कथा : मृत सहर

~ध्रुब सापकोटा~

ऊ ठिङ्ग उभिएको छ। सहरको पुछारमा छ। ऊ आफ्नो स्थान खोजिरहेको छ। ऊ यहाँसम्म एक्लै आइपुगेको छ। आफ्नो स्थान पाइरहेको छैन। त्यसैले एक्लै सहरलाई हेरिरहेको छ।

‘यता आऊ। मलाई ढोग। मलाई पुज। मलाई माया देऊ। मेरो आरती उतार। मेरो आराधना गर। म एक्लो भएँ। म नितान्त एक्लो भएँ।’ मन्दिरको देवता करूण क्रन्दन गर्छ।

‘अहँ। म आउन्न। म कसैको पुजारी हुन चाहन्नँ। म कसैको आरती उतार्न चाहन्नँ। म कसैको भाकल पनि गर्न चाहन्नँ। तिमी आफ्नो पुजारी आफैँ खोज।’ ऊ प्रस्ट भन्छ।

‘म पुजारी खोज्न कहाँ जाऊँ ?’ देवता रुन थाल्छ।

‘तिम्रो पुजारी कहाँ गयो ?’ ऊ प्रश्न गर्छ।

‘भाग्यो।’ देउता जबाफ दिन्छ।

‘भाग्यो ?’ ऊ फेरि प्रश्न गर्छ।

‘उसको मान हुन छाड्यो। उसको सम्मान हुन छाड्यो। उसले भेटी पाउन छाड्यो।’

‘ऊ त तिम्रो भक्त थियो। ऊ तिम्रो पुजारी थियो। ऊ त तिम्रो सेवक थियो। जीवन नै तिमीलाई अर्पण गरेको भन्थ्यो। जीवन नै तिमीलाई सुम्पेको भन्थ्यो।’

‘ऊ मात्र किन ? उसका पुर्खाहरू पनि मेरा पुजारी थिए। ती पुर्खाहरूका अनगिन्ती सन्तानहरू हुन्थे। एकैपल्टमा तिनीहरू धेरै स्वास्नीहरू ल्याउँथे। तिनीहरूबाट जन्मेका सन्तानहरूमध्ये को मेरो पुजारी हुने, त्यो विषयमा झगडा हुन्थ्यो। त्यो झगडा घरबाट फुत्केर अदालतसम्म पुग्थ्यो। तिनीहरू सबैको जिकिर हुन्थ्यो- असली पुजारी म हुँ।’

‘अहिले ती सन्तमहन्त कहाँ पुगे त ?’

‘साराका सारा भागे।’

‘एउटै पनि रहेन ? तिमीलाई देउतासम्म पनि मानेनन् ?’

‘मानेनन्।’ देउता छोटो उत्तर दिन्छ।

‘त्यसो भए ती तिम्रा भक्त रहेनछन्। तिनीहरू भेटीका भक्त रहेछन्। तिनीहरू दक्षिणाका भक्त रहेछन्। तिनीहरू आदर्शका भक्तहरू रहेछन्।’ उसले जबाफ दिन्छ।

‘मलाई एकपल्ट त पुज।’

‘अहँ। मैले अघि नै भने। त्यो काम म गर्न चाहन्नँ। म स्वतन्त्र हुन चाहन्छु। स्वतन्त्र भएर मर्न चाहन्छु।’ देउता रुँदै थियो। रोओस्। जीवनको कठोर यथार्थ यसले पनि भोगोस्। मान्छेको स्वभाव यसले पनि बुझोस्। मान्छेको आदिम रूपको अनुभव यसले पनि गरोस्। ऊ त्यहाँबाट हिँड्यो।

ऊ अर्कै ठाउँमा पुगेर ठिङ्ग उभिएको थियो। देउताले कचकच गर्ने अब कुनै सम्भावना थिएन। उसलाई त आफ्नो स्थान खोज्नु थियो। उसले अनुमान गर्‍यो- यदि यस्तै हुने हो भने केही दिनमा यो पनि मर्छ। यसको अस्तित्वसम्म पनि रहँदैन।

‘मलाई हेर्न छोडेर किन उभिएको ?’ चौतारीले उसलाई बोलायो। यो चौतारी सहरको बीचमा थियो रूखमुन्तिर। यो चौतारीको निर्माणका लागि एउटा समिति गठन गरिएको थियो। त्यस समितिमा यस सहरका फटाहा, गुन्डा र स्मग्लरहरू सदस्यमा रहेका थिए। त्यसो त यो बाध्यता नै थियो। तिनीहरूबिना यस सहरमा कुनै समिति बन्न सक्तैनथ्यो। तिनीहरूले कसरत गरे। निकै छोटो समयमा नै मोटो रकम जम्मा गरे। चौतारी निर्माणका लागि समिति गठन गरेदेखि निर्माण समाप्त नहुन्जेलसम्मको हिसाब प्रस्तुत गरियो। त्यसबाट प्रस्ट देखियो – आधा रकम खाजा, बैठक र भ्रमणका लागि भएको रहेछ। आधा निर्माणका लागि।

यसबाट नगरवासीहरू प्रसन्न थिए। तिनीहरूलाई यो मतलब थिएन, खर्च कति भयो। एउटा कुरामा भने तिनीहरू चिन्तित थिए, यो आजै भत्किने होइन ?

‘एकछिन त सुस्ताउनोस्।’ चौतारी आग्रह गरिरहेको थियो।

‘अहँ। म सुस्ताउन्नँ।’ उसले इन्कार गर्‍यो।

‘लाज लागेर नसुस्ताएको ?’ प्रश्नकर्ता चौतारी थियो।

‘त्यहाँ फोहोर छ। फोहोरमा म बस्न सक्तिनँ।’

‘फोहोर त्यति ठूलो समस्या होइन। फोहोर त बढारे भइहाल्यो नि।’

‘तिमीलाई त्यति छिटो सफा कसैले गर्दैन। यो बढार्न एउटा योजना बनाउनुपर्छ। कार्यदल गठन गर्नुपर्छ। त्यसरी दिएको प्रतिवेदनको आधारमा विदेशीहरूसँग सहयोगका लागि अनुरोध गर्नुपर्छ। ऋणका लागि हात पसार्नुपर्छ।’

चौतारी झस्कियो। उसले अनुमान गर्न सकेको थिएन, रूखबाट चराहरूले गरेको सामान्य फोहोर, हावाले उडाएर ल्याएको सामान्य धूलाको कण हटाउनका लागि यतिबघ्न कष्ट सहनुपर्छ। एउटा महाभारत जस्तै कठिन काम बन्नेछ।

‘म त्यत्तिकै कुरुप भएर खतम हुन्छु त ?’

‘त्यो त थाहा छैन, त्यो मेरो सरोकारको विषय पनि होइन।’

धेरैबेर ऊ उभिइसकेको थियो। त्यो पनि एउटै ठाउँमा होइन, दुईदुई ठाउँमा। चियाको तलतल लाग्यो। चुरोटको तलतल लाग्यो। उसलाई तिर्खा पनि लाग्यो। चारैतिर हेर्‍यो। एउटा होटेल देख्यो। गयो। होटेलमा अगेनुमाथि एउटा कुखुरा झुन्डिएको थियो – सुकुटी बन्दै गरेको।

‘भोक लागेको भए कुखुरा खानोस्।’ बच्चा काखमा लिएकी एउटी अधबैँसे आइमाईले आग्रह गरी।

‘म खान्नँ।’

‘किन ?’

‘किनकि म भात लाइनको परेँ।’

‘त्यो भनेको के हो ?’ आइमाईले किञ्चित् आश्चर्य मान्दै प्रश्न गरी।

‘बुद्धको देशमा बसेर कुखुरा खानु ठीक भएन।’

‘बुद्धको देशमा बसेर घूस खान हुने, कमिसन खान हुने, कुखुरा मात्र खान नहुने ?’तिनको यो प्रश्न रमाइलो मानेर सुन्यो। तिनको चेतनाको मनमनै प्रशंसा गर्‍यो।

‘हो। बुद्धको देशमा तर्कको काम छैन।’ तिनका लागि यो उत्तर नयाँ थियो। तर्कले कतै पनि काम गर्न छोडेको तिनले बुझिन्।

उसलाई उत्तरमात्र दिनु थिएन। चिया त खानु नै थियो। चिया बन्दै थियो। चिया बनाउँदै तिनले भनिन्- ‘चिया मात्र बेचेर यो जीवन कसरी धान्ने होला ?’ धनी हुने सपना कसरी पूरा होला ?’

‘तिमी त यस ठाउँकी होइन जस्ती छ्यौ। किन आएकी ?’

‘धनी हुन। तर जहिलेदेखि यहाँ आइयो, यहाँका मान्छे अन्त भागे। कुसाइतमा परिएछ।’

‘प्रवाहसँगै बहन नजान्ने मान्छे डुब्छ। निसासिएर मर्छ। सिद्धिन्छ।’ यतिभन्दा बाहेक अर्को शब्द उसको मुखबाट निस्किएन।

एउटा गुरु बनेर एक चिया खाँदा उसले अर्ती हान्यो। मरेको सहरमा आएर ज्ञानका कुरा गर्न हास्यास्पद लाग्यो। उसलाई धनी हुने बाटाको लागि प्रश्न आउन सक्थ्यो। तिनले मायामोहका कुरा गर्न सक्तिनन्। मान्छे सङ्गतपछि कमजोर हुन थाल्छ, भावुक पनि बन्न सक्छ। उसले त्यहाँ धेरैबेर अल्झनु परेन। ऊ उठ्यो। नजिकै सुँगुर कुदिरहेको थियो। छेउमा आएको सुँगुरलाई गाली गर्‍यो। पैसा तिर्‍यो। अगाडि बढ्यो। उसलाई लाग्यो- जमेको पानी प्रदूषित हुन्छ। एउटै रूखमा गुँड लाउने बानी पर्‍यो भने रूख ढल्दा गुँड नै खस्छ।

अतिथिसदनलाई हेर्‍यो। यसको भव्यता समाप्त भइसकेको थियो। त्यसभित्र उसलाई जान मन लागेन। त्यसको आडमा सुस्ताउन पनि मन लागेन।

‘एक रात सुते भइहाल्छ नि।’ अतिथिसदनको गुनासो थियो।

‘मेरो पवित्रता नष्ट हुन्छ।’ उसले जबाफ दियो।

‘कसरी ?’ अतिथिसदनले यस्तो जबाफ सुनेको थिएन।’

‘मेरा लागि तिमी प्रवेश निषिद्ध थियौ।’

‘हो।’

‘त्यसो भए म अहिले किन प्रवेश गरूँ।’

‘किनभने ती अतिमहत्त्वपूर्ण मान्छेहरू यहाँ आउन छाडे। यहाँ बस्न छोडे। अब उनीहरूले फुटाएका चुराका टुक्राहरू, कुखुराका प्वाँखहरू, रक्सीका खाली बोतलहरू, कन्डमहरू र स्याम्पोका खोलहरू मात्र बाँकी छन्।’

लिउन उप्केको अतिथिसदनलाई, त्यसको नष्ट भएको इज्जतलाई उसले हेर्‍यो, भित्रबाट अनुभव गर्‍यो। फुटेको गमलामा उसको खुट्टा पर्‍यो – त्यहाँ फूल ओइलाएको थियो, मरेको थियो।

घाँसको चउरमा आइपुग्दा उसलाई साथ दिने कोही थिएनन्। फुटबल खेल्ने चउर थियो। खेलाडीहरू थिएनन्। स्कुल थियो, पढ्ने विद्यार्थीहरू थिएनन्। त्यसको एक कुनामा एउटा घर थियो। कुनै बेला यो टिकटघर हुनसक्छ। यहाँ एउटा मान्छे जुम्रा मारेर बसिरहेको थियो।

‘तिमी यहाँको पाले हो ?’

‘होइन हजुर म त धेरै टाढाबाट आएको मान्छे।’

‘यहाँ किन आयौ ?’

‘काम खोज्न।’

‘काम पायौ त ?’

‘पाएको छैन।’

‘काम नै नपाउने ठाउँमा किन आयौ त ? यहाँ नै काम पाइन्छ भन्ने कुरा कसरी थाहा पायौ त ?’

‘गाउँमा यही हल्ला थियो।’

‘यहाँ आउँदा के भयो त ?’

‘यहाँ आउँदा सहर मरिसकेछ।’

‘तिमी आफ्नो गाउँ फर्केर नगएर यहीँ किन बस्यौ त ?’

‘म बिरामी भएँ।’

‘बिरामी भए अस्पताल जाने।’

‘मरेको सहरमा अस्पताल छैन।’

‘गाउँमा खबर पठाउनू, तिम्रा आफन्तहरू तिमीलाई लिन आउँछन्।’

‘मरेको सहरमा हुलाक छैन।’ मरेको सहरमा धेरैबेर छलफल गर्न हुँदैन। मरेको सहरमा जति बढी छलफल गर्‍यो, समस्या थपिँदै जान्छ। उसलाई लाग्यो, धेरैबेर बस्यो भने, यो बिरामीको ठाउँमा उसको स्थान हुनेछ, यो देउताको ठाउँमा उसको स्थान हुनेछ, यो होटेलका ठाउँमा उसके स्थान हुनेछ, यो अतिथिसदनको ठाउँमा उसको स्थान हुनेछ र उसको अस्तित्व त्यो कुखुराको भुत्लाजत्तिको पनि हुने छैन।

उसलाई पिसाब फेर्न मन लाग्यो। मरेको सहरमा जहाँ पिसाब फेरे पनि हुन्छ, नियमकानुन हुँदैन। मरेको सहरबाट निकैबेर हिँडेपछि एउटा मर्दै गरेको सहरमा आइपुग्यो। बल्ल उसले सास फेर्‍यो। एउटा सन्तोष भने उसलाई भयो- मरेको सहरका बारेमा अब ऊ व्याख्या गर्न सक्ने भैसकेको छ। समस्या भोगेको थियो। त्यसपछि त ऊ विश्वासका साथ भन्न सक्थ्यो- मरेको सहरमा के के पाइन्छ ?

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *