कविता : माटो मुनीका सपनाहरु

~दिवाकर सिग्देल~

मध्य रातमा ,एकान्त कोठामा ,
इट-काठ मसंग बोल्दै छन् ।
जुटेका छौ हामी साथ ,
गारो ठाडो पार्न आज ।
छौ तिमी किन घोर निराश,
देश ठाडो पार्न आज ।

सोची सोची ब्याकुल छु म ,
रुन लाई आशु छैन ,
निल्नलाई थुक छैन ,
समयको पिटाई सहिरहदा
मुटुमा घाउको अर्थ छैन ।
चिट चिट पशिना आउछ ,
बुलुक बुलुक कान बल्किन्छ,
किरी किरी किराहरुको साथमा ,
चारैतिर ओईलाएको आशमा ,
भाग्य खोज्दै छु म ।

ओछान बाट घमण्डले ,
म कठै ईट भन्थे ।
आज अचानक उनीहरु ,
करुणा दृस्टी छर्दै छन् ।
मेरा शरिरका हात-पाउ,
ब्यर्थै पलाएको ठान्दाहुन् ।
संकीर्ण बिचारको भुमरी भित्र
सर्वत्र जकडिएको देख्दाहुन ।
दया भावले एक फिलिंगो
ज्ञान झोस्न खोज्दाहुन ।

मध्य रातमा ,एकान्त कोठामा ,
इट-काठ मसंग बोल्दै छन् ।
भेला हुने चौतारोले ,
आज तिमीलाई डाक्दै छ।
कुल्ची हिड्ने गोरेटोले ,
तिमीलाई द्वार खोल्दै छ।
तिम्रोलागी सुबास छर्न ,
फूलहरु फ़ुल्दैछन ।
माहुरीहरु तिम्रै लागि
मह जम्मा पार्दैछन ।

कर्मभुमी तिम्रो नेपाल ,
तिमीलाई नै खोज्दैछ ।
हजार स्वप्न संसार चिहाउन ,
कर्मठ हात पर्खिरहेछ ।
एउटा फुलको बोटलाई सोध ,
माटोमुनी छन् कती स्वप्नहरु!
फुल बनि सुबास छर्न त्यहा ,
तछाड मछाड र भिडन्त छ ।
आऊ तिमी पाखुरा लडाऊ ,
यो भुमी मा नौरंगी फुल फुलाउ !!

-वर्दिया, नेपाल
हाल, मायामी, फ्लोरिडा, संयुक्त राज्य अमेरिका

(स्रोत : कविता संग्रह “बिन्दु र आकृती “)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *