कविता : यन्त्र

~सुवास खनाल~subash-khanal

यान्त्रिक कविताहरूको जुलुसमा
पठाउनु छैन
मैले मेरो कविता

यन्त्र कवितामा :
शब्दहरू ध्वाँस देखाउँछन्

उभिन्छन्
कविताका रङ्गहरू बदलिन्छन्

गोटीझैँ चालिन्छन्
कविताको
वैकल्पिक उद्येश्यहरू हुने गर्दछन्

यन्त्र कविता
बोक्ने गर्छ –बोझिल लेप लगाइएका शब्दहरूको भारि
र उसलाई सुहाउनु पर्छ
टाउकोमा रङ्ग भरेको कपालझैँ कृत्रिम शीर्षक
प्लास्टिक सर्जरी गरेको अनुहारझैँ रुप

कुनै बडी परफ्युमको उत्तेजित गन्ध बोक्ने शरीर

मेरो कवितामा
गन्हाउन सक्छ
बिरामी आमाको ओछ्यानमा खुस्किएको मूत
देखिन सक्छ
बाको श्रमको हैरानीले कमिजमा कट्कटिएको मयल
मेरो कविता
खोक्दो पनि होला पसेर क्षयरोग हजुरआमाको घाँटीदेखि
मेरो कविता
भएको हुनसक्छ
गोरुको काँधझै अह्ररो – दाजूको भारि बोक्ने ढाड

यन्त्र कविता घिनलाग्दो हुँदैन

मेरो कवितामा
चुहिन सक्छ पीप –समस्याका घाउहरूदेखि
बग्न सक्छ र्‍याल र सिँगान
अभावले आर्जेको
रोगका मुख र नाकहरूबाट
निस्किन सक्छ रगत
खाली खुट्टा हिँडनु पर्नाले
फुटेका कुर्कुच्चाहरूदेखि

यो स्वघोषणा
मेरो कविता सुन्दर छैन
तर यो प्रायोजित यान्त्रिक कविता पनि होइन ।

छतिवन 0८,पावस, मकवानपुर
हाल : भरतपुर चितवन

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *