एकाङ्की : दाइजो

~नन्दलाल आचार्य~

पात्रहरू:
दीपेश : (विज्ञान शिक्षक) वर्ष ४५

प्रिन्सिपल : (विद्यालयका संस्थापक) वर्ष ५२

हेडम्याडम : (विद्यालयकी संस्थापिका) वर्ष ४८

लेखापाल : (विद्यालयका कर्मचारी) वर्ष २८

जुनु र मुनु : (दीपेशका छोरीहरू) ९ र १० वर्ष

(निजी विद्यालयका प्रिन्सिपलको कार्यकक्ष । प्रिन्सिपल आफ्नो कुर्सीमा विराजमान छन् । नयाँ नियुक्ति हुन लागेका विज्ञान शिक्षक दीपेश सोही कक्षाको एकापट्टि छन् । टेबलमा ठूलो ग्लोब छ । घरिघरि प्रिन्सिपल ग्लोब घुमाउँछन् । टेबलमा रहेको चन्द्रसूर्य अङ्कित राष्ट्रिय ध्वजाले सुन्दरता थप्ने काम गरेको छ । झ्यालनजिक राखिएको गमलामा फुलेको फूलको बासना आइरहेको छ । स्कुल छुट्टी भइसकेकोले कसैको खलबल र आवतजावत छैन । जुनु र मुनु भने कार्यालयनजिकै खेलिरहेका छन् । लेखापाल नजिकै रहेको आफ्नै कक्षमा काममा व्यस्त छन् । केही पर हेडम्याडम आफ्नै धुन र काममा व्यस्त देखिन्छिन् ।

दीपेश तराई मूलका एम.एस्सी. उत्तीर्ण शिक्षक हुन् । उचित किसिमको तलब सुविधाको खोजी गर्ने क्रममा उनले एक दर्जनजति स्कुल परिवर्तन गरिसकेका छन् । उनको अधिकांश समय शिक्षण कार्यमा बितेको छ । दुई छोरीको विवाहमा दाइजो दिनुपर्ने चिन्ता उनीसँग छ । उनी पैसाको अगाडि अर्थोक कुरा फिक्का भएको महसुस गर्छन् ।)

दीपेश : (केही सहज भावमा) हेर्नुस् सर, म जुनु र मुनुको पिता हुँ । मेरो ध्यान उनीहरूमाथि नै छ । मसँग गरिने हर कुरा उनीहरूको मुहार हेरेर हुनुपर्छ ।

प्रिन्सिपल : (आश्चर्य मान्दै) म यहाँ पितासँग हैन, एक शिक्षकसँग कुरा गर्दै छु । कुनै पनि शिक्षकको तलब सुविधा निर्धारण गर्दा उसको पारिवारिक पृष्ठभूमि हेरिँदैन । उसको कार्यदक्षता हेरिन्छ ।

दीपेश : एकजना योग्य शिक्षकमा हुनुपर्ने दक्षताको विकास मैले गरिसकेको छु जस्तो लाग्छ तर मैले एकजना योग्य पिताको धर्म निर्वाह गर्न नसकेको जस्तो लागिरहेछ । त्यसैले मेरो यही अनुरोध छ कि म एकातिर शिक्षक हुँ भने अर्कातिर त्योभन्दा शक्तिशाली पिता हुँ ।

प्रिन्सिपल : (केही वाक्क हुँदै) लौ भइगो । तपाईं शिक्षक पनि पिता पनि । सुविधा केकस्तो लिने सोच्नुभएको छ ?

दीपेश : (केही उत्साहित हुँदै) मेरा दुई पाटा छन्; एउटा विद्यालयले अहिलेसम्म खोजिरहेको, अर्को ममा भएको दुर्बलता ।

प्रिन्सिपल : विद्यालयले खोजको त योग्य विज्ञान शिक्षक हो । दुर्बलता त खोजेको हैन ।

दीपेश : मेरो दुर्बलता हो पिता हुनु । यस हाँगोलाई नसमाती अर्को कुनै निर्णय नगर्नुहोला ।

प्रिन्सिपल : फेरि कुरा उही आयो । शिक्षक-पिता । पिता-शिक्षक । हामी यसैका वरपर घुमिरहेछौँ । जसको पनि एक ठाउँ एउटा भूमिकामा हुन्छ, अर्को ठाउँ अर्कै भूमिका हुन्छ । मानवीय जीवन भनेको अनेकन् भूमिकाको समष्टिगत स्वरूप त हो नि ।

दीपेश : कुरोको चुरोमा नपुगी हामी अन्यत्र बटारिँदै छौँ ।

प्रिन्सिपल : छलफलले समय खान्छ, मनपेट खोलेर सुरुमै छलफल हुनु बेस हुन्छ ।

दीपेश : म पनि त्यही चाहन्छु । मेरो पनि त्यही कामना हो । त्यसैले म मेरा कुरा तपाईंसामु राखिरहेको छु । अहिले तपाईं, म र मेरा नानीहरूको भविष्य निर्माता हुनुहुन्छ । सर्वोच्च शक्तिधारण गर्नुभएको न्यायाधीश हुनुहुन्छ । अवश्य पनि यहाँको न्याय हाम्रो भविष्य निर्माणको आधार हुनेछ ।

प्रिन्सिपल : (छक्क पर्दै) भविष्य निर्माणकर्ता त तपाईं हुनुहुन्छ । ममात्र संस्थापक प्रिन्सिपल हुँ । यस बोर्डिङ स्कुलमा बर्सेनी एकहजारकोे हाराहारीमा नानीहरू पढिरहेका छन् । तिनीहरूको भविष्य निर्माण गर्ने दायित्व म तपाईंको काँधमा सुम्पिँदै छु । सायद शिक्षक हुनुको कर्तव्यबोध हुँदा यो कुरो तपाईंलाई पनि बोध भएको हुनुपर्छ ।

दीपेश : अवश्य, अवश्य बोध भएको छ । मलाई यो पनि बोध छ कि जो अर्काको भविष्य हातमा लिएर हिँड्छ, त्यसको भविष्य समुन्नत हुनुपर्छ । आफ्नो भविष्य नै धरमराउँदो देख्नेले अर्काको भविष्य बनाउन सक्तैन ।

प्रिन्सिपल : तपाईंको सोचाइमा दम छ । म पनि यस कुरामा बढी नै चिन्तनशील छु तसर्थ हामी टेबलटकमा सरिक छौँ । नत्र भने विद्यालयको न्यूनतम नियमअन्तर्गत तपाईंलाई पनि राखेर तलब सुविधा निर्धारण गर्दिने थिएँ । मैले तपाईंलाई एक असाधारण शिक्षकका रूपमा हेरेको छु ।

दीपेश : मेरो प्रतिभा ठम्याउने कोसिस गर्नुभएकोमा धन्यवाद । म एमएस्सी (गोल्डमेडलिस्ट) हुँ । मलाई विज्ञान विषयमा उच्च माध्यमिक तहसम्ममा कुनै किसिमको द्विविधा छैन । अङ्ग्रेजी भाषामा पनि मेरो राम्रै दखल छ । यिनै आधारभूत कुराका आधारमा मेरो मूल्याङ्कन गर्न सक्नुहुन्छ ।

प्रिन्सिपल : सालाखाला मूल्याङ्कनविना नै कुनै व्यक्तिलाई शिक्षकका रूपमा छनोट गरिन्न । म तपाईंका कुरामा सहमत छु । भन्नुस्, तपाईं कति समय यस विद्यालयमा सेवारत रहन सक्नुहुन्छ ? सेवारत रहने समयावधिले हामीलाई तलब सुविधा निर्धारण गर्न मद्दत मिल्छ ।

(दीपेश असिनपसिन हुन्छ । जुनु र मुनु पनि छट्पटिन्छन् । उनीहरू कहिले झ्यालबाट भित्र चियाउँछन् । संस्थापक प्रिन्सिपल आफ्नै कुर्सीमा विराजमान छन् । छेवैमा आफ्ना पिता दीपेश बडो सकसमा छन् । पिताको मुहार नियाल्दा छोरीहरूलाई पनि त्यस दृश्यले छुन्छ । उनीहरू पितालाई अफिसबाहिर निस्कन सङ्केत गर्छन् ।)

दीपेश : (छोरीहरूसँग) नानीहरू हो, मलाई अझै केही समय लाग्ला जस्तो छ । (पैसा दिँदै) बरु क्यान्टिनमा गएर नास्ता खाओ र उतै बस । फेरि यता नआओ नि । नानीहरू हो, प्लिज गो फ्रोम हेयर । (पैसा पाएपछि खुसी हुँदै नानीहरू जान्छन् । प्रिन्सिपलसँग केही सहज भएर) यिनीहरूको मुहार हेर्नासाथ म यिनीहरूमै केन्द्रित हुन्छु । सरसँग आफ्ना कुरा राख्न सक्तिनँ । यसबेला पनि यिनीहरूको मुहारले डराएको छु । डर नै मेरो कमजोरी हो । कमजोरी हुनाले नै मैले बाटाका तगाराहरू पन्छाउन नसकेको हुँ । (सामान्य हुन खोज्दै) म यी नानीहरूको मुहारमा यस्तै प्रसन्नता हेर्न चाहन्छु । त्यो प्रसन्नता पैसाले मात्र दिन्छ । पैसा नदिई पठाएको भए उनीहरूको मुहारमा चमक देख्न पाइन्नथ्यो । मलाई त लागिरहेछ; पैसा छ सबथोक छ, पैसा छैन केही छैन ।

प्रिन्सिपल : (केही सहज भएर) पैसा ठूलो कुरो हैन सर । पैसाले सुख दिँदैन । सुख पाउने र प्रसन्नता ल्याउने धेरै माध्यमहरू छन् । ती माध्यममध्ये पैसा पनि एउटा हुन सक्छ तर सबै थोक होइन । कसैले पैसालाई नै जीवन भन्छ भने त्यो पराजित मानसिकताको सङ्कुचित सोच हो ।

दीपेश : सरको कुरा काटेकोमा क्षमा चाहन्छु । पैसा परम्परा हो, पैसा संस्कृति हो र पैसा रहनसहन हो । तपाईं पैसाकै निम्ति यस बोर्डिङ स्कुलको प्रोपराइटर बन्नुभएको छ । म पैसाका लागि यहाँ कार्यरत हुने इच्छा राखिरहेको छु । पैसाको अभावमा यहाँ प्रतिभाहरू ओइलिरहेछन् र कुहेर गन्दे नालीमा खसिरहेछन् । यहाँका नेपाली ग्यालिलियो, न्युटन र सेक्सपियरहरूले रातोदिन पैसाकोे पछि दगुर्नुपरेको छ । गाँस, बास, कपास र भविष्यको अनिश्चित रूपरेखाका बारेमा वर्तमानमा चिन्ता गर्नुपरेको छ । म पनि भन्छु, वर्तमान शक्तिशाली छ, बितेको समयबाट शिक्षा लिँदै वर्तमान सजाउनुपर्छ, भविष्य आफैँ सुध्र्र्रिन्छ तर यहाँ वर्तमान सजाउन सकिएको छैन भविष्यको कुरा त निकै टाढै छ ।

प्रिन्सिपल : हामी आवश्यकभन्दा अनावश्यक कुरामा बढी समय दिन्छौँ । हामी पछि पर्नुमा अनावश्यक कुरोमा बढी चिन्तनशील हुनु हो । अनावश्यक कुरोले मनोरोग ल्याउँछ । घरघरमा हामी मनोरोगी छौँ । जहाँ मनोरोग छ, त्यहाँ सुख र शान्ति छैन; मात्र भ्रान्ति छ । हामी पश्चगमनतिर लम्केका छौँ । (त्यसै बखत पियन चिया लिएर आउँछ । प्रिन्सिपल पानी पनि ल्याउन इसारा गर्छन् । ऊ जान्छ र तुरुन्तै पानी ल्याउँछ । चियाको चुस्की लिँदै लेखापालको प्रवेश हुन्छ । दीपेश केही असहज अनुभव गर्छन् ।)

दीपेश : (चियाको चुस्की लिँदै) भन्नुस् त लेखापाल सर, केले चिया मीठो भयो ?

लेखापाल : (सहजरूपले) मीठोको परिभाषा अनेकौँ होलान् । यतिखेरको परिभाषामा भन्छु, चिया दूध र चिनीले मीठो भयो ।

दीपेश : अनि भन्नुस् त, दूध र चिनी केबाट आयो ?

लेखापाल : दूध गाईभैँसीबाट आयो र चिनी उखुबाट बन्यो ।

दीपेश : मेरो प्रश्नको जवाफ नआए जस्तो महसुस हुँदै छ । दूध र चिनी पैसाबाट आयो । पैसाले नै चिया मीठो बनायो । हाम्रो जीवन नै पैसा सोहोर्ने र पैसा फ्याल्ने हो । जो पैसा सोहर्न जान्दैन, उसले पैसा फाल्न पनि सक्दैन । पैसा फाल्न नसके जीवन सुखी पनि बन्दैन । पैसाकै लागि यहाँ सबथोक भएका छन् । पैसाको भरमा सबथोक हुँदो रहेछ ।

लेखापाल : जुनसुकै कुरालाई पनि पैसासँगै दाँज्ने हो भने मानिसको जीवन नै धरापमा पर्छ ।

दीपेश : पैसाको शक्ति त तपाईंले पो राम्ररी जान्नुपर्ने र बुझ्नुपर्ने हो । तपाईं स्कुलको समयावधिभरि पैसा लिनुहुन्छ र पैसा दिनुहुन्छ । घर गएपछि पनि पैसा खानुहुन्छ र पैसा ओढ्नुहुन्छ । हरेक ठाउँ पैसाकै राज छ अनि पैसाको बखान त आउने नै भयो ।

लेखापाल : उसो भए तत्कालीन नेकपा माओवादी नेतृत्वको जनयुद्ध, उन्नाइसदिने जनआन्दोलन, दुईदुईपटकका मधेस आन्दोलन र अन्य आन्दोलन पैसाकै लागि भएका हुन् त ? पैसाकै तराजुमा तौलिन मिल्छ त ?

दीपेश : भन्न गाह्रो छ तर यी सब पैसाका उपज हुन् । पैसाकै लागि हुन् । यी सबै पैसा प्राप्तिका माध्यम हुन् । पैसा कमाउने माध्यम र आन्दोलनका काइदामात्र फरकफरक छन् । बाटाहरू फरकफरक भए पनि गन्तव्य एउटै छ । पैसा, सिर्फ पैसा ।

लेखापाल : लामो समयसम्मको भयङ्कर पीडा खपेर देश यहाँसम्म आयो । बीसबाइस हजारको आलो रगतले यो उपलब्धि दिलायो । लाखौँ घाइते र अपाङ्गहरूको त्याग र परिश्रमले लोकतान्त्रिक गणतन्त्र नेपालका मालिक बन्न पायौँ । अझ यसलाई पैसासँग तुलना गर्दा सहिदहरूको श्राप लाग्दैन ? ती लाखौँ घाइते र अपाङ्गहरूको आँसुले पिरोल्दैन ?

दीपेश : कुनै पनि कुरोको चुरोमा नपुगी सतही बुझ्दा अर्थको अनर्थ लागेका अनेकौँ घटना छन् । यहाँ पनि त्यही दोहरिएको हो ।

प्रिन्सिपल : (उत्सुक हुँदै) चाखलाग्दा कुरा झिक्नुभयो, दीपेश सरले । यो त भिन्नै खाले दर्शन हो जस्तो लाग्न थाल्यो । तपाईं आफ्नो मतलाई खुलस्त विश्लेषण गर्नुस् त ।

दीपेश : विश्लेषण गर्ने जिम्मा त अर्कैको हुनुपर्थ्यो । भन्ने पनि म, विश्लेषण गर्ने पनि म हुँदा ‘दूधको साक्षी बिरालो’ त हुन्नँ ?

प्रिन्सिपल : हाम्रा कुराकानी कुनै सैद्धान्तिक नियममा बाँधिएका छैनन् तसर्थ स्वतन्त्र रूपले आफूले चाहेअनुसार विश्लेषण गर्दा हुन्छ ।

दीपेश : (हाई गर्दै र शरीर मर्काउँदै) मेरो पैसो दर्शन, आफ्नै प्रकारको छ । मलाई दरिद्र मानसिकताले जेलिएको र बेरिएको मान्छेको उपमासमेत भिराइएको छ । म त्यो उपमा भिर्न तयार छैनँ । अत: जसले भिराइरहेछ, उतै त्यो उपमा फर्केर गइरहेछ । (केही बेर गम खाएर) जनता पैसाका अभावमा दरिद्र भए । हातमा सीप भएर पनि पाखुरीमा सामर्थ्य रहेर पनि जनताले पैसो कमाउने अवस्था भएन । जनताले पाएको अधिकार ‘बाँदरको हातमा नरिवल’ भयो । यस अवस्थामा सामन्ती युग र संस्कारलाई आर्यघाटमा दाहसंस्कार गरी नयाँ युग र संस्कारको थालनी गर्ने लक्ष्य र उद्घोषका साथ जनयुद्ध सुरु भयो । यसको अर्थ बुझ्नुपर्यो जनयुद्ध पैसाको अभावमा जन्म्यो र पैसाको प्राप्तिमा टुङ्गियो । भ्रममा नपर्नुहोला । जनताको जनयुद्ध टुङ्गिएको छैन किनकि जनताको हातमा अझै पनि पैसो पर्न सकेको छैन । पैसो पक्कै कमाउने स्थिति आउला-आउला जस्तो भा’को छ । आइहालेको चाहिँ छैन ।

प्रिन्सिपल : यसको मतलब जनताले रोजीरोटी भेटेमा जनयुद्ध वा जनआन्दोलनहरू समाप्त हुन्छन् ?

दीपेश : अवश्य । जनताले विवेक खर्च गर्ने र पाखुरी लगानी गर्ने ठाउँ भेट्टाए भने मनमा असन्तुष्टि लिनुपर्ने कुनै कारण नै छैन ।

लेखापाल : जनअसन्तुष्टि पैसाको अभावमा देखा पर्छ र पैसाको प्राप्तिमा विलीन हुन्छ । मलाई पनि तपाईंको मत गजबको लाग्यो ।

दीपेश : यसलाई अझ विश्लेषण गर्ने जिम्मा यहाँहरूकै हो । चुरोचाहिँ पैसा नै हो ।

लेखापाल : (अफिसबाट बाहिरिँदै) पैसो दर्शन सुन्न पाइयो । म आफ्नै धन्दामा लाग्नुपर्यो । (लेखापाल गएतिर दुवैजना हेरिरहन्छन् । अलिक परैबाट जुनु र मुनु पनि अफिसका कुराकानी सुन्दै र दृश्य हेर्दै गर्छन् ।)

प्रिन्सिपल : (केही बेर गम खाएर) सार्वजनिक कुरामा हामीले धेरै छलफल गर्यौँ । अब व्यक्तिगत कुरातर्फ ध्यान एकोहोर्याऔँ कि ?

दीपेश : म त व्यक्तिगत र सार्वजनिकबीच त्यत्रो भिन्नता देख्दिनँ । सार्वजनिक स्वार्थ भनेको सबैको समग्र स्वार्थ हो । व्यक्तिव्यक्ति मिलेर नै समाज बनेको त हो नि ! म जस्तै पैसाका भोकाहरूको समष्टिगत रूप नै समाज हो । मेरो भोकतिर्खा मेटिए म असन्तोष प्रकट गर्दिनँ ढुक्कले आफूले गर्नुपर्ने काम गर्छु । म जस्तै अरूको मनोकाङ्क्षाको सम्बोधन भए कतै अनिष्ट देख्नु र भोग्नु पर्दैन ।

प्रिन्सिपल : भो, धेरै बेर बसियो । कुरा छोट्याउँदै निर्णायक विन्दुतर्फ लागौँ ।

दीपेश : हडबडमा फैसला गरेर फुर्सदमा पछुताउने हाम्रो बानी छ । म पनि त्यसैको एक सदस्य हुँ । यतिखेर भने म पछुताउने काम नगरूँ कि भन्दै छु । अत: समय लगाएर निर्णायक विन्दुमा पुग्ने मेरो रहर हो ।

प्रिन्सिपल : ठीकै छ । भन्नुस्, तपाईं कति समयावधि विद्यालयमा योगदान दिन सक्नुहुन्छ ? कस्तो सुविधाको अभिलाषी हुनुहुन्छ ?

दीपेश : प्रश्न त सहज रूपमा आयो तर उत्तर भने सहज छैन । निजी विद्यालयका हरेक कुरा बुझेर भन्नुपर्छ । मैले ‘न्यूनतम सुविधा’ को आकाङ्क्षा सँगालेर राख्नुपर्छ । विद्यालयका हरेक गतिविधिमा यहाँ नै निर्णायक हुनुहुन्छ । म अहिले पैँतालीस वर्षको भएँ । साठी वर्षसम्म काम गर्न सक्छु भन्ने लागेको छ । जीवनको उत्तरार्धकाल यसै संस्थामा बिताउने इच्छा छ । बोर्डिङ स्कुलमा राखिएका पाठ्यक्रम न्यूनतम योग्यता भएका शिक्षकले पढाउन सक्दैनन् । कसैकसैले पढाउन सके भने त्यो स्वाध्यायको फल हो । म माध्यमिक तहभन्दा माथिको शैक्षिक योग्यता प्राप्त शिक्षक हुँ तसर्थ मावि तहको यस विद्यालयमा उच्च मावि तहको सुविधा खोजेको छैनँ । सरकारी स्कुलका मावि तहका शिक्षकले पाउने तलबभत्ता र सुविधा मेरो हकमा लागू गर्दिनुहोला ।

प्रिन्सिपल : (केही असहज हुँदै) म र यो संस्था सरकार हैन । सरकारको कुनै अङ्ग पनि हैन र सरकारद्वारा सञ्चालित वा संरक्षित पनि छैन । हामीबाट उल्टै विभिन्न खाले कर असुल्ने प्रयासमा सरकार छ । असल जनशक्ति उत्पादन गरेर हामीले राष्ट्र निर्माणमा सहयोग पुर्याएकै छौँ । सरकारी नीतिअनुसार चल्न सक्ने स्थितिमा हामी छैनौँ । सरकारी तलब स्केल उपलब्ध गराउन सक्ने हो भने त देशव्यापी विज्ञापन गरेर शिक्षक छनोट गर्दा भइहाल्थ्यो नि ।

दीपेश : म उच्च माध्यमिक विद्यालयका लागि योग्यता पुगेको शिक्षक हुँ । सो सुविधा मैले खोजेको छैनँ । म पनि कुरा बुझ्छु र सुहाउँदो इच्छा प्रकट गरेको हुँ ।

प्रिन्सिपल : (फकाउने लवजमा) म पनि तपाईंको मतमा सहमत छु । सैद्धान्तिक रूपले सहमत भए पनि व्यावहारिक रूपमा कार्यान्वयन गर्ने क्षमता यस संस्थासँग छैन । तपाईंजस्तो शिक्षक संस्थालाई चाहिन्छ । यस संस्थामा तपाईंलाई अटाउने मेरो सोच छ । मेरो सोचमा प्रतिकूल असर पर्ने अडान त्याग्नुहोला ।

दीपेश : हेर्नुस् सर, म दुई छोरीकी पिता हुँ । हाम्रो संस्कृतिमा दाइजो प्रथाले जरो गाडेको छ । दाइजो उपलब्ध गराउन नसक्नेले छोरीको विवाह गराउन सक्दैन । मलाई असफल पिता बनुँला कि भन्ने भय छ । मैले आजैदेखि दाइजोका लागि रकम जम्मा गर्नुपर्छ । समयमा सचेत नभए पछि पछुताउनुसिवाय मसँग अर्थोक केही रहन्न । मैले सरको बाध्यतालाई बुझ्नुपर्छ भने सरले पनि मेरो बाध्यतालाई बुझिदिनुपर्छ । यस्तो महँगीको जमानमा थोरै कमाइले जीवनयापन गर्न सकिन्न । दाइजोका लागि वचत गर्न सक्ने अवस्था आउँदै आउँदैन अनि म असफल पिताका रूपमा रहिरहनेछु ।

प्रिन्सिपल : हो, समस्या छ । म समस्या नबुझ्ने मान्छे हैनँ । हाम्रो आर्थिक स्रोत विद्यार्थी र अभिभावक हुन् । पढाइमा धेरै रकम खर्चिने प्रथा पनि हामीकहाँ छैन । समयको यही चक्रमा न्यूनतम शुल्क लिएर संस्था चलाउन बाध्य हुनुपरेको छ । संस्थाले नै न्यूनम शुल्क असुल्छ भने आफ्ना कर्मचारीलाई पनि न्यूनतम सुविधामात्रै दिलाउन सक्छ । यस बाध्यतालाई तपाईं व्यक्तिगत हैन, सार्वजनिक बाध्यता सम्झिदिनुस् ।

दीपेश : (केही अत्तालिएको भावमा) उसो भए म दाइजोका लागि रकम वचत गर्न असमर्थ हुने भए ?

प्रिन्सिपल : विद्यालय र शिक्षकबीचको कुरामा दाइजोको कुरा असान्दर्भिक छ । (त्यतिकैमा हेडम्याडमको प्रवेश हुन्छ । दुवैजना सहज भावमा नै हुन्छन् ।)

दीपेश : यो सान्दर्भिक छ किनकि वास्तविकता यही हो । मेरो ध्यान हरघडी दाइजोकै वरिपरि घुमिरहेको छ ।

हेडम्याडम : दाइजो त दिमागको दुर्गन्ध हो । यो संस्कार हैन, कुसंस्कार हो । यस्ता कुसंस्कारलाई तपाईंहरूजस्ता बौद्धिक वर्गले हटाउनुपर्छ । यसको पक्षपोषण तपाईंहरूबाटै हुने हो भने कसले हटाउने ?

दीपेश : सरकारले ।

हेडम्याडम : सरकारले कानुनअनुसार काम गर्छ । कानुनमा कतै दाइजो दिने र लिने कुरा लेखिएको छैन । सरकारको आँखा सतही हुन्छ । सरकार कसैको मनपेट छाम्न जाँदैन । तपाईंजस्ता लाखौँ छोरीका बाबुहरू ‘दाइजो’सम्बन्धी कुरामा पिरोलिएका छन् । यस्ता कुरीति हटाउन क्रान्ति हुनुपर्छ । त्यो क्रान्ति आफैँबाट सुरु गरौँ । जनमत एकोहोर्याऔँ । यसैमा हाम्रो जय छ । यसैमा सारा छोरीको कल्याण छ । छोरीको जीवन दुर्भाग्यको जीवन हैन, सौभाग्यको जीवन हो । सौभाग्यको जीवन बनाउन आजैदेखि लागौँ । हरेक कुरा सरकारको भागमा नछाडौँ । जनमतले बनाएको नियमविपरीत जानेलाई कज्याएर ठीक ठाउँमा ल्याउने काम सरकारको हो । सरकारले क्रान्तिको बिगुल फुक्तैन ।

दीपेश : उसो भए दाइजोका पारखीहरूलाई बहिष्कार गर्नुपर्यो, हैन त ?

हेडम्याडम : अवश्य ।

दीपेश : त्यसो भए समाजबाट बहिष्कृत हुने पहिलो व्यक्ति म स्वयम् पर्ने भएँ ।

(तीनैजनामा हाँसो छाउँछ । केही बेरको सन्नाटापछि)

हेडम्याडम : ‘आफू भलो त जगतै भलो’ भन्छन् । ‘दाइजो नलिने पनि नदिने पनि’ भन्ने सिद्धान्तवालाहरू एक ठाउँमा भएर विरोध जनाए भने बिस्तारैबिस्तारै समाजबाट दाइजो प्रथा व्यावहारिक रूपमै उन्मूलन हुन्छ । तपाईंका छोरीहरू त अहिले सानै छन् । विवाह गर्ने उमेरमा कस्तो समय आउला, त्यसको स्पष्ट अनुमान अहिले नै गर्न सकिन्छ । यसका लागि आजैबाट काम थाल्नुपर्यो ।

प्रिन्सिपल : दीपेश सर, छोरीहरूका लागि दाइजोको चिन्ता गर्न छाडिदिनुस् । शिक्षादीक्षाको चिन्ता गरेर एक होनहार नागरिक बनाउन कसरी सकिन्छ भन्नेतर्फ ध्यान एकोहोर्याउनुस् । (लेखापालको प्रवेश हुन्छ ।)

लेखापाल : चिन्ता-चिन्ता, चिन्तैचिन्ता । यसखाले चिन्ताले रोग निम्त्याउने रहेछ । रोगले गाँजेपछि अकालमै ज्यान जाँदो रहेछ । कुसमयमा संसारबाट बिदा हुनुपर्दा परिवारजनको हालत कस्तो होला ! सम्झिँदैमा पनि कहाली लागेर आउँछ । म त भन्छु, हामीले हाम्रो चिन्तालाई चाहिँ चितामा राख्नुपर्ने रहेछ । चिन्ता जलेर खाग भएपछिको जीवनआनन्द नै सच्चा आनन्द रहेछ । मान्छे भएपछि आनन्दको जीवन जिउनुपर्ने रहेछ ।

दीपेश : धेरै कुरा गरेँ । धेरै कुरा सुनेँ । धेरै कुरा बुझेँ पनि । तलब सुविधाको छलफलमा जोडिएका यी प्रसङ्गहरू विचारेर म आजैदेखि नयाँ जीवन जिउने प्रण गर्दछु । मलाई पनि अनुचित नहुने गरी मेरो सुविधा कायम गर्दिनुहोला । म वचत गर्छु तर दाइजोका लागि हैन, छोरीहरूको शिक्षादीक्षा परिवारजनको आवश्यकता पूरा गर्न र भैपरी आउने सङ्कटबाट बच्न ।

प्रिन्सिपल : ठीक छ सर, म तपाईंको यथोचित मूल्याङ्कन हुने गरी उचित निर्णय गर्नेछु । यसमा कुनै सन्देह नहोस् । आगामी वर्षहरूमा क्रमश: सुविधा वृद्धि हुँदै जानेछ ।

दीपेश : (मनमनै) सन्देह त पूरापूरी छ । बेराजगारको मारले गर्दा सन्देह प्रकट गर्नुभएको छैन । क्रान्तिकारी सोचविचार मनमा छ, प्रकट गर्नुभएको छैन । दास मनोवृति मनमा छैन । सामुन्नेमा त्यही प्रवृत्ति हावी नगराई भा’को छैन । विद्रोही बनूँ, मिलेको जागिर चट हुन्छ, परिवार बिचल्लीमा पर्छ । म फेरि कता हारगुहार गर्नु ? जता पुगे पनि, जता गए पनि, काम नगरी माम पाइन्न । दास मनोवृति नहुर्काई खुट्टा टेक्न पाइन्न । बाध्यताबस पैसाकै लागि आफ्नो अन्तस्करणलाई लात मार्नुपर्दो रहेछ ।

लेखापाल : के सोच्नुभएको दीपेश सर ? चिन्तामग्न हुन पो थाल्नुभयो कि क्या हो ?

दीपेश : चिन्तानाशक गुरु त मैले तपाईंलाई ठम्याएको छु । गुरुकै अगाडि गद्दारी गर्ने शिष्य म हैनँ । गुरुको आज्ञा अक्षरश: पालना गर्ने शिष्य हुँ । (सबैमा हाँसो छाउँछ । हाँस्दै) लौ त (जम्ला हात गर्दै) बिदा पाऊँ । (ऊ बाहिरिन्छ ।)

हेडम्याडम : असाध्य समय बिताउनुभयो । कि अरू लम्ब्याउँछु कि बिल्कुलै छोट्याउँछु भनेर म आएकी थिएँ । कामयाब भएँ ।

लेखापाल : म पनि छलफलको लम्बेतान देखेर हैरान भएँ र मध्यान्तर गर्दिनकै निम्ति यहाँ प्रवेश गर्ने गर्थें ।

प्रिन्सिपल : कुरा त सबैका उपयुक्त नै लाग्छन् । व्यवहारमा उतार्न साह्रै मुस्किल । गरिब मुलुकमा जनतामा लगानी गर्ने क्षमता हुँदैन । आम्दानी बढाउने चाहनामात्र हुन्छ । सबै वर्ग सुविधाभोगी भए । सुविधा उपलब्ध गराउनै गाह्रो भो ।

हेडम्याडम : फेरि चिन्ता लिन थाल्नुभयो । ‘जस्तो आम्दानी उस्तै खर्च’ यही सिद्धान्तमा चल्नुपर्छ । जाऔँ, भान्साघरतिर नास्ता तयार छ । (सबै बाहिरिन्छन् । पर्दा खस्छ ।)

– नाटक/एकाङ्कीसङ्ग्रह “युग उचाल्ने अक्षरकर्मीको अवसान” मा सङ्ग्रहित

(स्रोत : फागुन, २०६५ गरिमा)

This entry was posted in एकाङ्की and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *