संस्मरण : लज्जाबोध

~कृष्ण वस्ती~Krishna Wasti_1

अरुसँग लागेको लाज समयको बोक्रा फेरिएसँगै पचेर जान्छ ।तर स्वयंसँग लागेको लाजचाहिं जीवनपर्यन्त नपच्ने रहेछ ।आजभन्दा चारदशक अघि धरानमा पढ्दाको लज्जादायी कुरो हो ।प्रवेशिका परीक्षा सकेपछि केहीदिन धरानमा फुकेको भोटे कुकुरजस्तै स्वन्त्रतापूर्वक घुमेपछि मात्रै पहाड घर जाने विचार गरियो । अन्तिम पत्रको परीक्षा दिएर छात्राबासमा आएपछि मैले पढ् विद्यालयका कर्मचारी धिमाल-बा(धिमाल,कसैले धमाल र कसैले धमला लेख्छन्)की छोरी माइलीले कुरै-कुरामा बाबुले तान्ने गरेको गाँजा केही दिनअघि तान्दा नशाले शब्दले वर्णन गर्न नसकिने रमाइलो सन्सारको अनुभव भएको सुनाई ।मीठो र राम्रो कुराले कसलाई तान्दैन ?मैले पनि त्यो सन्सारको रमाइलो पाउँन माइलीलाई गाँजाको व्यवस्था गर्न भनें।मबाट सँधै बहिनीको माया र साथीको अपनत्व पाएकी माइलीलाई उसको” किस्न दाजुले भनोस् र माइलीले नगरोस्” हुनै नसक्ने कुरा थियो ।

साँझ परेपछि बाबुको सुल्फा र माडेको गाँजा लिएर कोठामा माइली आई।र कोठातिर फर्किई।माइली बिदा भएपछि दुईचार जना मिल्दाजुल्दा साथी मिलेर गाँजा सल्काइयो ।गाँजा चढ्दै गएपछि माइलीले भनेजस्तै शब्दमा वर्णन हुनै नसक्ने कल्पनाको सन्सारमा विचरण गर्ने काम त भयो नै ।कहिल्यै गीत गाउँन नजान्ने मेरो गलाबाट सुरदासका सातै सुर खुल्न थाले ।त्यो बेला प्रचलित “तिरिरी मुरली बज्यो वनैमा…. भन्ने गीत रेडियोमा भन्दा राम्रो स्वरमा मेरो गलामा खुलेको अनुभव गरें ।छात्राबासमा रहेका हार्मोनियम,मादल र बाँसुरी मबाट अरुबेला बज्नु सम्भव थिएन तर छुनासाथ चमत्कार शैलीमा सुर-ताल मिलेर जुन बजायो त्यही बज्न थालेको अनुभव गरें ।आफ्नो प्रतिभा प्रस्फुटन भएकोमा मस्त हुँदाहुँदै निदाएको पत्तो पाइएन ।

भोलिपल्ट बिहान बाजा बजाउँन खोज्दा पूर्ववत् बजेनन् र गलाबाट गाना पनि सुमधुर स्वरमा खुलेन ।हिजोको गँजडी क्षणको प्रतिभा-प्रस्फुटन र काल्पनिक संस्सारको सम्झना स्मृतिमा ताजै थियो ।तर अहिले त्यो प्रतिभा र कला नहुमा गाँजा नै कारक रहेको निष्कर्ष निकालें ।अब दैनिक गाँजा तान्ने र आफूमा निहित प्रतिभालाई गीत-सगीतको माध्यमले देशमा चिनाउँने सोचका साथ प्रवेशिकाको परीक्षाफल नआएसम्म घरै नजाने निर्णय गरें ।त्यो दिन छात्राबास र वरपर बस्नेले “हिजोको मेरो कला र गला दुबै सुनेका छन् ।चार आँखा हुँदा हाँस्ने खुसी छन् भने वास्ता नगर्ने डाहले जलेका छन्” जस्तो लाग्यो ।खूब मच्चिएर दिनभर फुर्ती छाँटें।

दिउँसो बजार गएर छाताचौकस्थित पलिखे रेडियो पसलबाट टेप-रेकर्डर भाडामा ल्याएँ ।किनकि अहिलेजस्तो रेडियो र टेपरेकर्डर सुलभ थिएनन् ।गाँजा-सेवनपछिको गायन-वादनको दिव्य कलालाई टेपरेकर्डरमा कैद गर्ने सोच बनाएँ नै ।साँझ परेपछि अघिल्लै दिनको पुनरावृत्ति गरियो ।आफ्नो गलाबाट निस्केका गीतको अमृत-धारा र छोएर जीवन पाएका सात सुरलाई गाँजाको मजासहित कैद गरियो ।म आत्मसफलता र आत्मसन्तुष्टिले लबालब हुँदै निदाएँ ।

बिहान सबेरै उठेर टेपरेकर्डर खोलेर सुनेपछि पो मेरो होस खुल्यो ।गधाले पनि छिः भने बेसुरा गायन,सिङ न पुच्छरको वादन,उसमाथि नसाको सुरमा पोखिएको आत्मरतिको स्याल-गलाको हविगत जस्ताको तस्तै सुनियो ।गाँजाको नशा त रातीनै उत्रिएको थियो हो ।तर अहिले त मेरो सोच-दम्भ र नशादार आत्मरति पनि नराम्ररी उत्रियो ।म यो थाहा पाउने सबैको नजरमा त गिरेजस्तो लाग्यो नै ।बरु आफ्नो नजरमा पनि गिरेर लाजले पानीपानी भएँ ।यसबारे मलाई कसैले केही भनेन तर स्वयंले स्वयंलाई आजसम्म कुरीकुरी गर्दो छ ।जबजब मलाई आफूले जे गरें त्यो राम्रो गरें र मेरो पुरुषार्थलाई दुनियाले मुक्त कण्ठले प्रशंसा गर्दैछन् भन्ने लाग्छ त्यो बेला मलाई कुनै न कुनै रूपको गाँजाले नशा लागेको हुनुपर्छ भन्ने लाग्छ ।त्यो बल-विद्या बुद्धि-धन ज्ञान-मान सत्ता-शक्ति, जाति-धर्म जुनसुकै कुराको नशा हुनसक्छ ।त्यस्तो नशा चढेको बेला त आफूलाई उत्कृष्ट र दुनियाँलाई निकृष्ट ठान्न सकिन्छ तर नशा उत्रिएपछि र इतिहासले अडियो-भिडियो खोलेपछि चाहिं अरु र आफू दुबैको नजरबाट गिरिन्छ ।हामीले यो र त्यो पुरुषार्थ गर्यौ गर्यौं भनेर भजाएर खान खोज्ने वा मेरै गीत सुरिलो छ भनेर आत्मरति गर्जिनेले जीवनभर लज्जाबोध गर्ने परिस्थिति आउँदैन भन्ने छ र?

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *