कथा : फूल बेच्ने केटी

~रजित ओझा~Rajit Ojha

“भन त म आज कस्ती देखिएकि छु होला ?”

फोन सुधाले नै गरेकी थि ।बिहानै त मैले उसलाई देखेको हो ! अब तिन घण्टा मै के परिवर्तन आयो होला र उसमा ? उ अझै पनि गोरी चौडा निधार भएकै होली , त्यहि निधारमाथी सानो टिका लगाई होली । सँधै जस्तै स्ट्रेट गरेको कपाल लाई खुल्लै छोडेकै होली , अनि कुनै हिन्दि सेरियलको रोमान्स हेरेर त्यसैमा डुबेर भावुक भएर मलाई फोन गरेकी होली । मलाई भने यस्तो प्रदर्शन देखि झर्को लागेर आउँछ । अब अफिसमा काम गरिरहेको बेला पनि के म आफ्नो प्रेमको प्रदर्शन गर्दै चिच्याउँ म तिमीलाई एउटा मुर्ख जत्तिकै माया गर्छु , पक्कै तिमीलाई सहने मान्छे मुर्ख नै हुनु पर्छ भनेर ?

“एकदमै राम्री देखिएकी छौ होला।“ मैले बिस्तारै भनेँ यता उता हेर्दै । मलाई आफ्नो रिस देखाएर उसको चित्त दुखाउन पटक्कै मन लाग्दैन । नजिकैको टेबलको नारद मलाई क्वारक्वार्ति हेर्दै थियो। उसको ध्यान भने आफ्नो टेबलका फायल र कामहरु भन्दा अर्काका सेलमा आएका कलहरु , बोल्दाखेरिको एक्स्प्रेसन मा हुन्छ । त्यसबाट उनि कस्ले कससँग गफ गरेको हो त्यसमा हुन्छ । त्यसमा उनलाई पारंगत हाँसिल छ ! तर म यसमा उसको दोष देख्दिन । उसले उसको बुढि बाट माया पाएको छैन र नपाएको चिजको इर्ष्या सबैलाई हुन्छ ।

“तिमी कति खेर आउँछौ कोठा ?” उसले सँधै जस्तै यहि प्रश्न राखी ।

“म अफिस सिधि्धिने बित्तिकै कोठा आउँछु । “ मैले पनि सँधै जस्तै जवाफ फर्काएँ । म मुस्कुराउने कोशिस गरिरहेको थिएँ मानौँ फोन बाटै भए पनि मैले सुधालाई मेरो मुस्कान देखाउनु पर्छ । मैले बुझिसकेको थिएँ अब यो वार्ता लामो हुनेवाला छ , मैले अब उसको तिन घण्टाको सारान्श कम्तिमा पनि पन्ध्र मिनट लगाएरै भए पनि सुन्नु पर्नेछ । त्यसैले मोबायल काँध र बाङ्गिएको टाउकोको भरले समातेर फायल हेर्नु मेरो बाध्यता थियो । साँच्चै बिहे पछि केटाहरु मल्टि डाईमेन्सनल हुन्छन् ,ढाँट्न सिक्छन् , बाहिरका समस्याहरु साना लाग्न थाल्छन किनकि घरभित्र नै उसले सबैभन्दा ठूलो समस्या सँग सम्झौता गरेको हुन्छ । तर जब जब त्यहि समस्याले सिन्दुर लाएर मेरो अगाडि आएको , चुरा बजाउँदै किचन मा चर्को नै भए पनि साग पकाएको र खुवाएको राति मेरो अँगालोमा त्यहि साग जस्तै लपक्क भएर हराएको अनि जाडोका बिहानमा पनि सरक्क मेरो न्यानो अँगालो छोडेर मेरो लागि चिया बनाएको पाउँछु त्यो समस्या पनि आफ्नि लाग्छे प्यारी लाग्छे ।

“कहिलै चाँडो आउनु छैन ,कहिले काहिँ त चाँडो आएर मलाई सर्प्राईज दिए पनि त हुने नि ! कत्ति न अफिस को सबै काम गर्ने ठेक्का नै उसैले लिए जस्तो ।“ उ थोरै लाडिई ,यदि उसको मुड भरे सम्म पनि बिग्रिएन भने त्यो मेरो लागि बोनस नै हुनेछ मैले मनमनै सोचेँ ।

“तिमीलाई थाहा नै छ भने सर्प्राईज कसरि हुन्छ त ? “ आफ्नो कुर्सि मा ढल्किएर फाईल टेबलमा थाँति राख्दै एउटा हातले घडि हेर्दै मैले सुधालाई सोधेँ ।

“थाहा छैन मलाई , म बुझ्दिन तिम्रा कुरा ! “ मलाई थाहा छ उ रिसाएकि होईन मात्र थोरै घुर्कि लगाएकि हो । कहिले काहिँ हाँस उठेर आउँछ मलाई उसको स्वभाव देखि !

एकछिन सम्म उहि साधारण हामीलाई बोल्न झर्को नलाग्ने अरुलाई सुन्न झर्को लाग्ने गफ भएपछि सुधाले फोन राखि । मैले कम्प्युटरको आफुले काम गर्दै गरेको एक्सेल फायल सेभ गरेँ अनि सोचेँ यो काम पर्सि सम्म सक्नु पर्ने भने पछि म सँग अझै पुरा भोलि बाँकि छ ।

………………….. ………………………. …………………….. ………………………

बहाना बनाएर हाकिम बाट कोठा जान स्विक्रिति लिए पछि म आफ्नो कोठा तिर लागेँ । पानी सिमसिम परिरहेको थियो बाइकको सिट भिजेको रहेछ डिक्कि मा राखेको कालो कपडाको टुक्राले पुछेँ अनि रेनकोट लगाएर आफ्नो कोठा तिर हुईँकिएँ । बाटो आज पानी परेकाले होला ट्राफिक त्यति धेरै थिएन । बाटामै पर्ने नयाँ खोलेको फूल पसलमा मेरो आँखा गयो , अनि सोचेँ सुधालाई रातो गुलाफ असाध्यै मन पर्छ , बाइक रोकेर भित्र छिरेँ ।

लम्बाई भन्दा चौडाइ कम भएको कोठा थियो धेरै लामो ! पर पर सम्म फूल राखेको । एउटा रातो गुलाब काउन्टरको को एउटा कुनाको ठिक्क माथि राखेको थियो ।

“त्यो गुलाब सजाउनलाई मात्र हो or is it for sale ?” मैले आफ्नो हेलमेट काउन्टरको अग्लो काठले बनाएको भागमा राख्दै औँलाले त्यो गुलाबलाई देखाउँदै सोधेँ ।

“It is for sale “ काउन्टरमा भएकि केटीले जवाफ फर्काई । आवाज मधुरो थियो । यति मधुरो कि अघि सम्म ध्यान नदिएको अनुहारमा म फेरि एक चोटि पुलुक्क हेर्न बाध्य भएँ । कालो कालो तर पनि हिस्सि परेको मुस्कुराउँदा उज्यालो देखिने अनुहार ,गला सम्म आउने घुम्रिएको कपाल अनि कपाल फैलिन रोक्न जडेको रातो चम्किलो चिम्टि , सिधा टपक्क मिलेको नाक , नाकको सानो फूलि लिपस्टिक बिनानै पनि पर्याप्त रातो अनि ग्लसले गर्दा अझ चिल्लो भएको ओठ त्यो अनुहार हत्तपत्त बिर्सिने खालको अनुहार पक्कै पनि थिएन ।

“मलाई त्यो फूल निकालिदिनुहोस् न त !” मैले आफ्नो ध्यान फेरि गुलाफको फूलमा लगेँ ।

“आफैँ झीक्नुहोस् न ल प्लिज , आज काम गर्ने मान्छेहरु पनि छैनन् दोकानमाँ ! “

मैले पुलुक्क उ तिर हेरेँ । अचम्म लाग्यो त्यो गुलाफ काउन्टरको भित्रबाट नजिक पर्थ्यो मैले त्यो झिक्न बाहिर बाट अलि बल लगाएरै लम्किनु पर्थ्यो भने उ उठ्दा मात्र पनि भेट्टाउँथी । यस्तो मान्छेले दोकान किन गर्नु होला मलाई झनक्क रिस पनि उठ्यो ।

“तँपाई बसेको ठाउँ बाट नजिक पर्छ र पो भनेको त ? कस्टोमरलाई कसरि ट्रिट गर्ने पनि थाहा छैन तँपाईलाई ? “ म थोरै झर्किएँ ।

“सरि तँपाईको इन्कन्भेनियन्सको लागि , मेरो दाहिने खुट्टा प्यारालाइसिस् भएको छ तँपाईले ठिकै भन्नु भएको हो हुन त म रिसेप्सन मा बस्नु नहुने हो मैले साधारण मान्छेहरुले गर्ने जब नगर्नुपर्ने हो । “ उसको अनुहार मा मुस्कान यथावत थियो ।

“सरि !” धेरै बेरको प्रयास पछि बल्ल मैले यि शब्दहरु निकालेँ ।

” माया र सहानुभुतिमा एउटा झिनो अन्तर हुन्छ , तँपाईले म माथि सहानुभुति देखाउन खोज्नु भएको हो भने मेरो भन्नु केहि छैन तर यदि माया देखाउन खोज्नु भएको हो भने सरि नभन्नु भएको भए म ज्यादा खुशि हुने थिएँ ।” उसले आफ्नो मुस्कान यथावत राख्दै भनि ।काँडा बिचमा फूलेको फूलझैँ मुस्कान ।

म उसलाई हेरिरहेँ अनि काउण्टरको भित्रि भागमा छिरेर त्यो रातो गुलाफ झिकेर बाहिर निकालेँ र त्यहाँ लेखिएको प्राईस ट्याग अनुसारको पैसा पर्स बाट झिकेँ ।उसले आफ्ना लामा औँलाहरुले नजिकैको कालो कलम समाति र मेरो रिसिप्ट बनाईदिई । उसको औँलापनि कुशल नर्तकि जस्ता लाग्दथे जब रिसिप्टमा कुद्दथे कस्ले भन्छ उसलाई प्यारालाईसिस भएको छ भनेर !

…………….. ……………………. …………………….. …………………… ……………

बाहिर निस्किँदै गर्दा पनि मैले उसलाई फर्केर हेर्न सकिन । अथवा भनौँ उसको छाप यसरि गाडियो कि आँखा अगाडि नै थिइ बाहिर निस्किँदा पनि ! बाटो पनि उसको बारेमा नै सोच्दा सोच्दै कसरि बित्यो पत्तै भएन ।कोठा पुग्ने बित्तिकै मैले सुधालाई अँगालो मारेँ । उसले एकछिन मलाई साथ दिई त्यसपछि टावेल लिएर आई मेरो कपाल पुछिदिन , म खासै भिजेको त थिईन तर पनि उसको आत्मियता लाई म नाई पनि त भन्न सक्दिन !

“आज त साँच्चै चाँडो नै आउनु भएछ नि ! कहिले काहिँ त मैले भनेको पनि मान्नुहुन्छ जे होस् । ” उसको अनुहारमा अनौठो किसिमको दिप्तता आउँछ जब म उसले चाहेका कुराहरु पुर्याउने गर्छु । मानौ उसको सम्पुर्ण खुशिको दायित्व म मा छ र उसले पाउने दुखको जिम्मेवारि पनि मैले लिनुपर्छ । उ म बाट शुरु भएर म मा नै अन्त्य हुन्छे । आफ्नो काखमा मेरो टाउको राखेर उ मेरो कपाल खेलाईरहेकि थिई । उसले पालेका नङ्ग हरुको तिखो स्पर्श मेरा केस्रा केस्रा केशमा पसिरहेको थियो , एउटा एनेस्थेसिया जस्तो , बिस्तारि बिस्तारै उसर गर्ने कुनै दवाई जस्तो !

“भन न त किन बोलाएकि आज चाँडै ? चाँडै आएर पनि कुनै उपलब्धि त भएन मलाइ , भयो भन त ? ” मैले उसलाई जिस्क्याउँदै भने ।

“किन नि त्यसै नि ,आफ्नो लोग्ने मा पनि अधिकार जताउन नपाउनु ?” उसले उत्तर फर्काई ।

“पाउँछौ बाबा पाउँछौ ! ” मैले आफ्ना दुई हात उसको कम्मर मा बेर्दै भनेँ ।

“छाड्नुस त मलाई एकछिन , म तात्तातो चिया खुवाउँछु ,पानीमा भिजेर आउनुभएको त्यहि पनि बाईकमाँ , जाडो भइरहेको होला ! “

उ हत्तपत्त उठी कपाल को जुरो मिलाउँदै ,वास्तवमै बाठि छे सुधा जब थाहा पाउँछे उसको स्पर्शको , उसको अँगालोको उसको न्यानोपनको सबैभन्दा बढि आवश्यकता छ मलाई उसलाई चिया , बिहान नमाझेका भाँडाहरु , टेलेभिजन माथिको धुलो सफा गर्नुपर्ने , बिहानको निउजपेपरको कुनै सडेको निउज , अनि भख्खर सिक्न खोजेको कुनै डिसको रेसिपि जस्ता कुराहरु याद आउँछ । हुन त यो उसको म माथि आधिपत्य जमाईराख्ने एउटा नया उपाय पनि हुनसक्छ । उ किचन तिर लागि । म समय कटाउन रिमोट बटार्न तिर लागेँ । हुन त मलाई त्यहाँका कुनै च्यानलमा खासै चासो छैन तै पनि एउटा नयाँ म्याराथन मा भाग लिए जस्तो चिया नआउन्जेल म रिमोट बटारिरहेँ ।

सुधा चिया लिएर भीत्र छिरी , मैले रिमोट खेलाउन छोडिन ।

“चिया आयो हेर्नुहोस् त हरर बास्ना आउने तात्तातो ,,,,,,,,,,,,,,,,,,,,कत्ति केटाकेटीले जस्तो रिमोट खेलाउनुभएको ?” सुधाले मेरो हातको रिमोट खोस्दै भनी !

“अब प्लिज सिरियल चाहिँ नहेर है ! अफिस बाट चाँडो बोलाएर सिरियल हेराउने प्लान त हैन होला तिम्रो !” मैले पनि उसको हातबाट रिमोट खोसेँ ।

“हेर त सध्येको केटाकेटी जस्तो जिस्केको !” उसले यसपालि फेरि मेरो हातबाट रिमोट खोस्दै मुस्कुराउँदै जवाफ फर्काई ।

“न केटाकेटि हुन दिन्छ्यौ न ठुलोमान्छे हुन दिन्छ्यौ !” मैले टेलेभिजन तिर अनुहार फर्काएँ ।

“मैले कहिले तिमीलाई ठूलो मान्छे हुन दिईन भन त ? ” सुधाले मेरो अनुहार आफ्ना दुई हातले मेरो तिर फर्काउँदै प्रश्न सोधी ।मैले उसको अनुहार हेरेँ उसको अनुहार मा बल्ल आग्रहको भाव देखियो ।

“ल भयो मलाई रिमोट चाहिएन ,जे हेर्नु छ हेर न त ! ” मैले सोफामा अडेसा लाग्दै सुधाले बनाएको तात्तातो हरर बास्ना आउने मिठो चिया सुरुप्प पार्दै जवाफ फर्काएँ ।

सुधाले टेलेभिजन निभाईदिई रिमोट सोफा मा फ्याकिदिई अनि बिस्तारै मेरो छातिमा अडेसा लागि ।उसको आग्रह बढ्दै गयो । यसपालि केश सुम्सुम्याउने पालो मेरो थियो ।

………………. ……………………. …………………. ………………….. ………………

“मैले तिमीलाई केहि ल्याईदिएको छु ।” ओछ्यान बाट अलिकति तन्केर मेरो झोला तानेँ । सुधाले त्यो मेरो अफिसको झोला सँधै मेरो सिराने को छेवैमा राखिदिने गर्छे । बिहान खोज्नलाई सजिलो हुन्छ अरे । मैले झोला बाट प्लास्टिकमा बेरिएको रातो गुलाफ निकालेर उसलाई दिएँ । मन त मलाई त्यो रातो गुलाफ सँग जोडिएको घटना पनि भन्ने थियो तर किन किन भन्न सकिन । सुधा अझै मेरो छातिमै टाँस्सिरहेकि थिई ।

“यो गुलाफ कत्ति राम्रो छ हगि ?” धेरै बेर खेलाएपछि सुधाले मलाई प्रश्न राखि !मलाई भने त्यो गुलाफ ले फेरि आज दिउँसोको घटना ,त्यो फूल बेच्ने केटी , उसको बिवशता ,बिवशतामा पनि मुस्काउन सक्ने उसको साहस याद दिलाईरहेको थियो ।

“छन त छ केहि यसमा ,काँडा बिचमा पनि मुस्कुराउँछे ,चोट खपेर तै पनि तिमी जति राम्री छैन । ” मैले उसको केश खेलाउँदै जवाफ फर्काएँ । सुधाले अझ मलाई जोरले कसी । म भने उसको कसाई लाई दाँजिरहे । मलाई आज एउटा प्रश्नले धेरै सताईरहेको छ मेरो खुशीको सिमा सुधा बाट शुरु हुन्छ वा सुधामा गएर अन्त्य हुन्छ ?

आज बिहानको आकाश बाट उदेयमान प्रकाश अचम्मको थियो एकदम नै चर्को ,हिजो रात भरि चट्याङ्ग ,हावाहुण्डरि आएर एउटा ठुलै युध्दको समाप्ति पछि बल्ल बिहान आकाश खूलेकोले होला । म आलस्य मानेर ओछ्यानमै पल्टिरहेँ । सुधा भने उठिसकेकि थिई , तर सँधै जस्तै उसको पुजापाठ सिध्धिएको थिएन । मलाई यस्तै यस्तै सुधाका बानिले अचम्म लाग्छ , आजकल को जमाना मा पनि मैले यस्ति ब्रतालु ,भगवानमा आस्था राख्ने पत्नि पाएको छु । वास्तवमा धेरै कुराको फ्युजन छ सुधामा ! म हरेक दिन उसमा नयाँ गुण पाउँछु , उसको नयाँ प्राक्रितिक स्वरुप देख्छु र जत्ति उसको नयाँ गुणलाई म पुरानो गुण सँग दाँज्दछु मलाई नयाँ सुधा एकदम प्रिथक लाग्छे पुरानी सुधा भन्दा , उ हरेक चौतारिमा पुरानि सुधा छोडेर नयाँ काँचुलि लिएर अघि बढे जस्तो ।

“के हेर्नु भएको त्यस्तरि क्वारक्वार्ति , खाउँला जस्तो गरेर , रातभरि पनि सुत्न दिनु छैन ,बिहानै उठेर पनि हेरेको हेरै !”

उसले पुजाको थालि सँधै थन्क्याउने कुनामा नै थन्क्याउँदै मलाई आरोप लगाई । मलाई थाहा छ रात मेरो मात्र होईन उसको पनि हो । उसको समर्पण र मेरो ग्रहणको हो । यति समर्पित हुन्छे उ म मा कि उसले आफुलाई बिर्सन्छे त्यहि भएर त उ मेरी प्यारी हो । मलाई यो पनि थाहा छ उसको र मेरो सम्बन्धमा मात्र रात छैन , मलाई दिउँसो अफिस जाने बेलामा देखाउने उसको घुर्कि , उसको सानो सानो कुरामा ठुस्किने बानि ,अनि अनावश्यक बेलामा प्रकट हुने उसका बालापन पनि प्यारो छ र शायद यो उसलाई पनि थाहा छ कि उ रिसाएको मलाई मन पर्छ , उसको घुर्कि हेर्नलाई मात्र भए पनि बेला कुबेला म उसको अनुहार नियालिरहन्छु र त्यहि भएर त उ भित्र भित्रै आनन्दित नै भए पनि म सँग असन्तुष्टि जनाईरहन्छे , म सँग रिसाएझै ढोङ्ग गरिरहन्छे । उसको र मेरो अघोषित सम्झौता जस्तो म त्यहि मात्र मनपराउने छु जे सुधाले गर्नेछे र सुधा त्यहि मात्र गर्नेछे जे म मन पराउँछु भने जस्तो ।

“मेरो हेर्ने नै तिमी बाहेक अरु के छ भन त !” मैले उसलाई चिल्लो घस्दै भनेँ ,मलाई थाहा छ आईमाई मान्छेहरु प्रशंसाका भोका हुन्छन् । सुधा पनि ति मध्येका अपवाद पक्कै पनि होईन ।

“चेपारे !”

सुधा किचन तिर लागि ।म भने नजिकैको कान्तिपुर ओल्टाई पल्टाई गर्न तिर लागेँ । मेरो कान्तिपुर ओल्टाई पल्टाई गर्ने कुनै रहर हैन यो मेरो दैनिक बिवशता हो जति खेर सुधा म भन्दा थोरै नै सहि तर पनि टाढा हुने गर्छे । टेलेभिजन र दैनिक समाचारपत्रहरु मलाई दैनिक बिवशता मात्र लाग्छ आजकल । यहाँसम्मकि मलाई आजकल हरेक समाचार उस्तै लाग्छन् । मलाई लाग्छ मेरो सम्बन्ध आजकल कुनै समाचारसँग छैन । म आफुमै , आफु भित्रै र आफ्नो परिधिमैँ खूशि छु सन्तुष्ट छु । तै पनि म समाचारपत्रहरु पल्टाउँछु ।यो हरेक साधारण मान्छेको नियति होला ।

……………….. …………………….. ……………………. …………………………….

म आफ्नो उहि पुरानो तर पनि जतन गरेर चलाएको बाईक लिएर अफिस तिर लागेँ । सुधा मलाई झ्याल बाट हेरीरहेकी थिई । उ मलाई प्रायजसो म अफिस लाग्ने बेलामा झ्याल बाट हेर्न छुटाउँदिन । यो पनि हिन्दि सिरियलहरुको असर हुनुपर्छ । कहिले काहिँ लाग्छ एक्लै वाक्क हुँदि होला कोठामा बसेर । पढ्न लाई नै पनि मेरो लेभल मै पुग्न भ्याउने गरि नै पढेकि छे । अहिले ब्याचलर कम्प्लेट गरेकी केटी भनेपछि त , सि अभ्भिअसलि डिजर्भ्स ए जब ! जागिर खोज खा ,वा मैँ खोजिदिन्छु पार्ट टाईमनै भए पनि काम गर । खालि बस्नु भन्दा मान्छेहरु भेटिन्छ रमाईलो हुन्छ भन्छु भन्छु तर उ मान्दिन । यो पनि मैले सुधा मा अहिले सम्म बुझ्न नसकेको पाटो मध्येको एक होला ! शायद उसलाई समय कटाउन उसका आफ्ना सिरियल हरु नै प्यारा लाग्छन् ।

……………………. ………………………… ………………….. ………………………

आज हाम्रो बिवाह पश्चातको धेरै यस्ता कम दिन हरु मध्येको एक दिन थियो जसमा न मैले सुधालाई अफिसबाट फोन गरेँ न सुधाले मलाई घरबाट फोन गरी । मेरो ब्यस्तता लाई म दोष दिन्न । किनकि मैले समय निकालेर चिया खान जान भ्याएकै हो ।मैले उसलाई फोन गर्नु पर्छ भनेर सम्झेको पनि हो ।

“के हो सर आज फोन आएन भनेर टेन्सन मा हुनुन्छ कि कसो ?” नारद ले मलाई जिस्क्याउँदै सोधेको पनि थियो ।

“हैन ! सँधै सँधै गर्नुपर्ने के नै गफ हुन्छ र ?”

मैले उसलाई जवाफ फर्काएको थिएँ । र शायद त्यसैले गर्दा होला मैले आज सुधालाई आफिसबाट मन हुँदा हुँदै पनि फोन गरिन । उसको चियो बाट थोरै मात्र बच्न पाएको भए पनि म सुधालाई फोन गर्ने थिएँ । तर त्यहि हो सुधा र मेरो बिच के गर्दैछौ ? ठिकै छ ? ल राखे ! जस्तो सानो गफ त अवश्य पनि हुने थिएन । त्यसैले उसको चियो बाट बच्नु आज सम्भव थिएन । साँचै साँचो मायाका शत्रु हरु कारण अकारण बाटो बाटोमा भेटिन्छन् । आज मेरो माया को शत्रु नारद होईन मेरो आफ्नो समाजवाद भयो । मैले उसको सामु हार मात्रै मानेको भए पनि म सुधा सँग निर्लज्ज भएर गफ गरिरहेको हुन्थेँ उसलाइ जलाई जलाई । मलाई आज अफिस सिध्धिउन्जेल थुकथुकि लागिरह्यो ।

……………………….. ………………………… ………………………………………….

अफीसबाट फर्किँदै गर्दा बाटोमा फेरि आज पनि त्यहि फूल पसलमा गएर आँखा अडियो । हुन त बाईक चलाउँदा यता उता भन्दा बाटोमा ध्यान दिनु भन्छन् तर बिवश आँखाले हेर्न कर गरे । मेरो चेतन मनमाँ धेरै समय त्यो फूळ पसल नआएको भए पनि मेरो अर्ध चेतन मनमाँ त्यसले धेरै ठाउँ बनाएको हुनुपर्छ । त्यसैले त बाईकको थोरै स्पिड भने स्लो गरेको थिएँ जब म उस्को पसलको नजिकै बाट गुज्रिरहेको थिएँ ।त्यो पसलको वरिपरिको हावामा पनि फूलको बासना छरे झै लाग्थ्यो आज ।

बाहिरबाट देख्नैलाई प्रष्ट त देखिएन तर उ रिसेप्सन मै रहेको उसको धमिलो आक्रिति ले नै पनि पत्ता लाग्यो । हुन पनि उ कहाँ नै जान सक्थि र ? म दिउँसो अफिस मा नभेटिने पोसिबिलिटि कति नै हुन्छ होला र ? मलाई उ सँग एकचोटि राम्ररि कुरा गर्ने रहर थियो । उसको बोलिचालि र मुस्कान त अचुक थियो । मैले झलक्क रिसिप्ट मा नाच्दै गरेका उसका औँलाहरु पनि सम्झेँ । उ सर्लक्कै मेरो नजिकै आएको भान भयो मलाई अघि देखिएको उसको धमिलो आक्रिति बिस्तारै मानसपटलमा नेगेटिभ बाट चित्र निक्ले जस्तै स्पष्ट हुँदै हुँदै आयो । मैले बाईक बिस्तारै रोकेँ ठिक्क उसैको फूल पसल अघि । सुधालाई फेरि एउटा रातो गुलाफ लिएर जानुपर्ला मैले मनमनैँ सोचेँ ।

मेरो आगमनसँगै फूलहरुको बिचमा उसको मुस्कान पनि देखियो त्यो फुल पसलमाँ ! मनमा लाग्यो भनिदिउँ म आज तिम्रो मुस्कान किन्न आएको यहाँ फूलको सट्टा । तर मेरो कुनै बिशेषता छैन यसमाँ जसले उसको मुस्कान लाई तानेर त्यहाँ ल्याएको होस् , मेरो सट्टा जो सुकै नै भएको भए पनि उ एउटा क्रित्रिम मुस्कान उपहार दिई दिने थि गेट बाट छिर्ने बित्तिकै ! मलाई थाहा छ उसको मुस्कान बिवशता हो उसको जीवनको , त्यो मुस्कान शतप्रतिशत झुटो हो । तर कुनै कुनै झुट झुट नै हो भन्ने थाहा हुँदा पनि सुन्दर लाग्छन् । मलाई उसको मुस्कान राम्रो लाग्यो अचुक लाग्यो । म पनि मुस्कुराउन बाध्य भएँ ।

“चिन्नु भयो ?” मलाई थाहा छ तँपाई उसको कलिलो उमेर को पर्याय होईन तै पनि परिचय जति औपचारिक रह्यो त्यति पछिका कुरा हरु सजिला बन्दै जान्छन् ! उसका निधारमा थोरै सोचका धर्का कोरिएँ । उ सोच्दै थिई मलाई उसले कहाँ देखेकी हो भनेर । शायद उ सिधै अहँ चिनिन त भन्न चाहन्नथि । उ मैले चिने भन्दा मात्रै पनि आजको फूल ब्यापार मा केहि सहयोग भई नै पो हाल्छ कि भन्ने सोचिरहेकि थिई ।

“हिजो यहिँ आउनु भएको थियो होइन , गुलाफ किन्न ?” अन्य केटीहरुको भन्दा भिन्न जवाफ । उसले मलाई चिनेरै छाडी । सामान्यतय केटीहरु मेरो अनुभव मा चिनेकैलाई पनि नचिनेको अथवा स्वाङ्ग पारेर मात्र चिनेको देखाउन चाहन्छन् । उ भिन्न थिइ । मैले स्विकारोक्तिमा टाउको हल्लाएँ ।

“आज पनि केहि किन्न भनेर आउनु भएको ?” उसको बोलिमा स्वाभाविक आग्रह थियो ।

“हो हुन त , तर खोई हिजो जस्तो गुलाफ आज देखीएन !” मैले यता उति हेरे जस्तो गरी जवाफ फर्काएँ ।

“त्यो फूल पनि राम्रो छ त !” उसले परको सेतो रङ्गको फुल देखाई । कुनै बिदेशि फूल हुनुपर्छ त्यो । म जान्दिन त्यसको नाम !

“हिजोको भन्दा कम दाम अनि धेरै दिन सम्म ओइलिन्न । ” उसले फूलको बिशेषता थप्दै भनी ।

“होईन मलाई गुलाफ नै चाहिएको !”मैले आफ्नो जिद अगि सारेँ ।

मलाई थाहा छ यी सबै तुक नभएका कुरा हुन् । मेरो उ सँग रहर पुर्याउने गरी गफ गर्न मात्र म भित्र छिरेको हुँ र अन्त्यमा सान्त्वना स्वरुप उसको केहि न केहि मेरी सुधाको लागि अवश्य लागिदिनेछु यहाँ बाट । तर उसको र मेरो बिचको गफ लम्ब्याउनको लागि गफलाई फूल भन्दा अन्य टपिक्सहरु मैले सार्न सकिन ।

” आखिर के देख्छन लोग्ने मान्छे हरु गुलाफमा ? “

“के हुँदैन र भन्नुहोस त गुलाफमा ?” मलाई उसको प्रश्न अचम्मको लाग्यो त्यहि भएर मैले प्रश्नको उत्तर पनि प्रश्न नै दिएँ ।

“काँडा हुन्छ !” उ सोचमग्न थिई जब उ बोलिरहेकी थिई । के उ मलाई आफ्नो यथार्थ सँग परिचित गराएर मेरो नजिकै नआईज भन्न चाहन्थी । तर उसले कसरि थाहा पाई र म उसको नजिक आउन चाहन्छु वा उसलाई बुझ्न चाहन्छु भनेर ? यो पक्कै मेरो भ्रम मात्र हो ।

“मलाई काँडा भएकै फूल मन पर्छ । ” मेरो ईशारा उ तिरै थियो ।तर शायद उसले त्यो बुझिन । उसको र मेरो गफमा म पहिलो चोटि मुस्काएँ । उ पनि हाँसि ।

“तँपाई गफ गर्न सिपालु हुनुन्छ ।”

“धन्यवाद । दुई दिन भेट भयो लगातार तँपाईको नाम के हो जान्न सकिन्छ ? ” यसपालि मैले निर्लज्ज भएर मुख फोरेँ , कुनै माग्ने ले हात फैलाएर मागे जस्तो मैले उसको नाम मागेँ ।

“छाड्दिनुहोस् नाममा के नै राखेको छ र !” उसले हाँसी हाँसी मेरो आग्रह पचाईदिई । मानौँ मेरो आग्रहको केहि मुल्य छैन उसको अघि ! होस् पनि कसरी , क्रेता र बिक्रेता बिच नामको आदानप्रदान हुन पक्कै पनि धेरै समय लाग्छ , मैले अरु कुनै पसलमा गएर तँपाईको नाम के हो भनेर सोधेको छैन ।

“म एउटा कुरा सोध्छु नढाटिकन भन्नुहोस् है !” उसले फेरि हामी दुई बिच को मौनता भङ्ग गरी ।

“सोध्नुहोस न !”

“के तँपाई आज मेरो पसलमाँ साँच्चै फूल किन्न नै भनेर आउनुभएको ?” म पहिलो चोटि त्यहाँ पक्राउ खाए झैँ भयो । हो म त्यो पसलमा फुल किन्नै आएको हो , साँचो वा झुटो दैव जानोस् ।

“कोहि मान्छे फूल पसलमाँ फूल किन्न नभएर किन आउँछ त ?”मैले आफ्नो मुस्कानले आफ्नो नर्भसनेस लुकाउन खोज्दै जवाफ फर्काएँ ।

“हेन तै पनि जुन किसिमले तँपाई गुलाफ खोजिरहनु भएको छ , फुल किन्न आउनु केवल बहाना हो कि जस्तो लागेको मात्रै हो ! “

उसको बोलि साँच्चै एउटा अचुक हतियार जस्तै नै थियो , अब मैले बाहिर निक्लिने बेला मा केहि न केहि लिएरै निस्किनु पर्नेछ कम से काम उसलाई झुटो साबित गर्न लाई नै भए पनि ।हुन त म एउटा न एउटा फूळ अवश्य लिएर जाने थिएँ सुधाको लागि ।

“खासमा मलाई मेरि स्रिमति लाई गुलाफ बाहेक अरु कुन फूल मन पर्छ भनेर थाहा नभएर मात्र हो ।” मैले सुधालाई सम्झिदै भने । सुधा बिहान दुवै हात आफ्नो गालामा राखेर मेरो बाईक उसको नजर बाट हराउँदै गरेको कसरि एक टक हेर्ने गर्छे । यदि पुरुष र नारीको सम्पुर्ण अभिभारा परिवर्तन गरियो भने शायदै सक्छु होला म सुधा जस्तै झ्यालमा बसेर एक टक हेर्न ।

“तँपाईले आफ्नो स्रिमतिलाई बुझ्नु भएकै छैन !” उसे मेरो तन्द्रा भंग गर्दै भनि । उसले ठिक भनी । हो मैले सुधालाइ बुझेको छैन । म मात्र के संसारमा कुनै लोग्ने ले पनि उसकि स्वास्निलाई बुझेको छैन । उसले देखेको रुपहरुमा नै उ दङ्ग पर्छ मैले सबै कुरा बुझेको छु भनेर । उसले बिर्सिन्छ स्वास्निमान्छेको नदेखिएका रुपहरु पनि हुन्छन् भनेर । जो लोग्ने मान्छेले आफ्नि बुढिलाई माया गर्छ उसलाई मात्र पिर हुन्छ उसले आफ्नि स्वास्नि लाई बुझेको छैन भनेर !

“किन ? तँपाई कसरि भन्न सक्नुहुन्छ मैले मेरी स्रिमतिलाई बुझेको छुईन भनेर ? ” म उसको जवाफ चाहन्थेँ किन मैले मेरी स्रिमतिलाई बुझेको छुईन भनेर ।

“तँपाइले कसरि थाहा पाउनु भयो त तँपाईकि स्रिमतिलाई रातो गुलाफ मन पर्छ भनेर ?”

” उसले कहिल्यै नाक खुम्च्याएकि छैन जब मैले उसलाई रातो गुलाफ लगेर दिएको छु । ” यसपालि मैले उसका शब्दहरुको तुलनामा थोरै हलुका गफ गरेँ ।

“तँपाई जे दिनुहोस् तँपाईको स्रिमतिलाई मन पर्नेछ फगत त्यसमा खोट र स्वार्थ मिसिएको हुनुहुँदैन ।” उ पनि यसपालि मुस्काई । उसका शब्दहरु ले नजानिँदो तरिकाले मलाई उठ्न कर गरे । म बिस्तारै उठेर त्यहि फूल तिर गएँ जुन उसले शुरु मा देखाएकि थिई । त्यो फूल बिदेशि हुनु पर्छ ,मलाई त्यो फूलको नाम थाहा छैन ।

बाटो भरि लाग्यो लोग्ने मान्छे ढोंगि हुन्छन् , दोमुखे हुन्छन् , म जे आफुलाई दर्शाउँदै छु त्यो पनि त म रहेनछु । म सँधै भन्छु म सुधालाई माया गर्छु त्यो पनि हदैसम्मको । तर म स्वयंलाई थाहा छैन यो हद मा किन कोहि छिर्दैछ , अतिक्रमण गर्दैछ भनेर , म पल प्रतिपल फितलो हुँदैछु । मेरो माया बाँडिदैछ , हुन सक्छ त्यो फुल बेच्ने केटी सँग माया होईन क्षणिक आकर्षण मात्र हो , त्यसो भए जुन आकर्षणमा सम्पुर्ण रुपमा सुधाको स्वामित्व हुनु पर्ने हो त्यो बाँडिदैछ ,अनि किन त यस्तो ? बिवशता भन्नु बाहेक मेरो बिकल्प छैन ।

लोग्नेमान्छेको मायाको हद र स्वास्निमान्छेको हद दाँज्न सकिँदैन । म जुन किसिम जानी नजानी लक्ष पनि स्पष्ट नभई त्यो फुल बेच्ने केटी सँग नजिँकिँदै छु तानीँदै छु पक्कै पनि सुधा त्यसरि तानिन्न होला । वा म त्यो सहन गर्न सक्दिन । म सुधालाई पत्निको रुपमा होईन एउटा जतन गरेर राखेको सामान जस्को उपयोग मेरो दिनहुँ जीवनमाँ सँधै आउने गर्छ अनि म त्यो कसैलाई दिन चाहन्न , तर आफु भने अन्य सामानपनि चलाउन चाहन्छु त ? म सँगै प्रश्न हरु सहयात्रि बने त्यो दिनको यात्राको । मलाई बाटो बितेको पत्तो भएन अन्तिम टर्निङ्गमा थोरै सजग भएँ अब घर नजिकै आउँदैछ त्यहाँ मैले रोक्नु पर्नेछ । नत्र म आफ्नै घर बाट टाढा हुनेछु जहाँ मेरी सुधा मलाई पर्खिरहेकी होली ।म उसलाई पर्खाई रहन पक्के पनि चाहन्न । म चाहन्छु म सकेसम्म उसको पर्खाई चाँडो अन्त्य गरौँ ।

सुधा उस्तै थिई जस्तो मैले उसलाई बिहान छोडेर गएको थिएँ निश्छल , निर्मल र मेरो बाटो हेरीरहेकी ! मलाइ कहिलेकाहिँ लाग्छ उसका आँखाले म बाहेक अरु कुरा हेर्न जानेको छैन ,उ गान्धारिले जस्तै आफ्नो आँखामा पनि पट्टि लगाईदिनेछे जुन दिन उसले मलाई देख्न पाउने छैन । मेरो माया उसको अघि कति निरिह छ ,कति क्षुद्र छ ,कति क्रित्रिम छ अनि कति सानो छ !

“के भयो , सन्चो भएन हो ?” उसले मेरो निधार छामी । म मुस्कुराएँ । म उसलाई मेरो लागि चिन्तित भएको हेर्न चाहन्न ।

” कसले भन्यो तिमीलाई , मलाई सन्चो भएन भनेर ?”

” छ्या अनुहार अलि उत्रे जस्तो लागेर मात्रै सोधेको , भाउ पल्टिहाल्नु पर्छ हैन तँपाईलाई ?” उ रिसाई , मलाई थाहा छ उसको रिस पनि क्रित्रिम हो मेरो मुस्कान जस्तै ।

“खाजा के खानुभयो ?”आज उसले फोन गरेकी थिईन अफिसमाँ नत्र उसले यो प्रश्न सोध्ने थिईन ।

“पहिला यो भन तिमीले मलाई आज फोन किन नगरेकी ? ” मलाई उसको कुरामा केन्द्रित भएर उ भन्दा बाहिरका धेरै कुरा हरु बिर्सिनु थियो ।

“फोन गर्यो ,बेलुका आएर धेरै फोन गर्यो भन्नु छ ,गरेन किन नगरेकी भनेर सोध्नु छ , कुरै बुझि साध्य छैन कसै कसैको !”

उ लाडिन्छे जब म यस्ता प्रश्न हरु सोध्ने गर्छु , मानौँ मलाई घुर्कि लाउनु उसको शौख हो । अनि म पनि यस्ता प्रश्नहरु सोधिरहन्छु मानौँ उसको घुर्कि खानु मेरो रहर हो !

“खाएको छैन के बनाउँछौ भन त ?”

“खाएको भनेर सोधेको पो त , बनाउन त मलाई पनि मन छैन ।” उ हाँस्न थाली । सुख साच्चै साना साना कुरामा लुकेको हुन्छ । खोज्न जान्नु पनि एउटा कला हो ।

“तिमीले के खायौ भन त ?” मैले उसको अनुहारमा हेर्दै भनेँ ।

“छैन मैले पनि केहि खाएको !” उ आज दिउँसो सुकेका लुगाहरु पट्याउँदै थिई । पानी पर्ने मौसममा धोएका लुगाहरु भएर होला धेरै थिए लुगाहरु थाकमा !

“जौँ हिँड न त बाहिर खाजा खाएर आउँ !” मलाई अचानक एउटा नयाँ प्रस्ताव फुर्यो ।

“अहिले खाजा खान गएर खाना कति खेर खाने नि ? “

“त्यसो भए खानै खाउँ न त , मैले पनि एउटै भान्छेको खाना कत्ति खाने , कहिले काहिँ त स्वाद पनि फेर्नु पर्यो नि हो कि होईन भन त ?” म जिस्किएँ ।

“होला , कति बांगो पाराले घोचिरहनु हुन्छ ? सिधै नमिठो भयो भन्नु न !” उसले मेरो जिस्क्याईलाई यथावत राखी ।

“मलाई भोलि देखि अफिस भोकै जानु छ र ?”

“कति सम्मको गफाडि ? म लुगा फेर्छु है त !” उ लुगा फेर्न भित्र लागि । मलाई एउटा युध्द जितेको अनुभव भयो । अघि मैले जे सुकै सोचेको होस् म सुधालाई माया गर्छु । म मात्र उसको अनुहारमा मुस्कान देख्न चाहन्छु ।

हामी बाहिरै खाना खाएर फर्कियौँ । धेरै दिन पछि केहि छुटेका कुराहरुलाई समय दिए जस्तो भयो । एउटा भत्केका दुई पाटाहरुलाई जोड्ने पुल जस्तो । पुरुष शायद यसकारणले पनि दुई मुखे हुन्छ किनकि उसका स्वरुप नै दुई किसिमका हुन्छन् बाहिरि संसार लाई उ कडा भईदिनु पर्छ र घरमा उ नरम ,दुई वटा पात्रहरुको भुमिका निभाउँदा निभाउँदै उसले वास्तविक आफु के हुँ भन्ने नै बिर्सिन्छ र शायद मलाई पनि आजकल त्यस्तै केहि भईरहेको छ । सुधा सँग बाहिर ननिक्लेको धेरै भएसकेको रहेछ । हुन त उ कहिल्यै पनि यस्ता कुराहरुमा कर गर्दिन तर उ यस्ता कुरामा चासै नलिने भने होईन । म यति कुरा सबै थाहा हुँदा हुँदै पनि उसले चाहेका कुरा हरु गरिदिन सक्दिन भने त त्यो मेरै कमजोरि हो भनेर मैले मान्नै पर्छ ।

सुधा भित्र लुगा फेर्न तिर लागि , म उहि थोत्रे रिमोट बटार्न तिर लागेँ । अचानक मेरो अफिसको ब्यागमा भएको फूल याद आयो । मैले बिस्तारै सुधाले थाहा नपाउने गरी त्यो फूल झीकेँ र नियाल्न थालेँ ।

” कफि खाने ?” सुधाले भित्रै बाट सोधि । समय बेसमय चिया कफि खानु उसको बानी हो । बिस्तारै बिस्तारै मलाई पनि त्यो सरिसकेको छ ।

“खाने !” मैले सुस्तरि जवाफ फर्काएँ

“खाए पछि त त्यो रिमोट मलाई दिनुपर्छ , भोलि दिउँसो लोडशेडिङ्ग छ , मैले आजै हेर्न पाउनु पर्छ ।”

“हुन्छ ।” मैले मनमनैँ हाँस्दै भनेँ

त्यो फूल अझै मेरो हातमैँ थियो ।मलाई लाग्यो मेरी सुधालाई यो फूल को आवश्यकता छैन । म झ्याल छेउमा गएँ । झ्याल बाहिर निष्पट्ट अँध्यारो थियो । मैले त्यो फूल झ्याल बाहिर हुईँकाई दिएँ । सडक को कुन कुनामा गएर त्यो फूल बजारियो मैले हेर्ने पनि रहर गरिन ।

(यो कथाको अन्त्य छैन ! शायद यस्ता कथाहरुको अन्त्य हुँदैनन् !)

08-25-08 1:11 PM

(स्रोत : साझा डट कम)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *