कविता : थुम्को, क्षितिज, म र सूर्य

~भेषराज रिजाल~

एकदिन
सूर्य टिप्न
सूर्योदय हुनुपूर्व
घरपछाडिको
पूर्वी क्षितिजको थुम्कोतिर
झिसमिसेमै दौडेँ
जसै थुम्को नजिक पुगेँ
थुम्कोसँग छुट्टिएर क्षितिज
अर्को डाँडापल्तिर हाम्फाल्यो
सूर्य आकासमा नपुग्दै
छोपेर खेलाउने अभिलासाले
बालसखाको हात समात्दै
अर्को डाँडामा पुग्दा नपुग्दै
क्षितिज फेरि सर्‍यो
पर्वत श्रृङ्‍खलाले क्षितिजलाई
क्षितिजले सूर्यलाई
टाढा छुट्याएर मबाट
कहिल्यै कहिल्यै भेट्न दिएनन् ।

आँगनबाट हेर्दा
थुम्काले सधैँ क्षितिज चुम्थ्यो
क्षितिजले थुम्कालाई काखमा राखेर
उसको हरित केश मुसार्‍थ्यो
मलाई लाग्थ्यो–
यस्तै समर्पण नै प्रेम हो
प्रेमिल संसारको प्रतक्ष्य साक्षी सूर्य
उनीहरुलाई चुम्दै
दिनहुँ सुन्दर दिवसतर्फ उठ्न चाहन्छ
हजारौँ रश्मी पुञ्‍ज फ्याँकेर
धर्ती आकास व्युँझाउन चाहन्छ
र त,
त्यही थुम्काबाट
हात पसारेर
सूर्य टिप्न
मन लाग्थ्यो मलाई ।

उफ् !
त्यो उत्साहमा
एकाएक पानी फेरियो
यी डाँडा, थुम्का, क्षितिज र सूर्यबीच
कत्रो दूरी रहेछ
मन भने कल्पिन छाडेन–
मेरो घर अगाडि
समथर मधेश भैदिए
शिखरमा रश्मी नफेलिँदै
सूर्य तातो नहुँदै
वायु वेगमा हुइँकिएर
क्षितिजमा पुगेर
सूर्य समात्थेँ खेलाउँथेँ
तर म अभागी
अनि यी विकट पहाड, खोँच, थुम्काथुम्की, … !

केही समयपछि एकदिन
आमासँग मावल मधेश झर्दा
भोलि बिहान सूर्य समात्‍ने
सङ्गालेर मिठो इच्छा
आफूले आफैलाई थुम्थुम्याएँ–
मामा आए घोडा
माइजु आइन् डोली
पापा ल्याइन् सोली
काफल गेडी कुटुक्‍क
निदाई जाउ सुटुक्‍क
… अनि भोलि
छिटै उठ जुरुक्‍क
रातभर छामछुम छामछुम गर्दै
सूर्य खेलाएँ
सपना भए पनि ठिकै छ
मेरो विपनाको इच्छा पनि त त्यही छ ।

उज्यालो नहुँदै म पूर्व दौडेँ
सूर्य उदायो
म दौडेकै छु
सूर्य एक्‍कासी आगो भयो
पसिना पसिना भएर
म थाकेर फत्रक्‍क गलेँ
तर क्षितिज परपर सर्दै गयो
समथर फाँट पल्तिर
टाढा रहेछ क्षितिज यहाँ त
आकास पनि धेरै अक्‍कासिएको रहेछ यहाँ त
फेरि पनि रित्तै हात फर्केँ ।

आजभोलि
हरेक बिहान
स्मृतिको बाल्यकालसँग जिस्किँदै
म सूर्यको प्रार्थना गर्छु–
हिमालबाट उदाएर
समुद्रमा अस्ताए पनि
सधैँ आगो
कहिल्यै नगल्ने
कहिल्यै ननिभ्ने
कहिल्यै नथाक्ने
प्रचण्ड प्रतापी
ईश्वर हो– सूर्य
क्षितिज– भ्रम मात्रै हो
म–
उत्साह>निराशा हो
रहर>उदासिनता हो
जीवन>मृत्यु हो
सहारा>धोखा हो
अटल पहाड बोकेर धर्ती
सधैँ तपस्यामा छ सूर्यको
सूर्य पोखिन्छ अनेकरुपमा
सन्ध्या र प्रभातसँगै लुकामारी खेल्छ
जीवन र जगतको तादाम्यता छ यहाँ
म पनि–
धर्तीमा उभिएर
आकासको सूर्य हेर्न चाहन्छु
क्षितिजले त धेरैचोटी धोखा दिएको छ !

रचना समय र स्थान : २०५९/०३/२२, बेनी, म्याग्दी
प्रकाशित : देश सधैँ रुने छैन, कविता सङ्ग्रह, २०५९

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *