कविता : सिउँडीको जंगल

~हरि अधिकारी~hari-adhakari

आकाशको नीलो चँदुवामा टाँगिएका
एक मुट्ठी निस्तेज ताराहरूसँग
म के बात मारुँ ?
चीसो शीतमा निथ्रुक्क भिजेको
अधमरो बताससँग
म कसरी अभिसार गरुँ ?
घुँडामा टाउको लुकाएर झोक्राइरहेका
उदास पहाडहरूसँग
म कुन मुखले बास मागूँ ?
आफैँले नबुझ्ने भाषामा
आफैँसँग एकोहोरो झगडा गररिहेको
यस बस्तीको असफल मुखियासँग
म के आशा गरुँ ?

सपनाहरूको मलामी जाँदाजाँदा
थोकेका छु,
भत्किएको पुलको रखवारी गर्दागर्दा
हतासिएको छु,
हरण्िाका पाठाभन्दा सुन्दर
केटाकेटीहरूका आँखामा जमेको त्रास देख्दादेख्दा
संज्ञाशून्य भएको छु,
लुटिएका मन्दिर, भत्काइएका पाठशाला,
च्यातिएका ग्रन्थ र टाउको नभएका सालिकहरूका
बीचबाट हिँड्दाहिँड्दा
हृदयदेखि नै कुँजिएको छु,
मसँगै असरल्ल केही तरुणा विधवा छन्,
रगतको आँसु पिइरहेका
वियोगी प्रेमीहरू छन्,
छ ठूलो हूल अनाथ केटाकेटी र बूढाबूढीहरूको,
टुंगो नभएको खण्डित राजमार्गको
रहस्यमय जालो छ आँखाभर,ि
र, अन्योलको तुवाँलोमा डुब्दै उत्रँदै गर्ने
एउटा क्लान्त हृदय छ छातीभित्र
जाने कहाँ हो थाहा छैन,
पुग्ने किन हो पत्तो छैन,
म छु, मेरा अपरििचत आफन्तहरू छन्, र
आँखाको डिलभर िफैलिएको छ
सिउँडीको अनन्त जंगल

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ३२९)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *