कविता : लाशहरु उठ

~बैरागी जेठा~

जमिनमा टाँगिएका
लाशहरु उठ
क्रान्तिको आरोहण हुन लागेको छ
भँगेरीबाट
पसिना पिएर
यस पाला चढेको छु
शिखरहरु
हाम्रो दल आएको छ
मेरो साथ
झरिरहेछ तामाकोसीझै
हिमाल बाट
युद्ध जित्न
तामाको झ्याङामा पानी उमालिरहेछु
लाशहरु उठ
हाम्रो बाटो छेक्ने कोही छैन
भँगेरीहरु चिरबिराएका छन्
म मानिसहरुका पाल बोकेर
शिर भञ्ज्याङमा उभिएको छु
म पग्लिएको छु
नौनी झैँ
रातामाटाका धुवाँहरुमा
पहेँला जुनार बोटले
आँखा खोलेर हेर्छ
हाम्रा लाशहरु
युद्धका शन्दूसहरु खोल
घनश्याम घुम्दै
तिमीहरुको गुजुल्टोमा छिरेको छ
जति जति रोके पनि
लाशहरु उठ
मोर्चाहरुको सामल बोकर
खुरकोट बाट
शेलेघाट तर मान्छेहरु
पहरो खोपेर आऊ
बगरहरु जगाएर आऊ
लाशहरु
अहिले अर्को सिँह आएको छ
भँगेरीका चल्लाहरु खान
बिउँतेर आवो
जमिनमा गाडिएका लाशहरु
नरोइकन आवो
प्रिय लाशहरु
म झगडेचौर आएको छु
अर्नाले पौडि खेल्ने पोखरी छेऊमा
ठिङ्ग उभिरहेछु
तिमीहरुको साइत गर्न
वरपिपलको चौरमा
म सुूताइरहेछु
सानीमदौका मुजुरहरु
एकपटक नाचन
प्वाँखहरु फ्याँकेर
गौरीशंकर पनि मुस्काइरहीछे
लडाइ प्रशस्त छ
जीवन फुल्दै छ
प्रिय लाशहरु
नयाँ प्रकारको मोर्चाहरुमा
प्रशिक्षण समारोहमा भाग लिन
संगठित भएर आऊ
जिमल बाजेका मासु लुछेर
उनका सपनाहरु च्यातेर
औँलाका पुञ्जहरुले
बोक्सीहरुको घाँटी निमोठ्न आऊ
जमिनमा गाडिएका लाशहरु
पुराना जिमल लोप भएपनि
नयाँ जिमलहरुको उदय भएको छ
युद्धको पहाडमा ठेलाउठाएका
मेरा प्यारा लाशहरु
सानीमदौका जङ्गलहरुमा
सङ्गीत बजाउँदै आऊ
कठजोर खोलाका पाखरहरुमा
काफ्लेटारमा
युगहरुलाई पगालेर
उमङ्गका मनोबलहरु
गंगालाल, कृष्णलाल भएर
हितप्रसादको आँगन टेक
राताझण्डाहरूको उमङ्ग झैँ
धारापानीमा राता गुलाफ बनेर
गंगालालको आँगनमा फुलिदेओ
हाम्रा प्यारा लाशहरु
एउटै आग्रह गर्छु
तिमीहरुले
नयाँ मार्चपास लिएर आवो
म पर्खिरहन्छु
बाबिया खर्कको फेदीमा
तिमीहरु बाजा बजाएर आउनु
मैले तिमीहरुलाई
बुझेको छु
जसरी पनि आउनु
पुष्पलाल पार्कमा
भँगेरीझैँ मुस्कुराउँदै
गंगालालको पिँडीमा आउनु
मेरा मनोबलहरु जित्दै
बाख्राका पाठाझैँ रमाउँदै
बोल लाशहरु
जिमवालहरु भाग्दैछन्
म क्रान्तिको पुजा गरिरहेछु
नयाँ जिमवालहरुले
मलाई चिथोरिरहेछन्
गरिबी किसानहरुका गोठमा
हरिया घाँसहरु लिएर आऊ
विचारको चिमालहरु लिएर
म पर्खिरहन्छु
आकाशमा नाच करयाङ कुरुङहरु हो
चुक्ता चुक्ता गर्दै
गंगालालको आँगन हेर्न आऊ
ज्यापुहरुका बारीमा
झुलेका जुनारहरु झैँ
मस्याङका दाना जस्तै
झुलेर आऊ
जमिनमा गाडिएका लाशहरु
धमिला मान्छेहरुका
आँखा उघारेर
मुखियाको बोली बन्द गरेर
कटुवाल लगाउँदै आऊ
पुष्पलाल पार्कमा
तिमीहरु
उठ्नै पर्छ लाशहरु
वर्गीय युद्ध जित्न
मेरो कुरा सुन्छौ भने
जमिन उघारेर आऊ
राष्ट्रिय सत्ता कब्जा गर्न
झट्केलाहरुले
हामीहरुलाई जित्न सक्ने छैनन्
घनश्याम भएर आऊ
साथमा करयाङ कुरुङ लिएर
वर्गीय युद्धको साँधमा बसेर
शैलुङहरु मडारर्दै
आऊ लाशहरु
हाम्रा राष्ट्रिय लाशहरु
हामीहरु
लाशहरुको बलिदान भुल्न सक्दैनौँ
मसान हैन मानिस भएर
हाम्रा जीवनका गीत गाऊ
भग्न हृदय टालेर
नयाँ युद्धको माला गाँस्न
मजुरहरुका नृत्यमा
मुटुमा अँगालेर
पुष्पलाल पार्क आऊ
हाम्रा प्रिय लाशहरु
एक जुट भइ आऊ
हाम्रा मिलिसियाहरु
जमिन बाट उठेर आऊ
हाम्रो मुलुकमा”

काठमाडौं

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *