कविता : मैले प्रेम गरेकी केटी

~प्रमोद प्रधान~

तिनी चुपचाप थिइन्;
मैले तिनको हात नियालेँ—
भालेको पहिलो डाकसँगै सचेत तिनका हात ।
रात्रिको प्रथम प्रहरसम्मै सक्रिय तिनका हात ।।
पानीले खाएका औँलाका कापहरू
सुमसुम्याई हेरेँ— कठोर चट्टान झैँ हत्केला
र, भान्सा र बारीका काममा प्राप्त पारिश्रमिक
काटिएका दागहरू ।
दायाँ हातको चोर औँलामा
गाउँमा गतवर्ष लागेको मेलामा किनेको पित्तलको औँठी ।

गालामा समाएर आफूतिर फर्काई
मैले तिनका दुवै आँखालाई पढ्न खोजेँ—
त्यहाँ वेदना र पीडाले युक्त
अनेक कथाहरू कस्तरी सलबलाइरहेका रहेछन् ।
मैले आकाशको उपमा सम्झेँ—
तर कहाँ आकाश र कहाँ तिनका आँखा ।
कुनै साम्य नै भेटिनँ ।

तिनी उभिइरहेकी थिइन्;
तिनीतिर फर्केर टुक्रुक्क बसी
तिनका दुवै गोडालाई हेर्न थालेँ म—
उहुँ। सौन्दर्ययुक्त भन्ने केही थिएन
पटपटी फुटेका कुर्कुच्चा,
स–साना औँलाहरू र
भुक्क उठेको माथिको भाग ।
तर त्यसले मौन भाषामा बताइरहेथ्यो—
‘श्रमकोमूल्य मीठोहुन्छ ।’

म पुनः उभिएँ—
हेरेँ एक पटक सम्पूर्ण अनुहार
केही पनि त थिएन
छेडिएका कानका लोतीहरू

पुराना घाउका पाप्राझैँ पुरिइसकेका थिए ।
नाकमा भने उही मेलामा नै किनेको
सानो नक्कली बुलाकी टल्किरहेथ्यो
ओठ हेरेँ—
कलेटी परेर काला परिसकेका थिए ती पनि,
तेलबिनाका कपालहरू शिष्ट थिए ।

केही पनि त थिएन
सौन्दर्य तिनमा
शब्दकोशमा भएका शब्दहरूझैँ…
तैपनि, एउटा सम्मोहन थियो
एउटा आकर्षण थियो
मैले बिस्तारै तिनलाई अँगालोमा बाँधेँ
र, तिनको छातीमा टाउको लुकाएँ
र, धुकधुकी सुन्दैरहेँ…
त्यहाँ एउटा आदिगीत बजिरहेथ्यो;
मानवताका लागि अनवरत सङ्घर्षरत रहने
प्रणले भरिएका गीत…
मैले तिनलाई छातीमा टाँसिरहेँ, टाँसिरहेँ।
(चोरेर प्रकृतिको अलिकति सौन्दर्य
तिनलाई पनि बनाएका थिए रे
तिनका सृष्टिदाताले।
तर, तिनी त प्रकृतिभन्दा सुन्दरी थिई…)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *