कथा : पहेंलो गुलाफ

~प्रेमा शाह~

दुई महिनादेखि मैले केही लेख्न सकेकी छैन । डायरीका यी रित्ता पृष्ठहरू जति पल्टाउँछु उत्ति मनभित्रको खाली झन् झन् बढ्दै गएजस्तो लाग्छ ।कस्तो खाली हो म आफैं पनि जान्दिन । म दुब्लाइसकें, थूकसित कहिलेकाहीं रगत मिसिएर आउँछ, रातो आँखै तिरमिराउने कालो रगत । मलाई टी.बी. भएको रहेछ । हुन त कहिलेदेखि भएको हो, तर थाहा भएको भने आठ महिना भइसक्यो, तबदेखि यही सेनेटोरियाममा छु । धेरै भइसक्यो मेरो छातीको एक्स-रे गरेको, डाक्टरले भन्थ्यो, मेरो दायाँ फोक्सो ज्यादै खराब भइसकेको छ रे । साँच्चै मलाई पनि यस्तै लाग्छ, मेरो फोक्सो अब कुहिएर फतफती र्झन मात्र बाँकी छ । मैले उहाँसित मेरो एक्स-रे फोटो हेर्न मागेकी थिएँ, तर उहाँले हुन्छ हुन्छ भन्दै अझसम्म मलाई त्यो देखाउनुभएको छैन । उहाँ भन्नुहुन्छ, मलाई केही भएको छैन, चाँडै नै निको हुन्छ रे । ओह, मलाई आश्चार्य लाग्छ, किन उहाँ मलाई यसरी छकाउन खोज्नुहुन्छ, अब के बाँकी छ र ! छकिनेजति म पहिले नै छकिइसकेकी छु नि ! यो थूकसित लत्पतिएको रगत, यो कुहिएको, फोक्सो सबै मेरा आफ्नै कमजोरीका उपलब्धि त हुन्, अझ कति म छकिउFm, कति घाटा परू ! उहाँले मलाई कति माया देखाउनुहुन्छ, कति स्याहार गर्नुहुन्छ, सधैं मेरा अगाडि आएर घन्टौं घन्टमैं बसिरहनुहुन्छ । मलाइ कत्रो भयंकर सरुवा रोगले च्यापेको छ, यो उहाँलाई थाहा छैन र – तैपनि उहाँ डराउनुहुन्न, घिनाउनुहुन्न । झन् एकै पलङमा मसित च्यापिएर बस्नुहुन्छ । मलाई उहाँको ज्यादै पीर लाग्छ, कतिचोटि उहाँलाई मैले आफ्नो नजीकबाट हटाइसकें, उहाँ मान्नुहुन्न, म के गरूँ ! हिजै पनि उहाँले कस्तो काम गर्नुभयो, सम्झँदैमा मेरो मुटु अझै थर्र थर्र काम्छ । उहाँ मेरो अगाडि हुनुहुन्थ्यो, बस्दा बस्दै मलाई एकतमासको खोकीले च्याप्यो, मुटु थर्केर बाहिर निस्किएला जस्तो भएको थियो मेरो, अनि उहाँ कति डराउनुभएको थियो त्यस बेला । खोक्दा खोक्दै रगतको सानो ढिका थुक र र्यालसँग लटपटिएर मेरो चिउँडोभरि पोतियो, मलाई आफ्नै शुर थिएन, पछि पो थाहा पाएँ उहाँले आफ्नै रेशमी रुमालले त्यो थुक र र्याल थाप्नुभएछ । म छक्क पर्छु ुहाँको लापर्वाही देखेर कस्तो केटाकेटी जस्तो मान्छे ! अघि दिउँसो उहाँको कोटको खल्तीमा हात पर्दा त्यही रुमाल निस्कियो, फोहरले कट्कटिएको । त्यही रुमाल किन चलाउनुपथ्र्यो, मेरै मुख पुछ्ने भुवादारी रुमाल पलङनिरै स्ट्याण्डमा झुण्डिएकै थियो नि ।

कति राम्रो थियो त्यो रुमाल, प्याजी रङको प्योर सिल्कको, मैले नै एकचोटी उहाँलाई किनेर दिएको, कति खुशी हुनुभएको थियो त्यो रुमाल पाएर । मलाई प्याजी रङ चौपट्टै मन पर्छ, मेरो बाकस र दराजभित्रका सबै लुगा धेरैजसो प्याजी रङकै छन् । प्याजी रङ देख्यो कि मलाई असाध्यै प्रशन्नता लाग्छ, त्यसै उहाँ जिस्क्याउनुहुन्थ्यो – तिमीलाई त प्याजी रङको टबभित्रै पो संधै डुबाइराखुँ कि ! त्यतिमात्रै होइन, उहाँ मेरो प्रसन्नता र रुचिको ज्यादै कदर गर्नुहुन्छ । रमा मेरो ड्राइङरुमअगाडि दूवोको चउरभरि उहाँले प्याजी रङका जर्भेराहरू लगाइदिनुभएको छ, म घण्टौं घण्टौं ती प्याजी फूलहरूको बीचमा बसेर साँझका रमाइला बादललाई हेरिरहन्थें । कति आनन्द लाग्थ्यो त्यो गर्न मलाई । अहिले आठ महिना भइसकेको छ । म यहाँ छु, ती फूलहरूको स्याहार कसले गरिदिँदो हो । ती प्याजी जर्मेरा ! प्याजी रुमाल ! ओह ! कसरी फोहरमा कक्रिएका । मेरो फोक्सोका किराहरू सबै उहाँको कोटभरि सल्बलाइरहेका होलान । छि : धोएर पनि के गर्नु त्यो रागी रुमाल, त्यसैले मैले फोहर मिल्काउने भाँडोमा हालिदिएँ । उहाँ मलाई कति माया गर्नुहुन्छ, म परि लगाउन सक्तिन । मलाई थाहा छ त्यो माया मभित्र व्याप्त छ, मेरो एकएक नसामा त्यसले जरा गाडिसकेको छ, त्यसबाट मुक्त हुन म कहिल्यै सकुँला म खुशी छैन, अझै पनि यो कस्तो माया हो जसमा सन्तोषको सानो लेश पनि म भेट्न सकिँन । यतिको माया पाएर पनि म खाली-खाली छु । यो खाली सायद कहिल्यै भरिँदैन । दुई मपिनासम्म म ज्यादै थलिएँ, अहिले अलि सञ्चो छ, तर के ! टी.बी. का कीराले खानुसम्म मेरो फोक्सोलाई खाइसकेका छन्, त्यहाँ त खाली झ्वाङप्वालमात्रै होलान् । कहिलेकाहीं मलाई छातीभरि मुटुभरि बतास छिरेजस्तो लाग्छ, त्यसैले मभित्र हावै हावामात्र छ, हावा भरिएको बेलुन । मेरो फोक्सोको झ्वाङप्वाल च्यातिएर ठूलो प्वाल भइसक्यो, सिंगै आकाश अटाउन सक्छ यहाँ, एउटा रित्तो आकाश । के गर्नु रित्तिनुमात्र त रहेछ नि, जति भर्यो उति रित्तियो ।

९ असार

उहाँ आउनुभयो । संधैंको जस्तो आज पनि आफैंले अनार छोडाउनुभयो र रस निचोरेर गिलासमा खन्याउनुभयो । मलाई खान मन थिएन, गिलासतिर मैले हेर्दै हेरिँन, उहाँको कुरामा पनि साथ दिइनँ । मेरो मन हिजोदेखि उदास उदास थियो, चल्न बोल्न मन थिएन । केही बेरसम्म हातमा अनारको रस लिएर उहाँले मलाई फुल्याइरहनुभयो । मैले सुन्दै सुनिनँ । आखिर उहाँले नै जवरजस्ती मेरो टाउको समातेर गुलाफी झोल मेरो मुखभित्र खन्याइदिनुभयो । मुखमा लागेको अनारको च्याप-च्याप झोल मैले राम्ररी पुछ्न पनि पाइन एक्कासी गोहीका तिखा दाह्राले मेरो ओठलाई पर्याम्म चपाए, रन्थनिएँ, ओठबाट कति रगत र किराहरू निस्के मैले थाहा पाइँन, म बेहोश भइछु । अहिले दुई घण्टाअगाडिमात्रै पो म बिउँझें, खोइ, उहाँ त गइसक्नुभएछ – पानी परेकोले हो कि ! ऊ अझै पानी दर्कदैछ । यो पानी अब रातभर थामिदैन । ऐया : यो मेरो पाखुरा किन यसरी दुखेको, बेस्सरी बटारेको जस्तो भइरहेको छ । ए, बिहान डाक्टरले पनि यसैमा इन्जेक्शन दिएको थियो क्यारे । त्यहाँ स्ट्याण्डमा के त्यो – मेरो चोलोमाथि कोट उहाँले छोडेर जानुभएछ । यस्तो पानीमा वर्षाती पनि लगाउनभएको थिएन । यो कोट मेरो चोलोमाथि; मेरो सेतो चालो मेरै रगत हराएको मुखजस्तो सेतो थाङ्नो, तैपनि उहाँ मलाई उत्तिकै माया गनुहुन्छ; पहिलेको जस्तै होइन, अझ बढ्ता, पहिलेकाभन्दा पनि बढ्ता । ओह, उहाँको सुम्सुम्याइमा कति तत्परता छ, त्यो चटाइमा कति लोलुपता छ । मेरो ओठभरि अघि उहाँल लगाइदिएर जानुभएको थूक अझै लपक्क भिजेको छ ।

१२ असार

दुई दिनदेखि केही लेख्न सकिनँ । लेख्न सकिनँ के भन्नु लेख्न पाइनँ, फुर्सतै भएन । यी तीन दिन उहाँले एक मिनेटको लागि पनि मलाई कहीं छोड्नुभएन, म बाँधिएर बसिरहें उहाँको जब्बर अँगोलोभित्र । म रोगी, त्यही पनि क्षयका कीराले ध्वस्त पारिसकेका, त्यति उम्कन सक्ने बल कहाँ पाउनु मैले ।

यो गुलाफको बोट, पातहरू कति चम्केका ! हिजो बिहानभरि र रातभरिको पानीले निखार ल्याइदिएछ । म यहाँ बस्न आएदेखि नै यो गुलाफको बोट यहीं छ, तल पोर्टिकोदेखि पस्रेर आएका यसका दुई लहरा मेरो कोठाको झ्यालमा संधैं यसैगरी तत्रिरहन्छन् । मजस्तै रोगी छ यो गुलाफको बोट, पहेंला फूलमात्रै फूल्छन् । त्यसैले यसको मलाई माया लाग्छ, म यसको पातमा एउटा झुसिल्कीरा पनि बस्न दिन्नँ, देखेको बेला एक दुई वटा झुसिल्कीरा सधैं टिपेर फ्याँकिदिन्छु । अहिले त धेरै नै पहेंला कोपिलाहरू बोटमा लागेका छन् । फक्रेपछि झ्याल पहेंलै हुन्छ । पहेंलो हाम्रो एउटै समवेदना ।

अहिलेसम्म उहाँ आउनुभएन । मेरोझर्को लाग्ने बानी, अलिकति अबेर भए पनि पट्याइ लाग्छ । अब त मलाई उहाँकै प्रतीक्षा छ, खाली उहाँकै ।

उहाँको अत्तरमा भिजेको चिसो बास्ना आउने हात, चिसो ओठ मेरो रोगको एउटै सान्त्वना । त्यसैबाट त उहाँले मलाई सन्तोष दिन खोज्नुहुन्छ । यही यस्तै हात र ओठको सन्तोष चारवर्षेखि उहाँले मलाई दिँदै आउनुभएको छ । म थाकिसकेकी छु, बिल्कुलै थाकिसकेकी छु, यी सन्तोष्हरूबाट । उहाँ भने अझै थाक्नुभएको छैन । उहाँभित्रको अर्को पुरुष अझ उहाँभन्दा पनि बलियो र सशक्त छ उहाँ मलाई माया गर्नुहुन्छ । उहाँ मलाई माया गर्नुहुन्छ, मेरो हरेक इच्छा र चिन्ताको उहाँलाई फिक्री छ । उहाँ मलाई चाट्नुहुन्छ, बिरालोले बच्चालाई चाटेजत्तिकै, तर उहाँलाई पत्तै हुँदैन । उहाँभित्रको सशक्त पुरुष ढाडे बिरोलो जत्तिकै निर्दयी भएर मलाई लर्छार्छ, पर्छार्छ, भुत्ल्याउँछ । हाम्रो विवाहको चार वर्षेखि एक सरह एकनासले विभिन्न तरीकाले उहाँले मलाई माया गर्दै आउनुभएको छ, तर उहाँलाई के पत्तो उहाँको त्यस सुमसुम्याइमा म कति बिथोलिएकी छु, कति नाङ्गिएकी छु । विवाहको पहिलो रातमै आफूलाई उहाँमा समर्पित गरिदिएँ । त्यस बेला मेरो आँखामा कति सपना भरिएका थिए । उहाँलाई पाएर मलाई र्सवस्व पाए जस्तो लागेको थियो । उहाँको त्यस निर्लिप्त मायामा मैले बाँध भएर फुट्न होइन बरु पोखरीझैं आफूभित्रै जमेर बस्न खोजेकी थिएँ । उफ्, उहाँ त बेगवान पुरुष हुनुहुन्थ्यो । एउटै जोसमा बग्नुभयो, मलाई पनि बगाउनुभयो । माया गर्दै उहाँले मेरो अन्तर वाह्य दुवैलाई मथेर पानीजस्तै पातल्याउनुभयो । म बगें । मलाइ बग्न कर लाग्यो – बाटो उहाँले खोलिदिनुभएकै थियो । उहाँ लोग्नेमानिस हुुनुहुन्छ, म स्वास्नीमान्छे, यो बाहेक अरु सबै उहाँले बिर्सनुभयो, किनभने म एउटी लोभलाग्दी सिंगै मासुको डल्ला त उहाँको अगाडि छँदै थिएँ नि ! त्यतिकैमा उहाँ सन्तुष्ट हुनुभयो । उहाँ लोभी स्यालजत्तिकै ममाथि खनिनुभयो र मेरो आदर्शको तहलाई उप्काइदिनुभयो । त्यहाँदेखि म कागतीझैं उहाँको मुठीभित्र बरोबर निचोरिँदै आएकी छु, चुइङगमजत्तिकै उहाँको तातो थूकमा पग्लिएकी छु । अब त के छ र मसित ! खालि राम्रो रबड मात्रै न हो, जति चुसे पनि, टोकेर क्याच-क्याच पारे पनि एक थोपा रस निस्कने होइन । ओह ! गुलाफको पातमो फेरि झुसिल्कीरा आएछ । जति फ्याँके पनि कता कताबाट रगरगाउन आइहाल्छ । यी कोपिलाहरू फक्रन नपाउँदै झुसिल्कीराले पातलाई चलनी पारिदिने हुन् कि ! दुई दिनपछि त फक्रलान् । मेरो औषधि खाने बेला भएछ, डाक्टर आउँछ अब । ऊ डाक्टर ! छि कति खानु औषधि पनि एउटामात्रै हो र तरह तरहका । डाक्टर गयो रित्तो औंस लिएर, अर्को कोठमा पुगेपछि उसले फेरि त्यो औंसलाई औषधिले भर्छ, फेरि रित्याउँछ । म पनि त्यही रित्तो औंस हुँ, खाली, केही नभएको रित्तो । भएको जति सबै उहाँले नै सिध्याउनुभइहाल्यो । यताउता लागेको खारखुर पनि सोहोरिइसकेको छ । साँच्चै यी चार वर्षभत्रमा उहाँ अलिकति पनि घाटामा पर्नुभएको छैन । घाटा म पो परेकी छु, भएको जति सबै सिध्याएर आखिर क्षयका कीरालाई आफ्नो जीवभरि पालेर मृत्युलाई कुरिरहिछु । उहाँलाई त के छ र ! झन् नाफै नाफा छ, लोग्नेभन्दा पनि बढी उहाँ एउटा चतुर घिउपसले सावित हुनुभएको छ, तै पनि उहाँलाई ममाथि दया उठ्दैन । मसित यो झिनो जी र कुहिएको फोक्सोबाहेक अरु के छ र, अझै के लिन आउनुहुन्छ यहाँ –

टी.बी. भएको सुनेर मलाई दुःख लागेन बरु खुशी लाग्यो । मैले सोचेकी थिएँ कमसे कम यो यतनाबाट छुटकारा त पाइयो । त्यसै दिनर् इश्वरको नाउँमा एउटा धूप सल्काएँ, मेरो मन ढुक्क भयो एउटा दुःखमा अर्को दुःखलालाई बिर्सने गरें तर यहाँ आएर मलाई उत्तिकै कष्ट खप्नुपरेको छ । दुई महिना थला परेको बेलाबाहेक छ महिना मैले नर्कको कीरा झैं उहाँको थूकभित्र लटपटिएर काटेकी छु । त्यो थूक कहिल्यै सुक्तैन, घट्तैन । मेरा हात खुट्टा सबै यसैमा टाँस्सिएका छन्, न आँखा उर्घार्न सक्छु म । मेरा परला यही प्याच-प्याच परेको थूकमा जमेको छ । कहाँ छ र्स्वर्ग – त्यही प्याजी जर्नेरामा, अनि नर्क यो थूकमा – कस्तो घीनलाग्दो जीवन ! कहिले त लाग्छ त्यो प्वाइजन लेखेको शीशी स्वात्तै घाँटीभित्र खन्याइदिउFm, तर नाइँ, म त्यसो गर्न पनि सक्तिनँ । यो तातो भतभती पोल्ने नर्कमा अझ कति यसै गरी जीवनलाई घिच्याइरहनुपर्ने हो । भन्छन् टी.बी.ले खाएकाहरू झन् धेरै बाँच्छन् रे !

हिजोको एउटा घटना पनि लेखिहालुँ । सम्झन पनि सक्तिनँ, लाज लाग्छ । अहिले औषधि ख्वाउन आउँदा डाक्टरलाई सोझो मुखले हेर्न पनि सकिनँ, उसलाई पनि सबै कुरा थाहा । थाहा किन नहोस् उसलाई, म उसैको हातको प्राइभेट पेसेन्ट । हिजो राती पनि त्यसबेलासम्म उहाँ पलङमा मेरै छेउमा पल्टिरहनुभएको थियो । डाक्टर के कामले हो झ्वासझ्वास्ती कोठाभित्र पस्यो, फेरि ठाडै खुट्टाले ऊ फर्कियो । एकछिनपछि उहाँलाई डाक्टरको काल आयो, उहाँ हाँस्तै कोठाबाट निस्कनुभयो र फेरि हाँस्तै र्फकनुभयो । सिल्ली डाक्टर ! मेरो मुख रन्न तात्यो, मैले उहाँलाई हेरें । उहाँको अनुहार निर्वाकार थियो । मलाई ज्यादै थक्थकी लाग्यो, के गर्नु सबै कुरा बुझेर पनि लाज पचाएर बसें ।

उहाँ आउनुभयो, ऊ मोटरको आवाज हाम्रै क्याडिलक हो । सेनेटोरियमजस्तो ठाउँमा लाखौं मोटर आउँछन्, तैपनि आफ्नो क्याडिलकलाई म राम्ररी चिन्छु ।

१४ असार

गुलाफ फूलिसकेछ । कति राम्रो दुई वटा मात्र फूलेछ । कहिलेदेखि पर्खेको मैले यो पहेंलो गुलाफलाई अझ अरु त फुलेकै छैनन् । यी नफक्रेका कोपिलालाई कति आनन्द छ अहिले, एउटा प्रगाढ न्रि्रा, अनन्त शान्ति । यी फक्रेका फूल कठै ! फेरि झुसिल्कीरा लागेछ । मेरो कामै झुसिल्कीरा टिपेर फ्याँक्ने भइसक्यो । सानुचा आयो ऊ ढोकामा, पाँच वर्षो ख्याउटे केटो । चम्पा यसकी आमा काली भएपनि राताराता गाला भएकी । ऊ यहाँ कुचो लाउने काम गर्छे रोगीका कोठा-कोठामा डुलेर फोहर बेड-प्यानहरू उठाउँछे । उसको आफ्नै जिन्दगी छ । सानुचा मेरो बिस्कुटमा पल्किएको छ, अहिले ऊ जंगारमा एउटा खुट्टा बाहिर एउटा खुट्टा भित्र हालेर ङच्िच हासिरहेछ । त्यसले दाँत देखायो कि म कुरा बुझिहाल्छु, बिचरो ! छिः कहिले त घीन लाग्छ त्यसको नमाझेको दाँत र नाकमा कटकटिएको सिंगान देख्ता वाक्क वाक्क आउँछ । अहिले पनि बिस्कुट लिन आएको त्यो । एउटा क्रीमक्रेकर झिकेर ढोकातिर मिल्काइदिएँ, हत्तपत्त टिपेर खुर्र दौड्यो, बुद्धु केटो ।

हिजो केही लेख्न सकिनँ । राती एक बजे लेख्न बसेकी लेख्न मन लागेन । न्रि्रा पनि परेन । आज पनि के लेखूँ खैं ! ठूलो चट्टान उखेलिएर छातीमा झुण्डिएको छ । एउटा निर्जीव शताब्दी, अघिको फसिलसित जोडिन म पुगेकी छु ।

हिजो उहाँले सताउनसम्म सताउनुभयो । चीलले मुसालाई झुण्ड्याए झैं झुण्ड्याएर मलाई माथि-माथि आकाश सबै घुमाउनुभयो । कहिल्यै नसकिने आकाश रहेछ । त्यहाँबाट कति तल देखिन्छ, तर जति गयो उति माथि कहाली लाग्ने पो रहेछ । अहिले भर्खर फेरि डाक्टर मलालाई इन्जेक्शन दिन आयो । इन्जेक्शन दिने ठाउँ थिएन, दुवै पाखुरा सियोले छिया छिया पारेको छ, त्यसैले निर्धक्कसँग फिला खोलिदिएँ । डाक्टरले हातमा सिरिञ्ज लिएर मेरो फिलालाई हेरि मात्रै रहृयो । त्यहाँ चिमोटेका र बोक्सीले चुसेजस्ता निकै नीला डामहरू रहेछन् । मैले डाक्टरलाई भनें –

सपनामा मलाई आकाशमाथिमाथि उडेर घुमेजस्तो लागेको थियो । पछि अकस्मात् जमीनमा पछारिएँ । आकाश त के हुन्थ्यो र – न्रि्रामा पलङबाट पो खसेकी रहिछु । डाक्टरले केही भनेन, चुपचाप त्यही नीलो फिलामा इन्जेक्शन दियो र कस्तो कस्तो आँखाले मलाई हेरेर गयो ।

अस्तिदेखि मेरो छाती दुख्न थालेको छ । पहिले त अलिअलिमात्रै दुखेको थियो, मैले वास्ता पनि गरिनँ । हिजोदेखि त दुखेको झन् झन् बढ्न थाल्यो, मैले उहाँलाई हिजो पनि कति पञ्छाएँ, बोलिन पनि । म नबोलेर हुन्छ र ! उहाँ त आफ्नै धुनमा बौलाहाजतिकै फतफताइरहनुभयो, सनकीजस्तै हललल हाँसिरहनुभयो । उफ्, आजित पारिसक्यो यो झुसिल्कीराले मलाई ! हेरन, फूलसितै कसरी लपक्क टाँसिएको ।

हिजो आउँदा आउँदै एक गुच्छा प्याजी फूल मेरो हातमा थमाइदिनुभयो उहाँले । मैले त्यसै टेबुलमाथि राखेकी थिएँ त्यो फूलको गुच्छा । उहाँ घर जानुभएपछि त्यसलालाई उठाएर हेरें, प्याजी फूल धेरै पछि खेलाउन पाएको, त्यसैले हेरिरहें, खेलाइरहें, एकएकवट गरी गनें । मेरो हातमा छ्यास्स झुस लाग्यो, त्यति राम्रो फूल, त्यहाँ पनि एउटा झुसिल्कीरा रहेछ । हातभरि चिलउने डाबरहरू उठे अनि कता कता उहाँको हललल हाँसो मेरो बिरामीको प्राइभेट कोठाभरि घन्क्यो । कालो झुसिल्कीराका टल्ल परेका आँखामा दुई वटा चम्किला आँखाले चियाए । म तर्सिएँ, उहाँले मलाई दुःखै दिन खोज्नुभएको रहेछ । त्यो प्याजी फूल मैले पर-पर मिल्काउन पठाइदिएँ नत्र त्यो झुसिल्कीरा फेरि मेरो पहेंलो गुलाफको बोटमा उक्लन्थ्यो ।

ओह ! कस्तो खोकीले च्यापेको मलाई । ल, रगत पनि निक्कै पो आयो । सेतो थूक त पटक्कै देखिन्न । डाक्टरले यसरी बढ्ता रगत आउनु खराबी हो भनेको थियो । छाती झन् चस्किन थाल्यो, तकियाले थिचे पनि दुख्न छोड्दैन । उहाँ पनि आउनुुहुने बेला भयो । हिजोको जस्तै एक गुच्चछा प्याजी फूल दिएर मेरो छातीमा अझ दुख्ने थपेर जानुहुनेछ । चस्कियोस् यो छाती पनि, कति चस्किन पर्ने हो । यसै गरी छाती चस्कँदा चस्कँदै रगत ओकल्दा ओकल्दै म सकिन्छ । मलाई उहाँले सक्नै खोज्नुभएको हो । केी छैन, म सकिइसकेकी छु, फेरि सकिनुमा मलाई के चिन्ता । सपूर्णता चाहन्न, थाहा छ अब म निको हुन्न, हुँदै हुन्न । अहिले फेरि अघिको भन्दा बढ्ता रगत आयो । उहाँ अहिले फेरि आउनुहुन्छ, ठट्टै ठट्टामा एकै डल्लो पारी मलाई बेसरी निचोरेर जानुहुन्छ । रगत झन् चुहिन्छ । झ्यालमा गुलाफको लहरापछाडि त्यो परपरसम्म फैलेको आँखाले नभेट्टाइसक्नु हरियो फाँट सल्लाघारीसित टम्म मिल्न पुगेको छ । दुवै हरिया एकाकार । फाँटमा को होलान् ती एक जोडी । घुम्न आएका हुने क्यारे, त्यत्रो फाँट स्वात्ते चहारिसके । टाढाबाट उनीहरू कति राम्रा देखिन्छन् । आइमाईको जुरोमा गुलाफको रातो फल छ, त्यो लोग्नेमान्छेचाहिं आइमाईको कुममा हात राखेर हिंडिरहेछ । उनीहरू सल्लाघारीसम्म पुगिसेक । लौ, त्यो गुलाफको रातो फूल र कुममाथिको हातलाई सल्लाघारीको बाक्लो छायाँले घप्लप्पे ढाक्यो । अब अग्लो होचो तरेली परेको रित्तो फाँटमात्रै छ । रातो गुलाफ मेरो आँखाभरि तिर्मिराएर आयो । उफ् ! म सहनै सक्तिनँ, मेरो मुटु किन यसरी हल्लिन थालेको ! यो फलामाको पलङ्ग पग्लेर मेरो जीउभरि टाँस्सिइसक्यो । कस्तो भत्भत् पोल्ने डाह ! आकाश किन हल्लिन्छ यसरी, हेर आम्मे नि ! सुर्य पनि खस्न लागि सक्यो, हल्लेको हेर ! ओह ! सुर्य पनि टुक्रिन्छ अब मेरो टाउकोमा । एकैचोटि आगो खनिन्छ, म डढ्छु, यी पहेंला गुलाफ पनि डढ्छन् मसित । हेर, झुसिल्कीरा गुलाफको पातमा यति चाँडै कत्रो लाभ्रे भइसकेछ । मरोस् ये पनि डढेर, फाल्दै फाल्दिन टिपेर अब यसलाई, मरोस् । मेरो छाती चक्र्यो, मुटु हल्लेको कसरी, भित्रभित्रै भूइँचालो छुटेजस्तो छ । छाती पनि फुट्छ कि क्या ! छाती फुटेपछि त रगतको मुस्लो निस्कन्छ, रगत त्यहाँ सल्लाघारीभित्र पसेको रातो गुलाफजस्तै । फुट्न लाग्यो मेरो छाती, फुट्न लाग्यो, अब रगतको छेलोखेलो बग्छ । उहाँ पनि आइपुग्नुहुने बेला भयो, आउनुहुन्छ, मेरो छाती ……………. ।

म पनि टोकिदिन्छ, म पनि माया गर्न थाल्छु उहाँलाई । म पनि बिरालो हुन्छु, खस्रो काँढा उम्रेको ज्रि्रोले चाट्छु, उहाँको कमलो आङ्भरि । उहाँको गुलाफी आङ गाडेर एक एक चोक्टा मासु झिक्छु र मेरो फोक्सोका जम्मै कीरा त्यसमा भरिदिन्छ । मलाई माया गर्ने त्यो गुलाफी आङ पनि मेरो आङजस्तै कत्ला परेको साह्रो फसिल हुनर्ुपर्छ । उहाँका ती दूध निस्लान् जस्ता ओठ कति लोभलाग्दा छन्, खै मेरो त्यस्तो ! उहाँ आइपुग्नुहुने बेला भयो, तयार भएर बस्नुपर्यो । ती ओठलाई मुखभरि च्यापेर तनतन पिइदिन्छु । त्यसभित्रको आलो रगतमा मेरो कुहिएको रगत जति सप्पै खन्याइदिन्छु । उहाँको मायाको प्रतिदान मेरो पनि उहाँलाई माया गर्छु उहाँ मलाई माया गर्नुहुन्छ त्यसैले म पनि उहाँलाई माया गर्छु यसरी दिनदिनै मलाई घरदेखि भेट्न आउन उहाँलाई कत्रो मुस्किल पर्छ, त्यसैले उहाँलाई पनि यहीं यस्तै सेतो पलङमा बाँधेर राख्न पाए कस्तो हुन्थ्यो ! आज त म उहाँलाई छोड्दै छोडि्दन । उहाँको फोक्सोमा पनि मेरो फोक्सोकोजस्तै झ्याङप्वाल ; सिंगै आकाश अटाउन सक्ने झ्याङप्वाल । हाम्रो फोक्सोको झ्याङप्वाल बढ्दै एकै ठाउँमा गएर मिल्छ, हामी ठूलो शून्य बन्छौं अनि तिनीहरूमाथि दुई वटा कत्ला परेका साह्रा फसिलहरू समयलाई गुमाइसकेका हुनेछन् । च्व : मेरो पहेंलो गुलाफ, एउटा एउटा पातमा एउटा एउटा लाभ्रे । सबै फूल खाएर सकिन लागिसके ; यी लाभ्रेहरू कति चाँडो-चाँडो पातलाई सक्दा रहेछन् । पानी छिट्यो, ऊ आकाश हल्लिरहेछ खस्नलाईमात्रै बाँकी छ । गुलाफ ! पहेंलो गुलाफ एक एक पत्र हराउँदैछ ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.