कविता : मानव! हे मानव!

~सुरेस खनाल~

मानव! मानव! हे मानव!
कति मानवताको हत्या गर्छौ?
तिमीलाई पुगेन अझै?

तिमीले हिरोशिमा पोल्यौ
र मुर्दा शान्तिको बिगुल फुक्यौ!
तिमीले पोलपोट जन्मायौ
र मानव खप्परको संग्रह गर्यौ
र उपलब्धि?
रक्तपिपासु भएर गयौ अझै!
के संग्रह गर्दैछौ अझै तिमी?
अरु मान्छे पोल्ने चिताहरु?
बिश्व! बिश्व!
उफ!

तिमी नै सुन्दर बगैँचामा धावा बोल्छौ
तिमी नै जिउँदो घर भत्काएर
महल ठड्याउँछौ
र ‘भियतकङ्ग’ जन्माउँछौ
अनि तिमी नै उत्तर हुन्छौ,
तिमी नै दक्षिण हुन्छौ
र बिचमा लाशको थुप्रो माथि बसेर
शान्ति खोज्छौ?
साईगोन! साईगोन!
उफ!

तिमी नै गाँस खोस्छौ
र तिमी नै पिठोका बोराहरु झार्छौ
उठेको भुँडि र गन्न सकिने करङ्ग
शायद तिमीलाई प्रिय लाग्छ
त्यसैले त तिमी
चराहरुको चिरबिरमा बारुदको शंख फुक्छौ
पानी माग्ने खेतलाई
रगतको सिंचाई गर्छौ
रुवान्डा! रुवान्डा!
उफ!

तिमी नै रेखा खिच्छौ
तिमी नै भाई भाई बिच अंशबण्डा गर्छौ
तिमी नै कौरव र पाण्डव बनाउँछौ
र कृष्ण बनेर दुबैलाई लडाउँछौ
अनि तिमी नै धृतराष्ट्र झैँ आँखा चिम्लन्छौ
तिमी नै जमिनमा अन्नको साटो बारुद गाड्छौ
र दशकौँ सम्म त्यसलाई कोट्ट्याउँदै
लाश माथि लाश थप्छौ
बोस्निया! बोस्निया!
उफ!

तिम्रो ईश्वर मारिए
तिमीले तिस लाख मानिस मार्यौ
त्यसै गड्कियौ, दौडियौ
र अन्त्यमा आफैँमा खुम्चियौ
आफ्नै शहरलाई मसानघाट बनायौ
अनि बन्द कोठमा आफैँ मारियौ
फ्युरर! फ्युरर!
उफ!

तिमी नै दासत्व हटाउँछौ
र स्वतन्त्रताको बिगुल फुक्छौ
अनि तिमी नै
दक्षिण पूर्वमा यौन दासि बनाउँछौ
र पुगेको ठाउँमा जरा गाड्छौ
आफैँ परजीवी बनेको आभाष छैन तिमीलाई
तर तिमी रक्तदान गरेको स्वाङ्ग पार्छौ
र आफ्नो व्यभिचार लुकाउँछौ
बिश्व शक्ति! बिश्व शक्ति!
ऊफ!

तिमी भोको पेटलाई अन्न दिन सक्तैनौ
र तिमी नै भोको पेटको बहानामा
बन्दुक समाउँदै दौडन्छौ
अनि अर्को भोको पेटको हत्यामा भोज गर्छौ
तिमी नै आतंक मेटाऊने बहानामा
झन आतंक मच्चाउँछौ
र रगतको आहलमा पौडि खेल्छौ
बुद्ध देश! बुद्ध देश!
ऊफ!

-यु एस् ए
October 29, 2006

(स्रोत : साझा डट कम)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *