व्यङ्ग्य निबन्ध : रेमिटेन्स, महोत्सव र महायज्ञ

~चूडामणि खनाल~

‘देशको सम्पूर्ण राजस्वले सामान्य घर खर्च पनि धान्दैन’ भनेर टाउको समात्ने हाम्रो देशका अर्थशास्त्रीहरू हिजोआज बेकम्मा बूढाखाडाजस्ता भएका छन् । विचारमा नवीनता आएन भने नवयुवा पनि पुरानैपुराना बूढा हुँदा रहेछन् । हाम्रा पढालेखा अर्थशास्त्रीहरूको हालको सोच म्याद सकिएको औषधिजस्तो भएको छ ।

देशको आर्थिक उन्नयनका लागि हाम्रा युवाहरूले सङ्कीर्ण राष्ट्रिय घेरा नाघेर अन्तर्राष्ट्रिय बजारमा पदार्पण गरिसकेका छन् । तथ्याङ्कशास्त्रीहरूले दिएको जानकारी मिथ्या छैन भने प्रतिदिन औसत ७५० जति युवाहरू वायुयानबाट र करिबकरिब २५० जति युवाहरूले भूमि विमानबाट राष्ट्रिय नेटो काट्छन् रे ! यसरी प्रतिदिन चारअङ्कका दरले युवाशक्ति बाहिरिनु भनेको मुलुकका लागि शुभसङ्केत हो भन्ने कुरा किताबी कीरा अर्थशास्त्रीका ठिटाको सोचभन्दा परको कुरा हो ।

यो चारअङ्के युवाको बहिर्गमन भनेको घरबाट मौरीको बथान उडेजस्तै हो । रानीमौरीले मौरीले ल्याएको फूलको रसबाट जीवनदायी ‘डाबर हनी’ तयार पारेजस्तै मन्त्रालयमै बसीबसी बजेट बनाउन पाउने अर्थमन्त्रीहरू कम भाग्यमानी हुन् र ? रेमिटेन्सको महत्त्व नबुझ्नेहरूका लागि के भन्ने र खोइ ? यतिखेर हाम्रो श्रम मन्त्रालय राष्ट्रलाई सबैभन्दा बढी कर असुल गर्ने संस्था भएको छ । माल भन्सारहरू त कम राजस्व दाखिला गर्ने निकायमा पो दरिएका छन् र उनीहरूको छवि बिगि्रएको पनि छ । हाल त राष्ट्रको श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय नै देश विकासका आधारस्तम्भ भएका छन् ।

स्वदेशको चिसो हावापानी बिर्सिएर अरबको तातो खरानीमा काम गर्न जाने व्यक्तिहरूलाई ‘कठैबरा’ भन्ने अबुझहरूलाई कायर र भावुक भन्नुपर्छ । विनादुःखले कमिएको धनको मूल्य नै हुँदैन नि, कसो ? उनीहरूका विचारमा आर्थिक ‘एड’ भन्दा शारीरिक ‘एड्स’ बोकेर युवाहरू फर्किन्छन् रे !

‘राष्ट्रको बजेटको मूल आधार वैदशिक रोजगार’ भन्ने राष्ट्रको अघोषित नीति नबुझ्नेलाई त भन्न सकिन्छः- ‘केवल धिक्कार ।’ ‘एड्स’ राष्ट्रको होइन, परिवारको समस्या हो । राष्ट्रले हेर्ने नै राष्ट्र हो । दुनियाँको परिवार हेरेर त साध्य हुने कुरो भएन । एड्स वा रोगीहरूको देश हुनु पनि राष्ट्रको लागि त लाभकै विषय हो । जतिजति युवाशक्ति बाहिरिन्छ उतिउति नै राष्ट्रलाई नै फाइदा छ किनभने त्यस कार्यले देशमा प्रजनन दर घट्छ र!

‘परिवार नियोजन’ जस्ता संस्थाहरू खारेज हुँदै जानेछन् । स्वदेशभित्रका युवाहरूले पनि राष्ट्रले दिएको सुविधा भोग गरेकै छन् । ‘मेरी स्टोप्स’ जस्ता कल्याणकारी संस्थाले अवाञ्छित गर्भलाई पतन गराएर देशको जनसङ्ख्यालाई सन्तुलित गर्ने मौका दिएकै छन् । ‘हाडनाता करणी’ जस्ता यौनजन्य अपराधका मुद्दाहरू दिनानुदिन घटेका छन् । बिहे नै नगरिकन किशोरकिशोरीले यौनजन्य आनन्द लिएका खबर पनि छापिएका छन् । अदालतहरूलाई यस किसिमको मुद्दा हेर्नै पर्दैन, हाइसञ्चो भएको छ । मेरीस्टोप्सले पनि रेमिटेन्सको सहयोगका रूपमा काम गरेको छ । अब हुन के पनि सक्छ भने एड्स पीडित राष्ट्र भनेर कुनै विश्व संस्थाले थैलीका मुख खुकुलो पारिदिन पनि सक्छ । यदि त्यसो भयो भने यस देशको भाग्य चम्किन के बेर र ?

रेमिट्यान्सको राष्ट्रिय भूमिकालाई सहयोग गर्ने काममा देशभित्रकै महोत्सवहरूले पनि कम सहयोग गरेका छैनन् । संस्कृतिको रक्षा गर्न, उद्योगहरूको प्रदर्शन गर्न अनि जातीयताको प्रवर्द्धन गर्न भनेर मादल बजाउने र कर्ममा नचाउने काममा पनि युवापुस्ताले भरथेग गरेको छ । खेतपाखामा हलो जोत्ने, मलखाद गर्ने र उत्पादन गर्ने काम त पुरातनपन्थी काम हुन् । कलकारखानामा औजार चलाएर उत्पादन गर्ने काम पनि पुँजीवादी काम हो । आजको प्रगतिशील युगमा पनि मेसिनका घ्यारघ्यार र घुरघुर गर्ने हो भने हामी प्राचीन पुर्खाहरूभन्दा कसरी अगाडि बढ्यौँ त ? महोत्सवहरूमा ‘रमौँ र रमाऔँ’ भन्दै त्यहाँ गएर ‘चाँडै लाग्ने’ पेय पिउनुपर्छ । त्यस पेयको कच्चा पदार्थ के हो भनेर नाटिकुटी गर्न भने पाइने छैन । छिद्रान्वेषण गर्ने बानी राम्रा होइन । आधुनिक मेरीस्टोप्सले व्यभिचारको पनि औषधि गरेकै छ । च्याउजस्तै उमि्रएका स्वास्थ्य संस्थाहरूलाई हुर्काउने काममा पनि यी महोत्सवहरूबाट सहयोग भयो भने गनिमत नै मान्नुपर्ने हुन्छ । संस्कृतिको प्रवर्द्धन गर्नेक्रममा धेरथोर विकृतिहरू आए भन्दैमा त्यसलाई आलोचनाको विषय बनाउनु पनि सङ्कीर्ण सोचाइ नै मान्नुपर्छ । राष्ट्रका लागि महोत्सवहरूले के कति योगदान पुर्‍याए भन्ने विषय नै हालको विचारविमर्शको विषय हो । जनताको करले राजस्वको वृद्धि भयो भने राष्ट्रले सन्तोष लिनैपर्छ । धेरैजसो युवायुवतीहरू बरालिए, खेलबाडमा हिँडे भन्नु पनि देशकाल नबुझ्नु हो । राष्ट्रको लागि राष्ट्रले सधैँ जप्ने एउटै मन्त्र हुनुपर्छ- “जो धनधान्य, उही सर्वमान्य” । हाम्रो राष्ट्रले यो कुरा बुझेकै छ । अन्यथा सरकारले जहाँसुकै बरालिने खालका उत्सव र महोत्सवहरूलाई स्वीकृति किन दिन्थ्यो र ?

छोराले अरबबाट खरब पठाएका, बुहारीले उत्सवबाट अरब उठाएका देखेर बूढाबूढीको ७५ वर्षे जम्कु जोस पनि नउठ्ने कुरै भएन । युवायुवतीहरूमा अन्तर्राष्ट्रियवाद बढी हुन्छ भने बूढाबूढीहरूमा राष्ट्रवाद हावी हुन्छ । त्यसैले राष्ट्रको उत्थानको लागि महायज्ञको सोच हुनुपर्छ भन्ने भावना प्रौढहरूमा पनि उत्तिकै बढेर आएको छ । हिजोआज धर्मले आफ्नो बहावको धार बदलेको छ । हिजो अस्ति धर्म परत्रका लागि गरिन्थ्यो भने आजकल वरत्रका लागि पनि धर्मकै आडभरोसा लिइएको छ । हिजोअस्ति धार्मिक प्रवचनका लागि शास्त्रीय ज्ञान भएका पण्डितहरू खोजिन्थ्यो भने आजकल नृत्यप्रवीण र गला खारिएका गायक नै भए पनि ज्ञानयज्ञमा काम चल्छ । केवल आवश्यक हुन्छ, सङ्गीतको र वाद्यवादनको । सङ्गीत विश्वव्यापी भाषा भएकाले के स्वदेशी, के विदेशी सबैलाई मनपर्छ । उसले के प्रौढ के प्रौढी सबैको मन हर्छ । त्यसैले यज्ञमा मृदङ्गहरू पनि बजेकै छन्, बूढाबूढीहरूका नितम्बहरू पनि हल्लिएकै छन् ।

तपाईंको सङ्कीर्ण विचारले भन्दा होला-धार्मिक प्रवचनहरूले त आध्यात्मिक भावना जगाउँछ । वरत्रलाई भन्दा परत्रलाई सुधार्छ । तपाईंको त्यो सोच त्यतिकै पुरानो छ, जत्तिको पुराना तपाईंका धर्मशास्त्रका ग्रन्थहरू छन् । पहिले-पहिले तपाईंले ध्यान दिएर धार्मिक कथाहरू सुन्नुहुन्थ्यो अनि तपाईंले थुकतेल गरेर कमाएको पैसो नै पवित्र मानिएको पण्डितलाई दान दिनुहुन्थ्यो र आफैँले मात्र परत्रको बाटो सपार्नु हुन्थ्यो । अब त ‘उहिलेका कुरा खुइले’ भइसक्यो । हिजोआजका यज्ञ त समयसापेक्ष छ । आजका भौतिक युग सुहाउँदो नै आजको ज्ञानयज्ञ भएको छ । भौतिकवादमा धनको रङ एउटै हुन्छ । त्यो धन कालो वा सेतो हुँदैन, बरु यज्ञमा दान दिइयो भने जतिसुकै त्यस धनको स्रोत कालो भए पनि यज्ञमा सुम्पिएपछि सेतै हुन्छ । अझ भनुँ कालो धनलाई सेतो बनाउने कारखाना नै यज्ञमण्डप हो । आयोजकलाई धन चाहिएको छ, उससँग धनको रङको पारख गर्ने कुनै कसी वा कसौटी हुँदैन । आजका आयोजकको भौतिकी कार्य पूरा गर्न काम गर्ने यी धार्मिकग्रन्थहरूले ज्ञान दिएका छन् । त्यसैले श्रीमद्भागवत वा अन्य पुराणहरू हिजो आध्यात्मिक ग्रन्थ थिए भने आज त उनीहरू पनि काय फेरेर भौतिकवादी ग्रन्थ भएका छन् । त्यसैले धर्मले अध्यात्मवादमा मात्र होइन, भौतिकवादमा पनि उत्तिकै सहयोग गर्छ । राष्ट्रले गर्ने लगानीको रकम यज्ञले पूरा गर्ने भएपछि राष्ट्रले महायज्ञलाई पनि सहयोग गर्नैपर्छ र गरेको पनि छ ।

हाम्रो राष्ट्र भाग्यमानी छ, त्यसैले विना कलकारखानाले नै देश सञ्चाल गरेको छ । उद्योगधन्दाहरू खोलेर घ्यारघ्यार र घुरघुर गरेर हल्लाखोरी हुनुभन्दा यस मुलुकले शान्तिको बाटो रोजेको छ । युवायुवतीहरूले संसार घुम्न पाएकै छन् र देशभित्र सम्पत्तिको छेलोखेलो बगाएकै छन् । देशभित्रका युवायुवतीहरूले पनि खैँजडी र झुर्माका तालमा नाचेर पनि राष्ट्र निर्माणका लागि काम गरेकै छन् । अनि राष्ट्र निर्माण गर्ने जोस बूढाबूढीमा पनि उत्तिकै छ । त्यसैले उनीहरूले पनि भजन र कीर्तनका माध्यमबाट राष्ट्रलाई अगाडि बढाएकै छन् ।

धन जम्मा गर्ने हाम्रो जस्तो बुद्धि पश्चिमाहरूको कहाँ छ र ? त्यसैले उनीहरू आफ्नो मनको तड्पन बिर्सिन र शान्तिका लागि भनेर यात्री बनेर यस मुलुकमा भित्रिएका छन् । हाम्रो लागि उनीहरूको आगमन पनि वरदान नै भएको छ । पर्यटकको नाममा उनीहरूले यहाँ दाम रोपेकै छन् । तपाईं यतिखेर नाङ्गो हिप्पीवादको विरोध गर्नुहोला । फेवातालमा नाङ्गै नाचेका हिप्पीहरू देखेर नाक खुम्च्याउनु होला र यसरी नेपाली पनि बिगि्रएलान् कि भनी चिन्ता लिनुहोला । खबरदार ! तपाईंलाई पश्चिमाहरूको कार्यशैलीको विरोध गर्न मनाही छ । हामीले पनि कहिलेकाहीँ दूध दिने गाईको लात्ती सहनुपर्छ भनेकै छौँ नि । सबैतिर सहनुझैँ कल्याण छ ।

– पोखरा, कास्की

(स्रोत : मधुपर्क २०६६ भदौ)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *