कविता : माटोका कुरा गरौं !

~उत्तमकृष्ण मजगैयाँ~

सधैं त होटेलमा विदेशी खानाकै कुरा भो
विभिन्न भोजमा टन्न पिउने बहानाकै कुरा भो
घर सम्झेर आज कस्तोकस्तो भइरहेछ मेरो मन
साथी ! आज फाफरको साग र आटोका कुरा गरौं
धेरै टाढा आइएछ, घर–आँगन पुग्ने बाटोका कुरा गरौं
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौं !

नशाले मात्तिएपछि जीउँतो ? नाच र पपगाना भो सधैं
तर मन नाचेन, कस्तो निष््प्रभाव तराना भो सधैं !
आज किन हो किन त्यसै भरङ्ग भइरहेछ मेरो मन
बरु मेलामा नाच्ने मङ्गली र गाउँले केटोका कुरा गरौं
आफ्नै वनपाखा घन्काउने सुन्तली र घति र्जेठोका कुरा गरौं
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौं !
बोलीव्यवहार र पहिरनमा सभ्यता थप्दाथप्दा
आफ्नो पहिचान नै बिर्सिएछ कि स्वार्थ जप्दाजप्दा !
घरबाट निर्वासित भएको पनि धेरै समय बितेछ,
आज त सान्नानीको गुन्युचोलो र बिर्खेसाइँलाको
छड्के टोपी र कछाड भोटोका कुरा गरौं
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौं !
भावहीन पराई सामु मनको भाव बोल्नै सकिएन
पीरले दुखेको छाती उदाङ्गो पारी खोल्नै सकिएन
नहाँसेको पनि धेरै भयो, कतै खुल्न सक्छ कि ?
साथी ! आज मनको कस्सिएको गाँठोका कुरा गरौं
अलिकति मेल र अलिकति फाटोका कुरा गरौं
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौं !

जरा त्यहीँ गाउँमा छ, मधेस–पहाडबाट यहाँ धाएको
लाहुर ! यहाँ त हामी आफ्नै लिलाम बोल्न आएको
कोलाहल छ तर एक्लोपनले नियास्रो भइरहेछ मन
त्यसैले गाउँको चौतारी र गोरेटो–दोबाटोका कुरा गरौं
लेकबेंसी, खोला, खर्क र गल्छेंडा–नेटोका कुरा गरौं
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौं !!

दाङ

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *