कविता : चेतनाका मुट्ठीहरू

~मणिराज सिंह~Maniraj Singh

निस्तब्ध अँध्यारो परिवेशभित्र
जूनको कलिलो आभा
सुसाइरहेकै थियो
तर आफ्नै परिधिभित्र
आगो सल्काएर
क्षितिजभरि नाङ्गो
आक्रोश छरेपछि
कतै केही चर्केजस्तो
कतै केही भत्केजस्तो
चीत्कारका स्वरहरू
पटक–पटक निस्सासिएर
चौतारीको पिपलमा
पदचापहरू उक्लेपछि
चेतनाका मुट्ठीहरू
हिमालसँग ठोक्किएपछि
निर्दयी मन पनि
चिरा–चिरा पर्दोरहेछ
अभिमानी पहाड पनि
गल्र्याम–गुर्लम ढल्दो रहेछ
निरङ्कुश पर्खाल पनि
अपराधीझैँ रुँदो रहेछ ।

बादल, झरी, बतास
अनिँदो रात अनि धिपधिपे तारासँग
घर, आँगन र फलैंचामा
चिउराझैँ छरिएको स्वाभिमान बोकेर
माथिमाथि आकाशिने चाहनासँग
चुच्चोमा कङ्कालमय वर्तमान च्यापेर
ढुकढुकीमा वासनामय ममता सँगालेर
कल्कलाउँदो, भर्भराउँदो जवानीका रङ्गले
पोटिला, रसिला विहानी सजाउन
चौतारीको पिपलमा
पदचापहरू उक्लेपछि
चेतनाका मुट्ठीहरू
हिमालसँग ठोक्किएपछि
निर्दयी मनपनि ………………।

पाखा, पखेरा र भिरमा पनि फस्टाउँने
पहराको काप कापमा जुर्मुराउँने
विषालु सिस्नुको झ्याङ् ताछेर
अवरुद्ध निकास सफा गर्दा
कुमारी युवतीको भर्भराउँदो जवानी
संक्रमित बस्तीमा फर्फराएको सूचना
उद्घोष गर्न
शान्ति र सद्भावसहित
चौतारीको पिपलमा
पदचापहरू उक्लेपछि
चेतनाका मुट्ठीहरू
हिमालसँग ठोक्किएपछि
निर्दयी मनपनि ……………।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.