा समर्पणले पुस्तक पढ्दा पाठकको मन गद्गद् हुनपुग्दछ । ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ अर्थात् ‘आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन्’ भन्ने भावनाले ओतप्रोत लेखक जीवनभर आमा र मुलुकका लागि नै कर्मशील बन्नुभएको छ । लेखक गुरुङले आमाका असल सोच र संस्कारलाई जीवन पद्धति बनाउनुभएको छ ।

लेखकले आफ्नो बाल्यकालदेखि आमाको निधन भएको करिब दुईवर्षसम्म घटित घटनाहरु यथार्थपरकरुपमा राख्नुभएको छ पुस्तकमा । पुस्तकमा लेखक, परिवारका सदस्य तथा आफन्तजनहरुबाट व्यक्त केही कुरा दोहोरिए पनि स्वाभाविकै लाग्दछन् । तमु संस्कारलगायतका कुराहरुसमेत पुस्तकमा जीवन्तरुपमा चित्रित छन् ।

लेखकले सदा असल पद्दति चाहनुभयो । कसैप्रति पक्षपात, विभेद गर्नुभएन । आफ्नो पराइ कहिल्यै भन्नुभएन । ती आदर्शहरु पुस्तकमा पनि प्रतिबिम्बित भएका छन् । प्रस्तुत पुस्तक आमाको सम्झना र गाउँ समाज तथा मुलुकको हित सम्झेर लेखिएको एउटा उत्कृष्ट संस्मरणात्मक साहित्यिक ग्रन्थ बन्न पुगेको छ । लेखकले स्वच्छ, स्वतन्त्र, निष्पक्ष निर्वाचन गराउने संवैधानिक निकाय निर्वाचन आयोगको पदाधिकारीले गर्नुपर्ने भूमिका जिम्मेवारीपूर्वक निर्वाह गरिसक्नुभएकोले उहाँप्रति गर्वले शिर ठडिएको अनुभूत हुन्छ ।

पुस्तकमा भनिएझैँ निधन भएको व्यक्तिलाई हजारौं चित्कारले, अविरल आँसुले पनि फिर्ता ल्याउन सकिँदैन तथापि असल कर्मको स्मरण गर्दै हृदयमा राख्न र त्यस्ता कार्यको अनुसरण गर्न सकिन्छ । हरेक पाठकले पुस्तक पढ्दा स्वर्गीय आमा ललिता कुमारीलाई स्मरण गर्दै असल आमाका इमान्दार, नैतिकवान एवं कर्मशील छोरा, आमाका समस्त परिवार तथा आमाप्रति श्रद्धासुमन राख्ने समस्त सज्जनवृन्दप्रति कृतज्ञता प्रकट गर्दछन् । पुस्तक पढ्दा आफ्नै आमाले हरबखत अर्ती, उपदेश दिएको भान पर्दछ हरेक पाठकलाई ।

पुस्तकमा व्यक्त विचारहरु जति दार्शनिक, बौद्धिक र मार्मिक छन् त्यति नै बोधगम्य, सरल र मिठासपूर्ण पनि छन् । आफ्नी आमा, समाज, राष्ट्र र जनताको सेवामा समर्पित लेखकको सत्कार्यको दस्तावेज बन्नपुगेको पुस्तकको शीर्षकसमेत सार्थकसिद्ध देखिन्छ ।

अन्त्यमा, लेखकको जीवन थप उर्जाशील बनोस्, लेखकका सामाजिक कार्यप्रतिको सक्रियताले निरन्तरता पाओस् र, लेखकका नयाँ कृतिहरु आइरहून् भन्ने शुभकामना राख्न चाहन्छु ।

पुस्तक : ननिख्रिएका आँसु
लेखक : दोलखबहादुर गुरुङ
प्रकाशक : श्रीमती टीकादेवी गुरुङ,
 ताकुमाझ, लाकुरीबोट, झ्याल्ला गाउँ,गोरखा
हाल काठमाडौँ महानगरपालिका, धुम्बाराही  
मूल्य : व्यक्तिगत (स्वेच्छिक), संस्थागत रू. ४५०/– 

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in पुस्तक समीक्षा and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *