संस्मरण : भवानी घिमिरेसँग बिताएका केही क्षण

~गोपाल बराल~

म जोरपाटी गा.वि.स. कार्यालयको अध्यक्षको हैसियतले सेवाग्राही जनताहरूसँग छलफल गर्दै थिएँ । मैले कहिले काँही टेलिभिजनको पर्दामा झल्याकझुलुक देखेको अग्लो फूर्तिलो कमिज-सुरुवाल, स्टकोट लगाएर शिरमा नेपाली ढाका टोपी लगाएको पाको मान्छे मेरो अगाडि उभिएर “नमस्कार अध्यक्षज्यू,” भनेर हात मिलाउन अघि सर्नु भयो । मैले भवानी घिमिरे दाइसँग हात मिलाएर अगाडिको सोफामा बस्न अनुरोध गरेँ । सोफामा बस्तै उहाँले आफ्नो परिचय दिनु भयो । “म भानु मासिक साहित्यिक पत्रिकाको प्रधानसम्पादक भवानी घिमिरे । घर झापा हाल कुमारीगाल” यो छोटो मीठो परिचयपछि मैले पनि आफ्नो परिचय दिएँ । उहाँले मलाई पहिलादेखि नै चिन्नु हुँदो रहेछ । खाली हामीबीच आम्ने-साम्ने मात्र नभएको रहेछ ।

उहाँले हातमा भानु प्रकाशनले प्रकाशित गरेको “महानन्द, देवकोटा विशेषाङ्क बिक्रीका लागि रोचक घिमिरे दाइले सिफारिस गरेकाले म कहाँ आएको भनेर बताउनु भयो । रोचक दाइलाई म अत्यन्त सम्मान गर्ने मान्छे भएकोले उहाँले सिफारिस गर्नेको पुस्तक मैले नकिन्ने कुरै भएन ।

मैले भवानी घिमिरे दाइलाई उक्त पुस्तक दिन अनुरोध गरेँ । उक्त पुस्तक एक प्रति गा.वि.स.का लागि र एक प्रति आफ्नो लागि खरिद गरेँ । त्यस बेलादेखि मेरो र भवानी घिमिरे दाइको बीच औपचारिक जान पहिचान भएको हो ।

उहाँ धेरै पटक मकहाँ आउनु भएको थियो । म पनि साहित्यप्रति चाख राख्ने व्यक्ति भएकाले कहिलेकाँही आफूले लेखेका कविता, संस्मरण, समालोचनाहरू देखाउने गर्दथें । उहाँ निर्धक्कसँग उक्त रचनाको बारेमा टिप्पणी गर्नु हुन्थ्यो । आफूलाई बेठीक लागेको खुलेर आलोचना गर्नु हुन्थ्यो । म भवानी दाइको व्यक्तित्वबाट असाध्यै प्रभावित थिएँ । विशेष गरेर उहाँको कविता उहाँकै मुखबाट सुन्दा मलाई असाध्यै आनन्द आउँथ्यो ।

एक दिन उहाँ साहित्य सदन नेपालको कार्यक्रममा भाग लिन रामहिटी आउँदा म पनि उक्त कार्यक्रममा भाग लिन गएको थिएँ । कार्यक्रम सकिएपछि उहाँले “आज तपाईंको घरमा म पनि जाने, तपाईंको फुर्सद के छ ?” भनेर सोध्नु भयो । मैले हत्तपत्त उहाँलाई भने “दाजुले म कहाँ जान्छु भनेपछि म अरू सबै कार्यक्रमहरू रद्द गरेर भए पनि दाजुलाई लिएर जान्छु” भने । उहाँ असाध्यै खुसी हुनभयो । मैले आफ्नो मोटरसाइकलमा राखेर मेरो घरमा लगें ।

मेरो बगैंचामा फुलेका रङ्गीचङ्गी फूलहरू र फलफूलका बोटविरुवाले भवानी दाइलाई निकै आकषिर्त गरेको रहेछ । आउनासाथ उहाँ फलफूल बगैंचामा के फलेको छ । खाने बेला भएको छ छैन नियाल्न थाल्नु भयो । अम्बा पाक्न पाक्न आँटेको देखेर मलाई टिप्न लगाउनु भयो । मैले ८/१० वटा अम्बा टिपें । उहाँले किन यति धेरै अम्बा टिपेको भनेर मलाई गाली गर्नुभयो । हामीले २/२ वटा अम्बा खायौं । केही देशको राजनीतिको बारेमा, साहित्यको बारेमा छलफल गर्‍यौं । उहाँले आफ्नो घर परिवारको बारेमा पनि रमाइला कुराहरू गर्नु भयो । मेरो परिवारको बारेमा पनि सोध्नुभयो । उहाँले २०३५/२०३६ सालदेखि सडक कविता क्रान्ति सुरु गरेको, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्र होइन प्रवासका विभिन्न ठाउँहरू दार्जिलिङ्ग, सिक्किम, मेघालय, डुवर्स आदि ठाउँमा नेपाली भाषा, साहित्यको प्रचार-प्रसार कसरी भइरहेको छ सोको बारेमा पनि चर्चा गर्नुभयो । विदेशमा बस्ने नेपालीहरूले नेपाली साहित्य र नेपालीलाई कति धेरै माया र स्नेह गर्दछन् भन्ने कुरा बताउनुभयो । प्रवासमा धेरै व्यक्तिहरूले भानु मासिकको ग्राहक बनेर सघाएको कुरा बताउन पनि उहाँ चुक्नु भएन ।

आफू एउटा सामन्ती जमिन्दार परिवारमा जन्मेर पनि कसरी वामपन्थी राजनीतिमा आएँ भन्नेदेखि आफ्नो दोस्रो विवाहमा जेठी श्रीमती र छोरीलाई जन्ती लगेको र आफैं दुलाहा भएको रोचक घटना रमाइलोसँग प्रस्तुत गर्नु भयो । मलाई उहाँको त्यो अन्तर कथा सुनेपछि उहाँप्रति झन् सम्मान जागेर आयो । मैले पनि आफ्नो अन्तरङ्ग कुराहरू उहाँसँग गरेँ ।

मेरो अन्तरकथा र परिवारसँगको सङ्घर्षको कुरा सुनेर उहाँ अझ दङ्ग पर्नुभयो । उहाँले मलाई आफूले भोगेका, देखेका कुराहरूलाई व्यवस्थित

ढङ्गले लेख्यो भने स्तरीय साहित्य बन्छ । तपाईं अरू लेख्नुहोस् ।अल्छी नगर्नुहोस् भनेर सम्झाउनुभयो ।

हामी कुराकानीमा नै मस्त थियौं । मेरी श्रीमती लक्ष्मीले म र भवानी दाइलाई खाजा ल्याइन् । हामीले गफ गर्दै एक दिन तपाईं कहाँ मज्जाले भ\mयाईँ पानीसँगै खाना खानेगरी आउँछु, खुवाउने होइन भन्नुभयो । मैले दारूपानी म कहाँ मिल्दैन अरू थोक फ्रि छ भनेँ । उहाँलाई म दारूपानी नखाने मान्छे भनेर पत्यारै लागेनछ । साँच्चै तपाईं बियर पनि खानु हुन्न ? भनेर दोहोर्‍याई तेहर्‍याई सोध्नुभयो । मैले केही पनि खान्नभन्दा उहाँले जिब्रो टोकेर आश्चर्य व्यक्त गर्दै “आफू त बिग्रेको बाहुन जे पनि चल्छ” भन्नुभयो । ठीकै छ तपाईंले नखाए पनि मलाई व्यवस्था गर्नु होला भन्नुभयो । मैले मुण्टो मात्र हल्लाएँ । तर त्यसो भनेर गएको केही समयपछि नै उहाँ बित्नु भयो । मलाई उहाँलाई खाना खुवाउन नपाएको धोको अझसम्मै खट्किएको छ । उहाँसँग बिताएका ताजा क्षणहरू मेरो स्मृतिमा कल्पकल्प ताजै रहनेछ ।

एक दिन अरूणिमा उच्च मा.वि.को साहित्यिक क्लबले भवानी घिमिरेसँग साक्षात्कार कार्यक्रम आयोजना गरेको थियो । त्यस कार्यक्रममा क्लबले मलाई पनि अतिथिको रूपमा आमन्त्रण गरेको थियो । त्यस कार्यक्रममा विद्यार्थीहरूले उहाँसँग साहित्यको बारेमा अनेकौँ प्रश्नहरू गरेका थिए । उहाँले उनीहरूका प्रश्नहरूको जवाफ सीधैँ नदिएर भूमिका बाँध्दै लामो गरी दिनु भएको थियो । विद्यार्थीहरूका अनेक जिज्ञासाहरूको जवाफ रोचक ढङ्गले दिनु भएको थियो । उहाँले भाषा, साहित्य र राजनीतिका बारेमा आफूलाई लागेका कुरा जे जसरी व्यक्त गर्नु भएको थियो ती अत्यन्त मर्मस्पर्शी कथनहरू अरूणिमा उच्च माध्यामिक विद्यालयले आफ्नो डिजिटल क्यामेरामा कैद गरेको छ । सायद त्यही कार्यक्रम नै उहाँसँगको अन्तिम कार्यक्रम थियो ।

जोरपाटी, मणिगाल

(स्रोत : मधुपर्क २०६८ साउन)

This entry was posted in संस्मरण and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *